सर्वत्र भ्रम छरिँदा कता छन् बुद्धिजीवी?

नेपालमा तीव्र औद्योगीकरण हुन सकेको छैन। भयावह बेरोजगारी पैदा भएको छ। सामाजिक र सांस्कृतिक मूल्यहरूमा विचलन आएको छ। हातमुख जोर्नका लागि दलाली गर्नुपर्ने वा बिदेसिनु पर्ने बाध्यता भएको छ।

समाज भयंकर राजनीतिक विभ्रम (डिलुजन)मा फसेको छ। सामाजिक चेतना क्षयीकरण भएकै कारण के ठीक र के बेठीक छुट्टाउन मुस्किल छ। देशको राजनीतिले सर्वसाधारणको जीवनस्तर माथि उकास्नु पर्ने हो तर त्यस्तो हुन सकेन। कमसेकम गणतन्त्र स्थापनापछि देशले आर्थिक–सामाजिक समृद्धिमा कोल्टे फेर्नुपर्ने अपेक्षा थियो। जनताको जीवनस्तर माथि जानुपर्थ्यो। रोजगारी बढ्दै गरिबी हट्नुपर्थ्यो। स्वास्थ्य, शिक्षा, कृषि, खानेपानीजस्ता आधारभूत सेवा पर्याप्त हुनुपर्थ्यो तर जनताको आफ्नै रगतले लेखेको समाजवादी संविधानले समेत केही गर्न सकेन। 

स्थानीय, प्रदेश र संघका राजनीतिक नेतृत्व, तिनका आसेपासे, चाकरीबाज र दलाललाई मात्रै यो व्यवस्थाले राम्रो गर्‍यो, जनतालाई केही न केही। यो निराशा सर्वत्र व्याप्त छ। यही निराशाबीच नेपालमा लोकरञ्जनवाद (पपुलिज्म) मौलाएको छ। यसो घोत्लिँदा यो लोकरञ्जन अभ्यासमा अग्रगामी सुगन्ध नभई प्रतिगामी गन्ध आउँछ। सोसल मिडिया, पत्रपत्रिका, रेडियो या टिभी हेर्नुस् त चर्काचर्की भाषण, आक्रोश र उत्तेजना मात्र भेटिन्छन्। पुराना नेता फटाहा, पुराना भ्रष्ट र लुटेरा तर हामी नयाँ ठीक भन्दै कतिपय व्यक्ति कुर्लिरहेका छन्। के साँच्चै त्यस्तै हो त? 

पुरानो राज्यसत्ता निश्चय नै प्रतिगामी र जनताको शोषणको जगमा उभिएको हो, यसलाई फाल्नैपर्छ, नयाँ व्यवस्था ल्याउनै पर्छ। कसरी ल्याउने? यसको नेतृत्व कसले गर्ने? पक्कै नयाँ पुस्ताले। त्यसो भए नयाँ–नयाँ मुखौटा लगाएर आएका सबै ठीक छन् त? उनीहरूको  बोतल मात्रै नयाँ हो कि भित्र अमृतै छ? या पुरानै रक्सी छ? यथार्थ के हो? यो छुट्टाउन कठिन छ। सत्य के हो? छुट्टाइदिनुस् न भन्दै जनता यतिबेला बुद्धिजीवीहरूलाई हारगुहार गर्दै छन्। विडम्बना, बुद्धिजीवीहरू आफैँ रनभुल्लमा पो छन्।

खास गरी बुद्धिजीवी तप्काको स्वतन्त्र अस्तित्व हुने, उनीहरू पढेलेखेका र उच्च शिक्षा हासिल गरेका हुने हुनाले तिनले नै तर्क र विज्ञानका आधारमा विवेचना गर्ने हुँदा तिनको चेतना प्रगतिशील एवं उपल्लोस्तरको हुन्छ भन्ने ठानिन्छ। सोही कारण उनीहरूले सत्य खुट्याउन सक्छन् र सामाजिक विभ्रमको जालो च्यात्न सक्छन् भनेर नै समाज उनीहरूप्रति यति आशावादी भएको हो। यस्ता बुद्धिजीवीहरूमा दार्शनिक, प्राध्यापक, शिक्षक, प्राज्ञ, विज्ञ, कवि, वैज्ञानिक, चिन्तक, थिंकट्यांक, नीतिनिर्माता, कानूनबेत्ता, समाजसेवी–सामाजिक अभियन्ता, लेखक–कलाकारलगायत पर्छन्, जो शारीरिक श्रम भन्दा पनि मानसिक श्रम (बुद्धि र प्रविधि) परिचालनबाट जीविकोपार्जन गर्ने गर्छन्। 

यस्तो वर्गले राजनीतिलाई तटस्थतापूर्वक, तर नैतिक मूल्यका आधारमा विवेचना गर्छ। इतिहास हेर्दा पनि थाहा लाग्छ, बौद्धिक वर्गते संसारका ठूला–ठूला क्रान्ति र परिवर्तनमा योगदान गरेको छ। फ्रेन्च, रुसी या चिनियाँ जनक्रान्तिका साथै नेपाली भूमिमा सामन्तवाद र यथास्थिति विरुद्धका सबैखाले विद्रोह, आन्दोलन र क्रान्तिहरूमा बुद्धिजीवीहरू अग्रमोर्चामा थिए।    

सामाजिक विभ्रम निर्माण हुँदै
समाज जब डिस्पोटियाको शृंखलामा अगाडि बढ्छ तब समाजका सबै लोकतान्त्रिक मूल्यमान्यता क्षतविक्षत हुन गई सर्वसत्तावाद र फासिवादको अंकुरण हुन जान्छ। यस्तै मौकामा 'राजनेता'हरूले यतिबेला नै तानासाही सुरुङमार्गमा देशलाई जबरजस्ती लैजान्छन्। नातावाद, परिवारवाद, नवउदारवाद-एकाधिकारवादले राज्यको धनमा ब्रह्मलूट गर्छन्। यिनले चारैतिर निराशा र अभाव  सिर्जना  गर्छन् अनि यसैबेला सोसल डिल्युजन (सामाजिक विभ्रम) फैलिन सहज हुन जान्छ। 

शासकहरूले प्रोपागान्डा र डिल्युजनको खेती यही बेला गर्छन् र भन्छन्– कि म नै तिम्रो हिरो हुँ, म नै तिम्रो उद्धारकर्ता हुँ, ममाथि विश्वास गर, किनकि म नै क्रान्ति हुँ, म नयाँ अवतार हुँ, म भगवान् हुँ र मसिहा पनि हुँ। सोसल डिल्यूजन (विभ्रम) र सोसल इल्यूजन (मृगतृष्णा) उस्तैउस्तै गरी निर्माण गरिन्छ। यी दुवै प्रक्रियामा जनमानसलाई विश्वास दिलाइन्छ कि– नेताहरूले हाम्रा लागि रात दिन मिहिनेत गरेका छन्, उनीहरूले निस्वार्थ हाम्रो सेवा गरेका छन्, उनीहरू असल छन्, खराब त हामी जनता पो रहेछौँ। उनीहरूले हाम्रा लागि स्कुल, कलेज, बाटोघाटा, उद्योगधन्दा र रोजगारी दिने योजना बनाइरहेका छन्। यस्तैयस्तै विभ्रमहरू।

यस्तो खाले सोसल डिल्युजन निर्माण डिस्पोटियन (असमानता र अन्यायले भरिएको समाज) कसरी सम्भव हुन्छ त? प्लेखानोभ एकेडेमी, मस्कोका प्राध्यापक लुडमिला सुक्सिना (२०१५) को टोलीले मूल रूपमा राजनीतिज्ञहरूले समाजमा दिवास्वप्न (डे ड्रिम), सोसल फेन्टासी (सामाजिक रोमाञ्चकता), कृत्रिम चित्रांकन (नक्कली र चमत्कारी इमेज) र प्रोपागान्डा (झूटमाथिको विश्वास) जस्ता औजारमार्फत गहिरो अर्धचेतना (डीप क्वेसी–कन्ससनेस) पैदा गर्न सफल हुने भएकोले यस्तो विभ्रमउपर मानिसले अति नै विश्वास गर्ने गरेको पाएका थिए।  

१६औँ शताब्दीमा निकोलो मेकियाभेलीले इटालियन सम्राट्लाई उच्चस्तरीय अवतारको रूपमा देखाउन 'द प्रिन्स' नाटक लेखन गर्दा यही प्रोपागान्डा र डिल्युजन सिद्धान्त अपनाएका थिए भने अचेल आधुनिक कालमा प्रोपागान्डा मच्चाउन शासकले छुट्टै 'पोर्टफोलियो' बनाउने गर्छन्, जहाँ झूटबाहेक अरू खेती गरिन्न र सत्य लुकाइन्छ। सोसल मिडिया यति बेला झूट खेतीको मैदान भएको छ। हेर्नुस् त तमाम विभ्रम, नाटक, पडकास्ट, पण्डित्याइँ र नक्कली बुद्धिजीवीहरू। राजनीतिक अभिष्टका लागि ‘साइबर फोर्स’ खडा भएका छन्, जो दिनरात अफवाह फैलाउने र प्रोपागान्डा मच्चाउने गर्छन्।

केही उदाहरण हेर्दा थाहा लाग्छ कि नेपालमा कसरी प्रोपागान्डा मच्चाइएको छ। एकथरी भन्छ– लिपुलेक मैले फिर्ता ल्याएँ, म मात्रै राष्ट्रवादी हुँ, धरहरा मैले बनाएँ, वृद्धभत्ता मैले दिएँ। अर्को भन्छ– लोकतन्त्र मैले ल्याएँ, प्रजातन्त्रको मसिहा मै हुँ। झन् अर्को भन्छ– समावेशिता मैले ल्याएँ, संघीयता मेरो पेवा हो। अर्को भन्छ– वृद्धले होइन, युवाले देश बनाउँछ, म मात्रै युवा हो। अनि अर्को भन्छ– मधेशीलाई अधिकार दिने मै हो। यस्तैयस्तै अनगिन्ती र धेरै अफवाह छन्।

यत्रा प्राप्तिपछि पनि देशचाहिँ किन गरिब छ त? यहाँ भोकरोग, विभेद, बहिष्करण, ऐतिहासिक दलन, अन्याय अत्याचार किन छ? आम जीवनयापन किन कठिन छ? यो कारण र सत्य कसैले भन्दैनन्। यही सत्य हो बुद्धिजीवीले भनिदिनुपर्ने। यही शून्य चेतनामाथि विद्रोह गरी हाम्रो अर्द्धमुर्छित (सब–कन्ससस) समाजलाई अब उठाउने।

प्रगतिशील बुद्धिजीवीको भूमिका
प्रतिगमन, अराजकता, सर्वसत्तावाद र यथास्थितिवाद विरुद्ध लड्ने र समाजको अग्रगामी परिवर्तन चाहने सबै मानिस प्रगतिशील तप्कामा पर्छन्। वामपन्थी, प्रजातान्त्रिक सबै बुद्धिजीवी यसै पनि देशभक्त र प्रगतिशील हुने भए। 

राज्यको शोषणलाई रंगिन चित्रमा व्याख्या गर्न शासकलाई 'भाट बुद्धिजीवी' एवं भजनमण्डली आवश्यक पर्छ। यस्ता भाट बिक्री हुन्छन् र ज्यूज्यू गर्दै चाकरी प्रथामा रमाउँछन्। यिनीसँग उच्च शैक्षिक योग्यता नै भए पनि यिनको चेतना निम्नस्तरको हुन्छ र सिर्जनशील क्षमता विसर्जित हुन्छ। 'हड्डी' खाएका हुन्छन्। राज्यले लोभ्याउने राजदूत, जीएम, आयोगप्रमुख या यस्तै गुलियो चास्नीमा डुब्न जान्छन्। कुनै प्रश्न गर्न नसक्ने आलोचनात्मक चेत गुमाइसकेका यिनले आफ्ना स्वार्थका लागि जेसुकै गर्न तयार हुन्छन्। आफ्नै स्वाभिमान बेच्नेलाई अरूथोक बेच्न कुन आइतबार? यिनै भाट बुद्धिजीवीहरू नै हुन् समाजमा विभ्रम र प्रोपागान्डा खेती गर्ने। 

विगत सय वर्ष यता नेपालमा पनि बौद्धिक वर्गले राजनीतिमा पकड जमाउन सफल देखिए तर पनि देशको अग्रगामी रूपान्तरण भएन। मेक्स बेबरले भनेझैँ यी बुद्धिजीवीहरूले आफूलाई प्राप्त राज्य शक्तिको आडमा आफैँ लाभ लिए, भाइभारदार, परिवार, नातागोता पोसे तर जनतालाई ख्याल गरेनन्। देशको अर्थ राजनीतिक नीति, बजेट, योजना र दस्ताबेज आसेपासेका लागि मात्रै बनाए। देशको असंलग्न वैदेशिक नीति पनि बेचेर खाए अनि साम्राज्यवादी र औपनिवेशिक नीतिका अघि आत्मसमर्पण गरे। देशको अस्तित्वमाथि खेलबाड गरे। यस्ता विभ्रमहरू तोड्न लेखक महाद्वीप पोखरेलले केही पहिले भनेझैँ  समाजमा कलम पुनर्जागरण (फाउन्टेन रेनासा) अभियान आवश्यक छ। बौद्धिक जनसमुदायले जुनसुकै माध्यमबाट चेतनाको जागरण फैलाउनु आवश्यक देखिन्छ। विभ्रम तोड्ने काम साँच्चै कठिन छ।

मार्क्सवादी बुद्धिजीवीले के गर्ने?
समाजबाट गरिबी, असमानता र विभेद अन्त्य गर्न उत्पादनको ढाँचा नै बदल्नु पर्छ भन्ने दार्शनिक कार्ल मार्क्सले कम्युनिस्ट मेनिफेस्टो (१८४८) र क्यापिटल (१८६७) जस्ता महत्त्वपूर्ण कृतिहरू लेखे। मार्क्सले बुद्धिजीवी वर्गले नै सर्वहारा वर्गलाई उच्च चेतना प्रवाह गर्न सक्छन् र यिनीहरू नै समाज परिवर्तनका सहयोगी हुन सक्ने बताए। पुँजीवादी व्यवस्थामा बुर्जुवा वर्ग र सर्वहारा वर्गको बीचमा हुने सामाजिक वर्ग संर्घषका दौरान 'पेटी बुर्जुआ' (निम्न पुँजीपति) वर्ग पनि आउँछन्। मार्क्सले यो वर्ग नै बुद्धिजीवी वर्गका रूपमा देखा पर्ने बताएका छन्। 

वास्तवमा निम्न पुँजीपति वर्ग केही शिक्षित हुन्छ, केही पढेलेखेको र पेसेवर हुन्छ। यससँग थोरै धनसम्पति पनि हुने भएकाले यो अलि ढुलमुले र अवसरवादीका रूपमा देखा पर्छ। पुँजीवादले पुँजी बिस्तार गर्दै जाँदा बिस्तारै बिस्तारै यही पेटी बुर्जुवालाई निल्दै जान्छ र यिनीहरू पनि कालान्तरमा 'सर्बहाराकरण' हुन जान्छन्। यही चेतनाले गर्दा यिनीहरू केही न केही क्रान्तिकारी बन्छन्। यस्तै चरित्र हाम्रो नेपाली समाजमा समेत देखिन्छ। 

लेनिनले 'ह्वाट इज् टु बि डन?' (१९०२) भन्ने पुस्तकमा तत्कालीन रुसी क्रान्तिमा बुद्धिजीवी वर्गले गर्ने योगदान सम्झेका छन्। माओले पनि बुद्धिजीवी वर्गलाई क्रान्तिसँगै हिँडाएका हुन्। अब एकछिन नेपालका सन्दर्भमा विवेचना गरौँ। यतिखेर आधुनिक नेपाली समाज मूलभूत रूपमा तीन ऐतिहासिक चेतनाको बिस्तार गरेर नै यो चरणमा आइपुगेको हो। विसं.२००७, २०४६ र २०६३ को चेतनाको क्रान्तिकारी सम्मिश्रण हो आधुनिक नेपाली समाज। समाज अर्धसामन्ती उत्पादन पद्धतिबाट पुँजीवादी (जनवादी) उत्पादन प्रणालीको संक्रमणतर्फ लाग्दै छ, जसको गन्तव्य समाजवाद भनिएको छ। 

यतिखेर पुँजीवादी उत्पादन सम्बन्धको चरित्र दलालीकरण र नवउदारीकरणको पन्जाभित्र फसेको छ। त्यसले उत्पादन बढाउन कृषिमा क्रान्तिकारी भूमिसुधारको नीति ल्याउन दिन्न र भूमि पुनः वितरण गरी कृषकलाई माथि उठ्न पनि दिँदैन। राष्ट्रिय पुँजीपति वर्गको नेतृत्वमा स्वाधीन अर्थतन्त्र र औद्योगीकरण गर्न पनि यसले उस्तै बाधा पुर्‍याइरहेको छ। यसले उत्पादनका सबै स्रोतसाधनमाथि एकाधिकार जमाएको छ। तब न नेपालमा तीव्र औद्योगीकरण हुन सकेको छैन, जसका कारण भयावह बेरोजगारी पैदा भएको छ। 

यसले सामाजिक र सांस्कृतिक मूल्यहरूमा विचलन ल्याएको छ। हातमुख जोर्नका लागि दलाली गर्नुपर्ने वा बिदेसिनु पर्ने बाध्यता भएको छ। कम आय, गरिबी, भोकरोग, अन्याय, जातीय विभेदजस्ता तमाम समस्या नै उत्पादनमा कमीसँग जोडिन्छन्। यसर्थ, बुद्धिजीवीले नै यो सत्यको बोध जनतालाई गराउन सक्नुपर्छ। 

दलालहरूले आफ्नो ब्रम्हलुटको स्वर्ग स्थापनार्थ कल्चरल हेजीमनी (सांस्कृतिक प्रभुत्ववाद) लाद्ने पनि गर्छन्। एन्टिनिओ ग्राम्सीले भनेझैँ पुँजीवादले सर्बाल्टन-बुद्धिजीवीहरूलाई राजकीय शोषणको औजारका रूपमा प्रयोग गर्न सक्छ जसले गर्दा समाज चेतनाशून्य भइरहोस्, यसतर्फ समेत ध्यान दिँदै समग्र मार्क्सवादी बुद्धिजीवीहरूले क्रान्तिकारी व्यवहार एवं जनपक्षधरता कहिले पनि गुमाउनु हुँदैन। संरचनात्मक रूपमै समाज बदल्न यी उल्लेखित तमाम विभ्रम चिर्दै प्रगतिशील चेतना बिस्तारका लागि सत्य लेखौँ, सत्य बोलौँ र नयाँ 'कलम क्रान्ति'लाई अघि बढाऔँ।