पूर्वी पहाडमा चासोक तङ्नामको रौनक

चासाेक तङ्नामका अवसरमा च्याब्रुङ बजाएर पालम (धान नाच) नाच्ने चलन छ।  साइनो नलाग्ने महिला पुरुष एकापसमा हात समाएर पालाम गाउँदै धान नाच्ने गरिन्छ।

ताप्लेजुङमा चासाेक तङ्नाम मनाउन जातीय पाेशाकमा भेला भएका लिम्बू समुदायका महिला। फाइल तस्वीर

काठमाडौँ– पूर्वी पहाडमा चासोक तङ्नाम (उधौली पर्व) को रौनक छ। किराँत याक्थुम चुम्लुङसहितका संघसंस्थाको आयोजनामा बिहीबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, संखुवासभा धनकुटालगायत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ।

शुभकामना आदानप्रदान, पालाम र साकेला नृत्यसहित बजार परिक्रमा गरेर चासोक मनाउन लागिएको किराँत याक्थुम चुम्लुङ ताप्लेजुङका अध्यक्ष इन्दिर मेन्याङ्वोले बताइन्। नयाँबाली पाकेपछि पहिले प्रकृतिलाई चढाउने अनि मात्रै मानिसले प्रयोग गर्ने परम्परा छ। जसलाई ‘न्वागी खोन’ पनि भनिन्छ। 

चासोकका अवसरमा आयोजित कार्यक्रममा लिम्बुसहित सुनुवार, राई, शेर्पा, खसआर्य समुदायसमेत सहभागि हुन्छन्। खासगरी लिम्बु समुदायका पम्लुङ, लितोङ, यालाङ, केलाङ, तुवा ताप्के, हाक्पारे, ख्याली जस्ता मौलिक खेल प्रदर्शन उनले बताइन्। “आफ्नै बारीमा फलेको अन्न पहिले इष्टदेव तागेरा निङ्वाफुमाङलाई चढाउने र आफूले खाने चलन छ”, मेन्याङबोले भनिन्, “सोही अवसरमा चासोक तङनाम मनाउने गरिएको छ।”

नयाँ अन्न चढाएर इष्टदेवसंग बल, बुद्धि, सुस्वास्थ्य र दीघार्यूको वरदान माग्दा पाउने विश्वास रहेको लिम्बू संस्कृतिका जानकार ज्ञानु लिम्बूले बताए। साँस्कृतिक चाडमा पछिल्लो समय युवा पुस्ताको विशेष उपस्थिति देखिन थालेको उनको भनाइ छ। उनिहरू च्याब्रुङ बजाएर पालम (धान नाच) नाच्ने गरेका छन्।  साइनो नलाग्ने महिला पुरुष एकापसमा हात समाएर पालाम गाउदै धान नाच्ने गरिन्छ।

“बढ्दो आधुनिकताले जातीय पहिचान लोप हुन्छ कि चिन्ता बढेका बेला नयाँ पुस्ताले चासो देखाउनु खुसीको कुरा हो”, लिम्बूले भने। नयाँ पुस्तालाई चासोकको बारेमा जानकारी दिने र हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको किराँत याक्थुम चुम्लुङ तेह्रथुमका सहसचिव ठाकुर लिम्बूले बताए।

उनका अनुसार लिम्बु समुदायको भनिएपनि चासोकमा सबै जातजातिका मानिसहरू उत्तिकै रम्ने गरेका छन्। जसले गर्दा चासोक साझा सांस्कृतिक चाडका रूपमा चिनिन थालेको उनले बताए।