दरबारमार्गको निर्माणाधीन भवनमा अस्ताएका विशाल, पहिलो कमाइले किन्न चाहन्थे नयाँ मोबाइल

ज्यालामजदुरी गर्न बर्दियाबाट पहिलोपटक काठमाडौँ पसेका विशाल चौधरीको यही यात्रा अन्तिम बन्यो। निर्माणाधीन नौतले भवनमा निर्माण सामग्री ओसार्ने लिफ्टसँगै चार तलाबाट बजारिएका उनी त्यहाँबाट उठ्नै पाएनन्।

काठमाडौँ— गत असार १७ गते मंगलबार। बर्दियाको मधुवन नगरपालिका–२ का हीरालाल चौधरी भाइ सञ्जिवसँगै खेतमा आली लगाउन निस्किएका थिए। असारे मास, खेतमा धान रोप्ने चटारो थियो। बिहान यस्तै ७ बजेको थियो, हिरालालकी श्रीमती नेतरानीको मोबाइलमा घण्टी बज्यो। 

उनले फोन उठाइन्। फोन काठमाडौँबाट आएको थियो। उताबाट फोन गर्नेले सुनाए, “काकी, विशाल अब यो संसारमा रहेन।” 

विशाल, हीरालाल–नेतरानीको जेठो छोरा। छोराको यस्तो अकल्पनीय खबर सुन्नसाथै नेतरानीको आकाश खस्यो, जमिन भासिएझैँ भयो। कमाउन काठमाडौँ गएको २२ वर्षीय लक्का जवान छोराबारे सुनेको यस्तो अप्रत्याशित खबरले नेतरानी अवाक् बनिन्। हातगोडा चलेनन्। बोली फुटेन। एकैपटक चिच्याइन्। खेतमा गएका श्रीमान् र सञ्जिव त्यो सुनेर दौडिँदै आए।

बुबाआमालाई सघाउनका लागि कमाउन काठमाडौँ आएका विशाल दरबारमार्गमा निर्माणाधीन घरमा काम गर्थे। दरबारमार्गको हिटीपोखरी नजिक पोतला डेभलपमेन्ट प्रालिले नौतले भवन निर्माण गरिरहेको छ। त्यही भवनमा निर्माण सामग्री ओसार्ने लिफ्टमा ग्रिल लगाउने क्रममा फलामको सिक्री चुँडिदा उनी चार तलामाथिबाट सामान बोक्ने लिफ्टसहित भुइँमा बजारिएका थिए। 

उनीसँगै कैलालीका ३० वर्षीय प्रदेशी चौधरी पनि लिफ्टसँगै बजारिएका थिए। त्यहाँ काम गरिरहेका अरूले तत्कालै उनीहरूलाई गाडीमा दौडाएर वीर अस्पताल पुर्‍याए। तर अस्पताल पुग्दासम्म दुवै जनाको प्राण गइसकेको थियो।

चार तला माथिबाट भुइँमा बजारिँदा विशालको टाउकोमा धेरै चोट लागेको थियो। हात र खुट्टा पनि भाँचिएका थिए। प्रदेशीको शरीरमा पनि गहिरो चोट थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, एसपी अपिलराज बोहराका अनुसार उनीहरूले कुनै सुरक्षाकवच लगाएका थिएनन्। “हेर्दा सुरक्षा कवच देखिएन, सुरक्षाकवच लगाएको भए यस्तो नहुन सक्थ्यो,” उनले भने, “यसबारे थप अनुसन्धान जारी छ।” 

दरबारमार्गमा बजारिएको यो लिफ्टले हीरालाल–नेतरानी दम्पतीको भविष्यको टेकोसमेत भाँचिएको छ। विशालले दरबारमार्गमा काम गरेपछि केही पैसा कमाएर नयाँ फोन किन्ने योजना आमाबुबालाई सुनाएका थिए। अब त्यो सपना नै भताभुंग भएको छ। 

विशालको मृत्युले परिवार मात्र होइन, गाउँ नै शोकमा छ। “गाउँभर खबर फैलिएछ, कमाउने जवान छोरो गुमाउँदा दाजुभाउजू पुरै बिथोलिनुभएको छ,” विशालका काका सञ्जीवले भने। 

विशाल घरको एक्लो छोरा हुन्। भर्खर २२ टेकेका उनकी ८ वर्षीया बहिनी छिन्। खेती र ज्यालामजदुरी गरेर छोरो हुर्काएका हीरालाल अब छोरो सबै काममा काँध थाप्ने भयो भनेर ढुक्क थिए। ७ कक्षासम्म पढेका उनले बुबाआमाको सरकारी जागिर खाओस् भन्ने इच्छा मारेर काममा सघाउन चार वर्षअघि पढाइ छाडेका थिए।

“मजदुरी गरेरै बुबालाई सघाउँछु भनेर तीन महिनाअघि काठमाडौँ गएको थियो, शुरूको कमाइले नयाँ मोबाइल किन्छु भन्थ्यो,” बुबा हीरालालले भने, “नजा भन्दाभन्दै जिद्दी गरेर निस्कियो, मेरो भविष्यको टेको भाँचियो।”

काठमाडौँ पहिलो, त्यही नै अन्तिम बन्यो
विशालसँग घरबाहिर गएर ज्यालामजदुरीको काम गरेको त्यति अनुभव थिएन। काका सञ्जीवका अनुसार एक वर्षअघि नारायणगढ–बुटवल निर्माणाधीन सडकमा काम गर्न गए पनि छोटो समयमै फर्केका थिए। यसपालि गाउँकै काका, दाइ र मामा पनि सँगै काठमाडौँ जाने भएपछि उनले मौका गुमाउन चाहेनन्। 

सञ्जीवका अनुसार विशाल पहिलोपटक काठमाडौँ आएका थिए। सँगै काम गरिरहेका काका र मामा त्यस दिन (सोमबार) खेत रोप्न घर फर्किँदै थिए। उनीहरूलाई घरतर्फ बिदा गरेपछि काममा फर्केका थिए विशाल। केही समयपछि, सोमबार बेलुकी करिब ५ बजेतिर उनी लिफ्टसँगै खसेपछि काका र मामालाई खबर गरिएको थियो। खबर पाएर उनीहरु बीच बाटोबाटै फर्किए, तर अस्पतालमा शव मात्र भेटे। 

त्यो रात बर्दियामा रहेका परिवारलाई खबर गरिएन। भोलिपल्ट, मंगलबार बिहान मात्र परिवारले घटनाबारे खबर पाएका थिए। 

सँगै काम गर्ने एक श्रमिकका अनुसार विशालले दशैँमा घर जाने योजना बनाएका थिए। “खर्च बचाएर यसपालि दशैँ राम्ररी मान्ने हो भन्थ्यो, मिल्यो भने बिस्तारै विदेश जाने कुरा पनि गर्थ्यो,” उनले भने, “एक्लो छोरो भएर होला, परिवारप्रति धेरै जिम्मेवारी छ भन्थ्यो। जिम्मेवारी पूरा गर्ने, असाध्यै मिलनसार थियो।” 

यो घटनापछि पोतला डेभलपमेन्ट प्रालि विशालको परिवारलाई क्षतिपूर्तिबापत भनेर १० लाख रुपैयाँ उपलब्ध गराएको छ। उनको बहिनीलाई माध्यमिक तहसम्म पढाइदिने सहमति पनि भएको छ। तर हीरालाल–नेतरानी दम्पतीका आँखा भने विशाललाई नै खोजिरहेछन्। 

यो पनि: निर्माण क्षेत्र बन्दैछन् मजदुरलाई पासो, सुरक्षामा छैन चासो