शान्ति र प्रगतिको बाधक नै विकसित भनिएका देशहरू भएको देखिन्छ। यस्तो अवस्थामा समग्र वैश्विक नागरिक समाजले अब युद्ध विरोधी मोर्चा बनाउनतर्फ लाग्ने समय आएको छ।
वस्तु उत्पादन र वितरण प्रणालीका आधारमा कार्ल मार्क्सले वर्गीकरण गरेको मानव इतिहासको चार वटा महायुग (कालखण्ड) शायद दश हजार वर्षयताको हुनुपर्छ। यीमध्ये सबैभन्दा लामो समय प्राचीन साम्यवादकै रह्यो अनि क्रमशः दास युग, सामन्तवाद र पुँजीवाद भए। समाजशास्त्री–मानवशास्त्रीहरूले पनि ढुंगेशिकारी र ताम्र–कांस्य–फलाम युगदेखि आधुनिक युगको व्याख्या गरेको समयावधि पनि यस्तै यस्तै हो। फिरन्ते मानिस कृषि उपज, खाद्यान्न भण्डारण र पशुपालन गरी सामाजिक संरचनामा छिरेपछि नै प्राचीन साम्यवाद, दास युग, सामन्तवाद, पुँजीवादको चरणमा क्रमशः फड्को मार्दे आएको हो।
खास गरी हन्टर ग्यादरर र प्राचीन कबिला प्रणालीमा खाद्यान्न/सिकारमा केही प्रतिस्पर्धा भइरहने देखिए पनि ती ससाना खाले हुने गर्थे। जनसंख्या कम रहेको त्यस बेला लडाइँ पनि ससाना नै हुने भए। तर जब दास युगको शुरूआत भयो, त्यति बेला निजी सम्पत्ति, राज्य, शासक, राजा, महाराजा र मालिक वर्ग (रुलिङ क्लास) पैदा भयो, जसले कमजोर वर्ग (अप्रेस्ड क्लासः रैती, प्रजा र दासहरू) उपर निकै अत्याचार गर्यो। शारीरिक श्रम शोषण अधिक भयो। दास र बन्धकउपर चर्को अत्याचार रहो। यस्तो समय आजभन्दा ३ हजार वर्ष आसपास भएको आँकलन गरिन्छ। अर्थात् यो मध्य युगभन्दा अघि भएको मान्न सकिन्छ। सम्पत्ति र राज्य बिस्तारका नाममा हजारौँ लडाइँ भए। लडाइ हारेकाहरू दासदासी भए र ती प्रताडित भए। यिनमा जनावरलाई जस्तै व्यवहार हुने देखिन्थ्यो, अझ कतिपय क्षेत्रमा दासदासी लडाउने र मारकाट गरी मनोरञ्जन लिने जस्ता घृणित काम भएका थिए।
इ.स. ५०० देखि १५०० सम्मको मध्यकालमा आउँदा सामन्तवाद हाबी थियो। यस बेला भुदासहरू (हलिया/कमैया) र साना किसानहरू सामन्त एवं ठूला भूमिपतिको शोषणमा थिए। सामन्तहरू मेहनत नै नगरी किसानबाट कूत (लगान–रेन्ट) असुल्थे र राज्य चलाउँथे। यसरी हेर्दा यी दुवै कालखण्डमा दासदासीहरू उपर अधिक श्रम शोषण रहन्थ्यो। यस्तो शोषणको प्रतिकारस्वरूप दासहरूले विद्रोह गरेको देखिन्छ। रोममा यस्तो विद्रोह इ.पु. १३५ वरपर स्पार्टकसको विद्रोहबाट शुरू भएको थियो। यसमा ठुलो संख्यामा दासहरूमाथि दमन गरियो। करिब पाँच हजार दासहरू मारिए भन्छ इतिहास। मिश्रमा पनि तेह्रौँ शताब्दीमा मालुक सल्ताना नामक (स्वतन्त्र दास) विद्रोह भएको मानिन्छ।
अमेरिकामा अब्राहम लिंकनले दासप्रथा उन्मूलन गर्दा उल्टो केही राज्यहरूले काला जाति र दासहरूउपर थप दमन गरे, जसले १८६१–६५ सम्म गृहयुद्धको रूप लिन गयो, जहाँ तीन सय बढी भीषण लडाइ भए। यस दमनमा ४० लाख दासहरू र तीन लाख सैनिक मारिएको भनिन्छ। लिंकनलाई पनि गोली हानियो। अमेरिकाको जनसंख्या ३–५% घटेको मानिन्छ त्यति बेला। बिसौं सदीमा पुँजीवाद उपनिवेशवाद हुँदै जब साम्राज्यवादका रूपमा देखियो, तब प्रथम र दोस्रो विश्वयुद्ध भयो। करोडौँ मानिस लडे, मरे, हराए, सकिए।
यति बेला फेरि विभिन्न देशबीच युद्ध चर्केका छन्। आणविक विनाशहरूले मान्छेहरू सकिने र विश्वमा संकट निम्तने त्रास देखिँदै छ।
यहीँनिर उठिरहने हो– किन मानिस निरन्तर युद्ध गरिरहन्छ? हजारौँ वर्षदेखि मानिस आपसमा लडिरहनु पर्ने कारक तत्त्व के हो? प्राचीन समयमा त शिक्षा, विज्ञान, प्रविधि र उत्पादन थिएनन्। मान्छेमा ज्ञानकै कमीले तिनीहरू लडे भनौँ, तर अहिले त पूरा संसार ज्ञानमय र चेतनामय छ। तापनि किन मनोविक्रित हिंस्रक व्याधाझैँ मानिस किन लड्दैछ? यसको उत्तर अर्थ राजनीतिक अवधारणा र समाजको संरचनागत व्याख्याका रूपमा मार्क्स, लेनिन र माओले धेरै पहिल्यै दिएका छन्।
यसका कारणका रूपमा यति बेला व्यक्तिगत सम्पत्ति बढाउन, स्रोतसाधनमा कब्जा जमाउन, श्रम शोषण विस्तार गर्न र पुँजी संचितीकरणका लागि बुर्जुवा धनाढ्य वर्ग र सोको रक्षक रहने उक्त देशका शासकहरूले नै लडाइ थोपर्छन्, यस्तै देखिन्छ। इतिहासदेखि वर्तमानसम्म हेर्दा र ताजा उदाहरणका रूपमा इजरायल–इरान युद्ध वा रुस–युक्रेन युद्ध वा अन्य युद्ध हेरौं। अरूको स्रोत कब्जा तथा अरूको सम्पत्ति लुटपाट र अन्याय–शोषण थोपर्नु नै सबैजसो युद्धका कारण हुन्।
इतिहासमा कतिपय युद्ध अन्याय र विभेदको प्रतिरोधका लागि पनि मानिसले लड्यो। कतिपय युद्ध भने शासकहरूको मैमत्ता र अंहकारले सिर्जना भयो। मानव इतिहास मार्क्सले भनेझैं वर्गसंर्घषका युद्ध पनि भए। कैयौंले प्रतिरोधमा युद्ध लडे। राष्ट्रिय मुक्ति आन्दोलन र महिला मुक्तिका लागि पनि युद्ध भए। सन्काहा शासकहरूको लहडमा पनि प्रशस्त युद्ध भए।
नरसंहार र युद्धबिना बाँच्न सक्दैन नव फासिस्ट पुँजीवाद
लड्दैपड्दै आएको इतिहासले कतैकतै युगान्तकारी फेरबदल (पाराडाइम सिफ्ट) पनि गरेको छ। नयाँ विचार, ज्ञान र विज्ञानमा क्रान्ति ल्याएर समाज पुँजीवाद र समाजवाद सम्मको यात्रामा आएको हो। पुँजीवादमा मेसिन, कलकारखाना तथा हाइटेक उद्योगको विकास गरेर नै पर्याप्त उत्पादन गर्न मानव जाति सफल भएको हो। इतिहासको शुरुआती चरणमा पुँजीवाद प्रगतिशील भए पनि यति बेला फासिस्ट र अनूदारवादी भइरहेको छ। अर्थात् यसले उत्पादित वस्तु तथा सेवा वितरण धनाढ्यको कब्जामा लगेको छ, सामाजिक न्यायमा आधारित वितरण प्रणाली अपनाएको छैन।
उपनिवेशवाद र साम्राज्यवादको क्रूरतम् इतिहास बोकेको अमेरिकी र युरोपेली दर्शनले मानव इतिहासलाई ज्ञान, विज्ञान, स्वतन्त्रता, प्रजातन्त्र र संविधानवाद दियो। केही न केही आर्थिक कल्याण पनि गरेको हो तर यति बेला ऊ बढी शोषणमुखी (अनुदारवादी र सैन्य वर्चस्ववादी) तथा नव–फासिवादी विचार बोकेर हिँडेको देखिन्छ। जो युद्ध नगरी बाँच्न नसक्ने मोन्स्टर क्यापिटलिस्ट (पुँजीवादी दानव) को अवतारझैँ भइरहेको छ। खासमा यतिखेर भूमण्डलीकृत वित्तीय पुँजीवादले मौद्रिक बजारलाई नियन्त्रणमा लिन सफल देखिन्छ। वास्तविक क्षेत्रमा पुँजी लगानी कम गरेको छ। अर्थात् यसको सामाजिक लगानी कम छ र पुँजी निबेश सेवा क्षेत्रमा यो हाबी छ, जो आधारभत वस्तु र सेवाभन्दा पनि सैन्य र विलासी सेवा उत्पादनलाई फस्टाउन मलजल गर्छ।
यस्तो अनुत्पादक वित्तीय बाँडफाँडका कारण समग्र अर्थतन्त्रमा आम रोजगारी बढ्न सक्दैन। र आवश्यक वस्तुको बजार माग कम हुन्छ र सँगै जिडीपी कम हुन्छ। तर सीमित धनाढ्यहरू पुँजी प्रवाहमा बैंकको नियन्त्रण कायम गर्दै मुद्रास्फीति मार्फत सम्पत्तिको मूल्य बढाउन सफल भइदिँदा अर्थतन्त्रलाई उक्त सम्पत्तिको हेरचाह गर्न चुसेर बाँच्ने थप पुँजी (नोकर पुँजी/सकिङ क्यापिटल) आवश्यक परेको छ। त्यो चूसाहा पुँजीको निर्माण गर्न युरोप–अमेरिकाले यति बेला मेटा औपनिवेशिक आवरण (एआई, विज्ञापन र सामाजिक सञ्जाल) मा ग्लोबल साउथको स्रोत कब्जा/शोषण गर्ने गरी मेटा-फासिष्ट-पुँजीवादको रूपरेखा बनाइ रहेका छन्।
यस्तो प्रणाली अधिक ऊर्जामा आधारित टेक क्यापिटलिजमभित्र फस्टाउँछ। उसलाई चाहिने उच्च ऊर्जाका लागि दुर्लभ खनिज, थोरियम र युरेनियम आणविक प्रणाली, तेल, ग्याँस, तामा खानी, फलाम खानी र विद्युतीय संरचनाहरू जसरी पनि कब्जा गर्नुपर्छ।
यिनले यहीँबाट युद्ध शुरू गर्छन्। युक्रेन युद्ध वा इरान युद्ध वा सिरिया वा जतासुकै त्यस्तै छ। १३४ देश रहेको ग्लोबल साउथको स्रोत कब्जाका लागि उतैबाट युद्ध थोपरिँदै छ। यस्तो युद्धले आम मानिसको नरसंहार मच्चाएको छ। निहत्था प्यालेस्टाइन बालबच्चा र आमाहरूको नरसंहार यसैभित्र छन्।
मार्क्स हिजोको पुँजीवादले आम सर्वहारा र मजदुरको पसिना चुस्थ्यो भन्थे तर अबको पुँजीवादले मानिसको रगत पिउन थालेको छ। यो मैमत्त र युद्ध उन्मादी हुँदै छ। अमेरिका–इजरायलीको मैमत्त पुँजीवाद र यिनका सञ्चालकहरू विश्वलाई तेस्रो विश्वयुद्धतिर थोपर्ने तमतयारीमा रहेकोबाट यिनको हिंसा मोह झल्कन्छ।
आन्दोलन, वर्गसंर्घष र जनक्रान्ति: युद्ध होइनन्
पुँजीपतिहरूले अफवाह फैलाएझैँ युद्ध र अन्य खाले विवाद/संर्घषहरू उस्तै उस्तै देखिए पनि फरक छन्। शासकले युद्ध गर्छ, तर जनताले आन्दोलन र जनक्रान्ति गर्छन्। युद्धको उद्देश्य सैन्य र हतियारमार्फत राजनीतिक भूगोल र आर्थिक स्रोत साधन कब्जा गर्नु रहेको पाइन्छ भने आन्दोलन, वर्गसंघर्ष, राष्ट्रिय मुक्तिका क्रान्तिहरू राजनीतिक प्रणाली परिवर्तन र सामाजिक–आर्थिक न्याय निरूपणका लागि गरिन्छ। उदारवादी चिन्तकहरूका अनुसार व्यक्ति, समाज र राष्ट्रबीच अन्तरविरोधहरू प्रकट भइरहन्छन्, जसलाई हल गर्न सकिन्छ। यिनलाई सामाजिक न्यायको अवधारणाभित्र सम्बोधन र निरूपण गर्न सक्नुपर्छ। व्यक्ति र समाजबीच हुने द्वन्द्व र अन्तर्विरोध साना स्तरका देखिन्छन्, तर राष्ट्र–राष्ट्रबीच हुने अन्तर्विरोध भीमकाय हुन्छन्।
राष्ट्र–राष्ट्रको समस्याले नै युद्ध निम्त्याएको देखिन्छ। इलोनियस विश्वविद्यालयका प्राध्यापक चार्ल्स टिलिएले सन् ९९० देखि १९९२ सम्मका हजार वटा ऐतिहासिक युद्धको चरित्र तथा प्रवृत्ति अध्ययन गरी भन्नु भएको छ, "समाजले राष्ट्र निर्माण गर्छ तर राष्ट्रले हमेसा युद्ध निर्माण गर्छ"। यसको मतलब हो–आन्दोलन, र्याली, सभा सम्मेलन, विरोध, संर्घष, क्रान्ति, जनयुद्धजस्ता क्रियाहरूमा भाग लिए पनि समाजले युद्ध गर्दैन तर राष्ट्र–राज्य भने हमेसा युद्ध गर्न खोज्छन्। यसैले शासकहरू नै युद्धप्रेमी हुन्छन्। युद्धप्रेमी शासक निर्वाचित गर्ने मुलुकहरू आर्थिक, सामाजिक र सांस्कृतिक क्षतिको बढी मारमा पर्ने गरेका छन्।
शान्ति र प्रगति: समाजवाद नै आवश्यक छ
शान्ति, प्रगति, समृद्ध, खुसी, सामाजिक न्याय, मानवअधिकार, विश्वबन्धुत्व, भाइचाराजस्ता लक्ष्यमा अगाडि बढिरहेको मानव जातिले आफै नचाहँदा पनि शासकहरूका अहंकारका कारण युद्ध झेल्नुपरेको छ। बेलाबेला हुने युद्ध र आर्थिक गतिरोधका कारण सभ्यता राम्ररी अघि बढ्न सकेको छैन।
उसो भए युद्ध कसरी रोक्ने त? यो प्रश्न हमेसा आउँछ। आधुनिक कालमा सबैभन्दा विनाशक मानिएको दोस्रो विश्वयुद्ध थियो, जसमा ८ करोड मानिस सिद्धिएको भनिन्छ। यसबाट आर्थिक नोक्सानी पनि खर्बौंको भएको मानिन्छ भने भियतनाम युद्ध पनि उत्तिकै विनाशकारी मानिन्छ। इराक, लिबीया र खाडी युद्ध पनि त्यस्तै थियो। खासमा सत्तरी वर्षयता अमेरिकाले नै उन्मत्त सैन्य शक्तिका बलमा जताततै युद्ध थोपरिरहेको देखिन्छ। अहिले अमेरिकी ओलीगार्कहरू डोनाल्ड ट्रम्पलाई उस्काउँदै समाजवादी चीनसँग लड्ने दीर्घकालीन योजनामा रहेको अनुमान छ। इरान युद्ध यसैको प्रारम्भिक रिहर्सल हो भन्न सकिन्छ।
किन अमेरिकाको उग्र पृष्ठपोषणमा यी युद्धहरू भइरहेका छन्? सोभियत समाजवादको अन्त्य भएकाले उसलाई चुनौती दिन सक्ने शक्ति नभएका कारण उसको दादागिरी जारी रहेको कतिपयले ठान्छन्। यति बेला अमेरिकी वर्चस्ववादबाट साना देशहरू सबैभन्दा बढी असुरक्षित भएको महसुस गर्दैछन। साना मुलुकहरू अमेरिका, युरोप र नाटोका लागि कि आत्मसमर्पण गर्दै बलीको बाख्रा हुनु पर्ने नत्र ऊसँग लड्नै पर्ने अवस्थामा छन्।
साना मुलुकबाट प्राकृतिक साधनको लुट भइरहने र सस्तो श्रमसमेत उनै धनी मुलुकले लैजाने अवस्था छ। यी साना देशहरू शक्तिहीन भएर रहन नसक्ने पो देखिदैँछ। अस्तित्वको संकट यिनमा आएको छ। यसबाट नकारात्मकता फैलिएर यदि शक्ति आर्जन गर्न सबै साना/मध्यम मुलुक फेरि आणविक बम निर्माणको होडबाजीमा लागे के होला? मध्यम र साना देश बाध्य भई आणविक र थप मिलिटरी कार्य बढ्न गयो भने गरिबीले खान नपुग्ने देश पनि रक्षा खर्चमा देशको महत्त्वपूर्ण बजेट सकाउन बाध्य हुनेछन्। भर्खरै अमेरिकाले इरानको आणविक अनुसन्धानशालाहरूमा बम खसालेको बताइएको छ। अब पहिल्यै इरानले आणविक शक्ति आर्जन नगर्दा यस्तो क्षति भयो भन्ने सन्देश विश्वव्यापी हुनसक्छ।
सँगै, उत्तर कोरियासँग आणविक हतियार भएकै कारण मात्र उसको अस्तित्व टिकेको हो भन्ने सत्यबोध दुनियाँमा भयो भने त्यसले विश्व कता जाला? अब राष्ट्रको सार्वभौमिकता जोगाउन कि सर्वसत्तावादी शासक चाहियो कि जसरी भए पनि सैन्य शक्ति चाहियो भन्ने खालको हाइपोथेसिस विकाश भयो भने मानव जगतमा त्यसले कस्तो प्रभाव पार्ला?
यस्तो अधिनायकी विचार जन्माउन को बढी जिम्मेवार छ? यो सबै अमेरिकी र युरोपेली वर्चस्ववादी ढाँचाले गर्दा भएको प्रस्टै देखिन्छ। हालै अमेरिकाले 'शक्तिबाट शान्ति' अर्थात् पिस थ्रू स्ट्रेन्थजस्तो 'मागा हेजेमनी'को अवधारणा ल्याएको छ। त्यसो हुँदा शान्ति र प्रगतिको बाधक नै विकसित भनिएका देशहरू भएको देखिन्छ। यस्तो अवस्थामा समग्र वैश्विक नागरिक समाजले अब युद्ध विरोधी मोर्चा बनाउने लाग्ने समय आएको छ।
असैनिकीकरण र आणविक निःशस्त्रीकरणलाई पहिलो सर्तका रूपमा विश्वव्यापी मुद्दा बनाउनु पर्ने देखिन्छ। कमसेकम आणविक महाविनाश रोक्न सके संसारका साना मुलुकहरू पछि आफै गरी खाने आर्थिक ढाँचा र सार्वभौम राजनीतिक प्रणाली अपनाउन सक्नेछन्। प्राज्ञिक र चेतनशील वर्गले अब पुनर्जागरण (रेनासा) फेरि शुरू गर्नुपर्ने बेला भएको छ। कि नयाँ संयुक्त राष्ट्रसंघको प्रभावकारी पुनर्संरचना गर्ने कि असंलग्न आन्दोलन पुनर्स्थापित गर्ने वा 'किन्सीयन' कल्याणकारी आर्थिक प्रणाली ल्याउनबारे बहस आवश्यक छ। अझै अगाडि बढेर शोषणरहित समाजवादी प्रणाली नै अपनाउनका लागि सार्वजनिक अपिल गर्नुपर्ने देखिँदै छ। जे होस्, संसारभर लोकतन्त्र, शान्ति र प्रगतिका लागि वैश्विक महाविनाशको बाटोमा गइरहेका युद्ध उन्मत्त नरसंहारकारी–फासिस्ट पुँजीवादको सबैले प्रतिकार गर्नु आवश्यक छ।
आउनुहोस्, ढोकै अगाडि आइसकेझैँ देखिएको तेस्रो विश्वयुद्ध कसैगरी रोकौं। यसका लागि संसारका सबै नागरिकलाई गोलबन्द पारौँ। युरोपेली–अमेरिकी प्रबुद्ध वर्ग र आम नागरिकलाई सडकमा आउन विकासशील मूलकका जनताका तर्फबाट अपिल गरौँ। मानव सभ्यताको कलंकरूपी आणविक युद्ध र नरसंहार विरुद्ध सबै एकजुट होऔँ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
