फलफूल व्यवसायले फेरियो गीताको जीवन

शोकमा गरेको संकल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानडा र अर्को अस्ट्रेलियामा उच्च शिक्षा लिँदै छन्। छोरी काठमाडौँमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन्।

महोत्तरी– बर्दिबास–१ की एकल महिला भद्रकुमारी फुयाँल दृढ संकल्प, कामको निरन्तरता र समर्पणले मान्छेलाई कसरी सफलतामा पुर्‍याउँछ भन्ने उदाहरण बनेकी छन्। यहाँ गीता नामले चिनिने भद्रकुमारीको मिहिनेत र लगनले उनको परिवारमा अभाव र गरिबी मात्रै हटेको छैन, परिवार पनि सुशिक्षित बनेको छ।

११ वर्षअघि पति खिन्तप्रसाद फुयाँल (मनोज) को आकस्मिक निधन हुँदा आफूले एक्लै उभिने र बाँच्ने सपना नै नदेखेको स्मरण गर्छिन् उनी। आफू मात्रै होइन तीन लालाबालाको दायित्व पनि एक्लैले सम्हाल्नुपर्ने भएपछि उनी निकै अतालिएकी थिइन्। 

“न टेक्ने लौरो, न समाउने ठाउँ भनेजस्तै सहारा कोही थिएन,” गीता भनिन्, “खै, कुन प्रेरणाले पो उठ्ने जाँगर दियो! मन समालेर आँखाका आँसु पुछेँ, जुरुक्क उठेँ, मनमा तैँले केही गर्नैपर्छ भन्ने संकल्प पलायो।”

श्रीमान्को मृत्यु भएका बेला दुई छोरा र एक छोरीसहित तीन लालाबाला हुर्काउनुपर्छ भन्ने चेतले त्यसै वर्ष पूर्वपश्चिम राजमार्गको सडकपेटीमा थोरै पुँजीमा फलफूल पसल शुरू गरेको गीताले सुनाइन्। त्यही पेसा पसल आफ्नो जिउने आधार बनेको उनको भनाइ छ। 

“विपत्का बेला गरेको अठोटले निरन्तर काममा जुट्न हौसला दियो। त्यसयता दैनिक गुजाराका लागि चिन्ता गर्नुपरेन। परोपकारी सामाजिक कार्यमा लाग्न, छोराछोरीको समुचित लालनपालन र शिक्षादीक्षाका लागि कसैका सामु हात फैलाउनु परेन। श्रीमान्को मृत्युसँगै ११ वर्षअघि शुरू गरेको फलफूल पसलले सबै कुरा दियो”, गीताले भनिन्। 

शोकलाई शक्तिमा बदल्ने अठोट नलिए आफ्नो मात्रै होइन तीन सन्तानको भविष्य पनि अन्धकार हुने कुराले नै आफूलाई केही गर्ने जाँगर लागेको उनको कथन छ।

“पति वियोगका प्रारम्भिक दिनका सङ्घर्ष कहालीलाग्दो थिए तर म हतासिएन, सँभालिँदै अघि बढेँ। आफ्नोभन्दा पनि सन्तानको मायाले धेरै कुरा गर्नु सिकाउँदो रहेछ। त्यही कारण शुरू गरेको कामबाट सन्तुष्ट छु, हाल अभाव भनेर खुट्याउने केही कुरा छैन। कुनै बेला दुई/चार रुपैयाँका लागि फैलाउनु परेको हातले अहिले विपद् र दुःखमा परेकालाई केही दिन पाएको छ”, विगत स्मरण गर्दै उनले भनिन्। 

शोकमा गरेको संकल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोरामध्ये एक जना क्यानडा र अर्को अस्ट्रेलियामा उच्च शिक्षा लिँदै छन्। छोरी काठमाडौँमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छिन्। “सहज जीवनयापन, छोराछोरीको राम्रो शिक्षादीक्षाको प्रबन्ध गर्नुका साथै समस्यामा परेकालाई थोरै भए सरसापट दिन पाउनु नै एउटा एकल आमाका लागि सफलता कुरा नै हो। माग्नु सबैभन्दा निरीह  कुरा रहेछ भन्ने आफ्नै भोगाइबाट बुझेकी छु, त्यसैले कोही सरसहयोगका लागि आइपुगे त्यसै फर्काउन मनले मान्दैन, केही न केही दिएर पठाऊँ भन्ने लाग्छ”, उनी भन्छिन्।  

उनले अनाथ बालबालिका तथा सहयोगापेक्षी मानव व्यवस्थापनका लागि बर्दिबास–२ मा बन्न लागेको ‘हाम्रो मायाघर’ का लागि पाँच धुर जग्गा र ५१ हजार रुपैयाँ नगद सहयोग गरिन्। “दिएको कुरा कसैले थाहा नपाउन् भन्छन्, मैले यति दिएँ भन्न होइन, सोचेजति सामाजिक काम अझै गर्न पाएकी छैन। पछिल्लो समय छोराछोरीको उच्च शिक्षामा लगानी गर्नुपर्दा हाल सामाजिक काममा सहयोग गर्न पाएकी छैन। अलि सहज भएमा आगामी दिनमा परोपकारका काम गर्ने निकै रहर छ”, फुयाँलले आफ्नो योजना सुनाइन्।  

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का संघर्ष र सफलताकी उदाहरण बनेकी एकल महिला फुयाँलबाट अन्य महिलाले पनि प्रेरणा लिनुपर्ने बताउँछन्। “दुःख त सबैलाई पर्छ नै तर त्यसको सामना कसरी गर्ने भन्ने कुरा हामी सबैले उनीबाट सिक्नुपर्छ। शोकलाई शक्तिमा बदल्न मिहिनेत गरेमा पक्कै पनि एक दिन सफलता प्राप्त हुन्छ, यसको उदाहरण पनि हो उहाँ”, खड्काले भने।