छोरीलाई सजिलोसँग ओछ्यानमा सुताएर म फेरि गाजा क्षेत्रमा फर्कन्छु र त्यसको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छु। औडाहा हुन्छ, चिटचिट पसिना आउँछ, म त्यहाँबाट भाग्न मात्र पाए सबै चिज गुमाउन तयार छु।
उनी ११ वर्षीया किशोरी थिइन्। विगत २० महिनादेखि बम, बारुद, मिसाइल र क्षेप्यास्त्रको आवाज सुन्नु, आफन्त, प्रियजन, साथीसंगीको मृत्यु देख्नु, असंख्य घाइतेको चित्कार सुन्नु, तिनको उद्धार र राहतको काममा खटिनु, सामाजिक सञ्जालमा त्यो सबैको विवरण राख्नु उनको दिनचर्या थियो। उनी हँसिली, फुर्तिली र सबैकी प्यारी थिइन्।
आफ्नो पीडा लुकाएर सबैको सेवामा हाजिर हुन्थिन्। र, आफ्नो बीभत्स मृत्यु वा अंगभंग जति खेरै हुन सक्छ भन्नेमा उनी सचेत थिई। त्यो सन्त्रासपूर्ण वातावरणमा आफ्नो मृत्युको उच्च सम्भावना कल्पेर बाँच्नु कति पीडादायी हुँदो हो? अनुमान गर्दा पनि निकै सकस हुन्छ। अन्ततः अघिल्लो महिनाको हवाई हमला छल्न सकिनन् र ११ वर्षमै उनको चोला समाप्त पारियो। उनको नाउँ याक्वीन हमाद हो। तर गाजा क्षेत्रमा यो कुनै नयाँ घटना होइन। पछिल्लो २० महिनामा मारिने १६ हजार ५०० बालबालिकामध्ये उनी एक थिइन्।
नुर अल्यासी गाजा निवासी कवि तथा पत्रकार हुन्। एक साँझ उनको चार वर्षीया भतिजीले उनलाई एक गम्भीर प्रश्न सोध्छिन्, “यदि हामी सुतिरहेको वा निदाइरहेको समयमा मारियौँ भने त दुखाइको अनुभव हुँदैन होला है।” नुर नाजवाफ हुन्छिन्। यो कस्तो त्रासदी हो, जहाँ एक चार वर्षीया बालिका सहज मृत्युको कामना गरिरहेकी छिन्?
यति लेख्दै गर्दा मेरो ६ वर्षीया छोरी काखमा बसेर टिभीमा कार्टुन हेर्दै छिन्। हेर्दाहेर्दै निस्लोट भई काखमै सुतिन्। उनी बेफिक्र छिन्। ऊनी आफ्नो उमेरसमूहले पाउनुपर्ने सम्पूर्ण आधारभूत अनुकूलताको लाभ लिइरहेकी छन्। छोरीलाई सजिलोसँग ओछ्यानमा सुताएर म फेरि गाजा क्षेत्रमा फर्कन्छु र त्यसको केन्द्रमा आफूलाई राख्ने प्रयास गर्छु। औडाहा हुन्छ, चिटचिट पसिना आउँछ, म त्यहाँबाट भाग्न मात्र पाए सबै चिज गुमाउन तयार छु।
गृहयुद्धले थिलथिलो भएको सुडानमा यस्तो अवस्था आयो कि त्यहाँको आधा जनसंख्या भोकमरी र अनिकालको अवस्थामा पुगिसक्यो। इन्टरनेसनल रेस्क्यु कमिटीको आपत्कालीन मानवीय संकटबाट गुज्रिएका देशहरूको सूचीमा सुडान लगातार दोस्रो पटक पहिलो नम्बरमा छ।
अप्रिल २०२३ मा युद्ध शुरू हुनुअघि नै सुडानले गम्भीर मानवीय संकटको सामना गरिरहेको थियो, जसले गर्दा एक करोड ५८ लाख मानिसलाई मानवीय सहायता आवश्यक परेको थियो। दुई वर्षको युद्धले परिस्थितिलाई अझ गम्भीर बनाएको छ— एक करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् र तीन करोड ४० लाखभन्दा बढी मानिस (जसले सुडानको आधाभन्दा धेरै जनसंख्या प्रतिनिधित्व गर्छन्) मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुगेका छन्।
एक करोड २० लाख मानिस विस्थापित भएका छन्, जसमा ४० लाख त महिला र बालबालिका छन्। चरम भोकमरी र अकालको अवस्था कतिसम्म छ भने विश्वमा अन्य सबै देशको भोकमरीलाई सुडान एक्लैले उछिन्छ। यसबाट प्रताडित हुनेहरूमा महिला, बालबालिका र सुत्केरी नै छन्। यो विकराल भोकमरी यस युगको एक कलंक हो।
सामाजिक सञ्जालको अग्रभागमा आइरहने तस्वीर, समाचार र भिडियो एकदमै विचलित गराउने खालका छन्, विशेष गरी गाजा क्षेत्र र सुडानबाट। म यसो घोत्लिन्छु–आजको युगमा यो धर्तीमा मानव जातिको अस्तित्वको सान्दर्भिकता कसरी पुष्टि गर्ने होला? यी दुई स्थान क्रूरता र बर्बरताका केही प्रतिनिधि उदाहरण मात्र हुन्।
इन्टरनेसनल रेस्क्यु कमिटीले पहिचान गरेका प्रमुख १० देश, जसले गम्भीर मानवीय संकट झेलिरहेका छन्। विश्व जनसंख्याको ११ प्रतिशत मात्र हिस्सा ओगटे पनि मानवीय संकटको वैश्विक आयतनको ८२ प्रतिशत मानिसलाई यी देशले प्रतिनिधित्व गर्छन्। मूलतः युद्धहिंसा, राजनीतिक अस्थिरता र जलवायु परिवर्तन यसको प्रमुख कारक छन्।
यो कारुणिक अवस्थाप्रति संवेदनशील हुने, समानुभूति अनुभव गर्ने, यो अवस्थाबाट मुक्ति दिलाउन कुनै सार्थक पहल गर्नेबारे सोच्ने फुर्सद हामीलाई कहिले मिल्ला?
हाम्रो देश तन्नम भयो, रित्तियो, असफल भयो, बस्नलायक रहेन भन्ने कथन सामाजिक सञ्जालतिर बारम्बार देख्छौँ/सुन्छौँ। नेपालीका दिमागमा त्यस्तो भाष्य यति गहिरोसँग गढेको छ कि मानिसले एक छिन रोकिएर, सोच्ने, मन्थन गर्ने र वास्तवमा यस्तो छ या छैन भनी जाँच्ने दुःखसमेत गर्दैन।
म यस्सो इन्टरनेट कोट्याउँछु र भेट्टाउँछु– वर्ल्ड पपुलेसन रिभ्युका अनुसार अहिले विश्वभर ४२ वटा देश गृहयुद्ध, द्विदेशीय वा बहुदेशीय युद्धमा संलग्न छन्। ९२ वटा देशहरू कुनै न कुनै अशान्ति र हिंसाको सम्भावनाबाट गुज्रिरहेका छन्। ५९ वटा देश अधिनायकवादी शासन (अथोरिटेरिएन रेजिमी) व्यवस्थामा छन्। त्यहाँ ढुक्कसँग जनताले आफ्ना कुरा राख्न पाउँदैनन्। लोकतन्त्र र स्वतन्त्रताको कुनै स्थान छैन।
अहिले विश्वभर ६२ लाख वर्ग किलोमिटर क्षेत्रफल बराबरको मानव बसोबास गरिरहेको भू–भाग द्वन्द्वग्रस्त छ। यो सिंगो भारतको क्षेत्रफलको दुई गुणा हो। विश्वको कुल गार्हस्थ्य उत्पादनको १३.५ प्रतिशत अर्थात् १९ ट्रिलियन डलर हिस्सा युद्ध अर्थतन्त्रको छ। १८० देशबीच मापन गरिने प्रेस स्वतन्त्रता सूचकांकमा नेपालभन्दा पछि १०६ वटा देशहरू छन्। प्रेस स्वतन्त्रताले धेरै कुराको स्वतन्त्रताको प्रतिनिधित्व गर्छ। स्वतन्त्रताको मूल्य थाहा पाउन कि त स्वतन्त्रता गुमेको समय भोगेको हुनुपर्छ, कि त स्वतन्त्रताको मूल्यबारे गहिरो बुझाइ हुनुपर्छ।
यथार्थ के हो भने, तुलनात्मक रूपमा शान्त, सामाजिक हार्दिकता र विनम्रता भएको, प्रशस्त मात्रामा स्वतन्त्रताको उपभोग गर्न पाएको र सामाजिक तथा सामुदायिक संस्थाले हाम्रो सामाजिक प्रणालीलाई मजबुत बनाएको नेपाली समाज हो। सुन्दा अलि अतिरञ्जनाझैँ लागे पनि विश्वको कम्तीमा एक तिहाइ जनसंख्याका लागि नेपाली समाज सपनाको समाज हो। अधिनायकवादी शासन बेहोरिरहेका ५९ वटा देशहरूभन्दा स्वतन्त्रताको पूर्ण उपभोग गरिरहेको र हुर्कँदै गरेको लोकतान्त्रिक व्यवस्था एक उत्तम व्यवस्था होइन? तर हाम्रो कमजोरी के हो भने हामीमा समानुभूति र समभावको स्पष्ट कमी सञ्जालभर देखिन्छ।
के यो बीभत्स कारुणिक मानवीय संकट त्यो संकट सामना गरिरहेका निरीह मानिसहरूको मात्र हो? यति धेरै अनुकूलताको लाभ लिएर बसेका हामी त्यो दर्दनाक मानवीय संकटको महसुस पनि गर्ने कि निस्फिक्री भई बस्ने?
यो संकट हाम्रा लागि पनि आसन्न संकट नै हो। युद्ध र जलवायु परिवर्तनका कारण थातथलो छोड्दै विस्थापन हुनेको संख्या सन् २०२३ मा आठ करोड पुगेको छ। भारत, पाकिस्तान र बांग्लादेशजस्ता दक्षिण एशियाली राष्ट्र यस्तो संकटको सामना गर्नुपर्ने प्रमुख राष्ट्र हुन्। जनसंख्या विस्फोटको भारी बोकेका यी देशहरूबाट हुने विस्थापनको छिटा नेपालमा पनि अनियन्त्रित रूपमा पर्ने नै छ।
यो समयमा आफ्नो बलबुताले भ्याएसम्म हरेक मानवीय संकटविरुद्ध र मानवताको पक्षमा निरन्तर पहल हामीले गर्नुपर्छ। अझ अनेकौँ अनुकूलताको लाभ लिएकाहरूले त झनै जिम्मेवारीका साथ पहल गर्नुपर्ने हो। लौन, नसुतौँ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
