पेरुको पहिलो महिला राष्ट्रपति बनिन् बोलुवार्ते

पेरुमा पहिलोपटक महिला राष्ट्रपति नियुक्त भएकी छन्। पूर्वराष्ट्रपति पेद्रो कास्तियोमाथि महाअभियोग लागेपछि ६० वर्षीय दिना बोलुवार्ते राष्ट्रपति बनेकी हुन्।

दिना बोलुवार्ते पेरुको पहिलो महिला राष्ट्रपति बनेकी छन्। पेरुका पूर्वराष्ट्रपति पेद्रो कास्तियोमाथि महाअभियोग लागेपछि ६० वर्षकी दिना पेरुको नयाँ राष्ट्रपति बनेकी हुन्। 

अब दिनाले सन् २०२६ जुलाईसम्म पेरुको राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्नेछिन्। कार्यभार सम्हाल्दै दिनाले देशमा भएको राजनीतिक गतिरोध अन्त्य गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले मुलुकको रक्षाका लागि समय माग गरेको बताइन्। दिना यसअघि पेरुको उपराष्ट्रपति थिइन्।

यसअघि नयाँ संसद् गठन गरी आकस्मिक सरकार बनाउने कास्तियोले प्रस्ताव गरेका थिए। यसबीचमा बुधबार नाटकीय ढंगले राजनीतिक घटनाक्रम अघि बढेका थिए। कास्तियोले राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै मुलुकमा संकटकाल घोषणा गरेका थिए। साथै, उनले विपक्षी बाहुल्य संसद् भंग गर्ने पनि बताएका थिए। तर, सांसदहरूले अस्वीकार गर्दै उनीविरुद्ध महाअभियोगको तयारी थालेका थिए। सांसदहरूको आकस्मिक बैठकले उनलाई विद्रोहको आरोपमा नियन्त्रणमा लिएका थिए। 

संवैधानिक अदालतले कास्तियोले संवैधानिक व्यवस्थाको उल्लंघन गरेको र सरकारलाई हिंसातर्फ दोहोर्‍याएको  आरोप लगाएको थियो।

साथै, पेरुको प्रहरी र सेनाले संयुक्त वक्तव्य जारी गर्दै मुलुकमा संवैधानिक व्यवस्था कायम हुनुपर्ने बताएका थिए।

यसै क्रममा कास्तियोविरुद्ध संसद्मा महाअभियोगको प्रस्ताव पारित भएको थियो। संसद्मा महाअभियोगको पक्षमा १०१ र विपक्षमा ६ मत खसेको थियो भने १० जना सांसद तटस्थ बसेका थिए।

महाअभियोग लागेका कास्तियो हाल प्रहरी नियन्त्रणमा छन्। उनीविरुद्ध यसअघि नै भ्रष्टाचारको आरोपसमेत लाग्दै आएको थियो। तर, उनले यसलाई राजनीतिक प्रतिशोध भन्दै खण्डन गर्दै आएका थिए।

-एजेन्सीको सहयोगमा