सरकारी सुरुङभित्र पसेर रसिक आफ्नो दायित्व निर्वाह गर्दै थिए। एउटा दरो सिद्धान्त र विचारमा अडिएको राज्यव्यवस्था ल्याएर ‘देश जनता’ बनाउने अभियानमा थियौँ हामी—‘नेपालीको नेपाल’ बनाउने दृढ सपनामा!
‘आमाले भन्थिन् शत्रुका सामु, हिमालझैँ उठोस् शिर
सुकर्म गरी तँ बाँच्नु छोरो, नलिनु मेरो पिर
केश नझरोस् नुहाउँदा तेरो, नलागोस् पाउमा ठेस्
घाम भएर फर्किनु छोरो, आमा बाँचेको देश...’
उही परिचित स्वर, उही आत्मीय आवाज! एकनासले सुनिरहेछु...! यही स्वरसँगै रहेर, भिजेर आजभन्दा करिब ५७ वर्षअघि बिताएका संघर्षशील ती दिनको सम्झनामा मेरो मन हराउन थाल्छ ...!
भोजपुरबाट आएको थियो त्यो स्वर, अनि ओखलढुंगाबाट आएको मेरो आवाज। यही स्वर र आवाज एउटै लयमा बाँधिएर अनकन्टार काठमान्डूमा आफ्नो सानो परिचय बनाउन जुटेको थियो। तर काठमान्डू निर्मम र निर्दयी थियो। त्यही निर्ममता र निर्दयीपनसँग लड्दै, भिड्दै, संघर्ष गर्दै आफ्नो स्थान बनाउन हामी एकाग्र र तल्लिन थियौँ— चाहे जस्तोसुकै आपतविपद्, खतरा किन नआओस्! कसले पत्याउँथ्यो र हामी लुरेहरूलाई! भर्खर गुँड छाडेर संसार च्याउन निस्केका बिचरा बचेराहरूलाई! जुनसुकै बेला सिद्धिन सक्थ्यौँ, वरिपरिका हिंस्रक सिकारी बाजहरूबाट। तर मृत्यु बिर्सेर आफ्नो अस्तित्व स्थापित गर्न आएका हामी त्यसै डराएर, भाग्ने, हराउनेवाला थिएनौँ। अपमान, अवहेलना, अभावसँग भिड्नका लागि सदा तयार—आफ्नो बाटो आफै बनाउँदै अघि बढ्ने पानीको महाबेगजस्तै...!
हामीसँग हाम्रो ज्यान थन्क्याउने सानो कोठा पनि कतै थियो वा थिएन। कहिले कहाँ, कहिले कता—साथीभाइको कोठामा सुत्न पुग्थ्यौँ। नियमित खानाको टुंगो पनि त्यति नहुने! कतै, क्यै मिल्यो खायो, नत्र त्यत्तिकै पनि सुत्न, हिँड्न, गाउन तयार! भोक, निद्रा, थकाइलाई पनि जित्न खोज्ने कस्तो उमेर हो त्यो ?
गीतै गाउन आएका। कतै गीत गाउने छनक पायो कि मौका छोप्न कुदिहाल्ने। कहिले पाटनको कुनै बहालमा, कहिले मनोहरातिरको आश्रमतिर, कुनै बेला गीत सुन्न चाहना गर्ने शौखिनहरूको जमघटतिर। कोही कोही छिप्पिएका रौसेहरू त आफ्नो जन्मदिनमा गीत गाउन पनि हामीलाई बोलाउने! अनि बेलामौका पर्दा रेडियो नेपालतिर लोकगीत गाउन लम्किहाल्ने।
⁎⁎⁎
‘पानीमा चाँचुरा...पानीमा चाँचुरा...मैले माया मारेको काँ छु र...।’
हो, यही गीतको माध्यमबाट हाम्रो भेट–परिचय भएको थियो। नाम सोध्दा उनले भने— ‘गणेश रसिक’। भोजपुरतिरको कतै रमाइलो गाउँमा हलक्क हल्केको केटो। छलकपट, पाप नभाको अनुहार। त्यसैत्यसै सजिलो लाग्यो र, आत्मीय भैगयौ हामी। गीतले हामीलाई कता कता कार्यक्रमहरूतिर लान्थ्यो, ल्याउँथ्यो। टा–टाढाका कार्यक्रममा सहभागी भएर राति फर्कँदा थाहा हुने—‘ला खानेकुरा क्यै छैन त...!’
नरदेवीको घरमा मध्यरातीतिर पुगेर सानो स्वरमा दिदीलाई बोलाउँथेँ। “भोकै पो पर्यो कि भाइ!” चाल मारेर ढोका खोल्दै कान्छी दिदी आएर कुरा बुझ्नुहुन्थ्यो। बिस्तारै भान्सामा भएको भातदाल के छ ल्याएर दिनुभएपछि कोठामा आइपुग्थेँ। अनि हामी गीताङ्गे भोका भाइहरू एउटै थालमा जेजति भएको खान्थ्यौँ, सुत्थ्यौँ। यस्तैयस्तै कतिपल्ट दिदीको घरको रातबिरातको खानाले प्राण धानियो।
कहिलेकाहीँ अनौठो खाले समस्यामा परिने। अलि त्यस्तै ठाउँमा गाउन जानपर्दा राम्रो र सफा लुगा लाएर जानुपर्ने। त्यस्तो आफ्नो नहुने। कुन साथीको लुगा चैँ अलि राम्रो छ, त्यो बुझेर कसैगरी लाएर पुगिन्थ्यो। अहिले सोच्दा अनौठो अनि रमाइलो लागे पनि त्यो बेला ती दिनहरू भोग्न कठिन थियो। रेडियो नेपालमा गाउँदा गाउँदै पारिजात दिदीले हाम्रा लोकगीतहरू रेडियोबाट सुन्दै, मन पराउँदै हामीलाई भेट्न खोज्नुभएको खबर आयो। दिदीसँग भेट भएपछि बेलाबेलामा उहाँको डेरामा हाम्रो गीतहरू सुन्ने कार्यक्रम राख्न थालियो। त्यो क्रम निरन्तर चल्न पनि थाल्यो। यसै क्रममा गणेश रसिकलाई पनि लिएर जान थाल्यौँ। पूर्वेली लोकगीतहरू गितारमा मादले ताल बजाएर झम्काएर गाउँदा सबैबाट तारिफ र प्रशंंसा पाइन्थ्यो। दिदी र उहाँका साथीहरूको सल्लाह भएछ—“अब यिनीहरूलाई कोठाभित्र मात्र हैन, लोकको सामु उतार्नुपर्छ। नत्र यी प्रतिभाहरू अवसर नपाए पहाडतिरै कतै लागेर, हराउने बिलाउने छन्।”
दिदी र शुभेच्छुकहरूको प्रयत्नबाट एउटा समूह बन्यो—‘राल्फा’। अनि उत्रिन थाल्यौँ हामी, विभिन्न मञ्चहरूमा। पहिलो मञ्च थियो—‘गोपाल योन्जन नाइट’। २०२४ वैशाख १ गते, राष्ट्रिय नाचघरमा। राल्फाको पहिलो पहिचान लिएर गायक उत्रेका थियौँ हामी— रायन, अरिम, रसिक र म। ‘राल्फा’ विद्रोही थियो, पञ्चायतविरोधी। खानदानी सामन्ती शाहीशासनको अन्त्य गर्न कला–संस्कृतिको फाँटबाट उत्रेका कटिबद्ध, प्रतिबद्ध कलाकारहरू। हामी कम्युनिस्ट विचार र दर्शनको राम्रो ज्ञाता नभए पनि त्यही दर्शन र विचारधारातिर बढी आकर्षित थियौँ। चे–गुएभारा, फिडेल क्यास्ट्रो, होची मिन्हबाट अत्यन्त प्रभावित। लेनिन, माओलाई बुझ्न एकदमै जिज्ञासु।
त्यसबेला नेपालका शहर, बजारहरू चाइना पिक्टोरियल, सोभियत भूमि र अन्य रंगिन पत्रिकाले छपक्क ढाकिएका हुन्थे। चिनियाँ क्रान्तिका फिल्मबाट पनि अत्यन्त आकर्षित, प्रभावित हुन्थे नेपाली युवाहरू। माओको लाल किताबहरूको त्यत्तिकै चर्चा। नेपालका राजधानी, शहर र बजारहरूमा चीन र रुसको कम्युनिस्ट प्रभाव दिनदिनै बढिरहेको पाइन्थ्यो। त्यति बेलाका कलेज र देशभरका हाइस्कुल स्तरका शिक्षकहरू प्रायः कम्युनिस्ट विचारधाराबाट प्रभावित भएको पाइन्थे। तर थियौँ हामी राल्फाहरू— कम्युनिस्टभन्दा पनि अझ उत्कृष्ट विचार र व्यवस्थाको खोजीमा। चलेका कला साहित्यभन्दा विशिष्ट रूपले माथि उठ्न भयंकर लालसा र महत्त्वाकांक्षा राख्ने युवा कलाकारहरू।
‘राजनैतिक व्यवस्था बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने माओका भनाइहरू साथीहरूका कोठाकोठामा लेखिएका भेटिन्थे। त्यस्तै, ‘सशस्त्र क्रान्ति नभई पुरानो राजनीतिक व्यवस्था फालिँदैन’ भन्ने भनाइ पनि। सर्वहारापक्षीय नयाँ जनवादी क्रान्ति नभई देश बन्दैन भन्ने धारणामा पूरै विश्वस्त हुन थालेका थियौँ हामी पनि। बनेपा, धुलिखेल, दाप्चा, सङ्खुतिरको राल्फाली कार्यक्रमपछि एक दिन रसिकले भने—“रामेश, तिमीहरूको विद्रोह, क्रान्ति, संघर्ष, युद्धको अभियानमा लागेर म अब हिँड्न सक्तिनँ कि! अवस्था पनि मेरो त्यस्तै छ। राल्फाको अभियानको विरोध गर्दिनँ तर सँगै रहेर हिँड्न पनि सक्दिनँ होला। मसँग अहिले सानो जागिर पनि छ। गीत त गाउँछु नै तर अलि सजिलो र त्यस्तै सहज वातावरणमा। तिमीहरूको जस्तो अनुशासनमा रहेर काम गर्न पनि सक्दिनँ म। तर म राल्फालाई कहिल्यै बिर्सिन सक्तिनँ अनि तिमीलाई पनि।”
गणेश रसिकसँग भेट्ने र सँगै गाउने वातावरण त्यसपछि बनेन। ‘लेकाली समूह’ बनाएर गाउन थाले उनी। ‘राल्फा’मा छँदा नेपाली गीत, संगीत, गायनको पुरानो ढंगढर्रा बदल्ने पक्षमा जोडदार बहस गर्थ्यौं हामी। चलनचल्तीका माया–मायालु, प्रेम–पिरतीका विषयबाट वाक्कदिक्क भएर अब नयाँ गहकिला विषयतिर पनि जाने धारणा बनाउँथ्यौँ। गहन साहित्यिकता निर्वाह गर्दै नेपाली गीत–संगीत चिनाउने, उठाउने स्तरीय रचना सिर्जना गर्ने विषयमा गरमागरम छलफल बहस हुन्थ्यो।
नेपाली लोकगीतलाई पनि अलि पृथक् रूपबाट स्रोतामाझ प्रस्तुत गर्ने तरिका र शैलीबारे सोच–विचार बढाउँथ्यौँ हामी। त्यसको झल्को कताकता ‘लेकाली परिवार’को प्रस्तुतिमा पाउँथेँ म। लाग्थ्यो राल्फामा चल्ने उल्लिखित बहसका विषय रसिकले लेकाली परिवारमा केही मात्रामा भए पनि लागू गर्न खोजेका छन्।
यता हामी राल्फा समूहचैँ देशमा क्रान्तिकारी परिवर्तन ल्याउन सरकारसँग पौँठेजोरी खेल्दै अघि बढिरहेका थियौँ। अनि बिस्तारै राल्फाबाट मार्क्सवादतिर आस्था, विश्वास राख्दै पार्टीगत ढंगबाट जनवादी वर्गीयसत्ता दरो रूपले स्थापित गर्न सम्पूर्ण शक्ति लगाइरहेका थियौँ। जीवन र राज्य सञ्चालन गर्ने दुई प्रणाली अलग–अलग थियो। एउटा सामन्ती, पुँजीवादी राज्यव्यवस्था अर्को बहुसंख्यक श्रमशील जनताको हित गर्ने वैज्ञानिक समाजवादी राज्यप्रणाली। निश्चय नै हामी दुई फरक विचारधारामा रहेर सांस्कृतिक संघर्ष चलाइरहेका थियौँ। तर लेकाली समूहको गीत पञ्चायती व्यवस्थाका लागि त्यति आपत्तिजनक नभए पनि किन हो त्यहाँ रहेका हैकमवादीले लेकालीलाई त्यति हार्दिकतापूर्वक स्वीकार नगरेको आभास हुन्थ्यो। सायद सम्पूर्ण रूपमा सरकारी दासता स्विकार्न उनीहरू पनि तयार थिएनन्।
आ–आफ्नो रुचिअनुसारको जीवन बाँच्न स्वतन्त्र थियौँ हामी। अलग–अलग आस्थाको मोर्चामा थियौँ। तर पनि कुनै मानवीय मिहिन डोरीले रसिक र मेरो सम्बन्ध जीवितै राखेको अनुभूति कताकता हुन्थ्यो मलाई। सरकारले रसिकलाई गायक, साहित्य, संगीतप्रेमी कलाकारभन्दा अफिस, प्रशासनको जागिरतिर अल्मल्याउन थालेको आभास हुन्थ्यो मलाई। कताकता मन असजिलो भएजस्तो आभास हुन्थ्यो किनकि मेरो मनमा मोटोघाटो जुँगेभुँडे र सान–रवाफ देखाउने हाकिम गणेश रसिकभन्दा सामान्य जनतासँग घुलमिल गरेर लेख्ने, गाउने, छरितो जिउको मिलनसार–नम्रविनम्र गणेश रसिकको छवि थियो।
तर धनसम्पत्ति सुखसुविधा ओहदापदले अभावग्रस्त अवस्थामा रहेका जो कोहीलाई पनि तान्छ, लोभ्याउँछ। अनि बिस्तारै उसलाई त्यस्तै बनाउँदै लान्छ, जो जागिर दिने मालिकले चाहेको हुन्छ। सरकारी सुरुङभित्र पसेर रसिक आफ्नो दायित्व निर्वाह गर्दै थिए। एउटा दरो सिद्धान्त र विचारमा अडिएको राज्यव्यवस्था ल्याएर ‘देश जनता’ बनाउने अभियानमा थियौँ हामी—‘नेपालीको नेपाल’ बनाउने दृढ सपनामा!
समय निकालेर रसिकले लेखेको लेख कुनैकुनै अखबार र पत्रिकामा पाउँदा मन लाएर पढ्थेँ र, उनको मनस्थिति–अवस्था बुझ्न खोज्थेँ। लाग्थ्यो—कतै सरकारी ओहोदाले उनको सरलता त मारेको छैन? उनमा अहंकारको राप त चढाएको छैन? कहीँकतै फेरि भेट्दा हामीबीच उत्तिकै आत्मीय हुन केही अप्ठ्यारो त हुने हैन? एक दिन एक जना धरानतिरका भाइले भने— ‘दाजु, रसिक दाइले उहिलेको तपाईंहरू सँगै हुँदाको कुरा कति खुशी भएर गर्नु हुन्छ। धरानतिर कार्यक्रम गर्ने सुरसारमा हुनुहुन्छ।’
२०४६ सालपछि पञ्चायत व्यवस्था रहेन। बहुदलीय संसदीय व्यवस्था आयो। पुरानो सत्तामा रहेका मान्छेको ठाउँमा नयाँ सत्तामा चढेकाले आ–आफ्ना विश्वासपात्र फेर्न थाले। यही समय खबर आयो—‘गणेश रसिक इलाममा जग्गा लिएर बसेका छन्। चियाबारी, शिरीष र धुपीसल्लाको छहारीमा, प्रकृतिको हरियालीमा रमाउँदै, साहित्य संगीतको संसारमा घुमिरहेछन्। खुब लेख्दै छन्...लेखिरहेछन्। गीति कार्यक्रम दिने तयारीमा हार्मोनियम बजाउँदै गीति अभ्यासमा पनि जुटेका छन्।’
उनको खबरबारे थाहा पाउँदा लाग्यो ‘बग्ने खोलो कहिले रोकिँदैन, बाटो बनाउँदै अघि बढ्छ, बढ्छ।’
⁎⁎⁎
इलाममा रसिककहाँ बास बसेर आउने कवि–कलाकारका अनुभूतिहरू पत्रपत्रिकामा पढिरहेको हुन्छु। लाग्छ— स्वर्गमा छन् रसिक। वरिपरि रमणीय वनजंगल। चराचुरुंगीहरू बिहानै गीत गाउँदै उनलाई ब्युँझाउन आउँछन्। उनको माया र छायामा रूखहरूमा गुँड लाएर, बचेरा हुर्काउँदै आनन्दसँग बसेका छन् वनचरीहरू। उनका ताजा गीत र कविताहरू सुनेर फर्केकाहरू स्वर्गबाट आएजस्तो सुखद बयान गर्थे। बेला एकनासले बग्दैबग्दै गइरह्यो।
समयको अन्तरालमा, राजु केसीको पहलमा इटहरीमा साधना संगीत परिवारले सार्थक गीत गाउने कलाकारको सुखद सांगीतिक कार्यक्रम र भेटघाटको आयोजना गर्यो। यही कार्यक्रममा रसिक र मेरो आत्मीय भेट भयो। अंकमाल गर्दै एकआपसलाई हेर्यौँ। मन सफा थियो हाम्रो। गीत–संगीतको पवित्र धारामा उस्तैगरी बगिरहेका थियौँ। सबै जना रहेको लजमा राति कलाकारमाझ एकआपसमा गीत सुन्ने–सुनाउने कार्यक्रम राखियो। गीत–संगीतको सफास्वच्छ नदी सुमधुर धुनमा कलकल बगिरह्यो। बिहानी कार्यक्रमको मन्तव्य व्यक्त गर्ने क्रममा विगतका हाम्रा संघर्षशील जीवनबारेको सम्झनाहरू सुनाउँदा रसिक भक्कानिए। आँसु झारे। म पनि भावुक भएँ। मन भरिएको थियो। दुःख र संघर्षबाट आएको जीवनको रूपै अर्को।
काठमाडौँमा हाम्रो भेटघाट बेलाबखत हुन पुग्थ्यो। फोनबाट कुराकानी पनि समय समयमा हुन्थ्यो। रसिकको एकल गीति कार्यक्रमको निम्तोमा गएँ म। उनले मलाई मञ्चमा बोलाए। गीत–संगीतको बारेमा आफ्नो अनुभव बोल्न लगाए। गीत–संगीतको औचित्यबारे मैले बोलेँ— ‘गीत सुन्यो, सकियो हैन। गीत सुनियो सिकियो, बुझियो, जानियो हो। गीत राष्ट्रको परिचय हो। हाम्रो चेतना र विचारको पहिचान हो। हाम्रो शक्ति र सामर्थ्यको अभिव्यक्ति हो।’
रसिकको एउटा कार्यक्रममा मलाई उनले आफूले लेखेका पाँच पुस्तकको सेट उपहार दिए। आहा, कति सरल र रोचक शैलीमा उनले नेपाली जीवन र घटनाहरू राखे। जीवनका आफ्ना अनुभव र अनुभूतिहरू प्रस्तुत गरे। एक गायक, संगीतकार र लेखकले आफ्नो देश, जनता, जीवनलाई कसरी हेर्दो रहेछ, एउटा दृष्टान्त झैँ लाग्यो मलाई। धेरै ठाउँ, धेरै समय, धेरै भेला, जमघट अनि धेरै विद्वान्, अध्येताका साथै रसिकसँग पनि नेपाली गीत–संगीतको चर्चा बराबर भइरहन्थ्यो।
हामी अनेक कोणबाट नेपाली गीतको मूल्यांकन र समीक्षा गरिरहन्थ्यौँ। तर भाव, संगीतमा उत्तम, सही सुरस्वरले सजिएका उच्चस्तरका कैयौँ गीतहरू कतै स्थान नपाइ त्यसै उपेक्षित भएर अलपत्र परेको अवस्थामा हामी पाउँथ्यौँ। राष्ट्रको गौरव, आम जनताको श्रम र सम्मानमा रचिएका भव्य गीतहरूले कतै स्थान नपाउँदा दुःख लाग्थ्यो। फेरि त्यस्ता सर्जक र रचनाकारको कतै कदर नहुने! त्यसै उपेक्षित र निर्धन अवस्थामा तिनका जीवन सकिने कुराले हामीलाई चिन्तित बनाउँथ्यो। यस्तो त त्यसै हुन्न त!!
कारण पहिल्याउँदै जाँदा सूक्ष्म अध्ययन र माथिल्लो ओहोदामा बसेका भद्र र असल व्यक्तिबाट पाएको जानकारीबाट एउटा गुह्य कुरा थाहा भयो— नेपालमा एउटा यस्तो गुप्त जमात छ, जसले नेपाली गीत–संगीत, साहित्य तथा अन्य सामाजिक क्षेत्रमा योगदान दिने व्यक्तिहरूको बारेमा पूरा जानकारी, सारा रेकर्ड राखेर बसेको हुन्छ। अनि त्यो जमातले हरेकका विषयमा एकदमै कुटिल गुप्त निर्णय गर्छ। अनि त्यसलाई व्यवहारमा लागू गर्न, गराउन आफ्नो गुप्त पूरा सञ्जाललाई व्यापक प्रयोग गर्छ।
राष्ट्र र जनताका लागि योगदान दिने जुनसुकै क्षेत्र र विषयका, जतिसुकै निपुण, योग्य, इमानदार असल व्यक्तिहरू किन नहुन्, तिनका सिर्जनाहरू जतिसुकै उत्तम र उत्कृष्ट किन नहुन्, तिनलाई कतै चर्चामा आउन नदिने तिनको षड्यन्त्र हुन्छ। राष्ट्रका लागि जतिसुकै हितकर कामकुराहरू भए पनि तिनलाई कतै स्थान नदिने वातावरण तयार गर्छन्। अझ सकिन्छ भने चारैतिरबाट नकारात्मक हल्ला चलाउँदै संगठित ढंगबाट तिनलाई निस्तेज पारेर दबाउन ग्य्रान्ड डिजाइनको चाँजोपाँजो मिलाउँछन्। केही गरी राम्रो प्रभाव पार्न थालेमा तिनलाई गलत ढंगले प्रचार र परिभाषित गरेर मूल्यहीन बनाउन अनेक तिगडम रच्छन्, षड्यन्त्रका विविध जालो बुन्ने गर्छन्।
जानिफकारहरूबाट थाहा भएअनुसार तिनका सञ्जालमा चतुरतापूर्वक बोल्न, लेख्न र अभिनय गर्न जान्ने, पढेलेखेका नाम चलेका, आआफ्नो क्षेत्रबाट जनतामा निकै प्रभाव पारेका व्यक्तिहरू नै छन्। जसको नाम सुन्दा तिनले त्यसो गर्लान् भनेर विश्वासै लाग्दैन। यस्तो पनि हुन सक्छ र? अझ तिनलाई सञ्चालन गर्ने शक्ति विदेशीहरू रहेको र विदेशी स्वार्थ र निर्देशनबाट यी सब सञ्चालन भएको कुरा थाहा पाउँदा त अझ ठुलो आश्चर्यमा परिन्छ।
विदेशीकै आदेश र इसारामा, तिनकै स्वार्थका लागि, तिनका निमेक खाएका हाम्रै नेपाली आदरणीयजनको नाम थाहा पाउँदा अन्तर्मन देशै थर्काएर चिच्याउने...‘हरे...देशको दुर्भाग्य!’ तर, एउटा सत्य के चैँ देखियो भने जनतासँग हुँदा त्यस्ता व्यक्तिहरूमा जुन चमक, जुन गरिमा, जुन शक्ति र आकर्षण देखिन्थ्यो–पाइन्थ्यो, पैसा/पदमा आफूलाई बिक्री गरिसकेपछि निस्तेज, कायर, शक्ति र सामर्थ्यहीन हुँदै बिस्तारै ओइलाएर जाँदै, मर्दै गरेको देखियो।
‘नेपालमा जन्मँदै नेपाली हुनेहरू,
नेपालको माटो टेकी संसार हेर्नेहरू
तिम्रो आँखाको नानी नेपाल हो कि होइन,
त्यो नेपालको माया तिम्रो मुटुमा छ कि छैन...
सुन नेपाली हो...
स्वावलम्बी हात माग्न फैलिँदैन
खुकुरीको धारले दबाब सहँदैन
जो अन्याय गर्दैन, अन्याय त्यो सहँदैन
भोकै नाङ्गै बस्न सक्छ, दासत्व सहँदैन
सुनको पिँजराभित्र स्वाधीनता कहाँ हुन्छ?
साँचो नेपाली त्यो हो, जो जन्मै स्वाधीन हुन्छ...
सुन नेपाली हो...!’
फेरि उही परिचित स्वर, उही आत्मीय आवाज...! राष्ट्रप्रतिको महान् एवं उच्च भावना एकनासले सुनिरहेछु...! यही स्वरसँगै रहेर, भिजेर आजभन्दा करिब ५७ वर्षअघि बिताएका संघर्षशील ती दिनको सम्झनामा हराउन थाल्छु...गर्विलो मन लिएर...!!
(लेखक एवं संगीतकर्मी गणेश रसिकको सिर्जनात्मक सम्मानमा असोज दोस्रो साता प्रकाशन हुन लागेको ‘अभ्यर्थना ग्रन्थ’ बाट सौजन्यमा प्रकाशित। गणेश रसिक फाउन्डेसनले प्रकाशित गरेको ग्रन्थ सम्पादन शशि लुलुम्बु र सुदर्शन श्रेष्ठले गरेका हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
