यौन: शिक्षा या अश्लीलता?

यौन शिक्षा नहुनुको प्रभाव अहिलेको पुस्तामा देखिन्छ, जसले उनीहरूलाई यौन स्वास्थ्य र सम्बन्धबारे सुसूचित हुन र सही–गलत छुट्याउन नसक्ने बनाइदिएको छ। समाजमा विद्यमान सामाजिक रूढिवाद यसको प्रमुख कारक हो। 

यौन भन्नेबित्तिकै तपाईँको दिमागमा के कुरा खेल्छ? या झट्ट तपाईँ के सोच्नुहुन्छ? केही अपवादबाहेक, तपाईँ-हामीमध्ये धेरैको दिमागमा आउने एउटै जवाफ हो, 'अश्लीलता।' 

यौन भन्नेबित्तिकै किशोरकिशोरी मात्रै नभएर वयस्क र धेरैजसोलाई जान्न मन लाग्ने, उत्सुकता जगाउने र काउकुती लगाउने विषय हो। तर, यही विषयबारे जानकारी राख्न या आफूलाई लागेको कुरा आफूभन्दा जान्ने व्यक्तिलाई सोध्न हामीलाई लाज लाग्छ। कसैले हामीलाई शरम हराएको व्यक्तिको उपमा दिन्छ कि भनेर डर लाग्छ। यो डर स्वाभाविक पनि हो। किनकि हामीलाई कहिल्यै पनि यौन र प्रजनन स्वास्थ्यबारे कुरा गर्न, यसका समस्याबारे परामर्श लिन सिकाइएकै छैन। बरु त्यसको सट्टा केही समस्या पर्‍यो भने गुपचुप रहन, कसैलाई आफ्नो समस्याबारे सेयर नगर्न सिकाइएको छ। यौन र प्रजनन स्वास्थ्यको कुरा अझै पनि लाजघिनको विषय करार गरिएको छ। 

केही दिनअघि पाटन अस्पताल अगाडी रहेको एउटा मेडिकल स्टोरमा डाक्टरले सुझाएको औषधी किन्दै गर्दा दुई जना किशोरी त्यही फार्मेसीमा आए। एक अर्कालाई पालैपालो हेर्दै मुखामुख गरिरहेका उनीहरूको अनुहारको भाव पढ्दा लाग्थ्यो, यदि त्यहाँ उनीहरूलाई कसैले देख्यो भने उनीहरूको 'बरबाद' हुन्छ। उनीहरूका आँखा बाटोतिर दौडिरहेका थिए, मेडिकल स्टोरकी सिस्टरसँग कुरा गर्ने बहाना खोजिरहेका थिए। 

यत्तिकैमा अनुहारमा हल्का डन्डिफोर भएकी, गहुँगोरी वर्णकी, १७/१८ वर्षको झैँ देखिने लामो कपाल पालेकी किशोरीले आफ्नो डन्डिफोर भएको अनुहारमा कुन क्रिम लगाउँदा राम्रो होला सिस्टर भन्दै कुराको लय समातिन्। सिस्टरले छालाको डाक्टरसँग परामर्श गरेर क्रिम प्रयोग गर्न सुझाइन। त्यत्तिकैमा उनीभन्दा अलिक सानीजस्ती देखिने उनकी साथीले पनि डाक्टरसँग परामर्श गर्दा ढुक्क भइने भन्दै परिपक्व विचार व्यक्त गरिन्। यत्तिकैमा सुरुकी किशोरीले हल्का डर र हताश मिसिएको स्वरमा आफू फार्मेसी आउनुको कारण फ्याट्ट बोलिहालिन्। “बरु सिस्टर मलाई पिरियड (महिनावारी) हुने औषधी दिनुस् न। दुई महिना भइसक्यो पिरियड नभएको।” उनको कुरा सुनेर फार्मेसीकी सिस्टरले उनलाई केही नबोली एकटकले हेरिरहिन्। 

अहिले धेरै किशोरी, युवा र महिलामा महिनावारीको समस्या छ। हामी आफैँले पनि यो समस्या भोग्दै आएका छौँ। अहिलेको जीवनशैली र खानपान आदिका कारण महिनावारी हुने जो कोही, अझ भनौँ पाठेघर भएका धेरैको यो साझा समस्या हो। हामीले भोग्दै र देख्दै आएका महिनावारी गडबडीको समस्या यी किशोरीलाई पनि भएछ भन्ने अनुमान गर्न नभ्याउँदै उनले बताएको अर्को कुराले भने हामी अवाक् भयौं। उनी आफू महिनावारी नभएर हैन कि, गर्भवती भएर फार्मेसीसम्म धाएकी रहेछिन्। असुरक्षित यौन सम्पर्कका कारण गर्भवती भएको कुरा ‘प्रेग्नेन्सी टेस्ट किट’मा चेक गर्दा थाहा पाएपछि डन्डीफोरमा लगाउने क्रिमको बहाना गर्दै उनी फार्मेसी आएकी रहेछिन्। 

तर चिकित्सकको 'प्रेस्किप्सन' नभई यस्ता औषधी दिन नमिल्ने फार्मेसीकी सिस्टरले बताइन् र स्वास्थ्य चेकजाँच गरेर प्रेस्किप्सन ल्याउन सुझाइन्। सिस्टरको जवाफले उनलाई डर लागिसकेको कुरा उनको अनुहारको बदलिएको रङले प्रस्ट देखाउँथ्यो। तर पनि उनी अस्पताल गएर चेकजाँच गरी चिकित्सकको प्रेस्किप्सन ल्याउने पक्षमा थिइनन्। बरु उल्टै खुसुरफुसुर गर्दै, आफूसँग आएकी साथीसँग डरको भावमा सोध्दै थिइन, “कसलाई पो लिएर जाने होला हस्पिटल? घरमा थाहा भो भने त मार्नुहुन्छ मलाई। उसले नि औषधी किनेर खाऊ भन्छ। के गर्ने यार...टेन्सन भो।” फार्मेसीकी सिस्टर सायद यस्ता परिस्थितिसँग धेरै जानकार थिइन्, उनीहरूलाई नडराउन सुझाव दिँदै उनले सुरक्षित तरिकाले गर्भपतन गरे स्वास्थ्य समस्या नहुने र सुरक्षित गर्भपतनका लागि धेरै ठाउँमा सहज सेवा उपलब्ध भएको बताइन्।

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग जोडिएको यो एउटा प्रतिनिधि घटना हो। यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित 'पडकास्ट' उत्पादनको झन्डै चार वर्षे यात्रामा यस्ता अनेकन् घटना तथा समस्या हामीलाई कहिले श्रोता, कहिले स्वास्थ्यकर्मी त कहिले मनोचिकित्सकहरूले अक्सर सुनाउँछन्। 'गुलाबी संवाद'कै आधिकारिक इमेल तथा सामाजिक सञ्जालको च्याट बक्समा पनि दैनिकजस्ता यस्ता प्रश्न तथा जिज्ञासा हामीलाई प्राप्त हुन्छ। 

किशोरावस्थामै हुने असुरक्षित यौन सम्पर्क, गर्भावस्था, गर्भपतन गर्दा हुनसक्ने जोखिम, गर्भपतन गर्ने तरिका, गर्भवती भएकै कारण प्रेमीले 'ब्रेकअप' दिएपछि भोगिरहेको मानसिक स्वास्थ्य समस्या, आफ्नो पार्टनरसँग यौन सम्पर्क राख्दा हस्तमैथुन गर्दाजस्तो रमाइलो नभएको, गर्भवती नबनाईकनै कसरी गर्लफ्रेन्डसँग यौन सम्पर्क गर्नेजस्ता समस्या तथा जिज्ञासा, समस्या र उत्सुकता हामीले पाएका छौं। प्राय: किशोरावस्थामा रहेका र किशोरावस्था पार गरी युवावस्थामा प्रवेश गरेका व्यक्तिका कुरा हुन् यी।  

त्यसदिन फार्मेसीमा भेटिएका ती किशोरीहरूले त्यस्तै समस्याको समाधान खोज्न सहज, तर असुरक्षित उपायको खोजी गरिरहेको देखेपछि भने हामीले एक अर्कालाई नै प्रश्न गर्‍यौँ–आखिर यस्ता समस्या किन हुन्छन्? यस्ता परिस्थितिका लागि को जिम्मेवार? कसरी यो समस्याको समाधान वा न्यूनीकरण हुन सक्ला? के यस्ता समस्या भोगिरहेकाहरूले नै समाधानको उपाय पहिल्याउन सक्लान् त? तर, होस्टेलबाट डरैडरमा निस्किएका र कसैले देख्छ कि भनेर सर्वत्र नजर डुलाइरहेका ती बहिनीहरूले फार्मेसीकी सिस्टरसँग "जसरी हुन्छ, गर्भपतनको औषधी दिनुस्" भनेर गरेको अनुनय देखेर भने हामीलाई लागेन, यस्ता समस्या भोगिरहेकाहरूले नै समाधानको उपाय पहिल्याउन सक्लान्। 

फेरि यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसँग सम्बन्धित समस्या, जिज्ञासा तथा उत्सुकता कुनै निश्चित उमेर समूहको मात्रै भोगाइ वा सरोकारको मुद्दा पनि त होइन। गर्भमा रहेदेखि शुरू हुने यस स्वास्थ्य-अधिकार हरेक उमेर समूहका व्यक्तिले उमेरअनुसार प्राप्त गर्न पाउनु तिनको मानव अधिकार हो। यसका लागि बालबालिका तथा किशोरकिशोरीका हकमा तिनको परिवार, विद्यालय, समुदाय, राज्यको भूमिका र अन्य उमेर समूहका हकमा व्यक्ति स्वयमसँगै परिवार, समुदाय र राज्यको समुचित भूमिका बृहत् हुन्छ। त्यसैले पनि बालबालिका तथा किशोरकिशोरीका हकमा उचित यौन शिक्षाको अपरिहार्यता व्यापक छ। 

बालबालिका तथा किशोर किशोरीले अझै पनि आवश्यकताअनुरूप यौन शिक्षा प्राप्त गर्न सकिरहेका छैनन्। उनीहरू आजको प्रविधिको युगका जुझारु उमेर समूहका व्यक्ति हुन्। उनीहरूमध्ये अधिकांश शिक्षा, स्वास्थ्य, इन्टरनेट, आदिको सहज पहुँचमा छन्। आफूलाई चाहिएको जानकारीका लागि किताबका पानादेखि गुगलको सर्चबारसम्म पुग्न ठूलो झन्झट बेहोर्नु पर्दैन। तर पनि तिनै बालबालिका तथा किशोर किशोरीले सही-गलत छुट्याउन नसकेर गलत कदम चालिरहेका थुप्रै उदाहरण समाजमा प्रशस्त भेटिन्छन्।   

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे विद्यालय स्तरकै पाठ्यक्रममा समावेश नगरिएको होइन। पछिल्ला समय यौन शिक्षाबारे खुलेर पाठ्यक्रमका कुरा पढाउनुपर्छ भन्नेको जमात बढ्दै गए पनि यससँग सम्बन्धित पाठ सकेसम्म पढाउन नपरे हुन्थ्यो भन्ने शिक्षक र मनमा कौतुहलताको पहाड नै खडा भएको भए पनि पढ्न नपरे हुन्थ्यो भन्ने विद्यार्थी अझै पनि भेटिन्छन्। यौनका कौतुहलतालाई लिएर शिक्षकसँग प्रश्न सोध्नभन्दा इन्टरनेटका ब्राउजरमा यौनजन्य सामग्रीको खोजी गर्न उत्साही हुने पुस्ता हुर्किँदो छ। तर, ती सामग्रीको खोजी सही तरिकाले भइरहेको छ कि छैन, इन्टरनेटमा उपलब्ध जानकारी तथ्यपरक हो कि होइनजस्ता प्रश्नबारे पनि उनीहरू अनभिज्ञ छन्। 

अर्कोतर्फ, अझै पनि धेरै अभिभावक तथा परिवारलाई नै पनि आफ्ना बालबालिकालाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे जानकारी दिनुपर्छ भन्ने ज्ञानको कमी छ। अभिभावक आफै अग्रसर भएर बालबालिकालाई उमेरअनुसार यौन शिक्षा दिनु त परको कुरा, यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित बच्चाको जिज्ञासालाई लाज र अनावश्यक कुराको संज्ञा दिएर बिच्काउने प्रवृत्ति हाबी छ। उमेरअनुसार यौन शिक्षा दिनुपर्छ भन्ने अभिभावकलाई पनि कसरी त्यस्ता विषयमा छलफल थाल्ने, बाल मनोविज्ञानमा असर नपुग्ने गरी कसरी यौन शिक्षालाई बढावा दिँदै जाने भन्ने ज्ञान कमै छ। 

सायद, उनीहरू हुर्केबढेको परिवेशमा त्यस्ता कुरा प्राथमिकतामा कहिल्यै नपर्नु यसको कारण हुनसक्छ। तर, त्यस्ता कारणले आजका बालबालिका तथा किशोरकिशोरी पनि अपुरो-अधुरो ज्ञान लिएर अन्योलपूर्ण अवस्थासँग जुध्नु भनेको चाहिँ आउने पुस्तामाझ पनि यौनशिक्षाबारे रहेका अन्योल कायम रहनु हो। आफ्नो बच्चालाई कुन तरिकाले बुझाउँदा तिनको उमेर र बुझाइको क्षमताअनुसार बुझ्न सक्छ भन्ने ख्याल गरेर यौन शिक्षा दिने हो भने पक्कै बालबालिका असुरक्षित रूपमा यौनजन्य क्रियाकलापमा सहभागी हुने थिएनन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत वर्षको तथ्यांकअनुसार नेपालमा कूल ३७ प्रतिशत किशोरीको १८ वर्ष नपुग्दै र १० प्रतिशतले १५ वर्ष उमेरभित्रै विवाह गर्ने गर्छन्। विवाहका लागि कानूनले तोकेको उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्ष उमेरमा र ७६ प्रतिशतको २० वर्ष उमेरमा विवाह भएको पाइन्छ। यसमा पनि  १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी आमा अथवा गर्भवती भइसकेका हुन्छन्। यसले के देखाउँछ भने बृहत्तर यौनिकता शिक्षाबारे किशोरीहरूलाई बुझाउन, उनीहरूलाई सानै उमेरमा हुने यौन सम्पर्क, त्यसमा पनि असुरक्षित यौन सम्पर्क हुँदा हुन सक्ने जोखिमबारे बुझाउन ढिला भइसकेको छ। 

‘यौन’ नितान्त व्यक्तिगत कुरा हो भने ‘यौन शिक्षा’ साझा विषय। यो साझा विषयले यौन शब्दलाई शारीरिक सम्पर्कभन्दा फरक यौन जीवन, यौन क्रियाकलाप, यौनिक पहिचान, यौनसँग सम्बन्धित व्यक्तिको धारणा, आदिबारे उदार र सकारात्मक विचार तथा व्यवहारको निर्माणमा गहन भूमिका खेल्छ। किनकि यौन शिक्षाले आफ्नो यौन जीवनलाई स्वस्थ र सुरक्षित बनाउनुका साथै अरूको यौन अधिकारलाई सम्मान गर्न सिकाउँछ। 

विपरीत लिंगीसँग गरिने यौन सम्पर्कलाई मात्रै यौन बुझ्नु र त्यस्ता क्रियाकलाप गर्न सिकाउनु नै यौन शिक्षा हो भन्ने एकांगी बुझाइ पर्याप्त भेटिन्छ। तर, ‘सेम सेक्स म्यारिज’देखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिसँगै अन्यको यौनिक, लैंगिक पहिचान र अधिकार, व्यक्तिको प्रजनन स्वास्थ्यको निर्णय र अधिकारसम्म कुरालाई संस्थागत गर्ने सम्मको कुरा यौन शिक्षाले समेट्छ। 

त्यतिमात्रै नभई सानै उमेरदेखि व्यक्तिले भोग्न सक्ने यौन दुर्व्यवहार, गलत छुवाई (ब्याड टच) सँगै बाल्यावस्थाबाट किशोरावस्था प्रवेश गर्दा आउने शारीरिक, मानसिक, भावनात्मक परिवर्तनलाई स्वीकार र अनुभूत गर्न पनि यौन शिक्षा अपरिहार्य छ। स्वर परिवर्तनका कुरा हुन्, शरीर र मन परिवर्तनका कुरा, रहर र  रोजाइदेखि महिनावारीमा बग्ने पहिलो रगत, स्वप्नदोषले निम्त्याउने जिज्ञासासँगै हस्तमैथुनले दिने उत्साह र ऊर्जा, यी सबैबारे स्वस्थ ढंगले ज्ञान आर्जन गर्ने माध्यम नै यौन शिक्षा हो। 

बाल्य र किशोरावस्थाका यिनै अनुभूति, भोगाइ र तीनले सिकाउने पाठले नै एउटा व्यक्तिको शारीरिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक चेत निर्माण हुन थाल्छ। तर विडम्बना, हामी व्यक्तिको सुन्दर भविष्य निर्माणको जग नै बिर्सेर यौनजस्तो संवेदनशील विषयलाई अश्लीलताको परिभाषाले व्याख्या गर्छौं। अनि यौन शिक्षालाई बेसरोकार र सरमको विषय ठान्छौँ। 

बृहत्तर यौन शिक्षाले व्यक्तिको सुरक्षित यौन व्यवहारदेखि, यौनजन्य भावना, सम्बन्ध र जिम्मेवारी, यौनजन्य गतिविधि, गर्भ नियन्त्रणको अधिकारदेखि, यौन स्वास्थ्य, प्रजनन स्वास्थ्य अधिकारलगायत बृहत् विषय समेट्छ। तर, शारीरिक सम्पर्कमा मात्र सीमित भएर यौन, यौनिकता र यौन शिक्षालाई हेर्दा मानव विकास र जनस्वास्थ्यको एउटा महत्त्वपूर्ण पक्षलाई हामीले कम आँकिरहेका छौं। त्यसमाथि, सहमतिमा हुने स्वस्थ्य-शारीरिक सम्पर्क आफैमा खराब विषय हो र? 

यौन शिक्षा नहुनुको प्रत्यक्ष नकारात्मक प्रभाव अहिलेको पुस्तामा देखिन्छ, जसले उनीहरूलाई यौन स्वास्थ्य र सम्बन्धहरूबारे सुसूचित हुन र सही–गलत छुट्याउन नसक्ने बनाइदिएको छ। समाजमा विद्यमान सामाजिक रूढिवाद यसको प्रमुख कारक हो। हाम्रा सांस्कृतिक मूल्यमान्यता, यौन शिक्षासम्बन्धी नीति, यौन स्वास्थ्यबारे जकडिएका गलत तथा भ्रामक जानकारी तथा विश्वास आदिले यस्तो परिस्थिति सृजना गरिदिएको हो। यिनै कारण, घरमा होस् वा विद्यालय, यौन शिक्षासम्बन्धी बालबालिका तथा किशोरकिशोरीको बुझाइलाई साँघुरो र हाउगुजी बनाइदिएको छ।  

त्यसैले पनि यौन तथा यौन शिक्षालाई हेर्ने हाम्रो सामाजिक दृष्टि उदार हुनुको विकल्प छैन। यसका लागि यौन शिक्षालाई सामान्यीकरण गर्दै, पाठ्यक्रममा समावेश यौन शिक्षालाई बिना हिचकिचाहट पढ्ने-पढाउने अभ्यासको थालनी विद्यालय तहबाट हुनुपर्छ। परिवारमा नै पनि यौनसँग सम्बन्धित आफ्ना बालबालिकाका प्रश्न तथा जिज्ञासालाई उनीहरूको बाल मनोविज्ञानमा असर नपुग्नेगरी संयमित र सरल रूपले प्रतिक्रिया दिनुपर्छ। त्यसका लागि विभिन्न यौन शिक्षासँग सम्बन्धित पुस्तक, जानकारीमूलक भिडियो तथा कुराकानी प्रभावकारी श्रोत हुन सक्छन्। 

त्यसबाहेक, सरकार र विभिन्न गैरसरकारी संस्थाले यौन स्वास्थ्य समस्याबारे जनतालाई शिक्षित गर्ने उद्देश्यले जनस्वास्थ्य अभियान सञ्चालन गर्ने, अभिभावक तथा हेरचाहकर्ताले यौन सम्बन्धबारे पारिवारिक छलफलका माध्यमबाट व्यक्तिको बुझाइ र यौनप्रतिको दृष्टिकोणलाई सामान्यीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। यसो हुन सक्दा बालबालिका र किशोर किशोरीले आफूलाई असुरक्षित यौन तथा यौनजन्य व्यवहारबाट जोगाउन सक्छन्। 

(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)