एनरिकेको राजीनामा स्वीकृत, फुइन्टे बने स्पेनका नयाँ प्रशिक्षक

स्पेनिस फुटबल महासंघले लुइस एनरिकेको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा लुइस फुइन्टे नियुक्त गरेको छ।

काठमाडौँ– स्पेनिस राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा लुइस फुइन्टे नियुक्त भएका छन्।

सन् २०१८ जुलाईदेखि स्पेनिस टोली सम्हालिरहेका लुइस एनरिकेले बिहीबार राजीनामा दिएसँगै स्पेनिस फुटबल महासंघले फुइन्टेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।

कतारमा विश्वकप २०२२ को प्रि-क्वार्टरफाइनलमा मोरक्कोसँग पेनाल्टी शुटआउटमा पराजित भएपछि एनरिकेले बिहीबार राजीनामा बुझाएका थिए। उनको राजीनामा संघका अध्यक्ष लुइस रुबियालेस र जोसे फ्रान्सिस्को मोलिनाले स्वीकृत गरेका छन्।

एनरिकेको प्रशिक्षणमा स्पेन गत वर्ष युरोकपको सेमिफाइनलमा पुगेको थियो। नयाँ प्रशिक्षक फुइन्टेले यसअघि स्पनेको यू-१९, २१ र २३ को युवा राष्ट्रिय टोली सम्हालिसकेका छन्।

उनीसँग स्पेनिस क्लब एथ्लेटिक बिल्बाओ र सेभिल्लाजस्ता ठूला क्लब सम्हालेको अनुभव पनि छ।