रुकुमका गाउँघरबाट १८ वर्ष नपुगेका कलिलाहरू पनि दलालको साथ लागेर तल्लो बाटो अमेरिका पुगेका छन्। ‘भविष्य बनाउने’ भन्दै अभिभावक नै उनीहरूलाई अमेरिका पठाउन मरिहत्ते गर्छन्।
रुकुमबाट फर्केर– गाउँघरमा अमेरिका जाने सपना नछिरेको हुँदो हो त रुकुमपश्चिमको मुसिकोट नगरपालिकाका १७ वर्षीय रामु बुढा यतिबेला कक्षाकोठामा किताबका पानाभित्र सुन्दर भविष्यको सपना बुनिरहेका भेटिने थिए। पढाइमा औसत रामु विद्यालयमा अनुशासित र मिहिनेती विद्यार्थी थिए। अतिरिक्त क्रियाकपलापमा समेत जहिल्यै अगाडि हुन्थे। मुसिकोटको सल्ले माविबाट एसईई दिएपछि २०८१ असारमा उनले उच्च शिक्षाको साटो अमेरिका जाने ‘तल्लो बाटो’ समाते। त्यतिबेला उनी १६ वर्षका थिए।
नेपालबाट दुबई, अनि त्यहाँबाट विभिन्न देशका सीमा पार गर्दै, वनजंगल, नदी, खोला, समुद्र छिचोल्दै करिब ६ महिना लामो यात्रापछि उनी गत पुस पहिलो साता मेक्सिकोबाट अमेरिका छिरे।
दुई वर्षअघि मात्र उनका दाइ ललित यसैगरी अमेरिका पुगेका थिए। ललित त्यसबेला १७ वर्षका थिए। एकै घरका दाजुभाइलाई कलिलैमा जोखिमपूर्ण बाटो अमेरिका यात्रामा धकेल्ने अरू कोही नभई आफ्नै अभिभावक थिए। “कलिलैमा अमेरिका पठाए भविष्य बन्छ भनेर बाबुले नै ललित र रामुलाई मानवतस्करको साथ लगाएर पठाए,” उनकै एक छिमेकी भन्छन्, “चर्को ब्याजमा ऋण खोजेर दलाललाई बुझाए, कलिला छोराहरू तिनकै साथ लगाएर पठाए।”
मुसिकोटस्थित त्रिभुवन जनता माविका शिक्षक हरिप्रसाद खनाल ती भुक्तभोगी हुन् जो आफैले पढाइरहेका रामु र ललितजस्ता कलिलाहरू अमेरिका पुग्ने सपनाले तल्लो बाटोमा हेलिएको देखिरहेका छन्। “मैले थाहा पाएअनुसार यहाँ (मुसिकोट)बाट यस्ता २० जना जति किशोर अमेरिका गइसके। कति त मैले पढाएकै विद्यार्थी छन्,” उनले भने, “उनीहरू अमेरिका हिँडेको पत्तो हुँदैन। एकैपटक उता पुगेपछि फेसबुकमा बधाईको फोटो देखेर मात्र थाहा हुन्छ।”
१५ प्रतिशत ‘अन्डरएज’, अभिभावक नै पठाउँछन्
केही समयअघि रुकुम र दाङका गाउँहरू पुग्दा हामीले कलिलैमा अमेरिका पुग्ने जोखिमपूर्ण यात्रा रोजेका किशोरहरूका परिवारलाई भेट्यौँ। यस्ता १५ जनाका परिवार जो भेटिए, उनीहरूले सन्तानलाई आफैले अमेरिका पठाएको बताए। गाउँमा अमेरिका जान तम्तयार अरू किशोरहरू पनि भेटिए।
रुकुमका गाउँमा १८ वर्ष नपुग्दै अमेरिका जानेहरू ‘अन्डरएज’ भनेर चिनिन्छन्। बाफीकोट गाउँपालिका–६ का हिम केसी तिनैमध्ये हुन्। गाउँको वीरेन्द्र माविबाट एसईई दिएपछि कक्षा ११ पढ्नुसाटो उनी अमेरिका जाने गाउँकै युवाहरूको हुलमा मिसिए।
२०८० साउनमा तल्लो बाटो अमेरिकासम्मको यात्रा तय गरेका उनी त्यसबेला १७ वर्षका थिए। नेपालबाट दुबई, ब्राजिल, पेरू, कोलम्बिया, पनामा, ग्वाटेमाला, मेक्सिको हुँदै ६ महिनापछि अमेरिका छिरेका उनले दलाललाई ६० लाख बुझाएका थिए।
बाफीकोट गाउँपालिका रुकुमबाट अमेरिका जानेमध्ये कहलिएको ठाउँ हो। २१ हजार ४०० जनसंख्या रहेको बाफीकोटमा हरेक घरजसो अमेरिका गएको चर्चा हुनेगर्छ। गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरका अनुसार गाउँ नै रित्तिनेगरी मानिसहरू अमेरिका हिँडिरहेका छन् जसमा उल्लेख्य संख्या कलिला किशोरहरूको पनि छ। “यहाँ अमेरिका नगएको घर भेट्टाउन मुस्किल छ, कुनै घरबाट पाँच जनासम्म पनि गएका छन्,” उनले भने, “अब गाउँ नै रित्तिएला जस्तो भइसक्यो।”
गाउँपालिकाले गत वर्ष मात्र तल्लो बाटो अमेरिका जानेहरूबारे अध्ययन गरेको थियो। त्यो संख्या देखेर आफू चकित बनेको बाँठा मगर बताउँछन्। अध्ययनले देखायो– बाफीकोटबाट मात्र ७०० भन्दा धेरै मानिस अवैध बाटोबाट अमेरिका लागिसकेका रहेछन्।
“७०० मध्ये १५ प्रतिशत त अन्डरएज (१८ मुनिका) रहेछन्। मलाई यति ठूलो संख्या होला भन्ने लागेकै थिएन,” उनले भने, “गाउँका मानिस जति अमेरिका हिँडेपछि बालबालिकाले पनि सिक्ने नै भए। यसले हामीलाई झस्काएको छ।”
यसको असर दाङको तुलसीपुर उपमहानगरपालिका र शान्तिनगर गाउँपालिकासम्म बिस्तार भएको छ। शान्तिनगर गाउँपालिका–२ बाट मात्र करिब डेढ सय हाराहारीमा अमेरिका गएको वडाध्यक्ष सुनिल वली बताउँछन्। वलीका अनुसार त्यसरी जानेमा तन्नेरी मात्र नभएर रुकुमका जस्तै कलिलाहरू पनि छन्।
“अरू त गए गए, स्कुल पढ्दै गरेकाहरूसमेत एजेन्ट समातेर अमेरिका हिँडिरहेका छन्,” उनले भने, “हाम्रो वडाबाट मात्र १० जना अन्डरएजका गएका छन्।”
यसरी कलिलैमा सन्तानलाई अमेरिका पठाउने आफ्नै अभिभावक छन्। जस्तो, रुकुमपूर्वको सिस्ने गाउँपालिका–७, सिस्नेरीका हरिबहादुर पुनले १६ वर्षकै उमेरमा कान्छा छोरा हिमाल पुनलाई अमेरिका पठाए। हरिबहादुरले एजेन्टलाई ३५ लाख बुझाएपछि काठमाडौँबाट हिँडेका हिमाल दुबई, ब्राजिल, कोलम्बिया, पनामा, ग्याटेमाला हुँदै मेक्सिकोबाट दुई महिनापछि अमेरिका छिरेका थिए।
“गाउँका मान्छे गइराखेका थिए, सबैले आफ्ना सन्तान पठाएको देखेर म पनि तयार भएँ,” हरिबहादुरले भने, “छोराले पढ्न मानेन, अरू गएको देखेर उसले पनि रहर गर्यो।”
मानवतस्करका एजेन्टले कम उमेरमै पठाउन सके सजिलै अमेरिका पुगिने र छिट्टै ग्रिनकार्ड पनि पाइने लोभ देखाएपछि लोभिएका उनले गाउँबाट कलिलैमा गएका अरूले ग्रिनकार्ड पाएको देखेका थिए। चार वर्षअघि अमेरिका पुगेका हिमालले पनि ग्रिनकार्ड पाइसकेका छन्।
सिस्नेरीकै मानबहादुर वलीले पनि ७ कक्षामा पढ्दापढ्दै पढाइ छाडेका कान्छा छोरा रविलाई १७ वर्षकै उमेरमा दलाललाई ७५ लाख बुझाएर अमेरिका पठाए।
“सानैमा गए अमेरिकाले फर्काइदिने (डिपोर्ट गर्ने) डर हुँदैन भनेर सुनाउँथे। त्यसरी जाँदा जेल बस्नु नपर्ने, ग्रिनकार्ड पनि चाँडै बन्ने रहेछ,” उनले सुनाए, “गाउँमा पढेर पनि रोजगारी छैन, पढेकाहरू उतै हिँडिरहेका थिए। पढे पनि जानुपर्ने त्यहीँ रहेछ भन्ने लाग्यो।”
मानबहादुरले त्यसअघि नै दुई छोरालाई दलालको भरमा अमेरिका पठाइसकेका थिए। दाइहरू गएपछि कान्छोले पनि रहर गरेको, उसको भविष्य सम्झेर रोक्न मन नलागेको उनी बताउँछन्।
हामीले भेटेका प्रायः अभिभावकमा पढेर केही हुन्न, सानैमा अमेरिका गए राम्रो कमाइ हुन्छ र भविष्य बन्छ भन्ने बुझाइ अचाक्ली बाक्लिएको देखियो। रुकुमपूर्वको रुकुमकोटसमेत पर्ने सिस्ने गाउँपालिका–५ का वडाध्यक्ष विरेन्द्र बस्नेत कम उमेरमा सन्तान पठाउँदा सफल भइन्छ भन्ने बुझाइ अभिभावकहरूमा रहेको बताउँछन्।
उनी भन्छन्, “अन्डरएजमा गएपछि बालबालिकालाई अमेरिकाले फिर्ता पठाउँदैन, जेल (डिटेन्सन) बस्नु पर्दैन, मुद्दा पनि सजिलै जितिन्छ भन्ने बुझाई छ। कलिलैमा पठाए कमाई पनि धेरै हुन्छ भन्ने देखिन्छ।”
अमेरिका पुगेपछि मासिक ५–६ लाखसम्म कमाइन्छ भन्ने लोभमा अभिभावकहरू परेको उनले बताए। “गाउँबाट अमेरिका छिरेकाहरूले पनि त्यही हाराहारीमा कमाएको सुन्दा अभिभावकहरू झन् लोभिँदा रहेछन्,” उनले भने, “१८ वर्ष नपुग्दै अमेरिका छिर्नसके सजिलै ग्रिनकार्ड पाइन्छ भनेर अभिभावकहरू लालयित हुँदारहेछन्।”
मानवतस्करका एजेन्टहरूले देखाउने प्रलोभन उनीहरूलाई यसका लागि उक्साउने कारण बनेको छ। यहीकारण अभिभावकमा सन्तानलाई सानैमा अमेरिका पठाउने प्रतिस्पर्धा नै चलेको रुकुमपूर्वको सिस्ने गाउँपालिका–७ का वडाध्यक्ष शशिधर बुढा बढाउँछन्। “एउटा घरको गएपछि अर्काे घरको सन्तान पठाउन तम्सिहाल्छन्। अभिभावकको मानसिकता नै जसरी हुन्छ सन्तानलाई अमेरिका पठाउने छ,” उनले भने, “अब गाउँमा कसका सन्तान अमेरिका गएनन् भनेर अचम्म मान्नुपर्ने बेला भएको छ। छोराछोरी अमेरिका नपठाएका अभिभावक भेट्टाउनै मुस्किल छ।”
एक सन्तान अमेरिका पठाउन अभिभावकले एजेन्टलाई ७० लाखदेखि ९० लाखसम्म बुझाउने गरेको वडाध्यक्ष बुढा बताउँछन्। “दुईचार वर्ष अघिसम्म अमेरिका पठाउँदा ३०–५० लाखसम्म खर्च हुन्थ्यो, अहिले रेट बढेर ८० लाख पुगेको छ। अमेरिका पुग्दासम्म करोड बढी खर्च भइसक्छ,” उनले भने, “यसरी पठाउँदाको जोखिम अभिभावकहरूलाई थाहा छ। तर मनमष्तिष्कमा अमेरिका सपना यसरी बसेको छ कि ऋणमा डुबेर जतिसुकै जोखिम भए पनि छोराछोरी अमेरिका नपठाइ भएको छैन।”
एसईई दिने, अमेरिका हिँड्ने
रुकुमपश्चिमको बाफीकोट गाउँपालिका–३, पिपलका १७ वर्षीय नरेन्द्र केसी गाउँकै विद्यालयबाट एसईई दिएपछि अमेरिका जाने तयारीमा जुटेका भेटिए। हामीले गाउँमै भेटेर कुरा गर्न खोज्दा उनी खुलेर बोल्न चाहेनन्। “गाउँमा बसेर केही हुन्न, पढेर पनि काम पाइने होइन। बरु अमेरिका गए राम्रै कमाइन्छ, जिन्दगी बन्छ,” दलाललाई ७५ लाख तिरेर अमेरिका हिँड्न लागेका उनले भने, “मसँगैका धेरै साथी हिँडिसके। उनीहरूले राम्रो कमाएका छन्।”
अमेरिका पुग्ने कठिन यात्राबारे उनी जानकार छन्। भन्छन्, “धेरै महिना हिँड्नुपर्छ, धेरै दु:ख हुन्छ भन्ने सुनेको छु। तर म मात्र जान लागेको होइन, अरू पनि गएका छन्। उनीहरू पुगे, म पनि पुग्छु।”
रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ अमेरिका धेरै जानेमध्येको वडा हो। यो वडाबाट दुई सयभन्दा धेरै व्यक्ति अमेरिका गइसकेका छन्। वडासदस्य मीना केसी गाउँका विद्यार्थी एसईई दिएपछि अमेरिका हिँडिसक्ने बताउँछिन्।
“एसईईसम्म जसातसो पढ्छन्, त्यसपछि पढ्न मान्दैनन्। अभिभावकहरू पनि एजेन्ट खोजेर सन्तान पठाउन हतार गर्छन्,” उनले भनिन्, “हाम्रो वडाबाट प्रत्येक वर्ष १५ जना हाराहारीमा विद्यार्थी एसईईपछि अमेरिका गइरहेका छन्।”
यो वडामा पर्ने पोखरा माविका प्रधानाध्यापक कलु खड्काका अनुसार एसईई दिँदासम्म उनीहरूको उमेर १४ देखि १७ वर्षसम्म हुन्छ। “७–८ कक्षादेखि नै उनीहरू अमेरिका जाने सपना देख्न थालिसकेका हुन्छन्,” खड्का भन्छन्, “१० कक्षासम्म आइपुग्दा शाररिक र मानसिक दुवै हिसाबले अमेरिका जान तम्तयार भइसक्छन्।”
एसईईसँगै अमेरिका हिँड्न थालेपछि त्यसको असर ११ कक्षाको भर्नामै देखिन थालेको छ। पछिल्लो तीन वर्षमा पोखरा माविमा कक्षा ११ मा भर्ना हुने विद्यार्थी संख्या ५० प्रतिशतले घटेको छ। प्रधानाध्यापक खड्काका अनुसार तीन वर्षअघि कक्षा ११ मा भर्ना हुनेहरू एक सय हाराहारी रहेकोमा अहिले त्यो संख्या ५०–६० मा घटेको छ। “पहिलो कारण त विद्यार्थी नै अमेरिका गए,” उनले भने, “अर्को कारणचाहिँ परिवारको कुनै एक सदस्य अमेरिका गएपछि बाँकी परिवार पनि दाङ या बुटवलतिर बसाई सर्छ।”

शिक्षकदेखि जनप्रतिनिधिसम्मले देखाएको बाटो
बाफीकोट गाउँपालिका–६ स्थित वीरेन्द्र माविका प्रधानाध्यापक हरिचन्द्र गिरीका अनुसार परिवारमा बाबु, दाइ, काका वा छिमेकीहरू अमेरिका हिँडेपछि बालबालिकामा त्यसको असर पर्न थाल्छ। यसले बालबालिकाको मनोविज्ञानमै दबाब पारिरहेको उनको भनाइ छ।
“अभिभावकमै पढेर केही हुन्न, पैसा कमाउन अमेरिका पठाउनुपर्छ भन्ने मानसिकता भएपछि बालबालिकामा त्यही सोचाई आउने हो,” उनी भन्छन्, “अभिभावकमै यस्तो हानथाप भएपछि समाज नै उनीहरूलाई अमेरिका जाने जोखिमपूर्ण बाटोमा धकेलिरहेको छ।”
यसमा अभिभावककै भूमिका प्रमुख रहेको, दलालमार्फत् अमेरिका पठाउँदा लाग्ने आर्थिक भार र मनोवैज्ञानिक दबाब उठाउन अभिभावकहरू तम्तयार देखिएको उनी बताउँछन्।
रुकुमपूर्वस्थित रुक्मिणी माविका प्रधानाध्यापक चन्द्रबहादुर मल्लका अनुसार ८ कक्षादेखि नै विद्यार्थीहरूमा अमेरिका जाने सपना हुर्कन थाल्छ जसमा अभिभावक र समाजकै प्रमुख भूमिका हुन्छ।
“यस्तो सामाजिक चिन्तन, मनोविज्ञानमा हुर्किरहेका बालबालिकाले ढिलोचाँडो समात्ने त्यही बाटो हो,” उनी भन्छन्, “हामीले विद्यार्थीलाई यो गलत हो भनेर बुझाउन कोसिस गरे पनि समाजले नै सही हो भनिदिन्छ। समाज एकातिर, हामी अर्कोतिर छौँ। चाहेर पनि यसलाई बदल्नसक्ने अवस्था छैन।”
हुन त शिक्षकहरू नै त्यो बाटोमा छन्। अहिले रुुकमका विद्यालयमा पढाइरहेका शिक्षक जागिर छाडेर तल्लो बाटो अमेरिका यात्रामा लागिरहेका छन्। तीन वटा विद्यालयको अवस्था बुझ्दा त्यहाँबाट मात्र १६ जना शिक्षक अमेरिका हिँडेको भेटियो।
जस्तो, रुकुमपश्चिमको बाफीकोट–३ स्थित स्यार्पु माविबाट सात जना शिक्षक अमेरिका गएका रहेछन्। सिस्ने गाउँपालिकाको रुकुमकोटस्थित पोखरा माविबाट ४ जना, बाफीकोट–६ को सिद्धार्थ मावि मग्माबाट ५ जना शिक्षक अमेरिका गएका भेटिए। पोखरा माविका प्रधानाध्यापक कलु खड्का शिक्षकहरू नै हिँडेपछि विद्यार्थीलाई अमेरिका जान थप प्रेरित गरेको बताउँछन्।
“शिक्षकले गरेको कुरा बालबालिकालाई सत्य लाग्छ। शिक्षक नै हिँडेको देखेपछि विद्यार्थीको मनोविज्ञानमा त्यस्तो छाप पर्ने नै भयो,” उनले भने, “अहिले त स्थायी शिक्षकसमेत हिँड्न थालेपछि रोक्नै नसक्ने स्थिति बनेको छ।”
मासिक ३०–४० हजार कमाइ हुने शिक्षक उता पुगेपछि ५–६ लाख कमाउने र ग्रिनकार्ड पाउने लोभमा परेको उनी बताउँछन्।
रुकुमका यी गाउँमा जनप्रतिनिधिहरूले पनि आफ्ना सन्तानलाई अन्डरएजमै अमेरिका पठाइरहेको भेटियो। बाफीकोट गाउँपालिकाका पूर्वअध्यक्ष धर्मबहादुर केसीकी छोरी १९ वर्षको उमेरमा हिँडेरै अमेरिका पुगेकी छन्। दलाललाई ७० लाख बुझाएर हिँडेकी उनी एक महिना लामो तल्लो बाटोको यात्रापछि २०८० असोजमा अमेरिका पुगेकी थिइन्।
बाफीकोट गाउँपालिकाका वर्तमान अध्यक्ष जनककुमार बाँठा मगरका दुई सन्तान पनि तल्लो बाटोबाट अमेरिका पुगेका छन्। “अवस्था यस्तो विकराल छ कि आफ्नै सन्तान पनि रोक्न सकेनौँ,” बाँठा मगरले स्वीकारे, “मेरै छोराहरू नजाऊ भन्दाभन्दै गए। आफ्नै सन्तान रोक्न नसकेपछि अरूलाई कसरी नपठाऊ भन्नू?” आफूजस्तै थुप्रै वडाध्यक्ष, वडासदस्य र अरू पूर्वजनप्रतिनिधिहरूका सन्तान पनि अमेरिका गएको उनले बताए।
“गाउँमा के शिक्षक, के जनप्रतिनिधि, के प्रहरी आर्मी, के कर्मचारी, सबै उतै हिँड्नथालेका छन्,” उनले भने, “तन्नेरीदेखि बालबालिकासम्म उतै जाँदैछन्। यसलाई कसैगरी रोक्न सक्ने देखिन्न। अवस्था नियन्त्रणबाहिर पुगेको छ।”
मृत्युमार्ग, ऋणको भारी र डिप्रेसन
रुकुमका गाउँबाट शुरू हुने अमेरिका यात्रा सहज छैन। मानवतस्करले पहिल्याएको यो बाटो हिँड्न नेपालबाट दुबई, रुस, पेरु, कोलम्बिया, पनामा, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुग्नुपर्छ। मेक्सिको पुगेपछि बल्ल अमेरिका छिर्ने सम्भावनाको ढोका खुल्छ। देशैपिच्छेका सीमानाकामा सुरक्षाकर्मीको आँखा छल्दै यात्रा गर्नु चुनौतीपूर्ण छँदैछ। त्यसमाथि कैयौँ नदी, वनजंगल र समुद्री बाटो पनि महिनौँ लगाएर छिचोल्नुपर्छ। त्यसक्रममा ठाउँ–ठाउँमा लुटेरा समूहसँग जोगिदै हिँड्नुपर्ने हुन्छ। कतिपयले यात्रामै ज्यान गुमाउँछन्।
जस्तो, दलाललाई ३० लाख बुझाएर २०७८ भदौ २७ मा अमेरिका हिँडेका दाङको तुलसीपुर उपमहानगरपालिका–३, गोटीखोलाका २१ वर्षीय साहिल बोहरा गन्तव्यमा पुग्न पाएनन्। नेपालबाट दुबई हुँदै अघि बढेका उनी पेरु पुगेका थिए। त्यहाँ लगातार ५–६ दिनको हिँडाइपछि बिरामी परेसँगै उनी अघि बढ्न सकेनन्। हिँड्दाहिँड्दै बाटोमा ढले, त्यहीँ उनको प्राण गयो। घरबाट निस्केको तीन महिनामा अमेरिका पुग्ने उनको सपना बाटोमै टुंगियो।
एक्लो छोरा साहिलले त्यसको अघिल्लो साँझमात्र फोनमा परिवारसँग कुरा गरेका थिए। बुबा रामबहादुर बोहरा भन्छन्, “छिट्टै पुग्छु, चिन्ता नलिनु भन्थ्यो। अर्काे दिन त्यस्तो खबर आयो।”
यो घटनापछि रामबहादुर ठूलो पछुतोमा छन्। “अमेरिकाको चक्करमा छोरो गुमाउनुपर्यो,” उनले भने, “कसैले यसरी सन्तानलाई नपठाऊन्, हाम्रो जस्तो पीडा अरूले नभोगून्।”
घोराही, दाङका २१ वर्षीय एञ्जल बुढा मगर २०७८ असार ८ मा कोलम्बियाबाट अमेरिकाको यात्रामा थिए। कोलम्बियाको टर्बाेदेखि कपुरगानासम्म डुंगामा यात्रा गर्नुपर्थ्यो। एञ्जल चढेको डुंगा क्यारेबियन सागरमा दुर्घटना भयो। त्यो दुर्घटनामा उनीसहित सात जना नेपाली हराए। उनीहरू अहिलेसम्म हराएको हरायै छन्। शव नपाए पनि परिवारले एञ्जलको मृत्यु भएको स्वीकारेर दाहसंस्कार गरिसकेको छ।
तल्लो बाटो अमेरिका जानेक्रममा कतिले ज्यान गुमाए भन्ने यकिन आँकडा छैन। अहिलेसम्म बाहिर आएका घटनालाई आधार मान्दा पनि रुकुम, दाङ, प्युठानबाट गएका १२ जनाको बाटोमै मृत्यु भएको देखिन्छ।
तल्लो बाटो अमेरिका जानेहरूलाई ज्यानको जोखिम मात्र छैन, ऋणको भार पनि उस्तै छ। गाउँका साहुकार र मिटरब्याजीबाट ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर हिँडेकाहरू अमेरिका पुगे त ऋण तिर्ने बाटो भेटाउँछन्, बाटोमै अस्ताए वा बीचबाटै फर्कनुपर्यो भने ऋण दोब्बर भइसकेको हुन्छ। त्यसलाई तिर्नसक्ने उपाय हुँदैन।
ऋणको यस्तै भूमरीमा फसेका छन् रुकुमपश्चिमको मुसिकोट–३ का २२ वर्षीय रञ्जन केसी। गाउँका साथीहरूलाई देखेर १८ वर्षको उमेरमै अमेरिकाको बाटो समाएका उनी ३६ प्रतिशत ब्याजमा ३० लाख रुपैयाँ ऋण लिएर दलाललाई बुझाई २०७८ असोजमा गाउँबाट हिँडेका थिए। दिल्ली, दुबई हुँदै विभिन्न देश छिचोलेर अजरबैजानसम्म पुगेका उनलाई दलालले त्यहाँबाट अघि बढाउन सकेनन्। तीन महिना त उनी बन्धकजस्तै बने।
त्यहाँबाट अर्काे एजेन्ट खोज्न पैसा जुटाउन नसकेपछि उनी फर्किए। अमेरिका छिर्न नसकेर फर्केपछि उनी ऋणको भारले डिप्रेसनमा पुगे। घरमा दिनहुँ साहुहरू आएर पैसा माग्न थालेपछि घरमासमेत बस्न सकेनन्। अमेरिका जाँदा लागेको ऋणले फेरि गाउँ छाड्नुपर्ने भयो। अहिले उनी काठमाडौँमा ट्याटु बनाउने काम गर्छन्, त्यसबाट आएको धेरथोर पैसाले ऋण तिरिरहेका छन्। तर यति कमाइले ऋण चुक्ता गर्ने सम्भावना छैन। “अमेरिका जाने सपनाले जिन्दगी बर्बाद भयो,” रञ्जन पश्चाताप सुनाउँछन्।
मुसिकोट–३ कै नविन खत्रीले अमेरिका जाने चक्करमा ७० लाख गुमाए। १६ वर्षको उमेरमा २०७९ चैतमा घरदेखि हिँडेका उनी दुबईबाट विभिन्न देश हुँदै फिलिपिन्स पुगे। तर फिलिपिन्स पुर्याएपछि उनलाई लैजाने दलाल सम्पर्कबिहीन बने। त्यहाँ जसोतसो चार महिना बसेका उनीसामु घर फर्कनुको विकल्प भएन। ७० लाख डुबाएर करिब पाँच महिनापछि घर फर्केका उनी अहिले झन् ठूलो तनावमा बाँचिरहेका छन्। ऋणमा ब्याज थपिएर १ करोड हाराहारी पुगिसकेको छ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–७, नाथिगाड गाउँबाट अमेरिका गएका १० जना युवा उताबाट डिपोर्ट भएर फर्केका छन्। अमेरिका पुग्न नसकेर बीचबाटै फर्केका र अमेरिका पुगेर पनि डिपोर्ट भएकाहरूले प्रतिव्यक्ति ५० लाखदेखि १ करोड रुपैयाँसम्म गुमाएको, त्यो रकम ऋणकै भएकाले उनीहरूको परिवारको समेत बिचल्ली भएको वडाध्यक्ष शशिधर बुढा बताउँछन्। यो संख्यामा अन्डरएजमै जाने किशोर–बालकहरू पनि छन्।
“ऋणमा डुबेकाहरूको विचल्ली छ। कति डिप्रेसनमा गएका छन्, कति साहुको डरले गाउँ फर्कन सकेका छैनन्,” बुढाले भने, “अमेरिका पुगेर काम गरिरहेकाहरूको जिन्दगी बन्यो होला, पुग्न नसकेका र पुगेर पनि डिपोर्ट भएकाहरू घर न घाटको भएका छन्।”
खुलेआम बालबालिका तस्करी
२०७२ सालमा जारी नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन २०७५ ले १८ वर्ष मुनिको उमेर समूहलाई बालबालिका भनेर परिभाषित गरेको छ। नेपालले हस्ताक्षर गरेको बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले पनि यही उमेर समूहलाई बालबालिका मान्छ। महासन्धि अनुसार बालबालिकालाई जोखिमपूर्ण श्रम, बालविवाह, घरेलु हिंसा, यौन शोषण तथा बेचबिखन, ओसारपसार, हिंसा र दुर्व्यवहार गर्नुलाई अपराध ठान्छ।
नेपालका मध्यपहाडबाट अभिभावककै सहयोगमा १८ वर्षमुनिका बालबालिकालाई अमेरिका पठाउने योविघ्न आशक्तिले महासन्धिलाई गिज्याइरहे झैँ लाग्छ। कतिसम्म भने, रुकुमका कतिपय बाटो पनि नपुगेका गाउँहरूबाट समेत यस्ता कलिलाहरू अमेरिका लागेका छन्। माओवादीको हिंसात्मक विद्रोह चर्किएको समयमा ‘द्वन्द्वले विस्थापित गरेको’ भन्दै अमेरिका जानथालेका रुकुमेलीलाई पछिल्लो समय मानवतस्करले नै जकडिसकेका छन्।
बालबालिकालाई अमेरिका पठाउने संगठित मानवतस्करको जालो गाउँ–गाउँमा सक्रिय छ। जनप्रतिनिधि, प्रहरी, प्रशासन यसबारे जानकार रहे पनि केही गर्नसकेका छैनन्। सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी आफ्नो पालिकाबाट मात्र ८०० मानिस मानवतस्करमार्फत् अमेरिका गएको, त्यसमा अन्डरएजमा जाने बालबालिका पनि रहेको बताउँछन्। “अमेरिका पठाउने कतिपय मानवतस्कर र तिनका एजेन्टलाई म आफै चिन्दछु,” उनले भने, “तर स्थानीय सरकार अधिकारबिहीन छ। यसलाई रोक्ने अधिकार प्रशासनलाई मात्र छ।”
मानवतस्करी रोक्नुपर्ने प्रहरी प्रशासन नै तस्करहरूसँग मिलेको दाबी उनले गरे। “मानवतस्करीको जालो गाउँदेखि माथिल्लो तहसम्म छ, ठूलाठूला मान्छे यसमा संलग्न छन्। प्रशासन, राज्यसंयन्त्र यो गिरोहसँग मिलेका छन्,” उनले भने, “यस्तोमा हामी एक्लैले चाहेर केही हुँदैन। गाउँलेहरूलाई सम्झाउनुबाहेक हामी केही गर्न सकिरहेका छैनौँ।”
रुकुमपूर्वमा पर्ने रुकुमकोटका सामाजिक अगुवा बसन्तप्रकाश श्रेष्ठ अहिले रुकुममा अमेरिका जाने लहर सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताउँछन्। “गाउँ नै मानवतस्करलाई समातेर अमेरिका हिँड्ने तरखरमा छ। जिल्लाबाट अर्बौं पैसा बाहिरिएको छ, असफल भएर फर्केकाहरूको जिन्दगी तहनहस भएको छ। अमेरिका जाने सपनाले समाज खलबलिएको छ,” उनले भने।
तर यो विषय राजनीतिक दल र जनप्रतिनिधिको मुद्दा नै नबनेको गुनासो उनले गरे। किनभने दलका नेता र जनप्रतिनिधि स्वयं नै अमेरिका पठाउने यो धन्दामा कुनै न कुनै रुपमा संलग्न देखिन्छन्। “कतिका सन्तान र नातागोता नै यही मार्गबाट अमेरिका गएका छन्,” उनले भने, “उनीहरू आफ्नै सन्तान पठाइरहेका छन्, कसरी यसको विरोधमा बोल्न सक्छन्?”
स्थानीय सरकार, जनप्रतिनिधि र राज्यसंयन्त्रहरू सबैले आँखा चिम्लिए पनि अमेरिकामा राष्ट्रपति ट्रम्पले लागू गरेको पछिल्लो आप्रवासन नीतिका कारण भने अमेरिका जान तल्लो बाटोमा लागिरहेको लाममा केही धक्का लागेको छ।
(रुकुमपूर्व र रुकुमपश्चिमबाट ‘अन्डरएज’मा अमेरिका लागेकाहरूको वास्तविक नाम परिवर्तन गरिएको छ।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
