सर्वोच्च अदालतमा २ न्यायाधीश सिफारिस

न्याय परिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्नेसमेत निर्णय गरेको छ।

काठमाडौँ– न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।

परिषद्को बैठकले उच्च अदालतका १४ न्यायाधीशको सरुवा सिफारिस गर्नेसमेत निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिए। 

त्यस्तै, बैठकले राजस्व न्यायाधिकरण नेपालगन्जको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका न्यायाधीश सुभाष पौडेललाई तोक्ने र वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत, दिपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय गरेको छ।