इरानमा कोइला खानी विस्फोट हुँदा ५१ जनाको मृत्यु

इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने २० जना घाइते भएका छन्।

तस्वीर : एपी

इरानको पूर्वी क्षेत्रमा रहेको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुगेको छ। अन्य २० जना घाइते भएको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन्।

“ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको संख्या ५१ पुगेको छ भने घाइतेको संख्या २० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले जनाएको छ।

यसअघि कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए। 

 

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्यास जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ।

खोरासान प्रान्तमा रहेको खानीमा स्थानीय समयअनुसार शनिबार राति ९:०० बजे विस्फोटमा भएको थियो। मिथेन ग्यासको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको समाचारमा जनाइएको छ।

दक्षिणी खोरासानका गभर्नर जावद गेनातजादेहले विस्फोटको समयमा दुवै ब्लकमा ६९ जना कामदार रहेको बताएका छन्। एपी समाचार एजेन्सीलाई उनले बताएअनुसार ब्लक ‘सी’मा २२ जना र ब्लक ‘बी’मा ४७ जना थिए। खानीभित्र कति मानिस अझै जीवित तथा फसेका छन् भन्ने यकिन भइसकेको छैन।