डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर रिफिल भएन

नेपाल वायु सेवा निगमका दुई वटा जहाज एकैपटक 'ग्राउन्डेड' भएर उडान नियमित नहुँदा टरिगाउँ विमानस्थलस्थित डिपोबाट इन्धन 'रिफिल' हुन सकेकाे छैन।

टरिगाउँ विमानस्थल : फाइल फाेटाे

तुलसीपुर– दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ। तर, पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन।

नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ।

निगमको केन्द्रीय प्रयोगशालाले पनि परीक्षण गर्दा इन्धन ‘रिफिल’ गर्न योग्य रहेको प्रमाणित भइसकेको छ। नेपाल वायु सेवा निगम दाङका स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार निगमका दुई वटा जहाज एकैपटक ‘ग्राउन्डेड’ हुँदा हवाई सेवा नियमित भएको छैन।

“मङ्सिर १७ गते शनिबार मात्रै हवाई उडान भयो। त्यस अघि र त्यस पछि जहाज नै आएको छैन। शनिबार आउँदा ‘डकुमेन्ट’का कुराहरू नमिल्दा रिफिल गर्न सकिएन”, उनले भने, “अबको केही दिनमा नियमित हवाई सेवा सूचारु हुने र रिफिलको काम हुनेछ।” उक्त डिपोमा ३० हजार लिटर र बाउजरमा १२ हजार लिटर इन्धन स्टोर गर्न सकिन्छ।

विमानस्थलबाटै इन्धन रिफिल गर्न थालेपछि यहाँको हवाई सेवा प्रभावकारी विश्वास छ। यसअघि काठमाडौँबाटै इन्धन ल्याएर आउनुपर्ने अवस्था थियो। त्यसले गर्दा केही सिट काठमाडौँबाट खाली ल्याउनुपर्ने अवस्था थियो। त्यसले पनि हवाई भाडा महँगो हुँदै आएको थियो।

अहिले एयरपोर्टमा १९ सिटे ट्वीनटर मात्रै बस्ने गरेको छ। एयरपोर्टको धावनमार्ग सात सय ५० मिटर मात्रै रहँदा ठूला जहाज बस्न सकेका छैनन्। जसले गर्दा महँगो भाडा तिर्न यात्रु बाध्य छन्।

दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम आठ हजार ८१० र अधिकतम १२ हजार ६६५ रुपैयाँ छ।