यौन दुर्व्यवहारको आरोप लागेर राष्ट्रिय मानव अधिकार आयोगबाट एक वर्ष निलम्बनमा परेका प्रा. कपिल श्रेष्ठ मात्र नभई अदालतले तोकेको १५ हजार जरिबाना नतिरेका धनप्रसाद पण्डित पनि राजदूतमा अनुमोदन भएका छन्।
काठमाडौँ- ‘उच्च नैतिक चरित्र’ हुनुपर्ने राजदूतजस्तो पदमा विगतमा विवादमा परेका या अदालतले दोषी ठहर गरेका व्यक्ति संसदीय सुनुवाइ समितिबाट धमाधम अनुमोदन भएका छन्। ‘नैतिक र चारित्रिक कुरा अलग हो, कानूनी रूपमा कारबाही (अस्वीकार) गर्न मिल्दैन’ भन्ने तर्क पेश गरेर संसदीय सुनुवाइ समितिले सबै राजदूतहरू ‘उच्च नैतिक चरित्र नभए पनि योग्य’ भएको जनाएको छ।
यौन दुर्व्यवहारको आरोप लागेका र राष्ट्रिय मानव अधिकार आयोगबाट एक वर्ष निलम्बनमा परेका प्रा. कपिल श्रेष्ठ पनि संसदीय सुनुवाइबाट राजदूत बन्न योग्य भएका छन्। उनी नेपाली कांग्रेसको कोटाबाट दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस भएका थिए।
दुई महिनाअघि मात्रै विगतको यौन दुर्व्यवहारकै कारण कृष्णमान प्रधानले निर्वाचन आयोगमा संवैधानिक नियुक्ति पाउन सकेका थिएनन्। तर उस्तै प्रकृतिको घटना तथा प्रामाणिक कसुरका प्रा. श्रेष्ठ राजदूत हुने भएका हुन्।
श्रेष्ठलाई राष्ट्रिय मानव अधिकार आयोगमा आयुक्त हुँदा त्यहीँकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। यो मुद्दा अदालतसम्म पनि पुगेको थियो। २०५७ जेठदेखि पाँच वर्षका लागि आयुक्त बनेका श्रेष्ठ त्यही कारण २०५९ साउनदेखि एक वर्षका लागि निलम्बनमा परेका थिए।
यो पनि: यौनहिंसा आरोपित प्रधान निर्वाचन आयुक्त बन्न सकेनन्, उस्तै कसुरका श्रेष्ठ राजदूत बन्दै
यसअघि, इजरायलको राजदूत हुँदा उतै सहयोगी कामदार छाडेर आएको आरोप लागेकी कान्ता रिजाल पनि अस्ट्रेलियाको राजदूतमा प्रस्तावित भए पनि नाम फर्ता लिनुपर्यो। उनी पनि कांग्रेस कोटामा राजदूत सिफारिस भएकी हुन्। अस्ट्रेलियाका लागि अहिले चित्रलेखा यादवलाई प्रस्ताव गरिएको छ।
एमालेको पार्टी सदस्य भएकी र गैरसरकारी संस्था चलाउने सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूतमा अनुमोदन भएकी छन्। उनले संसदीय सुनुवाइमा आफूले पार्टीका सबै पद त्यागेको बताएकी थिइन्।
सरकारी सेवामा रहेर सूचना लुकाएको प्रमाणित भई अदालतबाट १५ हजार रुपैयाँ जरिबानासहित विभागीय कारबाहीका लागि लेखिए पनि सजायबाट उन्मुक्ति पाएका धनप्रसाद पण्डित इजरायलका लागि राजदूत हुने भएका छन्। त्यसैगरी रेडक्रसमा भ्रष्टाचारको आरोप लागेका डा. नेत्रप्रसाद तिमल्सिना मलेसियाका लागि राजदूतमा अनुमोदन भएका छन्। उनले संसदीय सुनुवाइ समितिमा भनेका थिए, “मलाई थाहा छैन, म कति टिक्न सक्छु। यहाँहरूले रेडक्रसमा जस्तै तँ फेल भइस्, आइज भन्नुभयो भने पनि केही छैन।”
श्रीलंकाका लागि प्रस्तावित श्यामकृष्ण भट्टराईका हकमा मात्रै उनको स्नातक तह उत्तीर्ण कागजात समितिको रेकर्डमा नआएकाले अनुमोदन या खारेजीको निर्णय भएको छैन। राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा राजदूत बन्न कम्तीमा स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान छ। उनी कांग्रेस कोटाबाट सिफारिस भएका हुन्।
सुनुवाइ समिति सभापति सांसद ईश्वरीदेवी न्यौपानेले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाअनुसार, श्रीलंकाका लागि प्रस्तावित भट्टराईको स्नातक तह उत्तीर्ण कागजात अझै नआएका कारण अपराह्न बस्ने समिति बैठकले यसमा निर्णय लिन सक्ने उकालोलाई जानकारी दिइन्। “शैक्षिक कागजात कतै हराएको वा यताउता परेको हुन सक्छ,” उनले भनिन्, “आज मंगलबार अपराह्नसम्म उहाँले शैक्षिक प्रमाणपत्र समितिमा ल्याएर बुझाउन सक्नुहुन्छ। होइन भने प्रस्तावित नाम उहाँ स्वयंले फिर्ता लिन सक्नुहुनेछ।”
प्रस्तावित राजदूतहरूको शैक्षिक प्रमाणपत्र वा अन्य कागजातबारे परराष्ट्र मन्त्रालयले जानकारी लिएर सुनुवाइ समितिमा पेस गर्नुपरेमा सबै जस–अपजस समितिलाई दिने प्रवृत्ति ठीक नभएको सभापति न्यौपानेले बताइन्।
सभापति न्यौपानेले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिल श्रेष्ठविरुद्ध समितिमा उजुरी नपरेको उनको भनाइ छ। “प्रस्तावित राजदूतहरू पण्डित (इजरायल) र डा.तिम्सिना (मलेसिया)बारे उठेका विवाद (उजुरी)मा पनि निरूपण भएको छ, हामीले प्रक्रियागत ढंगमा सुनुवाइ पूरा गरेका छौँ,” उनले भनिन्।
तर दक्षिण अफ्रिका या मलेसियाजस्ता मुलुक नैतिक र चारित्रिक तहमा उठेका सवालमा नेपालभन्दा गम्भीर रूपमा विमर्श गर्ने स्थानमा पुगिसकेका एशिया र युरोपका दुई मुलुकमा राजदूत रहिसकेका एक व्यक्तिले बताए। उनले उकालोसँग भने, “न्यायिक निरूपण भनेको योग्यता र चरित्र दुवै पक्ष सम्बद्ध हुन्छ भनेर अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने मुलुकले चारित्रिक निगरानीमा उठेका नेपाली महामहिमबारे उब्जिएका प्रश्नमा थप प्रश्न गर्न सक्ने स्थिति छ। राजनीतिक कोटाका कपिलजी या नेत्रप्रसादजी जस्ता सन्देहास्पद नैतिक–चारित्रिक धरातलका व्यक्तिको एग्रिमो स्वीकृत नगर्न पनि सक्छन्।”
अनुमोदित राजदूतहरू
१. शंकर शर्मा—भारत
२. कृष्णप्रसाद ओली—चीन
३.नरेशविक्रम ढकाल—साउदी अरेबिया
४.शैल रुपाखेती—जर्मनी
५.कपिलमान श्रेष्ठ— दक्षिण अफ्रिका
६.सुम्निमा तुलाधर—डेनमार्क
७.धनप्रसाद पण्डित—इजरायल
८.प्रकाशमणि पौडेल—पोर्चुगल
९.रिता धिताल— पाकिस्तान
१०.जंगबहादुर चौहान—रुस
११.शिवमाया तुम्बाहाम्फे—दक्षिण कोरिया
१२.रमेशचन्द्र पौडेल—कतार
१३.सलिन नेपाल—स्पेन
१४.चन्द्रकुमार घिमिरे—बेलायत
१५.लोकदर्शन रेग्मी—अमेरिका
१६.नेत्रप्रसाद तिमिल्सना—मलेसिया
प्रस्तावित राजदूतहरू
१. सेवा लम्साल—बेल्जियम
२.चित्रलेखा यादव— अस्ट्रेलिया
अनिर्णीत राजदूत
१. श्यामकृष्ण भट्टराई—श्रीलंका
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
