चाडपर्वको समयमा हुने ठगी धन्दा र फटाइँगिरीमा सरकारी निकाय हस्तक्षेपकारी भूमिका नखेली मूकदर्शक बन्छ, दशैँको खसी र रक्सीमा शायद ऊ पनि भुल्छ।
प्रारम्भमा ‘प्रकृति’ र पछि शासकको घटना विशेषलाई केन्द्रित गर्दै बाँचिरहेका शासित मानव समूहले निरन्तर चाडपर्वलाई उत्सवका रूपमा मनाउने गरेको भेटिन्छ। करिब चारदेखि तीन लाख वर्षपहिले अहिलेको मानव जाति ‘होमो सेपियन्स’ले पूर्वज ‘होमो इरेक्टस्’द्वारा पत्ता लगाएको आगो आफ्नो आधिपत्यमा राख्न सफल भएपछि नै अन्य जनावरमाथि आफ्नो हैकम लागू गर्ने युगमा पुग्छ। त्यसपछिका विभिन्न युगमा प्राकृतिक प्रकोपबाट बच्न गरिने याचना ‘चाडबाड’ बन्न पुग्छन्।
पाँचदेखि तीन हजार वर्षअघि फलाम पत्ता लागेपछि सोको प्रयोगले कृषि उत्पादनमा उल्लेख्य वृद्धि भयो। गैरश्रमिक मुखिया तप्का, राजा रजौटा वा शासक र श्रमिक तप्का प्रजा वा शासित वर्ग बन्न पुगे। समाजवादको अन्त्य र व्यक्तिवादको अभ्युदयको संक्रमणकालबाट नै उक्त कालमा वर्गीय समाज निर्माण हुन पुग्यो। त्यसपछि नै क्रमिक रूपमा प्रकृति पूजनलाई व्यक्ति पूजनको लेपन लगाउँदै विभिन्न धर्मग्रन्थको रचनामार्फत शासक वर्गले जनतामाथि बलात् हस्तक्षेप गर्न थाले।
कृषियुगको कृषि कर्ममा आधारित दशैँजस्ता पर्वलाई पनि समयक्रममा अदलबदल गरिएको देखिन्छ। दशैँका अनेकन् महिमा हामीले सुनिरहेकै छौँ र सुनी नै रहौँला तर केही प्रश्न पनि उठाउने जमर्को यहाँ गरिएको छ। यसलाई बिलकुल बौद्धिक विमर्शका रूपमा बुझ्न सबैमा अनुरोध छ:
१) धनीलाई दशैँ, गरिबलाई दशा
वर्गीय खाडलको लम्बाइ बढ्दो वर्तमानमा दशैँ र अन्य चाडपर्व मनाउँदा वर्गीयता सपाट प्रदर्शन भएका दृष्टान्त भेटिन्छन्। गाउँघरको प्रचलित ‘दशैँ गयो तिहार आयो, तिहार गयो नेवार आयो’ भन्ने लोकोक्ति विशेष गरी निम्न वर्गका गरिब जनताका निम्ति लक्षित र लागू हुने यथार्थ हो। ‘नेवार’ शब्दले यहाँ कुनै समुदायलाई लक्षित नगरेर विशुद्ध ढंगले आर्थिक विषयलाई इंगित गरेको छ।
यस्ता लोकोक्तिले गरिबको चाडबाड मनाउने परिवेश कस्तो थियो वा छ भन्ने अड्कल काट्न गाह्रो पर्दैन। दशैँ अवधिभर हुनेखाने वर्गको खाद्य-पेय पदार्थको बेपरवाह प्रयोग, लत्ताकपडाको भड्किलो प्रदर्शन र मोजमस्तीका क्रियाकलापले विपन्न वर्गका बालदेखि वृद्ध पुस्तालाई मानसिक रूपमा कति निमोठेको छ, हिसाबकिताब छैन। छोटकरीमा यो चाड धनीलाई दशैँ (हर्षोल्लास) र गरिबलाई 'दशा' (बिस्मात) बन्न पुगेको यथार्थ लुक्नेवाला छैन।
२) बजारवाद (उपभोक्तावाद) को बिगबिगी
दशैँ र अन्य चाडपर्वहरू मुखैमा रहेकाले यतिबेला नेपाली बजार झिलिमिली र रंगिन बन्न देखिन्छन्। जसरी जादुगरले दर्शकका आँखा र मस्तिष्कलाई जादुइ छडीले भ्रमित बनाउँदै फनफनी घुमाउँछ, त्यसरी नै बजारवादको झिलिमिलीले उपभोक्तालाई एकसुरे–पैसा फाल्ने रोगी बनाएको छ। मेडिकल माफियाका निम्ति कुनै पनि महामारी रोगीको ढाड सेक्ने गरी पैसा लुट्ने अवसर भएझैँ चाडपर्व नाफाखोर व्यापारीका लागि त्यस्तै बन्न पुगेको छ।
चाडपर्वको याममा हुने ठगी धन्दा र फटाइँगिरीमा सरकारी सरोकारवाला निकाय हस्तक्षेपकारी भूमिका नखेली मूकदर्शक बन्छ, दशैँको खसी र रक्सीमा शायद ऊ भुल्छ। वास्तवमा भड्किला र चित्ताकर्षक विज्ञापन सामग्री, गीत-संगीतमय रौनक, मेला महोत्सवको हल्लाखल्लालगायत बजारवादी क्रियाकलापको एकोहोरो रटानले ‘दशैँ आयो’ भन्ने माहौल एवं मनस्थिति आम मानिसमा बलात् सिर्जना गर्छ। यस्तो उन्मादले नै बजारवाद र उपभोक्तावादी संस्कृति मौलाउने हो।
३) पर्वमा पितृसत्ता
नवरात्रको नौ वटा रात शक्तिको प्रतीकको रूपमा पूजा आराधना गरिने 'महिषासुर मर्दिनी'लाई शक्ति प्रदान गर्ने सबै देवता पुरुष नै रहेछन् भन्ने दाबी लेखकको नभएर मार्कण्डेय पुराणको हो। आमाले बाको हातबाट टिका, जमरा र आशीर्वाद लिने र बाकै खुट्टा ढोग्ने, तर परस्पर विपरीत क्रियाकलाप नहुने तथ्यले पितृसत्ताको दरिलो खम्बाको रूपमा समेत टिका प्रथालाई लिन सकिने भयो। महिलालाई शक्तिको प्रतीकको रूपमा पुज्ने गरेको र भेदभाव नगरिएको दाबी बेलाबेला धर्मभिरुहरू गर्छन्, तर यस्ता सन्दर्भ र अभ्यासले सो दाबीलाई खारेज गर्छ।
त्यसैगरी, पुरुष र महिलालाई दिने आशीर्वादको मन्त्रमा पनि ठूलो अन्तर पाइन्छ। महिलालाई दोयम कोटीको जिनिस देख्ने सत्ताले निर्माण गरेको अवधारणा हो यो। श्रम शोषणको दृष्टिमा समेत दशैँ र अन्य विविध चाडपर्व महिलाद्वेषी नै ठहरिन्छन्। बिहानै उठेर घरको दैनिक कामधन्दा सकेर पर्वको व्यवस्थापनसहित पाहुनापाछा र पुरुषको सेवा गर्न अहोरात्र महिला खटिने, तर खुट्टा ढोगाउने पुरुषचाहिँ खानपान र तास आदि खेलमा मग्न रहने कुराले पनि दशैँको दर्शन केही हदसम्म बुझिन्छ। यस्तो लाग्छ, कुनै रेस्टुरेन्टको पुरुष आगन्तुक पाहुना हुन् भने महिलाचाहिँ भान्छे र वेटर।
४) दशैँ र जात व्यवस्था
जात व्यवस्थाको सबैभन्दा चुरो कुरो वा गुदी नै 'उचनिच' वा 'असमानता' हो। टिका लगाउने र आशिष् दिने-लिने प्रथाले पनि कोही दिनेवाला 'दाता' साथै कोही लिनेवाला 'याचक' छ भन्ने स्पष्ट देखिन्छ। यता, पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तार र विसं.१९१० को मुलुकी ऐनले पहाडिया हिन्दू खस आर्यको खास पर्व दशैँलाई राष्ट्रिय पर्वको दर्जामा राख्दै अन्य जाति वा राष्ट्रहरूका पर्वलाई रफादफा पारेको इतिहास पनि छँदै छ।
राजा रणबहादुर शाह र जंगबहादुर राणाको शासनकालमा दशैँ मनाउन, कर तिर्न र पशुबलि दिएपछि प्रमाणस्वरूप दैलोमाथि पन्जाछाप लगाएर मनाएको सूचना दिन इस्तिहार नै जारी गरिएको थियो। त्यसैगरी, धनकुटाका आठपहरिया किरातले दशैँ नमान्दा राम्लिहाङ र रिदामा नामका दुई विद्रोहीलाई झुन्ड्याएर मारिएको इतिहास पनि छ।
५) बलिप्रथा र पशुशोषणबारे
'हत्या पाप हो' भन्ने अवधारणासमेत भएको हिन्दु धर्ममै रहेको पशुबलि प्रथाले विरोधाभास उत्पन्न गराउँछ। मानव वा स्वकेन्द्रित अवधारणालाई पक्षपोषण गरेको बुझिन्छ। अबोध पशुपक्षी मरेर मानव प्रजातिको देवीदेवता खुशी पार्नुपर्ने र भोजन बनेर भोक मेटिदिनु पर्ने दायित्व कसरी तिनको हुन आउँछ भन्ने प्रश्न पशु अधिकारकर्मीले अचेल निरन्तर सोधिरहेका छन्।
पशुशोषण पनि मान्छेले सिर्जना गरेको अनेक शोषणमध्ये एक हो भन्दै पशुजन्य कुनै पनि शोषणमा संलग्न नहुने ‘भिगन’हरूको पनि प्रश्न हो यो। यो प्रश्न मासु उद्योग र मासु भोजन गर्नेलाई समेत हो। मानव अधिकारका मुद्दा उठाउने तर गैरमानवजातिको गरिमा र अधिकारबारे फिटिक्कै नबोल्ने सुविधा अब कमसेकम सचेत मान्छेलाई नहुनुपर्ने हो। यस्तो अवस्थामा मानवकेन्द्रित विचारलाई परिमार्जित गरी प्रकृतिकेन्द्रित नवविश्वदृष्टिकोण तयार पार्नुपर्ने देखिन्छ।
६) ‘असुर द्वेष’
भारतका केही प्रान्तमा असुरलाई नायकको भूमिकामा राखी आफ्नो देवता मान्ने र आफू उनीहरूकै सन्तति हो भनी दाबी गर्ने जातिसमेत भेटिन्छन्। दशहराको दशमीको पाँच दिनपछि महिषासुर स्मरण वा शहादत दिवस मनाउने उक्त समुदायले पनि सुरहरूको आराधना गर्ने सम्प्रदायसरह निर्धक्कसँग आस्था राख्न पाउनु पर्छ। यद्यपि, एकपक्षीय प्रशिक्षणले त्यसो हुन सकेको देखिँदैन।
७) अतिवाद
दशैँ वा अन्य चाडपर्वको समर्थन र विरोधमा युवापुस्ता सञ्जालमा पाखुरा सुर्किएर उत्रिएका देखिन्छन्। अन्धसमर्थन र कटु विरोध दुवै अतिवादी सोच हो। कसैको आस्थालाई बलमिचाइँपूर्वक प्रहार गर्नु, भडास पोख्नु वा व्यङ्ग्य ठोक्नुले मात्रै सही निष्कर्षमा पुगिँदैन भन्दा उत्पीडनको पिँधमा रहेकाहरूले नचिच्याउनु भन्ने अर्थ नलागोस्। समाजमा रहेका विभेद र असन्तुलनबारे संयम र वैज्ञानिक धारणा राख्नुपर्छ, जसले रूपान्तरणमा भूमिका खेलोस्। भड्कावले त उल्टै सामाजिक बहसहरू रोकिने डर हुन्छ।
८) दशैँका राम्रा पक्ष
दशैँको ‘धर्मान्धता’ छाडेर यसको सांस्कृतिक वैभवलाई आत्मसात् गर्ने धार्मिक र सुधारवादीको सुधारोन्मुख कार्यलाई भने प्रगतिशील-भौतिकवादीले समेत समर्थन र उत्साहित गर्नु उचित हुन्छ। आफन्त, इष्टमित्रसँगको साक्षात्कार भेट र पुनर्मिलन, खानपिन, मनोरञ्जन आदि क्रियाकलापले हाम्रो मानसिक स्वास्थ्य र सामाजिक जीवनलाई फाइदा नै पुग्छ। तर उत्सवमा रमाउँदै गर्दा गरिब, महिला, दलित, बालबद्ध, रोगी र अपांगता भएका सबैले समान अवसर प्राप्त पाएका छन् त? यसबारे कमसेकम विवेकशील र संवेदनशीलहरूले सोच्नुपर्छ।
९) चामल र बियाँ
चामल निफन्दा भुस र बियाँ पन्छाउँदा सग्लो चामलप्राप्त भएझैँ दशैँलाई सूक्ष्म तवरले निफन्ने हो भने पर्वका धार्मिक र सांस्कृतिक पक्ष केलाउन सम्भव छ। त्यसो हुन सक्दा दशैँका दश दिनलाई पनि हामी केलाउन सक्छौँ। संस्कृति र धर्मका भेद छुट्याउन सक्यौँ भने यस्ता अवसरमा हामी आफ्नो रुचि मुताबिक किताब पढ्न, घुम्न सहज हुन्छ। त्यसो गर्न सक्दा पितृसत्ताले निर्माण गरेका दैवी पात्रको पूजापाठभन्दा पनि तर्क विज्ञानतिर आफूलाई उन्मुख गराउन सक्छ।
१०) अझै धार्मिक राज्य!
प्रचलनमा रहिआएको गोरखादेखि काठमाडौँसम्म फूलपाती भित्र्याउनेवाला ‘बडादशैँ’को प्रादुर्भावकर्ता पृथ्वीनारायण शाह हुन्, तर उनको सन्तान दरसन्तान राजा हुने व्यवस्था ध्वंस भएर गणतन्त्रात्मक र धर्मनिरपेक्ष राष्ट्र भएको दुई दशक पुग्न लाग्दासमेत उक्त कर्मकाण्ड जारी रहँदा नवपुस्ता अन्योलमा छ– के गर्दै छ यो राज्य भनेर!
उल्लेख्य छ, दशैँको ‘द’ नचिन्ने इस्लामधर्मावलम्बी नेपालीमध्ये अधिकांशले रमाजानताका महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म पानीसमेत नपिई कठोर रोजा बस्छन् तर त्यस पर्वमा तिनले एक दिन मात्र सार्वजनिक बिदा पाउँछन्, तर दशैँमा कमसेकम एक हप्ता बिदा घोषणा गरिन्छ। पहिलेदेखि यस्तै अभ्यास भएर आएको हुँदा कतिलाई यो सामान्य लाग्ला त कतिलाई कटु लाग्ला तर धर्मनिरपेक्ष राज्यमा खास जातिको पर्वलाई यति धेरै लामो बिदा उचित होइन।
मैझारो
इस्वी संवत्को प्रारम्भमै स्टोइकवादी (निस्पृहतावादी) दार्शनिक सेनेकाको दाबी थियो, ‘धर्मलाई आममानिसले सत्य, बौद्धिकले झूटो र शासकले उपयोगी मान्छन्।’ अतः शासक वर्गको लुट धन्दाको मतियार बन्न छोडेर रूढिवादी क्रमशः सुधारवादी र सुधारवादी छलाङ मार्दै प्रगतिशील भौतिकवादी बन्दै जाने नवीन जागरणको सहयात्रामा गतिशील भएमा माथिका यावत् प्रश्नको हल अहिले दशैँ मनाउनेहरूले फेला पार्नेछन् र दशैँको सच्चा सांस्कृतिक उत्सवमा मानिसहरू उन्मुक्त भएर रमाउनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
