मह बेचेर वार्षिक १४ लाख आम्दानी गर्छिन् नन्दकला

सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई थालेकी थिइन्। अहिले वर्षमा करिब २० लाखको मह बिक्री हुन्छ। खर्च कटाएर १४ नाफा हुने उनले बताइन्।

जानकी– कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी ४० वर्षीया नन्दकला सिजालीले १३० घार मौरीपालन गरेकी छन्। वार्षिक करिब ३० क्विन्टल मह उत्पादन हुन्छ। मह बेचेर वार्षिक १४ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाइन्। 

तोरी, चिउरी र रुधिलो गरी तीन किसिमको महको मूल्य क्रमशः ६००, ७०० र ८०० रुपैयाँ प्रतिकिलो पर्ने नन्दकलाले सुनाइन्। मौरीको चाकाबाट निस्कने मैन, कुटलगायतको मूल्य पनि राम्रो छ।  “मौरीमा मिहिनेत धेरै छ। तर आम्दानी पनि राम्रो छ, ” उनले भनिन्।

सात वर्षअघि ४० हजार रुपैयाँ लगानी गरेर १० घारबाट मौरीपालन व्यवसायलाई थालेकी थिइन्। अहिले वर्षमा करिब २० लाखको मह बिक्री हुन्छ। त्यसमा खर्च कटाएर १४ नाफा हुने उनको भनाइ छ।  मौरीको बथान लिएर चराउन सुर्खेतको लेकफर्सासम्म पुग्छिन्। मौरी चराउन कुनै मौसम वा स्थानले फरक पर्दैन।

“बजारमा महको माग बढी भएकाले बजारीकरणको समस्या छैन,” उनले भनिन्, “काठमाडौँ, पोखरा, बुटवललगायत शहरबाट पनि माग आइरहन्छ। कोहलपुर र नेपालगन्जको माग पुर्‍याउन नै सकिएको छैन।” एक ठाउँबाट अर्को ठाउँमा मौरी चराउन ट्रकमा राखेर लैजाने गरेको नन्दकलाले बताइन्। जंगलमा फूलेका प्राकृतिक फूलको रस खुवाउन चराउन जाँदा वनमा अरिंगाल, कमिला, बिछ्यू, चिवेचरा, मलसाँप्रोलगायत जीवबाट मौरीलाई बचाउन गाह्रो हुने हुन्छ। 

“मौरीपालन र मह उत्पादन गर्न सजिलो छैन। प्राकृतिक रूपमा परिवर्तन भइरहने ऋतुले यसमा प्रत्यक्ष असर पार्छ,” उनले भनिन्, “बढी जाडो र बढी गर्मी हुँदा मौरीलाई बचाउन कठिन हुन्छ। फूल नफुलेको समयमा कृत्रिम खानासमेत बनाएर खुवाउनुपर्छ।”

नन्दकलाका अनुसार समय समयमा हाडनाता नहोस् भनेर रानी मौरीको नस्ल सुधार गरिरहनु पर्छ। नस्ल सुधारिएको रानी मौरीको मूल्य ६ लाख रुपैयाँसम्म पर्छ। जुन सामान्य किसानलाई सजिलो छैन। श्रीमान् भारतीय सेनामा कार्यरत भए पनि सानैदेखि परिश्रममा रमाउने नन्दकला महिला आर्थिक रूपमा सक्षम हुनुपर्ने बताउँछिन्। परिवार, समाज र सरोकार भएका निकायले महिलालाई स्वरोजगार बनाउने सीप तथा तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।