व्यवस्थित लिग र युरोपबाट खेल्ने खेलाडीले बलियो बनाएको जापान

सन् २०९२ सम्म विश्वकप जित्ने भिजनसहित अगाडि बढेको जापानले युवाहरूलाई आकर्षित गर्न टीभी कार्यक्रम र चलचित्र निर्माणमा जोड दिएको छ।

१९८० को दशकको अन्त्यतिर अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका ब्राजिलियन लिजेन्ड जिको ९० को शुरूआतमा पहिलोपटक जापान पुगेका थिए। करिब साढे दुई दशकको खेल जीवनबाट ब्रेक लिएका उनको मनलाई भर्खरै विस्तारित हुन लागेको जापनिज फुटबलले असाध्यै लोभ्यायो। उनले स्थानीय क्लब काशिमा एन्टलर्सलाई पनि नजिकैबाट नियाल्ने मौका पाए।

केही दिन एन्टलर्ससँगै बिताएका उनले जापनिज खेलाडीहरूमा सिक्ने तीव्र इच्छा रहेको महसुस गरे। “मैले गल्तीहरू औँल्याउँदा खेलाडीहरू हरेक शब्दलाई नोट गर्थे। अनि अर्को खेलको केही मिनेटअघि उनीहरूले ती नोट निकाल्थे र गल्तीहरू सबैलाई सुनाउँथे। उनीहरू परीक्षा दिन लागेको जस्तै तयारी गर्थे। वास्तवमै त्यो दृश्य देख्दा रोचक लाग्थ्यो”, उनले सन् २००२ को विश्वकपअघि द गार्जियनसँग भनेका थिए।

पछि जिको सोही क्लबमा अनुबन्ध हुँदै प्रशिक्षकको भूमिकामा ‘टचलाइन’मा देखिन थाले। करिब १ वर्ष प्रशिक्षण गराउँदा उनले जापनिज खेलाडीमाथि आफूले साढे दुई दशकमा आर्जन गरेको अनुभव खन्याए। सोही क्लब यसै वर्ष सम्पन्न जापानको शीर्ष लिग जे १ मा चौथो स्थानमा रह्यो।

“जित्नुपर्छ भन्ने भावना उनीहरूमा थिएन। खेलमा गरेको गल्तीहरूलाई हलुकामा लिन्थे। उनीहरूलाई सिकाउने गतिलो प्रशिक्षक थिएन,” उनले भनेका थिए, “पछि राम्रा प्रशिक्षक झिकाएर क्लबहरूलाई बलियो बनाउन थाले। त्यसपछि राष्ट्रिय टोली बलियो भयो।”

यी प्रसंगले ९० दशकमा जापानी फुटबलको अवस्था के थियो भन्ने इंगित गर्छ। तर, जापनिज टोलीको भाष्य अहिले जिकोले इंगित गरेको अवस्थाभन्दा बिलकुलै फरक छ। काउरु मितोमा, रित्सु डोन, ताकेहिरो टोमियासु, यूटो नागाटोमो र ताकुमी मिनामिनोजस्ता राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी स्थानीय क्लबमा निर्भर छैन। उनीहरू जस्ता १८ खेलाडी अहिले युरोपका विभिन्न क्लबहरूबाट व्यावसायिक रूपमा फुटबल खेल्दै आएका छन्।

यही पुस्ता समेटिएको जापान कतार विश्वकप २०२२ मा ‘जायन्ट किलर’ बनाएर उदायो। करिब छ महिनाअघि विश्वकपको ‘ड्र’ हुँदा धरैले जापानलाई सन् २०१० र २०१४ को विश्व च्याम्पियन भएको समूहबाटै बाहिरिने पहिलो टोलीको रूपमा हेरेका थिए।

खेल शुरू भएपछि जापानले यी सबै आकलनलाई गलत साबित गर्दै ‘जायन्ट किलर’को  रूपमा आफूलाई स्थापित गर्न सफल भयो।

समूह ‘ई’ मा रहेको जापानले चार पटकको विश्वविजेता जर्मनीलाई पहिलो खेलमै २-१ गोलको नमिठो हार चखायो। दोस्रो खेलमा कोस्टरिकासँग १-० गोलले पराजित भएको जापानले तेस्रो तथा अन्तिम खेलमा सन् २०१४ को विश्वविजेता स्पेनलाई पनि २-१ ले हराउँदै अन्तिम १६ मा स्थान बनायो। यद्यपि, क्वार्टरफाइनलको लागि भएको भिडन्तमा चार वर्षअघिको उपविजेता क्रोएसियासँग पराजित हुँदै पुनः अन्तिम १६ बाटै बाहिरियो।

जारी कतार विश्वकपसँगै ७ संस्करणमा सहभागिता जनाइसकेको जापान यो संस्करणमा मात्रै प्रि-क्वार्टरफाइनलबाट बाहिरिएको भने होइन। सन् १९९८ मा फ्रान्समा आयोजना भएको विश्वकपबाट नियमित सहभागिता जनाउँदै आएको जापान त्यसयता चारपटक (सन् २००२ २०१० २०१८ र २०२२)  प्रि-क्वार्टरफाइनलमा पुगिसकेको छ। दुईपटक (२००६ र २०१४ मा) भने जापान समूह चरणबाटै बाहिरिन परेको तथ्य छ।

“जर्मनी, स्पेन र कोस्टारिकाजस्ता बलिया टोली रहेका समूहमा जापानले यस्तो नतिजा निकाल्छ भनेर कमैले आकलन गरेका थिए”, नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान राजुकाजी शाक्य भन्छन्, “तर समूह चरणमा गरेको प्रदर्शनले जापान यसपटक बलियो भएर फर्किएको प्रमाणित गर्‍यो र कम्तीमा क्वार्टरफाइनलसम्म पुग्न सक्ने क्षमता देखिन्थ्यो। ब्याडलक नै भन्नुपर्छ खेलभर रोकेर राखेको क्रोएसियासँग अन्तिममा पेनाल्टीमा चुक्यो।”

कसरी बलियो बन्यो जापान?
नेपाली टोलीका पूर्वकप्तान शाक्य जापान ७० को दशकसम्म नेपालकै स्तरमा रहेको टोली मान्छन्। तर, बढ्दो फुटबलको क्रेज र यसमाथि गरेको लगानीकै कारण जापान पाँच दशकमै एशियाली क्षेत्रकै सदाबहार बलियो टोली बनेर उभ्याएको मान्छन्।

“जापानका लिगहरू बलियो छन्। उनीहरूले लिग बलियो बनाउन लगानी पनि खन्याएका छन्। त्यतिमात्रै होइन आर्सनल, लिभरपुल र एसी मिलानजस्ता युरोपकै उत्कृष्ट क्लबहरूबाट खेल्दै गरेका र खेलिसकेका खेलाडीहरू पनि राष्ट्रिय टोलीमा छन्”, उनी भन्छन्।

जापानमै बस्दै आएका नेपाली राष्ट्रिय टोलीका पूर्वफरवार्ड नरेश जोशी पनि शाक्यको कुरालाई गलत मान्दैनन्। सन् २००२ को विश्वकप दक्षिण कोरियासँग संयुक्तरूपमा आयोजना गरेपछि फुटबलले जापानी जनतामा अमिट छाप छोडेको उनको भनाइ छ। 

“स्कुल-स्कुलमा फुटबल खेल्ने मैदान छ, त्यहीँ पनि फुटबल सिकाउँछन्। स्कुलमा नखेल्नेलाई बाहिर एकेडेमीमा फुटबल खेल्ने वातावरण सरकारले निर्माण गर्दिएको छ”, उनी भन्छन्, “यहाँ बिहान, दिउँसो र राति जुनसुकै बेलामा आफूलाई फुर्सद मिल्छ त्योबेला फुटबल खेल्न सकिन्छ।”

सन् २०९२ सम्म विश्वकप जित्ने भिजनसहित अगाडि बढेको जापानले युवाहरूलाई आकर्षित गर्न टीभी कार्यक्रम र चलचित्र निर्माणमा पनि जोड दिएको छ। उसले बच्चाहरूलाई फुटबलप्रति आकर्षित गर्न ‘मङ्गा’ सिरिजको कार्टुन निर्माण गरेका छन्। क्याप्टेन सुबासा प्रमुख पात्र रहेको यो कार्टुनलाई एनिमेट र भिडियो गेमहरूमा आधारित गरेर निर्माण गरिएको छ।

यति मात्रै होइन, जापानमा धेरै लिगहरू आयोजना हुँदै आएको छ। सन् १९९२ मा लिग स्थापना हुँदा जापानले २०९२ मा विश्वकप जित्ने शतवर्षीय योजना तय गरेको थियो। 

जापानको यो लक्ष्यमा धेरै बाधाहरू थिए। लिग विस्तार गर्नु नै चुनौती थियो। खेलाडी थिएनन्। तर, बिस्तारै खेलाडीहरूको समूहमा वृद्धि भयो र उनीहरूलाई तालिम दिन, प्रशिक्षकहरू विकास गर्ने कार्यक्रम शुरू गरियो।

अहिले जापानी फुटबलको शीर्षस्तरको लिग मानिने जे १ ‘प्रिमियर लिग अफ एशिया’ को रूपमा स्थापित भएको छ। यस लिगमा १८ टोलीहरूले प्रतिस्पर्धा गर्छन्। यस लिगको पुछारमा रहने दुई टोली रेलिगेसनमा रहँदै जे २ मा झर्छन्। जे २ लिगमा २२ क्लबहरूले प्रतिस्पर्धा गर्दै आएका छन्। यसबाट पनि झर्ने दुई टोलीले जे ३ लिग खेल्नेछन्। यो लिगमा जे १ मा जस्तै १८ क्लबहरू छन्।

जे लिगबाहेक जापानी फुटबलमा ग्रासरुट प्रतियोगिताहरू पनि सञ्चालन हुँदै आएका छन्। क्षेत्रीय लिगमा होक्काइडो, तोहोकु, कान्टोजस्ता १६ क्लबहरूले प्रतिस्पर्धा गर्दै आएका छन्।

“७०/८० को दशकतिर उसको लिगमा १० टोलीहरू मात्रै थिए। अहिले तीन शीर्ष लिगमा ५८ क्लबहरू सहभागी हुँदै आएका छन्”, जोशी भन्छन्, “गाम्बा ओसाका र कावासाकी फ्रन्टेलजस्ता क्लबहरू यहाँ धेरै परिचित छन्। यी क्लबहरूले एएफसी च्याम्पियन्स लिग र प्यान-प्यासिफिक च्याम्पियनसिप जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पनि जितिसकेका छन्।”

कुनैबेला आफ्नै लिगमा खेल्ने मौका नपाएका युवा खेलाडीहरू अहिले घरेलुमा मात्र होइन, युरोपमा पनि चम्किरहेका छन्। सन् २००२ मा जापानले दक्षिण कोरियासँग मिलेर विश्वकप आयोजना गर्दा टोलीमा चार खेलाडी मात्रै विदेशमा खेलिरहेका थिए। करिब दुई दशकपछिको कतार विश्वकपमा जापानले सहभागिता जनाउँदा टोलीमा रहेका २६ मध्ये १८ खेलाडी युरोपका क्लबहरूबाट खेल्दै आएका छन्। यस्तै, ७ जना खेलाडी जे लिग खेलिरहेका थिए।

जोशी जापानले युवा कोचिङ संरचनामा गरेको परिवर्तनलाई नै सफलताको मुख्य कुञ्जी मान्छन्। “सन् १९९२/२०११ बीचमा जापानले चारपटक महाद्वीपीय च्याम्पियनसिप जित्दा नै यसलाई प्रमाणित गरिसकेको छ। यसपटक जर्मनी र स्पेनलाई समेत हराउँदा जापान आफ्नो लक्ष्यमा सफल हुँदै गइरहेको प्रस्ट हुन्छ”, उनी भन्छन्।

जापानले सन् २०१६ मै २०३० सम्म विश्वभरी आफ्ना खेलाडी पठाउने लक्ष्यका साथ ‘प्रोजेक्ट डीएनए’ सार्वजनिक गरेको थियो। यसका लागि जापान फुटबल संघले एकेडेमीको संरचना सुधार गर्न र खेलाडीलाई एक्सपोजर गर्न युरोपका विभिन्न क्लबहरूसँग सहकार्य गरेको छ। जोशी नेपालले पनि जापानकै मोडल अपनाउने हो भने केही हदसम्म सुखद नजिता निकाल्ने तर्क गर्छन्।

-एजेन्सीको सहयोगमा