किन आवश्यक छ रेस्टुराँमा परिकार बनिरहेका अरिंगालको संरक्षण?

विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्‍याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भइरहेकोप्रति जानकारले चासो व्यक्त गरेका छन्। अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।

गण्डकी– गाउँघरतिर अरिंगाल सिकार गर्नुलाई आँटिलो काम मानिन्छ। अरिंगालका गोला पोल्दा अरिंगालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन्। ज्यानकै बाजी लगाएर अहिले पनि अरिंगालको सिकार गरिन्छ। 

अरिंगालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको सिकारमा मानिसहरू लालायित हुन्छन्। पछिल्लो समय होटल र रेस्टुराँमा समेत अरिंगालका परिकार पाइन थालेका छन्। कतिपयलाई अरिंगाल अर्थोपार्जनको माध्यम बनेको छ। किरात समुदायमा त कुलपितृलाई अरिंगाल चढाउने चलन नै छ।

विषालु भईकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्‍याइरहेको अरिंगालको अप्राकृतिक ढंगले सिकार भइरहेको प्रति जानकारले भने चासो व्यक्त गरेका छन्। प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रकसमेत मानिने अरिंगाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा इन्द्रप्रसाद सुवेदी मौरी प्रजातिमा पर्ने अरिंगाल, बारुलालगायत कीराको परागसेचनमा महत्त्वपूर्ण भूमिका रहेको बताउँछन्। 

“पर्यावरणीय चक्रमा पनि कीरा–फट्यांग्राको महत्त्वपूर्ण भूमिका हुन्छ, बारुला र अरिंगालले बोटबिरुवामा लाग्ने कीटजन्य रोग नियन्त्रणमा पनि सहयोग गर्छन्,” उनले भने, “प्रकृतिलाई सन्तुलित बनाउने कीरा–फट्यांग्राको संरक्षणमा समुदायमा सचेतना जगाउनु आवश्यक छ।” 

व्यवस्थित सिकार गर्दैमा लोप नै हुने खतरा नरहे पनि घातक ढंगले सिकार गरेमा भने अरिंगाल हराउँदै जान सक्ने उनको भनाइ छ। डा. सुवेदीले वासस्थानमा बाधा पुगेको र जिस्काएको अवस्थामा मात्र अरिंगालले मानिसलाई चिल्ने गरेको बताए। 

“अरिंगालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले यसप्रति मानिसहरूमा भयसँगै नकारात्मक धारणा व्याप्त छ,” उनले भने, “असुरक्षाको महसुस भयो भने अरिंगालले पनि आफ्नो प्रतिरक्षा गर्छ, यो तरिका हरेक जीवजन्तुमा रहेको हुन्छ।” 

डा. सुवेदीले नेपालमा मौरीमा जति अध्ययन/अनुसन्धान बारुला, अरिंगाललगायत कीरामा हुन नसेको बताए। प्राकृतिक या मानवीय कारणबाट कीरा–फट्यांग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने उनको भनाइ छ। 

डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले वनजंगलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतंग नष्ट गर्नु कानून विपरीत हुने बताए। त्यस्ता क्रियाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अनुसार दण्डनीय मानिने उनको भनाइ छ।

“झट्ट सुन्दा कीरा–फट्यांग्राको विषय सामान्य जस्तो पनि लाग्न सक्छ, तर समुदायमा यसबारे सचेतनाको खाँचो छ, रूखमा आगो लगाएर अरिंगालको गोलो निकाल्नु पर्यावरणीय दृष्टिले पनि उपयुक्त छैन।” त्यस्तो कार्य गर्दा कतिपय ठाउँमा रुखका ठूल्ठूला हाँगा र बोटसमेत काट्ने गरिएको उनको भनाइ छ। 

प्रमुख काफ्लेले गोरखा, म्याग्दीलगायत ठाउँका होटलले अरिंगालका परिकार बेच्न थालेपछि सम्बन्धित जिल्लाका सरोकारकारवालाबीच छलफल चलाएको बताए। “तत्काललाई कानूनी कारबाहीभन्दा पनि व्यवसायी र स्थानीय बासिन्दामा सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ,” उनले भने, “अप्राकृतिक र घातक तरिका अपनाएर अरिंगालको सिकार गर्नुहुँदैन।” कार्यालयले विभिन्न स्थलमा उक्त विषयमा सचेतनामूलक सूचनापाटी पनि राखेको प्रमुख काफ्लेले बताए। 

उनले मौरी अग्लो स्थानमा पुग्न नसक्ने हुँदा अग्ला रुख र भीरमा बस्ने अरिंगाले बोटबिरुवामा परागसेचन गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। “अरिंगाल गर्मी ठाउँमा पनि बाँच्न सक्ने ज्याद्रो स्वभावको हुन्छ, जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढिरहेका बेला यस्ता कीटपतंगले पर्यावरण सन्तुलनमा सहयोग गर्छन्,” उनले भने। प्रायः अग्ला रूख, पाखा र भीरपहरामा गोलो लगाएर बस्ने अरिंगालले आँप, नास्पाती आदिका रुखमा बस्न बढी रुचाउने प्रमुख काफ्लेले बताए। 

चीनलगायत कतिपय देशमा घरघरमै अरिंगालको खेती गर्ने गरिएको उनले सुनाए। विश्वभर कीटपतंगको घट्दो अवस्थाका कारण वनस्पतिजन्य उत्पादनमा ह्रास हुँदै आएको उनको भनाइ छ। अग्ला रूख, वनस्पति तथा स्थानमा अरिंगाल, बारुलालगायत परागसेचनको मुख्य माध्यमका रूपमा रहेको प्रमुख काफ्लेले बताए। पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा कीरा–फट्यांग्राले महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ।  

“सामान्यतया एक गोला अरिंगालले एक दिनमा तीन हजारभन्दा बढी लामखुट्टे तथा हानिकारक कीराहरू खाई प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ,” उनले भने, “कीरा–फट्यांग्रा भएनन् भने परावसेचन हुन नपाई रोग बिरुवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानव जाति पनि रहँदैन।” अरिंगालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले वनजंगलमा रमाइरहेको कीरालाई जथाभाबी नजिस्काउन र सिकार नगर्न उनले सुझाए।

शिक्षण अस्पतालका चिकित्सक मिलेर गरेको एक अनुसन्धानले अरिंगालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको देखाएको प्रमुख काफ्लेले बताए। अरिंगालको खिलमा हुने ‘मेलेटिन’ र ‘एपामिन’ नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसञ्चारमा अवरोध गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ। 

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले पछिल्लो समय वनजंगलमा अरिंगालका गोला कम देखिन थालेको सुनाए। “अरिंगाल पोलेर खाने चलन पहिलादेखिकै हो, अहिले पनि फाट्टफुट्ट रूपमा सिकार गर्ने गरिएको छ”, उनले भने, “आगो लगाएर बोटबिरुवामै हानी पुग्ने गरी अरिंगालको सिकार गर्नु उपयुक्त छैन, यसतर्फ समुदाय नै सजग रहनुपर्छ।” वन क्षेत्रका महत्त्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उनले पर्यावरणसँग जोडिएका स–साना विषय नियामक निकायहरूको पनि प्राथमिकता नपरेको उल्लेख गरे।

नेपालमा अरिंगाल/बारुलाका ११ प्रजाति रहेको बताइन्छ। यी दुई प्रजाति साउनदेखि मंसिरसम्म बढी सक्रिय हुने गरेका छन्। अरिंगालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार वासस्थान फेर्ने गरेको जानकारहरू बताउँछन्। फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क हुनु अरिंगालको जीवनचक्र हो। अरिंगालले मौरी, झिँगा आदि कीरालाई आहार बनाउने गरेको छ। पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिंगाल पाइने गरेका छन्।