साथी उनै छन् गाउँमा। दशैँं मान्ने तरिका खासै फेरिएको छैन, तर दशैँमा दौँतरीहरू भेट्न रहर लाग्दैन। मन्दिरको पशुबलि गरेको हेर्न मन लाग्दैन।
एक साताअघि काठमाडौँ उपत्यकाको बसाइँ छाडेर केही समय दशैँ मान्न घर जानेबेला हाम्रै भेगको साथीले भन्यो, ‘यसपालिको दशैँं खुबै रमाइलो हुन्छ।’ उसलाई सोधेँ, ‘कसरी रमाइलो हुन्छ?’ उसले हौसिँदै भन्यो, ‘रातो माटो र कमेरोले पोतेका घर टिलिक्क टल्किसकेका हुन्छन्। धेरैपछि आफ्ना पुराना साथीसमेत यही बेला भेटिन्छन्। गाउँमा देवीको मन्दिर छ। त्यहाँ नवमीको मेला लाग्छ। राँगा र बोकाको बलि दिँदा त्यो हेर्नेको भीड लाग्छ। राँगालाई मार हान्ने बेला साँच्चै रमाइलो हुन्छ।’
मैले थप प्रश्न गरेँ, ‘अनि मन्दिरमा बलि चढाएको राँगाको मासु तिमी र तिम्रो परिवारले खान्छन् कि खाँदैनन्? मन्दिरमा बलि चढाइएको राँगाको मासु कसैले खाएन भनेचाहिँ के हुन्छ? तिमीले त्यसबारे सोचेका छौ? अनि रातो माटो र कमेरोले पोतिएको आफ्नो घरको आँगनसम्म आफ्नो दलित साथीलाई टेक्न दिन्छौ तिमी?’ मेरो प्रश्नले साथी रातोपिरो भए र खिस्रिक्क अनुहार लगाए, जवाफ फर्काएनन्।
धेरैजसो पहाडिया नेपालीलाई दशैँ भन्नेबित्तिकै उही रातोमाटो र कमेरोले पोतिएका गाउँघरका घर र देवीका मन्दिर या सार्वजनिक ठाउँमा हुने काटमार याद आउलान्। ममा भने साथीको आँगनसम्म टेक्न नपाएको एउटा दशैँं, निर्दोष राँगालाई लखेट्दै भाला खोपीखोपी हत्या गरेको क्रूर दृश्य र मेरो बुबाले पहिले गरेको साहसपूर्ण विद्रोह पुनर्ताजगी हुन्छ। अहिले पनि त्यही अभ्यास जारी छ?
केही समयअघि गाउँ पुग्दा एक जना मेरै समुदायको काकीले दशैँंको अमिलो अनुभव सुनाउनुभयो, ‘हाम्रा लागि क्या दशैँ आउँदो हो, यो त दशा हो। दशैँ आएपछि निकै झर्को लाग्दो हुन्छ। दशैँका दिन माग्नका लागि हाम्रो घरमा आएन, हामीभन्दा ठूलो भएको भन्दै गाउँका ठकुरीले घरमै आएर मेरा श्रीमान्लाई मरुन्जेल कुटपिट गरे। के गर्ने, समाजमा उनकै शासनसत्ता छ। तिनकै पिरले बुढाले गाउँ नै छोड्नुपर्यो। वर्ष दिनमा आएको चाडपर्व कहिल्यै हर्षले मनाउन पाइएन। चाडबाडमा राम्रो लुगा लगाउन र मीठोमसिनो पकाएर खानसमेत सहज भएन।’
प्रत्येक चाडपर्वका दिन बालबच्चालाई बनाएर खुवाउने बेला ठूला जात भनिनेकहाँ दलितहरू खानेकुरा आदि ‘भाग लिन जानुपर्ने’ अभ्यास सुदूरपश्चिमतिर छ। अन्य पहाडी जिल्लामा पनि यो अभ्यास होला। यति मात्र होइन, देवीको मन्दिरमा ‘चढाइएको’ राँगाको मासु दलित (कामी, दमाईं र सार्की)ले खानुपर्ने संस्कार छ हाम्रा गाउँ (मोहन्याल पट्रेनी पम्पागाडा, कैलाली)मा। दलितले त्यस्ता चढावा नखाए धाकधम्की मात्रै होइन, कुटपिटसमेत भइहाल्छ। यो कस्तोखालको धार्मिक अभ्यास हो, करबल र धाकधम्कीको? ‘भगवान्लाई बलि चढ्ने’ राँगा यस भेगमा गैरदलितलाई भने चल्दैन।
काकीले भनिन्, ‘हामीलाई भने खान मन नहुँदा पनि ‘खाए खा नखाए घिच’झैँ जबरजस्ती गरिन्छ। कहिलेकाहीँ लाग्छ, हजारौँ संख्यामा मन्दिरमा बलि चढाइने राँगाको मासु हामीले नखाइदिने हो भने के हुन्छ होला? सधैँ तिनकै दबाब, त्रास र जबरजस्तीमा दशैँं मनाइयो। अब त दशैँं मनाउने रहर पनि मर्यो। त्यसैले दशैँं खास लाग्दैन। अब त उमेर पनि घर्कियो। अहिलेसम्मको विभेदको भोगाइ सम्झँदा आक्रोशले मन भरिन्छ। के गरूँ? तरान (शक्ति) छैन अब।’
उहाँको दशैँं उत्पीडनले मलाई पनि विगततिर फर्कायो।
दशैँमा घर पोतिसकेपछि आँगनको डिलमा बसेर आफ्नै स्कुले गैरदलित साथीले ‘हाम्रो त घर चोखो बनाएको छ। खलो (आँगन) र घर नछोईकन अलि परबाट हिँड है’ भनेको अहिलेझैँ लाग्छ। साथीको विभेदपूर्ण व्यवहारले त्यो दशैँबाट साथीको घरआँगनबाट टाढा मात्र हिँडिएन, तिनको संगतबाट नै टाढिएँ। जातकै कारण बालापनमा मनमुटुमा बसेका साथी टाढिए। फेरि साथी रहन उपयुक्त ठानिएन। मनमा किलो गडेपछि कसरी निक्लन्छ त्यो?
महान् भनिएको दशैँबाट विभेदलाई नजिकबाट बुझ्ने मौका दौँतरीबाटै पाएँ। आज पनि कतिपय साथीहरू विभेदको त्यस्तो विषाक्त चेतनाबाट बाहिरिन सकेका छैनन्। विभेद गर्नुहुन्न भनेर बाआमालाई सम्झाउनुको साटो आफैँ थिचिएर थलिएर बसिरहेका छन्। जातीय विभेद र पशुबलिलाई संस्कार ठान्ने अँध्यारो युगको अभ्यासमा अल्झिराखेका छन्।
समाजमा विभेद उस्तै छ। साथी उनै हुन् गाउँका। दशैँं मान्ने तरिकामा खासै फेरबदल छैन। त्यसैले दशैँमा दौँतरीहरू भेट्ने रहर हुँदैन। मन्दिरमा पशुबलि दिएका दृश्य हेर्ने चाहना छैन। रातो माटो र कमेरोले पोतेका ती छिमेकीको घरआसपासको विभेद भोग्न फिटिक्कै मन छैन।
बुवाको दशैँं विद्रोह
हामी ६० सालमा तराईतिर (कैलाली घोडाघोडी) झर्यौँ। २०५५ सालयता माओवादी द्वन्द्वताका गाउँमा विभेदका धेरैजसो अभ्यास रोकिएकै थिए। तर अहिले कैलालीको पहाडिया र तराई भेगमा विभेदका पुरानै अभ्यास बल्झन थालेका छन्।
२०५५ सालको दशैँं। बुबाले राँगा र बोकाको मासु दलित र गैरदलितलाई बराबर भाग लगाउन माग गर्दै गाउँमा विद्रोह गर्नुभो।
हाम्रो गाउँमा दुई गाउँसाझा कालिका देवीको मन्दिर छ। मन्दिरमा प्रत्येक दशैँताका गाउँले मिलेर एक/एक वटा राँगा र बोका बलि चढाउने चलन थियो। बोका र राँगा किन्दा दलित र गैरदलितले बराबर पैसा तिर्थे। त्यसकारण बुबाले पनि अरूले झैँ राँगा र बोका किन्दा लागेको आफ्नो भागको पैसा सधैँ तिर्नुहुन्थ्यो। तर राँगाको मासु नखाने हाम्रो परिवारका लागि जहिल्यै राँगाको मासु भाग लगाइन्थ्यो। तर बोकाको मासु कहिल्यै भाग लगाइँदैनथ्यो। त्यो कुरा बुवालाई पटक्कै मन परेको थिएन। पैसा तिर्दा राँगा र बोकाका लागि गैरदलित सरह शुल्क तिर्नुपर्ने तर दलित र गैरदलितलाई छुट्टाछुट्टै भाग किन? बुवालाई यो कुरा जहिले नाजायज र अन्यायपूर्ण लाग्थ्यो। त्यसपालिको दशैँमा राँगा र बोकाको मासु भागबन्डा गर्ने सवालमा बुबाले दलित र गैरदलितबीच छलफल चलाउनुभयो।
त्योबेला हाम्रो क्षेत्रमा गैरदलितको अनुहारमा सिधा नजरले दलितले हेर्न मिल्दैनथ्यो। दलित समुदायको व्यक्तिले गैरदलितसँग आँखा जुधाएर राँगा र बोकाको मासु सबैलाई बराबर भागबन्डा लगाउनुपर्छ भनेर अडान लिएर छलफल गर्नु सामान्य थिएन। समाजका गैरदलितहरू बुवा देख्नेबित्तिकै झम्टिऊँ कि खाऊँझैँ गर्न थाले। उता दलितहरू पनि आफ्नो भागमा पर्ने राँगाको मासु छुट्ने पिरले मनदेखि नै बुवालाई साथ दिने पक्षमा थिएनन्।
हिम्मतसाथ मन्दिरका समितिमा रहेकाहरू र गाउँलेलाई भन्नु’भो, ‘खाए पनि नखाए पनि देवीको नाममा काटिएका राँगा र बोकाको मासु सबैलाई बराबर भाग लगाउनुपर्छ। यसपालिको देवीपूजामा जातका आधारमा राँगा र बोकाको मासु पहिलेझैँ छुट्टाछुट्टै भाग लगाउन मिल्दैन। जातका आधारमा बोकाको मासु बाहुन, क्षेत्रीलाई र राँगाको मासु दलितलाई छुट्टाइयो भने कुनै पनि दलितले राँगाको मासु खानेवाला छैनन्। राँगाको मासु मन्दिरमा सिनो बन्नेछ। राँगाको सिनो गाउँभरि गन्हाउने छ। यसले गाउँमा कुनै रोग फैलियो भने त्यसको जिम्मेवारी मन्दिर समिति र गैरदलित सबैले लिनुपर्छ।’
बुबाले उठाएको मुद्दा एक हदसम्म मानियो र दलित र गैरदलितलाई राँगा र बोकाको मासु बराबर भागबन्डा गरियो। तर के भयो भने गैरदलितले आफ्नो भागमा परेको राँगाको मासु मन्दिर छेउछाउको झाडीमा फालेर गए। गैरदलितले फालेको उक्त राँगाको मासु कुहिँदै जाँदा गन्हायो। धेरै दिनसम्म मानिस मन्दिरको बाटो हुँदै हिँड्न सकेनन्।
“शूद्रले पुरानो लुगा लगाउनुपर्छ, ब्राह्मणको जुठो खानुपर्छ, शूद्रले सधैँ मन, बचन र कर्मले यस प्रकारको आचरण गरेमा उसको पाप नष्ट भई पुण्यको प्रभावले इन्द्रको पद प्राप्त गर्छ।” (हारीत धर्मसूत्र २/१३-१४)। यस्तै ‘धर्मसूत्र’हरू निर्देशित समाज अहिले पनि परिवर्तनको पक्षमा उभिन साह्रै अप्ठ्यारो मानिराखेको छ।
कुनै पर्व र परम्पराको नाममा दलित मानवसँगै निःसहाय पशुपक्षीको स्वतन्त्रपूर्वक बाँच्ने अधिकार खोस्नु गलत छ। जातकै कारण दबाब, डर, त्रास देखाएर, कुटपिट गरेर, कसैको करकापमा दशैँं मनाउनुपर्ने चलनको अन्त्य हुनुपर्छ। पर्वका नाममा सार्वजनिक स्थानमा पशुबलि पनि गलत छ। भगवान् खुशी बनाउन जातीय विभेद हटाइ सबै प्राणीको पक्षमा काम गर्नुपर्छ। पशु र उत्पीडित समुदायमाथि हिंसा र अत्याचार गरेर भगवान् कहिल्यै खुशी भएनन्, हुँदैनन् र हुनेवाला पनि छैनन्।
दशैँं मनाउने क्रममै भइरहेको पशुबली र मानव विभेदले हुर्किरहेका साना बालबालिकाको दिमागमा कस्तो गम्भीर क्षति गर्छ होला?
(नेपाली अधिकारकर्मी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
