नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। नयाँ धान थन्क्याइएको खुसियालीमा हर्षोल्लासका साथ ‘यःमरी पुन्हि’ मनाइन्छ।
भादगाउँ– लामो इतिहास, संस्कृति, परम्परा र सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाउने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ। यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’।
हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा बिहीबार धुमधामले मनाइँदैछ। नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ। “चामलको पिठोबाट बनाइने स्वादिष्ट पकवान यःमरी खाने र पूर्णिमाको दिन मनाइने भएकाले यस पर्वको नाम यःमरी पुन्हि रहन गएको हो”, संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले भने।
नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ। नयाँ धान थन्क्याइएको खुसियालीमा हर्षोल्लासका साथ यो चाड मनाइन्छ। नयाँ धानको चामलबाटै यःमरी बनाउने र नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा यःमरीलगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ।
यःमरी चढाउँदा धनलक्ष्मी खुसी हुने र त्यसको प्रभावमा घर अन्नले भरिपूर्ण हुने र धनलाभ हुने जनविस्वास छ। यसरी चढाएको यःमरी चार दिनपछि प्रसादका रूपमा परिवारमा बाँडेर खाने चलन छ। साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योःमरी माग्ने प्रचलन पनि छ। यो एक प्रकारले देउसी, भैलोजस्तै प्रचलन हो। यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ।
यःमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ। चामलको पिठोलाई शुद्ध घ्यू हालेर तातो पानी हाल्दै मुछ्नुपर्दछ। यःमरीका लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ। नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा मलमलको कपडाले छोप्नुपर्छ। हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पिठो कडा हुने डर हुन्छ। पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्ने र फुट्ने डर हुन्छ।
त्यसपछि पिठोको डल्लोलाई चोर औँलाले छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखको आकारमा परिणत हुन्छ। माथिल्लो भाग मन्दिरको गजूरजस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ। सो खोक्रो भागमा चाकु राखेर बन्द गरिन्छ र यःमरी तयार हुन्छ। आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राख्ने प्रचलन पनि छ।
यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र पिँधमा प्वाल भएको हाँसीमा (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ। सो हाँसीमा यःमरी राखेर बाफले पकाइन्छ। पाँच मिनेट जति बफाएपछि यःमरी तयार हुन्छ। अचेल मः मः पकाउने भाँडाको प्रयोग गरिन्छ। पानीको बाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ। त्यसैले यो सबैलाई मन पर्दछ। सबैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात् मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्रा. डा. पुर्षोत्तमलोचन श्रेष्ठ बताउँछन्। नेवार समुदायमा यःमरीको सांस्कृतिक एवं धार्मिक महत्व छ। धनसम्पत्ति बृद्धि र
धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हिका दिन सबैले विभिन्न देवीदेवताको पूजा गरी दान गर्ने गरिन्छ। यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिनजस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा. डा. श्रेष्ठले बताए। “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ”, श्रेष्ठले भने।
त्यस्तै गर्भावस्थामा बच्चा जन्मिनु केही समयअघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ। त्यसबेला पनि १०८ वटा यःमरी लैजानुपर्ने चलन छ। त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा र मन्दिरमा नयाँ पताका चढाउँदा पनि धुरीबाट पूजा गरेर यःमरी खसाल्ने चलन छ। वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाइन्छ। यःमरीमा रहेको चाकु र तिलले शरीरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ। यस पूर्णिमाको रातलाई सबैभन्दा लामो रातका रूपमा पनि लिइन्छ।
भोलिपल्टदेखि यःमरीको चुच्चो जतिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास पनि छ। धार्मिक कथनअनुसार तत्कालीन पांचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुवैले गरिबप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे। उनीहरूको दयालु स्वभावको सर्वत्र चर्चा थियो। एक दिन कुबेरले यी दुवै पतिपत्नीको एक पटक परीक्षा गर्नुपर्यो भन्दै गरिबको भेष धारण गरी सुचन्द्रको घरआँगनमा माग्न गएछन्।
गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पतीले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठोमीठो खाने कुरा खुवाएछन्। त्यसपछि गरिबरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन्। केही बेर ज्ञानगुणका कुराहरू गरेछन्। त्यसपछि यःमरी बनाउने विधि सिकाइ बफाउने तामाको भाडासमेत दिई अन्तघ्र्यान भएछन्।
कुबेरले सिकाएबमोजिम सुचन्द दम्पतीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाई अन्नको भकारीमा चार दिनसम्म पूजा गरेछन्। यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन्। त्यसपछि अन्न जति दान दिन्छन् त्यति नै भरिने भएछ। श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ। कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ।
यो चाड बौद्धमार्गीले पनि मनाउँदै आएका छन्। बौद्धमार्गीले यःमरीको प्रतीकलाई चैत्यका रूप हो भन्छन् भने हिन्दूमार्गी नेवारले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
