होटलजस्तो कार्यालय

ट्विटरका मालिक एलन मस्कले कर्मचारीको आरामका लागि कार्यालयमै शयन कक्षको व्यवस्था गरेका छन्।

ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना कर्मचारीलाई आराम गर्न सहज होस् भनेर कार्यालयमा शयन कक्षको व्यवस्था गरेका छन्। उनले सान फ्रान्सिस्कोस्थित ट्विटरको मुख्यालयको कार्यकक्षमै छुट्टै शयन कक्ष बनाइदिएका हुन्। 

शयन कक्षमा दराज, सोफा, बेड, चित्रहरू राखिएका तस्वीरहरू सार्वजनिक भएका छन्। ट्विटरको मुख्यालय होटलजस्तै देखिएको एक कर्मचारीले बीबीसीलाई बताएका छन्।

अक्टोबर २७ मा ट्विटरको मालिक बनेयता मस्क पनि ट्विटरको मुख्यालयमै बस्ने गरेका छ। मस्क आफैँले पनि ट्विटरको सांगठनिक काम नसकिँदासम्म मुख्यालयमै बस्ने बताएका थिए।

गत महिना मस्कले आफ्नो संगठनले उत्कृष्ट प्रदर्शन गर्न दबाबमा पनि लामो समय काम गर्नुपर्ने भन्दै सबै कर्मचारीहरूलाई इमेल पठाएका थिए। त्यसैले उनले कर्मचारीलाई आरामका लागि शयन कक्ष नै तयार पारिदिएका हुन्।