‘एउटा आइतबार बिहान म झिसमिसेमै उठेँ, एकछिन घोत्लिएँ र नाटक लेख्न थालेँ। त्यसपछिका हरेक हप्ताको विदामा मैले लेख्दै गएँ। त्यसरी लेख्दालेख्दै म लेखक बनेँ।’
भारतीय लेखक तथा चिन्तक गुरचरण दासका अहिलेसम्म ‘इन्डिया अनबाउन्ड’, ‘द डिफिकल्टी बिइङ गुड’, ‘इन्डिया ग्रोज एट रिच’, ‘अनोदर सर्ट अफ फ्रिडम’ लगायतका चर्चित पुस्तक प्रकाशित छन्। हार्वड विश्वविद्यालयबाट उनले दर्शनशास्त्रमा स्नातक गरेका हुन्। उनी लामो समयसम्म ‘बिजनेस’ क्षेत्रमा थिए। भारतस्थित ‘प्रोक्टर एन्ड ग्याम्बल’ कम्पनीको सिईओका रूपमा काम गरेका उनी पछि अमेरिकामा रहेको सोही कम्पनीको मुख्यालयमा प्रबन्ध निर्देशक पनि भए। ५० वर्ष पुगेपछि बिजनेस क्षेत्र त्यागेर उनी पूर्णकालीन लेखक बने। उनका लेख न्युयोर्क टाइम्स, फाइनान्सियल टाइम्स, वाल स्ट्रिट जर्नल लगायतमा प्रकाशित छन् भने द टाइम्स अफ इन्डियामा उनी नियमित लेख्छन्। तिनै गुरचरण दासको लेखन यात्राका विषयमा उकालोका लागि आमोद प्याकुरेल र किरण दहालले उनीसँग गरेको कुराकानीः
केही समयअघि तपाईंको ‘द डिलेमा अफ एन इन्डियन लिबरल’ प्रकाशित भयो। त्यसपछि नयाँ पुस्तकमा काम थालिसक्नुभयो?
एउटा पुस्तक लेखिसकेपछि अर्को लेख्नेबारे सधैँ सोचिरहेको हुन्छु। तर त्यसबारे अहिले नै चर्चा गर्नु हतार हुन्छ।
तपाईं इन्जिनियरिङ पढ्न हार्वड विश्वविद्यालय जानुभएको थियो। पछि यो विषय छाडेर दर्शन र इतिहास पढ्न लाग्नुभयो नि, किन?
म केटाकेटी थिएँ। आमाबुवाले ‘किन्डरगार्टन’मा राखिदिनुभएको थियो। परीक्षाको नतिजा आएको साँझ मेरी आमा घरबाहिर मलाई कुरिरहनुभएको रहेछ। मेरो हातमा ‘रिपोर्ट कार्ड’ थियो। घर पुग्नेबित्तिकै उहाँले सोध्नुभयो, “के भयो रिजल्ट, फस्ट भइस्?”
बुवाले अलि परबाट सुनिरहनुभएको रहेछ। उहाँले आमालाई भन्नुभयो, “तिम्रो प्रश्न मिलेन, बरु उसलाई स्कुलमा के–के मनपर्छ भनेर सोधेको भए हुन्थ्यो। उसलाई कथा सुन्न मनपर्छ कि! चित्र कोर्न मनपर्छ कि! खेल्न मनपर्छ कि! पढ्न मनपर्छ कि!” खासमा, मेरो आमा जीविका चलाउनेबारे सोच्नुहुन्थ्यो, बुवा जीवन बनाउनेबारे सोच्नुहुन्थ्यो। अहिले म यी दुइ बिचारको संयोजन हुँ।
मेरी आमाले बुवाबाट पाठ सिक्नुभएन। उहाँले जहिले पनि मेहनत गर्न र राम्रो जागिर खान मात्र सुझाव दिनुभयो। मैले हार्वड विश्वविद्यालयमा अध्ययन गर्न छात्रवृत्ति पाएँ। त्यसबेला १७ वर्षको थिएँ। मलाई विमानस्थलमा बिदा गर्न आउँदा आमाले गहभरि आँसु पार्दै अलि कामलाग्दो विषय पढ्न सुझाव दिनुभयो। बुवाले इन्जिनियरिङ पढ्नुभएको थियो, आमाको चाहना पनि छोराले हार्वडमा इन्जिनियरिङ नै पढोस् भन्ने थियो। इन्जिनियर भएपछि छोराले गजब जागिर पाउँछ भन्ने उहाँको आशा थियो।
हार्वड पुगेर म इन्जिनियरिङ पढ्न थालेँ। कोठामा मसँगै बस्ने साथी रसियन साहित्य पढ्थ्यो। मलाई अहिले पनि सम्झना छ– एक पटक ऊ लियो टोल्सटोयको ‘अन्ना करेनिना’ पढिरहेको थियो। एक दिन बिहान खाना खाने बेलामा उसले भन्यो, “कुनै दिन तपाईं विवाहित महिलाको प्रेममा पर्नुभयो भने त्यो महिला अन्ना करेनिना हुनुपर्छ।” अर्थात् मेरो साथी अन्ना करेनिनासँग समय बिताउने कुरा गरिरहेको छ। म भने इन्जिनियरिङको हिसाबकिताब मिलाइरहेको छु।
त्यसपछि मैले गम्भीरतापूर्वक सोचेँ– मेरो जिन्दगीको हिसाबकिताब मिलिरहेको छैन। त्यसपछि तत्कालै एउटा महत्वपूर्ण निर्णय गरेँ। अर्को सेमेस्टरमा इन्जिनियरिङ छाडिदिएँ र ग्रिक ट्रयाजेडी, रोमन इतीहास, पुँजीवादको इतिहास, दर्शन, पेन्टिङ र संस्कृत पढ्न थालेँ। संस्कृत पढेको देखेर आमाले खिन्न मान्दै भन्नुभयो– हाय, हाय! यो मृत भाषाले तिमीलाई के रोजगारी दिलाउला!
तपाईंको खास लेखनप्रतिको प्रेम कहिलेबाट शुरू भएको हो?
हार्वडमा स्नातक गरेर म भारतको चण्डिगढ फर्किएँ। त्यतिबेला मैले अक्सफोर्डमा पीएचडी गर्ने अवसर पाएको थिएँ। तर नजाने निधो गरेँ। एक दिन एक जना छिमेकीले मेरी आमालाई सोधेछन्– छोराले के गर्छ? आमाले बडा खल्लो मानेर जवाफ दिनुभएछ– खै के गर्छ, घरतिरै अलमलिएको छ। त्यसको केही समयपछि स्थानीय अखबार पढ्दै गर्दा एउटा कम्पनीमा मान्छे मागेको देखेँ। त्यसमा आवेदन दिएँ, मेरो नाम निक्लियो र म जागिरे भएँ। जागिरे जीवनमा मैले मेरो इन्टेलेक्चुअल जिन्दगीलाई खुब सम्झिएँ। बुवाले भन्नुभयो, “हप्ता–हप्तामा तेरो विदा हुन्छ, विदाको दिनमा आफूले चाहेको काम गर्नु क्या!”
एउटा आइतबार बिहान म झिसमिसेमै उठेँ, एकछिन घोत्लिएँ र नाटक लेख्न थालेँ। त्यसपछिका हरेक हप्ताको विदामा मैले लेख्दै गएँ। त्यसरी लेख्दालेख्दै म लेखक बनेँ।
तपाईंको पहिलो नाटक ‘लारिन्स साहिब’ थियो, त्यसपछि लगत्तै अर्को पनि नाटक लेख्नुभयो। दोस्रो नाटक लेखनका बारेमा पनि बताइदिनु न! नाटकका कारण तपाईंको एक महिलासँग भेट भयो र पछि उहाँसँग विवाह पनि भयो, हैन?
पहिलो नाटक लेख्दा म २३ वर्षको थिएँ। मेरो पहिलो नाटकले धेरै मानिसको ध्यान खिच्यो। पुरस्कार जितेँ। पछि त्यो नाटक मञ्चन पनि भयो। बीबीसी रेडियोले समेत प्रशारण गरेको थियो। पुस्तकका रूपमा पनि आयो, अक्सफोर्ड विश्वविद्यालय प्रेसले प्रकाशित गरेको थियो। पछि मैले काम गरिरहेको कम्पनीले मलाई ट्रेनिङका लागि न्युयोर्क पठायो। त्यहाँ पनि म हप्ताभरि काम गर्थेँ, विदाको दिन लेख्थेँ। मेरो जीवनमा कर्पोरेट जागिर र लेखन लामो समयसम्म सँगसँगै हिँडे।
म न्युयोर्कमा हुँदा अर्को नाटक लेखेँ, त्यो मिराबाइमाथि थियो। मिराबाइ १६औँ शताब्दीकी हिन्दू कवि र कृष्णको भक्त थिइन्। उनलाई सन्त मिराबाइ भनेर समेत सम्मान गर्छन्। मेरो आमा हरेक बिहान मिराबाइको भजन सुन्नुहुन्थ्यो। त्यो भजनको विषयवस्तुले मलाई सँधै आकर्षित गथ्र्यो। एउटा सामान्य मान्छे शान्त बनेकोमा म आश्चर्यचकित हुन्थेँ। मैले न्युयोर्कमा ‘ल मामा’ नामको एक थिएटर पनि भेट्टाएँ। उनीहरू मेरो नाटकमा अभिनय गर्न इच्छुक देखिए। त्यसका लागि मैले मिहिनेत पनि गर्नुपर्यो। उनीहरूले नाटकलाई ‘रक म्युजिक’ मा ढाले। यो १९७० को कुरा हो। त्यो नाटक मञ्चन गरियो, धेरैले प्रशंसा गरे। द न्युयोर्क टाइम्समा त्यसमाथि राम्रो रिभ्यु समेत छापिएको थियो।
लेखनले मलाई न्युयोर्कमा एक नेपाली महिलासँग भेट गराइदियो, जो पछि मेरी श्रीमती भइन्। उनी मेरो नाटक हेर्न आएकी थिइन्। त्यहाँ कसैले मतिर औँला देखाएर उनलाई भनिदियो– यो नाटकको लेखक त्यही मान्छे हो। उनी नजिक आइन् र आफ्नो परिचय दिइन्। हामी एकअर्कासँग नजिकियौँ, मैले उनीसँग विवाह गरेँ। विवाहपछि मैले उपन्यास लेख्न थालेँ। त्यो पनि राम्रो भयो।
तपाईं पहिलादेखि नै लेखनप्रति लगाव भएको मान्छे, ५० वर्षसम्म कर्पोरेट अफिसमा कसरी टिक्नुभयो?
म काम गरिरहेको कम्पनी ‘रफ एन्ड टम्बल’ खराब थिएन। म त्यहाँ रमाएँ। त्यस कम्पनीलाई गाली गर्नुपर्ने वा घृणा गर्नुपर्ने कुनै पनि कारण थिएन। मैले अगाडि पनि भनेँ, कामलाई प्रेम गर्नुपर्छ। आफ्नो कामप्रति मलाई कुनै वितृष्णा थिएन। लेखन मेरो सोख थियो, हप्ते बिदामा लेख्नैपथ्र्यो। अरू बेला पनि छुट्टी भयो कि लेख्न बसिहाल्थेँ। खासमा, लेखन मेरा लागि थेरापी थियो। यदि जागिरे जीवनमा कुनै समस्या आयो भने लेखनमा लाग्छु भन्ने सोच पलाएको थियो।
म पछि भारतस्थित प्रोक्टर एन्ड ग्याम्बल कम्पनीको सिईओ भएँ। कम्पनीले मलाई अझ ठूला पदहरूको निम्ति तयार पारिरहेको थियो। पछि म अमेरिकास्थित त्यसै कम्पनीको हेडक्वार्टरमा प्रबन्ध निर्देशक भएँ। मैले विश्वका विभिन्न देशका म्यानेजरसँग मिटिङ बस्नुपथ्र्यो, कामका बारेमा बुझ्नुपथ्र्यो। एक दिन उनीहरूसँग मिटिङमा थिएँ, उनीहरू हाम्रो कम्पनीको सफलताका कुरा गर्दै थिए। म झ्यालबाट बाहिर हेरिरहेको थिएँ। मेरो मनमा सोचाइ आयो– जिन्दगी यति मात्र हो? होइन, यसबाहेक पनि जिन्दगीमा केही कुरा हुनुपर्छ।
हरेकले आफ्नो कामप्रति लगाव देखाउनुपर्छ। लेखक, कलाकार, प्राध्यापक, वकिल, बैंकर वा अरू जुनसुकै पेसामा हुनुस्, जहाँ भए पनि कामलाई प्रेम गर्नुपर्छ। यति प्रेम गर्नुस् कि, तपाईंले आफैलाई भुल्नुहोस्। जीवन बनाउन आफैलाई भुल्नु पनि कला हो।
तपाईं पूर्णरूपमा यस्तो सुविधाजनक जागिर छाडेर लेखनमा आउनुभयो। आर्थिक कारणले पनि त्यो आत्मविश्वास आएको हो कि अरू पनि कारण छन्?
आर्थिक रूपमा म बलियो थिएँ जस्तो लाग्छ। यद्यपि मेरी श्रीमतीले मलाई विश्वास गर्दैनथिन्। हुँदाखाँदाको जागिर छाडेर बुढाले के गर्न खोजे भनेर उनी आत्तिएकी थिइन्। उनलाई मैले अनावश्यक चिन्ता थपिदिएको थिएँ। तर त्यसबीचमा मेरो लेखनले परिचय बनाइसकेको थियो। उपन्यासको धेरैले प्रशंसा गरेका थिए। नाटक मञ्चन भइसकेको थियो। पत्रपत्रिकामा लेखरचनाहरू आउँथे र तिनीहरूले बजारमा राम्रो छाप छाडेका थिए। लेखनमा म कमजोर छैन भन्ने आत्मविश्वास थियो, त्यसकारण यो क्षेत्रमा होमिएँ।
मैले आफैलाई बारम्बार भनेको थिएँ– यदि म बिजनेस छाडेर लेखनमा लागेँ भने राम्रो मान्छे बन्न सक्छु। बिजनेसका आफ्नै सीमितता हुन्छन्, कहिलेकाहीँ अनावश्यक दबाब महसुस हुन्छ। म ३० वर्ष बिजनेसमा लागेँ, लेखनमा लागेको पनि अर्को ३० वर्ष भयो। तर यतिका समयपछि मैले एउटा निष्कर्ष निकालेँ– बिजेनसमा लागेका मानिस लेखक, कलाकार, प्राध्यापक जस्ता तथाकथित बौद्धिक भन्दा राम्रा हुन्। किनभने उनीहरूले अन्तरनिर्भरताको महत्त्व बुझेका हुन्छन्। हरेक कम्पनीका आफ्ना ग्राहक, आपूर्तिकर्ता र कर्मचारी हुन्छन्। ती सबैमाथि तपाईंले सम्मान गर्न सक्नुभएन भने धेरै कुरा गुमाउनुहुन्छ। त्यसकारण बिजनेसमा लागेकाहरूले राम्रो र असल हुनुको अर्थ बुझेका हुन्छन्। त्यहाँ हरबखत आफ्ना बारेमा मात्र सोचिँदैन।
लेखनमा लागेको यतिका वर्षपछि सोच्दा, खासमा म ‘बबल’मा बाँचेको रहेछु। म हरेक दिन ५ः३० मा उठ्छु र ६ बजेदेखि लेख्न थाल्छु, मध्यान्ह १२ बजेसम्म लेखिरहन्छु। मेरा औँलाले ल्यापटपको किबोर्ड थिच्न थालेपछि वरपर के भइरहेको छ त्यसमा चासो लाग्दैन। त्यो आफैलाई बिर्सने समय हो। म लेखनमा लीन भएर अरू मान्छेका बारेमा अनिभिज्ञ हुने रहेछु। मेरो छिमेकी ‘बिजनेसम्यान’ हो। उनी सानोतिनो बिजनेस गर्छन् जो असल मानिस हुन्। किनभने उनले आफू वरपरका मानिससँग पनि घुलमिल गरिरहेका हुन्छन्। तर मलाई हेर्नुस्, आफ्ना वरपर भएका सबैलाई भुलिरहेको छु।
तपाईंले थुप्रै पुस्तक लेख्नुभयो, तिनीहरू एकदम चर्चित पनि छन्। तपाईंको बारेमा जान्न चाहनेलाई तपाईं आफ्नो कुन पुस्तक पढ्न सुझाव दिनुहुन्छ?
सम्भवतः ‘इन्डिया अनबाउन्ड’ भन्न सकिएला। यो पुस्तक ‘बेस्ट सेलर’ पनि भएको थियो। सन् १९९१ को आर्थिक सुधारलाई आधार मानेर भारतको आर्थिक प्रगतिको बारेमा अनुमान गरिएको यो पहिलो पुस्तक हो। विश्वमा भारत दु्रत गतिमा आर्थिक उन्नति गर्ने दोस्रो मुलुक बन्यो। तर त्यति हुँदाहुँदै पनि ठूलो जनसंख्या गरिबीको चपेटामा थियो। मानिस खुशी भएनन्। यसको मुख्य कारण भ्रष्टाचार थियो। राज्यको चरित्र सुधार भएन।
मैले पुस्तक पनि लेखेँ– इन्डिया ग्रोज एट नाइट। तर यो आधा वाक्य मात्र हो। पूरा यस्तो हुन्छ– इन्डिया ग्रोज एट नाइट, ह्वेन द गभर्मेन्ट स्लिप्स। यो पुस्तक भ्रष्टाचारको दलदलबाट हामी कसरी उम्किन सक्छौँ भन्नेबारेमा थियो। तपाईं जतिसुकै धनी बन्नुहोस्, राज्यबाट कुनै सुविधा पाउन घुस खुवाउनुपर्छ भने त्यसको खास अर्थ रहन्न। यसले सबै नागरिक (धनी हुन् वा गरिब) लाई दुखी बनाउँछ। त्यस्तो अवस्थामा गरीबले झन् बढी पीडा भोग्नुपर्छ।
अहिले भारतमा नरेन्द्र मोदीको सबैभन्दा ठूलो योगदान केही छ भने त्यो डिजिटल क्रान्ति हो। अहिले सानोतिनो रकमको कारोबार पनि डिजिटल माध्यमबाट हुने गरेको छ। सबैसँग बैंक खाता छ, हरेकको फोन नै बैंक अकाउन्ट भएको छ। कतिपय मानिस त बैंकमा नगएको पनि वर्षौं बितिसक्यो होला। किनभने तलब मोबाइलमा आउँछ। भारतमा फोन खर्च पनि घटेको छ। सम्भवतः संसारको सस्तोमध्ये एक होला। टेलिकम कम्पनीबीच भएको अत्यधिक प्रतिस्पर्धाका कारण पनि सस्तो भएको होला।
९० को दशकमा जब भारतमा मोबाइल फोन आउँदै थियो, त्यतिबेला ‘डिपार्टमेन्ट अफ टेलिकम’ले फोन कलमा अत्यधिक पैसा लिन्थ्यो। तर समयको अन्तरालमा बजारको एकाधिकार तोडियो। अहिले भारतमा एक अर्ब २० करोड टेलिफोन छ, इन्टरनेटको प्रयोग चीनको भन्दा चार गुणा बढी छ। तर भारतमा रहेको भ्रष्टाचारले मलाई बेला–बेला असहज महसुस गराउँछ। त्यसकारण मैले अर्को पुस्तक लेखेँ– डिफिकल्टी बिइङ अ गुड।
तपाईंले अर्थतन्त्रको कुरा जोड्नुभयो। नेपालका दुई छिमेकी भारत र चीनले अथाह आर्थिक विकास गर्दा पनि नेपाल चाहिँ गरिबीको चक्रबाट बाहिर आउन सकेको छैन। यसको कारण के हो जस्तो लाग्छ?
मसँग पनि यही प्रश्न छ। भारत र चीनको ठूलो अर्थतन्त्रसँग जोडिएको छ नेपाल। तर पनि यहाँको अर्थतन्त्र लोसे तरिकाले चलिरहेको छ। यसमाथि म लामो समयदेखि विचारमन्थन गरिरहेको छु, तर जवाफ पाउन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
