चाडपर्वलक्षित अनुगमनमा १ हजार ४६८ ट्राफिक प्रहरी खटाइँदै

ट्राफिक प्रहरीले नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाएको छ।

काठमाडौँ- दशैँ, तिहार लगायतका चाड पर्वलाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। दशैँ, तिहार तथा छठ पर्वको समयमा आवतजावत गर्ने यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सहयोग गर्ने उद्देश्यले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी दिए। सो कक्षबाट दुईवटा गुनासोसमेत सुनिएको उनले बताए।

चाडपर्वलक्षित अनुगमन प्रहरी उपरीक्षकको कमाण्डमा भइरहेको जनाइएको छ। दशैँ अवधिभर १ हजार ४६८ जना ट्राफिक प्रहरी खटाइने प्रवक्ता भट्टले बताए। प्रहरी नायब उपरीक्षकको कमाण्डमा उपत्यकाका विभिन्न स्थानमा यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुने सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षण गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। आठ ठाउँबाट यान्त्रिक परीक्षण भइरहेको उनले जानकारी दिए।

त्यसैगरी, नियमित ३६ स्थानमा चेकिङ भइरहेकोमा थप ३५ स्थानमा चेकिङ हुने जनाइएको छ। उपत्यकाबाट बाहिरिने नाकामा दैनिक एक स्थानमा लागुपदार्थ सेवनको पनि चेकिङ गरिने बताइएको छ। त्यस्तै, तीव्र गतिको चेकिङ पाँच स्थानमा र लामो दूरीका सवारी साधनलाई लक्षित गरी विशेष चेकिङ नौ स्थानमा गरिरहेको प्रवक्ता भट्टले बताए।

उनले बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क, गौशालामा सादा पोशाकमा प्रहरी परिचालन गरी बढी भाडा लिने, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी राखी आवश्यक कारबाही गरिने पनि जानकारी गराए।