क्रोएसियाका लागि ब्राजिल डरलाग्दो प्रतिद्वन्द्वी!

पाँचपटकको विश्वविजेता ब्राजिल र चार वर्षअघि आयोजित रसिया विश्वकपको उपविजेता क्रोएसियाबीच शुक्रबार हुने क्वार्टरफाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

तस्वीरः इडोटोरियलगी

क्रोएसिया राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ज्लात्को डालिचले पाँचपटकको विश्वविजेता ब्राजिललाई ‘डरलाग्दो प्रतिद्वन्द्वी’ मानेका छन्। प्रि-क्वार्टरफाइनल खेलमा एशियाली राष्ट्र दक्षिण कोरियालाई ४-१ गोलअन्तरले हराएपछि ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 

एजुकेशन सिटी स्टेडियम शुक्रबार नेपाली समयअनुसार ८:४५ बजे यी दुई टोली सेमिफाइनल प्रवेशका लागि एकअर्काविरुद्ध मैदान उत्रिँदै छन्।

पाँचपटकको विश्वविजेता ब्राजिल र चार वर्षअघि आयोजित रसिया विश्वकपको उपविजेता क्रोएसियाको भिडन्त रोचक हुने अनुमान गरिएको छ। तर, यस खेलमा ब्राजिलको पहिलो रोजाइका लेफ्ट ब्याक एलेक्स सान्ड्रो उपलब्ध हुनेमा शंका उत्पन्न भएको छ।

ब्राजिलका मुख्य प्रशिक्षक एडेनोर लियोनार्डो बाची उर्फ टिटेका अनुसार सान्ड्रो चोटबाट पूर्णरूपमा निको हुन सकेका छैनन्। समूह ‘जी’ अन्तर्गत स्वीट्जरल्यान्डविरुद्धको खेलको ८६औँ मिनेटमा बायाँ ‘हिप’को मांसपेशीमा समस्या आएपछि उनलाई प्रतिस्थापन गरिएको थियो।

क्यामरुनसँगको समूह चरणको अन्तिम र दक्षिण कोरियाविरुद्धको प्रि-क्वार्टरफाइनलको खेल उनले गुमाएका थिए। प्रशिक्षक टिटेका अनुसार बिहीबार दिउँसो राम्रोसँग अभ्यास गरेपनि उनले शुक्रबार लगातार तेस्रो खेल गुमाउन सक्छन्।

“सबै संकेत क्रोएसियाविरुद्धको खेलमा एलेक्स सान्ड्रोले भाग नलिनेतर्फ छ। उनको चोट नेयमार र ड्यानिलोको घुँडाको चोटभन्दा अर्कै छ”, उनले भने, “उसले अलि धेरै सुधार गर्नुपर्ने छ। मैले मेडिकल र फिजिकल डिपार्टमेन्टको रिपोर्ट हेर्नुपर्छ। यो रिपोर्ट आज दिउँसोसम्म आइपुग्छ।”

यता, मुख्य फरवार्ड नेयमार र डिफेन्डर ड्यानिलो चोटबाट निको हुँदै ब्राजिलियन टोलीमा पुनरागमन गरेका छन्। सर्बियामाथि ब्राजिलको २-० को जित निकाल्ने क्रममा फरवार्ड नेयमार र डिफेन्डर ड्यानिलोलाई खुट्टाको चोट लागेको थियो। ब्राजिलले स्वीट्जरल्यान्डविरुद्ध १-० गोलको जित निकाल्दा र क्यामरुनसँग १-० गोलको पराजय बेहोर्दा उनीहरू टोलीमा उपस्थित थिएनन्।

तर, दुई खेल गुमाएका उनीहरू प्रि-क्वार्टरफाइनलअन्तर्गत दक्षिण कोरियाविरुद्धको खेलमा टोलीमा फर्किएका थिए। प्रशिक्षक टिटेले उनीहरूलाई मैदान उतार्दै टोलीमा उल्लेख्य सुधार गरेका थिए। राइट ब्याक ड्यानिलोले लेफ्ट ब्याक सम्हालेका थिए भने नेयमारले सदा झैँ अग्रपंक्ति सम्हालेका थिए।

सोमबार ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलले हराएको थियो। मुख्य प्रशिक्षक टिटेका अनुसार उनीहरू अहिले पूर्णरूपमा फिट छन्।

क्यामरुनविरुद्ध खेलको क्रममा घुँडाको चोटका कारण लेफ्ट ब्याक एलेक्स टेल्स विश्वकपबाट बाहिरिएका छन्। ब्राजिलियन टोलीसँग अरू लेफ्ट ब्याक नभएकोले सान्ड्रो खेल्न नसकेमा ड्यानिलोले फेरि डिफेन्सको बायाँ तर्फबाट शुरू गर्नुपर्छ।

“एलेक्स सान्ड्रोले शतप्रतिशत दिनसक्छ र उपलब्ध हुनेछन् भन्ने मलाई आशा छ”, डानिलोले एक पत्रकार सम्मेलनमा भने, “म अहिले फिट छु, तीनवटै डिफेन्सिभ पोजिसनमा खेल्नसक्छु। म छिट्टै सेन्टर ब्याकमा ‘ट्रान्जिसन’ गर्नेछु, किनभने युभेन्ट्समा त्यो पोजिसनबाट खेल्न निकै सहज महशुस गर्छु।”

क्रोएसियाविरुद्ध टिटेले आफ्नो पहिलो रोजाइको टोलीमा ड्यानिलो र सान्ड्रोलाई उनीहरूको प्राकृतिक स्थितिमा मैदानमा उतार्ने आशा राखेका छन्। उनीहरू शुक्रबारको खेलमा मैदान उत्रिए प्रभावशाली प्रदर्शन गर्दै आएका सेन्टर ब्याक एडर मिलिटाओ भने विकल्पका रूपमा बेन्चमा बस्नेछन्।

दक्षिण कोरियाविरुद्धको खेलमा फरवार्ड नेयमारले मैदानमा ८० मिनेट खेलेका थिए। १३औँ मिनेटमा पेनाल्टीबाट एक गोल गरेका उनलाई मैदानमा रहँदा दाहिने खुट्टाले कुनै समस्या उत्पन्न नगरेको संकेत देखिएको थियो।

ब्राजिलको लागि सर्वाधिक गोल गर्ने पेलेको (७७ गोलको) कीर्तिमान बराबरी गर्नबाट उनी एक गोल टाढा छन्। त्यसैले क्रोएसियाविरुद्ध मैदान उत्रिन उनी थप उत्साहित छन्। 

दक्षिण कोरियाविरुद्ध खेलमा ७६औँ गोल गरेपछि नेयमारले क्यान्सरको उपचार गराइरहेका ब्राजिलका ८२ वर्षीय पूर्वमहान् फरवार्ड पेलेलाई मैदानको बीच भागबाट ‘पेले’ लेखिएको ब्यानर देखाउँदै स्वास्थ्यलाभको कामना गरेका थिए। 

“पेलेलाई के भइरहेको छ भन्न गाह्रो छ। तर, म उहाँको स्वास्थ्य लाभको कामना गर्छु”, उनले खेलपछि भनेका थिए, “उहाँ जतिसक्दो चाँडो स्वास्थ्य लाभ गरेर फर्कनुहुनेछ भन्नेमा म आशावादी छु। यो जित उहाँको लागि अर्पण गर्दछौँ।” 

यता, साबिकको उपविजेता क्रोएसिया एशियाली ‘पावर हाउस’ जापानलाई पेनाल्टी शुटआउटमा ३-१ गोलले पराजित गर्दै क्वार्टफाइनलमा पुगेको थियो। अतिरिक्त समयमा १-१ गोलको बराबरीमा भएपछि खेलको छिनोफानो गर्न पेनाल्टी शुटआउटको साहरा लिन परेको थियो।

अब सेमिफाइनलको लागि क्रोएसियालाई ब्राजिलको पाँच आक्रमक खेलाडीलाई रोक्ने ठूलो चुनौती थपिएको छ, जसले दक्षिण कोरियालाई पहिलो हाफमा चार गोल गर्दै आफ्नो रवाफ देखाएका थिए।

अनुभवी मिडफिल्डर तथा कप्तान लुका मोड्रिक, फरवार्ड इभान पेरिसिक, मिडफिल्डर मार्सेलो ब्रोजोभिच र डिफेन्डर डेजान लोभरेनलगायतका खेलाडी समेटिएको क्रोएसिया सन् २०१८ को रसिया विश्वकपमा उपविजेता बनेको थियो। 

चारवर्ष अगाडि फ्रान्सविरुद्ध फाइनल खेलेका यी चार खेलाडी शुक्रबार ब्राजिलविरुद्ध सेमिफाइनल प्रवेशका लागि मैदान उत्रिँदा पनि उपस्थित हुने छन्। 

यद्यपि, क्रोएसियाका मुख्य प्रशिक्षक डालीचलाई उनीहरूको फिटनेशको चिन्ता हुनेछ।

“ब्राजिल विश्वकपमा सबैभन्दा शक्तिशाली र उत्कृष्ट टोली हो”, उनले बिहीबारको पत्रकार सम्मेलनमा भने, “उनीहरूका खेलाडी, टोलीको गुणस्तर, कौशल र फुटबलमा गरेको लगानीलाई हेर्नुहुन्छ भने ब्राजिल वास्तवमै डरलाग्दो छ।”

तर, आफूहरू आत्मविश्वासका साथ मैदान उत्रिन लागेको जानकारी दिँदै उनले ब्राजिलविरुद्धको खेल रोमाञ्चक हुने बताए।

“ब्राजिलविरुद्धको खेलमा हामी आत्मविश्वासका साथ मैदान उत्रिन्छौँ। अवसर खोज्छौँ र सदुपयोग गर्छौं। त्यसैले खेल रोमाञ्चक हुनेछ”, उनले भने।

-एजेन्सीको सहयोगमा