Saturday, December 14, 2024

-->

परको देशमा
‘बेलायतमा सानो छँदा साथी बनाउन पनि डर लाग्थ्यो’

आफू बेलायती आर्मी हुँ भनेर चिनायो भने मारिने सम्भावना हुन्थ्यो। त्यसैले उनले आफ्नाबारे थुप्रै झूटा कथाहरू बनाइन्। आफ्नो परिचय दिँदा धेरै ठाउँमा आफूलाई डेन्टलको विद्यार्थी भनेर चिनाइन्।

‘बेलायतमा सानो छँदा साथी बनाउन पनि डर लाग्थ्यो’
अंशु गुरुङ।

दैनिक दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले नियमित रूपमा उनीहरूबारे लेखिरहेको छ। यो दायरा थप फराकिलो बनाउन विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गरिरहेका छौँ।


काठमाडौँ– चार वर्षअघि संचारमाध्यममा एउटा अफवाह फैलियो– अंशु गुरुङ बनिन् गोर्खा रेजिमेन्टमा पहिलो नेपाली क्याप्टेन।

अंशु गोर्खा रेजिमेन्ट हैनन्। सञ्चारमाध्यमले किन गोर्खा रेजिमेन्टको क्याप्टेन भनेर लेखे, उनले अहिलेसम्म मेसो पाएकी छैनन्। उनले कसैलाई अन्तरवार्ता दिएकी पनि होइनन्। उनी त्यतिबेला आर्मीको ट्रेनिङमा थिइन्। उनको पूरापुर समय क्याम्पभित्र बित्थ्यो। त्यसमाथि कोभिड–१९ को महामारी थियो। उनी भन्छिन्, “सबै मान्छेलाई कल गरेर सच्याउन कसरी भन्नु! मैले पनि छाडिदिएँ। मलाई गोर्खाली क्याप्टेन भनियो, त्यो गलत हो।”

खासमा के भएको रहेछ भने उनी स्यान्डहस्र्ट एकेडेमी पास गरेर ‘रोयल आर्मी डेन्टल कोर’की क्याप्टेन भएकी रहिछन्। तर कतिपयले गोर्खा रेजिमेन्टको क्याप्टेन भनेर उनको प्रशंसा गर्दै समाचार बनाइदिए।

‘रोयल आर्मी डेन्टल कोर’मा कोही व्यक्ति ‘जनरल फिजिसियन’ भएजस्तै उनी ‘डेन्टिस्ट’ थिइन्। उनले आर्मीका दाँत सहिसलामत छन् कि छैनन् भनेर हरेक दिन रेखदेख गर्नुपर्थ्यो। त्यसबाहेक देशबाहिर जान लागेका बेलायती सेनालाई अनिवार्य दन्तपरीक्षण गरेर पठाउनुपर्थ्यो। त्यहाँ उनको जम्माजम्मी काम यत्ति थियो।

अहिले उनी क्याप्टेनबाट बढुवा भएर मेजर बनिसकेकी छन्। डेन्टल अफिसरका रूपमा उनका दुई वटा जिम्मेवारी छन्– औषधोपचार गर्ने र व्यवस्थापन सम्हाल्ने। यसबाहेक अरू केही भवितव्य आइलाग्यो भने जहाँसुकै पनि खटिनुपर्छ। 

अंशु आर्मीमा जागिर खान थालेको पाँच वर्ष पुग्यो। सन् २०१९ मा उनी यस क्षेत्रमा प्रवेश गरेकी थिइन्।

अंशुलाई यो क्षेत्रमा लाग्न हौस्याउने उनका बाबा थिए जो आफै पनि ब्रिटिश लाहुरे थिए। अरू आफन्त पनि आर्मीमा भएकाले यस क्षेत्रबारे उनलाई सानैदेखि थोरबहुत ज्ञान थियो। उनी भन्छिन्, ‘मसँग डेन्टिस्टको अनुभव थियो। आर्मीमा पनि डेन्टिस्ट बन्छु भन्ने लाग्यो। केटाहरू मात्र हैनन्, म पनि आर्मीमा जाने हो भन्ने लाग्यो। नाम पनि निकालेँ। मेरो लागि यो ठूलो उपलब्धि थियो।’

उनी यो बीचमा बेलायती आर्मीको तर्फबाट जर्मनी र उत्तर आयरल्यान्ड पुगिन्। आयरल्यान्ड बस्दाको उनीसँग रमाइलो अनुभव छ। त्यहाँ रहँदा आफू आर्मी हो भनेर कसैलाई भन्न मिल्दैनथ्यो। त्यहाँ आईआरए भन्ने थियो, उनीहरूले बेलायतीलाई मन पराउँदैनथे। आफू बेलायती आर्मी हुँ भनेर चिनायो भने मारिने सम्भावना हुन्थ्यो। त्यसैले उनले आफ्नाबारे थुप्रै झूटा कथाहरू बनाइन्। आफ्नो परिचय दिँदा उनले धेरै ठाउँमा आफूलाई डेन्टलको विद्यार्थीका रूपमा चिनाइन्।

बेलायती सेनामा जागिर खाए पनि अंशु जन्मेको नेपालमा हो। पोखरा एयरपोर्ट नजिकै उनीहरूको घर थियो।

सन् २००४ तिरको कुरा हो। ब्रिटिश आर्मीबाट रिटायर्ड उनका बुवा र आमाले बेलायत बसाइँ सर्ने योजना बनाए। तर नयाँ ठाउँमा सर्ने विषयमा अलिअलि अन्योल पनि थियो। नयाँ ठाउँ, के कसो हुने हो भन्ने मनमा अलिअलि डर थियो। त्यसकारण नेपाल चटक्कै छाड्ने निर्णय लिन यो परिवारलाई सकस परिरहेको थियो। सबै परिवार बेलायत गएर के गर्ने भन्ने प्रश्न पनि थियो।

एक दिन अंशुकी आमाले घोषणा गरिन्– अब बेलायत जाने, जे पर्छ, टर्छ।

अंशुको परिवार बेलायततिर हानियो।

उनी हाँस्दै भन्छिन्, ‘मेरी आमा एकदम आँटिली हुनुहन्छ।’

त्यसपछि अंशुको जिन्दगीमा जे–जे भयो, सबै बेलायतमै भयो। त्यतिबेला नेपालबाट बेलायत बसाइँ सर्ने थोरै नेपालीमध्ये उनको परिवार एक थियो। 

विदेश जाने अरूलाई जस्तै उनलाई पनि शुरू–शुरूमा धेरथोर गाह्रो भयो। नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ संस्कृति– हरेक कुरा नयाँ थियो। कसलाई के कसरी बोलाउने वा व्यवहार गर्ने भन्नेमा समेत अन्योल हुन्थ्यो। केही भनौँ, रिसाउने पो हुन् कि! यही डरले उनले साथी पनि बनाउन सकिरहेकी थिइनन्। “नेपाली र बेलायतीको सोचाइ भिन्न, बोल्ने तरिका भिन्न थियो,” उनले भनिन्।

एउटा कुरा उनले अहिलेसम्म बिर्सिन सकेकी छैनन्। स्कुलमा सरले प्रश्न गर्दा उनी उभिएर जवाफ दिन्थिन्, तर त्यहाँ उभिनुपर्दैनथ्यो। त्यहाँ विद्यार्थीले शिक्षकको नाम लिएर बोलाउँथे, जुन नेपालमा सम्भव थिएन। उनी अचम्ममा परिन्। भाषाको पनि समस्या भयो। नेपालमा अलिअलि अंग्रेजी पढेकी थिइन्, तर बेलायतको ‘कल्चरल स्ल्याङ’ बुझ्नु उनको बुता बाहिरको कुरा भयो। “नयाँ समाजमा आफूलाई ढाल्न समय लाग्यो। बुवाआमा पनि पहिलो पटक बस्नेगरी बेलायत जानु भएको थियो, बेलायत उहाँहरूकै लागि नयाँ थियो। हामीलाई सल्लाह–सुझाव दिनसक्ने अवस्था थिएन,” उनले विगत खोतलिन्। 

उनको बाल्यकाल त्यहीँ बित्यो। त्यहीँ पढिन्। त्यहीँ जागिर खाइन्।

बेलायतमा १६ वर्ष पुगेपछि पार्ट–टाइम काम गर्न पाइन्थ्यो। उनले पनि १६ वर्ष टेक्नेबित्तिकै ‘म्याक डोनाल्ड’मा काम शुरू गरिन्। अलिअलि पैसा पनि हुन थाल्यो, बाआमासँग पैसा माग्नुपरेन। “यहाँ सानैदेखि इन्डिपेन्डेन्ट हुन सिकाइन्छ। त्यसकारण आमाबासँग पैसा माग्न गाह्रो हुन्छ,” उनले भनिन्।

जिन्दगीको पहिलो कामले उनलाई धेरै पाठ सिकायो। पढाइ र काम सँगसँगै चलिरहेको थियो। उनले थपिन्, “बाफ रे, बाफ! त्यहाँको हतारो मैले अहिलेसम्म भुलेकी छैन। मान्छे भन्छन्– म्याकडोनाल्डमा काम गर्नुभयो भने जिन्दगीमा अरू जे काम गर्न पनि सजिलो हुन्छ। आखिरमा हो रहेछ।”

त्यहाँ मान्छे जतिबेला पनि हतारोमै हुन्थे। उनी अर्डर लिने ठाउँमा थिइन्। कहिलेकाहीँ गल्ती अर्डर दिएर गाली खाएको उदाहरण उनीसँग कति छन् कति! कहिलेकाहीँ गल्ती नै नगर्दा पनि गाली खान्थिन्। अर्डर लिँदालिँदै किचनमा जानकारी गराउन चाहिँ ढिलो हुन्थ्यो, उता किचनमा बस्नेले ढिलो जानकारी गराएको भन्दै झर्किन्थे। उनी हैरान थिइन्। उनलाई लाग्छ– जिन्दगीको सारा तनाव पोख्न मान्छे म्याकडोनाल्ड पो जाने हुन् कि!

उनले फार्मेसीमा पनि ‘पार्ट टाइम’ काम गरिन्। उनी त्यहाँ ‘सेल्स असिस्टेन्स’ थिइन्। फार्मेसीमा औषधी मात्र होइन, स्याम्पु, तेललगायत अरू चिजबिज पनि बेचिन्थ्यो। त्यसकारण फार्मेसी नपढे पनि उनलाई त्यहाँ काम गर्न सहज भयो।

पार्ट–टाइम काम गर्दाजत्तिकै धपेडी अहिले पनि छ, अंशुलाई। बिहान ७/८ बजेदेखि बेलुकासम्म ५/६ सम्म काम गर्नुपर्छ। 

अहिले उनी तीन वर्षका लागि बेलायतको अल्डरसटमा काम गरिरहेकी छन्। आगामी दिनमा पनि आर्मीमा रहने उनको योजना छ। आर्मीभित्र पनि उनी क्लिनिकमै काम गर्न चाहन्छिन्। उनी भन्छिन्, “खासमा मलाई लन्डनतिर पठाए हुन्थ्यो। त्यहाँ भएन भने बु्रनाई पठाइदिए पनि हुन्थ्यो। बु्रनाइमा गोर्खाली पल्टन पनि छ। नेपालीसँग भइयो भने अलि सजिलो हुन्छ।”


सम्बन्धित सामग्री