भयानक अशान्त पाठक हुँ म। कुनै किताब राम्रो रहेनछ भने लेखकसँग रिस उठ्छ। किताब साह्रै राम्रो रहेछ भने मरिसकेको लेखकलाई पनि अँगालो मार्न खोजिन्छ।
काठमाडौँको मूलपानीमा हुर्कें। काठमाडौँ शहरबाट मूलपानी धेरै नै टाढा, हिँडेर आवतजावत गर्दा दुई घण्टाको बाटो तर सभ्यताका हिसाबले भने सय वर्ष टाढा। यहाँका मान्छे प्राय: सबै कृषिमा संलग्न थिए। थोरै मात्र सरकारी जागिर खान शहर पुग्थे, त्यो पनि सानो पदमा। उतिखेर गाउँठाउँमा स्कुल पनि थिएनन्।
मेरो गाउँमा स्थापना भएको पहिलो पाठशालाको पहिलो ब्याची हुँ म। गुरुको दरबन्दीसँगै २०१८ सालमा गाउँमा आएको पाठशालामा म भर्ना हुन जाँदा सिधै कक्षा दुईमा भर्ना लिइयो। छनोट-जाँचमा राम्रो गरेकाले गुरुले दुई कक्षाका लागि मलाई योग्य ठहर्याउनुभयो। म ढिलो पढ्न गएँ, तर पढाइ भने छिटोछिटो हुन थाल्यो। दुई कक्षा सकेपछि शिक्षकले मलाई ‘तँ चारमा पढ्न सक्छस्’ भन्नुभयो र सिधै चारमा पुगेँ। सो कक्षाको पढाइ सकेर काठमाडौँ शहर आउनुपर्यो।
नयाँ लुगा नै हामी बालबालिकाका लागि दशैँको उत्कट प्राप्ति हुन्थ्यो। बालक छँदा दशैँ धेरै शक्तिशाली पर्व लाग्थ्यो। गाउँघरमा नयाँ लुगा मात्रै पनि दशैँको खास विशेषता थियो। दोस्रो, दशैँमा हामी गाउँका साथीसँग पिङ खेल्न पाउँथ्यौँ। तेस्रो, यस पर्वको अर्को विशेषता मासु थियो, किनभने खासखास पर्वमा मात्र मासु घरमा उपलब्ध हुन्थ्यो। विशेषमध्ये पनि विशेष दशैँ भएकाले प्रशस्त मासु खान पाइन्थ्यो। चौथो, मामाघर र ठूलीआमाकहाँ टीका लगाएर ‘दक्षिणा’ पाउने भएकाले दशैँ थप विशेष थियो। दक्षिणा स्वरूप सिक्का पाइन्थ्यो। पाँचौँ, यो मौसममा अम्बा पाक्ने र सो फल अति मन पर्ने भएकाले पनि दशैँको प्रतीक्षा रहन्थ्यो।
बा सरकारी जागिरे भएका कारण हनुमानढोकामा सबै कर्मचारीलाई हाजिर हुन उर्दी हुन्थ्यो। बाले आफूसँगै मलाई लैजानुहुन्थ्यो। सानै उमेरमा यस्ता कार्यक्रममा पुग्दा सैनिकका रवाफ, बलिपूजा आदि धेरै मन पर्यो, किनकि मैलै उतिखेर पञ्चायत चिनेको थिइनँ। जमलबाट फूलपाती भित्र्याउने क्रममा सडकपारि रहेका आफ्नै बालाई भेट्न जाँदा सैनिकले कडिकडाउ गरेको तरिकाचाहिँ ठीक होइनझैँ लाग्थ्यो।
तर अहिलेका केटाकेटीले आफ्नो जन्मदिन कुरेझैँ म दशैँ कहिले आइपुग्ला भनेर कुरिरहन्थेँ। बाल्यकालको दशैँ थियो यो।
***
किशोरवय लाग्दै गर्दा शहरनजिक जानुपर्यो पढ्न। स्कुल जान थालेपछि पञ्चायत खराब व्यवस्था रहेछ भन्ने बुझ्न थालेँ, बन्दुक पड्काउँदै गरिने बढाइँ आदि कर्म सही होइनन् भन्ने लाग्न थाल्यो। शहरमा गएपछि हिन्दी सिनेमाका कुरा थाहा पाएँ। गाउँबाट सबैभन्दा नजिकको फिल्महल थियो नवदुर्गा चित्रमन्दिर, जुन भक्तपुरको सिद्धपोखरीमा पर्थ्यो। त्यहाँ पुराना हिन्दी फिल्म चल्थे। कति फिल्म दोहोर्याएर, तेहेर्याएर चल्थे। किशोरवयमा हेरेका र अहिलेसम्म रन्थन्याइरहेको फिल्म हो गुरुदत्तको–‘प्यासा’। तीनचार पटक दशैँमा मैले यो फिल्म हेर्न पाएँ। एउटा कविका बारेमा गरिएको फिल्मको ‘फ्रेमिङ’ले मलाई जहिल्यै तानिराख्थ्यो।
बाको सरकारी जागिर भएकाले गोजीबाट अलिअलि पैसा झिकेको चाल पाउनुहुन्थेन। जसोतसो पैसाको जोरजाम गरेर दशैँताका फिल्म हेर्थेँ। अरूबेला पढाइलेखाइका लागि पद्मोदय हाइस्कुल (रामशाहपथ) जानुपर्ने भएकाले फिल्म हेर्न जाने फुर्सद हत्तपत्त मिल्दैनथ्यो। यही मौकामा मैले पुराना समयका यावत फिल्म हेर्न पाएँ।
किशोरवयमा पुगेपछि पिङ छाड्दै गइयो। खानपिनको अनुराग पनि कम हुँदै गयो। फिल्मको लगावचाहिँ किशोर हुन्जेल रहिरह्यो। भक्तपुरमा फिल्म हेरेर मूलपानी फर्कँदा बाटैमा रात पर्थ्यो र अनकन्टार बाटोमा डराउँदैडराउँदै घर पुग्थेँ।
बिस्तारै गाउँ बदलिँदै गयो। आफैँ बदलिएँ। नौदशतिर र कलेजतिर पढ्दैगर्दा गाउँ छाडेर धेरैजसो शहरमै डेरा गरेर बस्न थालेँ। यस कारण पनि गाउँमा मेरा खासै साथी भएनन्। बाल्यकालका जति भए, त्यति नै रहे। आफ्नो गाउँमा साथी नहुनु पनि ‘गरिबी’को लक्षण हो।
दशैँउस्तै आउँथ्यो, तर किशोरवयमा लाग्दै गर्दा दशैँप्रतिको अनुराग घट्दै गयो। कलेज पढ्दै गर्दा साहित्यतिर लागेँ। बिस्तारै मनोविज्ञान कसरी बदलियो भने टीका लगाउँदै निधार चिलाउनेसम्म हुन थाल्यो। अक्षता साँच्चै चिलाउँदो हो त अरूलाई पनि चिलाउनुपर्ने हो तर मलाई मात्र चिलाउँथ्यो। टीकाटालोका लागि मामाघर जान पनि उति रुचि हुन छाड्यो।
दशैँलाई सामाजिक र सांस्कृतिक रूपमा अझै बृहत्तर बनाएको भए पर्व राम्रो हुँदो हो भन्नेतर्फ चिन्तन बढ्न थाल्यो। यद्यपि, पहिले म धेरै ‘भक्त’ थिएँ। स्कुल पढ्दाताका प्रमोद नाम गरेका एक शिक्षकले विज्ञानवादी बन्न प्रेरित गर्नुभयो, स्कुलका सबैभन्दा कलिला ती शिक्षक कुनै क्रान्तिकारी कम्युनिस्ट थिएनन्। तर उनले ‘हामीले मान्ने सबै भगवान् मान्छेले नै सिर्जना गरेका हुन्’ भनिदिएपछि मेरा विचार र चिन्तन बदलियो।
धेरै नाम चलेका व्यक्तित्वबाट शिक्षा लिने संयोग जुरेको थियो पद्मोदय हाइस्कुलमा। पुस्तकालय काण्डका नायक प्रेमबहादुर कंसाकर, जोन स्टयान्लेको उपन्यास अनुवाद गर्ने आनन्दप्रसाद ढुंगाना, कृष्णबहादुर मानन्धरदेखि ईश्वरराज अर्यालजस्ता इतिहासकार पनि मेरा शिक्षक हुनपुगे। त्यस्ता मान्छेहरूको संगतले मेरो ज्ञानको दायरा बृहत् हुनथाल्यो। दशैँ र अन्य अवसरका कर्मकाण्ड अनावश्यक र बोझिला लाग्नथाले। अन्धभक्तिमा आधारित पर्व ठीक भएन कि झैँ लाग्न थाल्यो।
किशोरवयमा ईश्वर, पर्व र परम्पराबारे मैले बेग्लै सोच्न थालेँ।
***
गाउँमा जुत्तै नलगाउने मलाई शहर आएपछि जुत्ता लाउनु अनिवार्य हुन थाल्यो। गाउँमा दुई जोर लुगा मात्र हुन्थ्यो: एक जोर नयाँ र एकजोर पुरानो। शहर आएपछि धेरै लुगा भए। काठमाडौँ शहरभित्र दशैँभन्दा बढी तिहारको रमझम बेसी देखिन थाल्यो। मूल काठमाडौँ नेवारबस्ती भएकाले यो समय नयाँ वर्ष (नेपाल संवत्)को हुन्थ्यो। हाम्रो गाउँमा बिजुली थिएन, काठमाडौँमा बिजुली थियो। बिजुलीसँगै रङ्गीचङ्गी झिलिमिली काठमाडौँमा हुने भएकाले दशैँभन्दा बढ्दा रमाइलो तिहार देखिन्थ्यो। मैले गाउँमा नभोगेका कुरा काठमाडौँमा देखिने भएकाले पनि तिहार बढी रमाइलो लाग्न थाल्यो।
साहित्य लेखनमा लागेपछि त हरेक तिहारको लक्ष्मीपूजाको दिन लक्ष्मीप्रसाद देवकोटासम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुने नै भइयो। राज्यशक्तिलगायत सबैजसोले देवकोटालाई महाकविका रूपमा स्थापित गरी नै सकेका थिए। ठूलाले भनेपछि हामीले पनि मान्नैपर्यो। त्यस्ता अवसरमा कविता पाठ गर्ने अवसर जुटेपछि तिहार आफ्ना लागि विशेष लाग्ने नै भयो।
नेपालमा दोस्रो पटक प्रजातन्त्र आउँदा राजनीति, पत्रकारिता र साहित्यमा संलग्न थिएँ। त्यसताक दशैँलाई राष्ट्रिय पर्व भन्ने कि नभन्ने खालका बहस अघि आउन थाले। म पनि खास समुदायको पर्वलाई सबैको भनेर राज्यले लाद्नुहुन्न भन्ने पक्षमा रहेँ।
र अहिले आएर त म दशैँप्रति यस्तो वीतरागी भएँ कि दशैँ नै नआए नि हुन्थ्यो, किन यो बारम्बार आइराखेको होला भन्ने लाग्न थालेको छ। पहिलेपहिले दशैँखर्च आदि आफैँले गर्नुपर्ने भएकाले पनि दशैँ नआए हुन्थ्यो भन्ने लाग्यो। तर अहिले त खर्च गर्नै नपर्दासमेत दशैँको आशक्ति छैन।
हामीले नै बनाएको पात्र नै त हुन् दुर्गा भन्ने लाग्न थाल्यो, जसरी मेरा उपन्यासमा पनि कतिपय पात्र छन्। दुर्गालाई पूजा गर्ने हो भने मेरा उपन्यासका पात्रको पनि पूजा गर्न मिल्दो हो! यद्यपि, कुनै पनि विषय या पात्रको पूजाआराधनाको पक्षमा म छैन।
बाक्लो ढकाल गाउँमा बस्छु। कुनै जायजन्म हुँदा या कोही बित्दा पनि दशैँ 'छेकिन्छ'। यस्तो संयोगमा साथीहरूसँग घुम्न जाने अभ्यास छ। त्यस्ता अवसरमा अन्नपूर्ण बेसक्याम्प, जोमसोम या थोराङ्लापासतिर ट्रेकिङ गएँ। यसपालि पनि जाने भन्दाभन्दै वर्षा र बाढीका कारण योजना बिथोलियो। यसको क्षतिपूर्ति सायद चैत वैशाखतिर हुन्छ कि!
मैले तास खेल्न त्यति जानिनँ। बाल्यकालमा तास खेल्नेहरूसँग मेरो संगत नभएकाले त्यसतर्फ रुचि रहेन। मेरो बालेसम्म जुवा खेल्नुहुन्थ्यो, त्यो पनि तिहारमा एकचोटि। महाभारतमा जुवा खेलिएको हुँदा सो खेल हाम्रो धर्मभित्र पर्छ भन्ने बाको तर्क हुन्थ्यो। जुवालाई 'द्यूतक्रीडा' भनिन्छ। तर मेरा बा जहिले पनि पैसा हारेर आउनुहुन्थ्यो। तर यति हार्छु नै भनेर पहिल्यै पैसा छुट्याएर जानुहुन्थ्यो।
दशैँजस्तो 'लिजर टाइम'मा म किताब पढ्न मन पराउँछु। संसारमा यति किताब छन् कि ती पढेर सकिँदै सकिँदैनन्। कुनै किताब पढ्दा त्यस लेखकले कति राम्रो लेख्न सकेको भनेर आरिस लाग्छ, तर के बुझ्नुपर्छ भने त्यस लेखकको जिन्दगी त मेरो जिन्दगी होइन! त्यसो हुँदा भयानक अशान्त पाठक हुँ म। कुनै किताब राम्रो रहेनछ भने लेखकसँग रिस उठ्छ। किताब साह्रै राम्रो रहेछ भने मरिसकेको लेखकलाई पनि अँगालो मार्न खोजिन्छ।
मेरो हकमा पाठकले मलाई राम्रै लेखक भनेको सुन्छु, तर मैले नै मेरो लेखकलाई हेर्दा ‘तँ धेरै महत्त्वाकांक्षी छस्, तर गर्न पनि सक्दैनस्’झैँ लाग्छ। दशैँमा साथीभाइमाझ बसेर कहिलेकाहीँ 'ऋग्वैदिक पेय पदार्थ' (ह्विस्की) खान मजा लाग्छ। तर अब मसँगै साथीभाइ पनि धेरै पाका भएर होला, जमघट कम हुँदै गएका छन्।
गाउँमा काटमार हुँदा रमाइलो लाग्थ्यो। उमेर आदि कारणले होला, मलाई अहिले त्यस्तो मन पर्दैन। किशोरवयमा भने मैले आठ दश वटा मार हानेको छु। पहिले एक किसिमले मेरो 'उद्दण्ड दशैँ' थियो। अचेल हामी घरमा काटमार र बलि अभ्यास गर्दैनौँ। कुलपूजामा पनि त्यस्तो अभ्यास रोकेका छौँ। एकाधबाहेक धेरैले त्यसलाई स्विकारेका पनि छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
