“गोर्खाओँका सपना मेरा सपना”

प्रत्येक पीँढी र समयले आआफ्नो मूल्य तयार पार्छ। त्यसै कारण पनि समयसितै सबै प्रकारका मूल्यमा परिवर्तन आउनु आवश्यक हुन्छ। जुन समाजमा परिवर्तन आउँदैन, त्यो मृत समाज हो।

‘‘खोइ हाम्रो त के भयो भयो हगि?’’

‘‘के चैँ के भयो...?’’

आश्चर्य मानेर मैले ती दाइलाई सोधेँ।

‘‘होइन, हेर्नुहोस् न चारैतिर.....एउटै कुरा ठीक छैन हाम्रो। यसरी त हाम्रो भविष्य त खत्तम हुन्छ नि हौ.... होइन र...?’’

‘‘मैले तपाईंको कुरै बुझिनँ। म त सबै ठीकै देख्छु।’’ मैले थपेँ।

‘‘तपाईंहरूजस्तो बुद्धिजीवीहरूले पनि त्यसो भन्नु थाल्यो भने हामी काँ जानु? कसको आसा गर्नु...?’’

कुरा गम्भीर थियो। मैले सोचेँ....हाम्रो समाजमा बुद्धिजीवी भनिमाग्नु सबैभन्दा जोखिमको कुरा रहेछ। स्वयंलाई ‘अशिक्षित र क्यै नजान्ने..’ भनेर जनता अघि घोषणा गर्ने आदरणीय नेताहरू छन् अनि उनीहरूले सभामा जे भन्छन्, त्यसलाई आँखा चिम्लेर समर्थन गर्नेहरूलाई पो समाजले वरिष्ठ बौद्धिक व्यक्तित्वको उपाधि दिँदो रहेछ।

अर्कोतिर एउटा परिचित भेट्यो कि समाजबारे चिन्ता व्यक्त भइहाल्छ। चिन्ता पनि एक्लै हुँदा आउँदैन। सायद स्वस्थ चिन्ता त्यस्तै हुन्छ कि...! एकै छिनअघि शरीरको जम्मै सात लाख करोड नसाहरू हल्लिने गरी हाँसिरहेको मानिस एउटा राजनीतिक जस्तो व्यक्तिलाई भेट्नासाथ गम्भीर बन्छ अनि झ्वाम्मै समाजको पतनको पोखरीमा डुबिहाल्छ। निराशाको भाव व्यक्त गर्नु सचेत अनि बौद्धिक हुनुको प्रमाण जस्तो छ यतातिर।

धेरै लामो प्रतीक्षापछि भर्खरै त्रिपक्षीय वार्ता भयो दिल्लीमा। दुई वटा पक्षको अनुपस्थितिमा पनि त्रिपक्षीय भएको यो पहिलो ऐतिहासिक घटना हो। भन्नेहरू दिल्लीका थिए अनि सुन्नेहरू दार्जिलिङका। मलाई दिल्लीका मुनीष तामङ (हाल कांग्रेसी अनि विगत लोकसभाका उम्मेदवार) ले एउटा प्यानल डिस्कसनमा भनेको याद आयो। त्रिपक्षीय वार्ताको अघिल्लो दिन भएको एउटा बहसमा तिनले भनेका थिए-

‘‘वार्तामा के हुन्छ भन्ने कुरा मलाई नसोध्नुहोस्, तर भोलिको हिमालय दर्पणको हेडलाइन म आजै भन्न सक्छु। हेडलाइन हुनेछ–सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भयो। खुबै सफल वार्ता भयो।’’

यस्तै हेडलाइन धेरै वर्षअघि देखि पढ्दै/देख्दै आएको कारण सभा हुनअघि कसैले पनि निष्कर्षको भविष्यवाणी गर्न सक्छ। त्यसैले राजनीतिका जानकारहरू अब असफल वार्ताको प्रतीक्षामा छन् भन्न सकिन्छ।

व्यवस्था सामाजिक, राजनीतिक, धार्मिक, साहित्यिक तथा सांस्कृतिक नै किन नहोस्, तर प्रश्नै नगरी अथवा पर्यवेक्षण नै नगरी बौद्धिक भएकाहरूको हाम्रो समाजमा भरमार छ। संसार परिवर्तनशील छ भने प्रत्येक प्रकारका मूल्य पनि परिवर्तनशील छन्। जहाँ सबै थोक परिवर्तनशील छ, त्यहाँ स्थायित्व कसरी पाइन्छ? स्थायी हुनु भनेको त मृत हुनु बराबर हो। त्यसै कारण जो वास्तवमै बौद्धिक छन्, उनीहरू कुनै प्रकारको स्थायित्वमा विश्वास गर्दैनन्।

निकोलस कोपर्निकसले विश्वास गरेनन् र नै सूर्य होइन, तर पृथ्वी अनि अन्य ग्रहहरू सूर्यको वरिपरि घुम्ने कुरा गरे। त्यसमाथि पनि शंका गर्ने ग्यालिलियोले टेलिस्कोप आविष्कार गरे अनि कोपर्निकसको विचारको पुष्टि मात्र गरेनन्, तर जुपिटरको चन्द्रमा साथै सूर्यमा भएको दाग संसारलाई देखाए। स्थायित्वको प्रचार गर्ने तत्कालीन इटालीको सरकारले तिनलाई नास्तिकको उपाधि दिएर गृहबन्दी बनाएर राख्यो। यस्ता दृष्टान्तहरू इतिहासमा भरमार पाइन्छ।

प्रत्येक पीढी अनि समयले आआफ्नो मूल्य तयार पार्छ। त्यसै कारण पनि समयसितै सबै प्रकारका मूल्यमा परिवर्तन आउनु आवश्यक हुन्छ। जुन समाजमा परिवर्तन आउँदैन, त्यो समाज मृत समाज हो।

स्कुले छात्र हुँदा तर्क सभाहरूमा भाग लिन्थेँ। त्यस समय आफ्नो तर्क राखेपछि त्यसको बिट मार्न प्राय तार्किकहरू उखान प्रयोग गर्थे। अर्थात् उखानले बिट मारेको तर्क अकाट्य मानिन्थ्यो। धेरै पीढीको अनुभवको निष्कर्ष मानिन्थ्यो उखान। एक प्रकार, तर्कको बैतर्नी तर्न परे उखानको नाउ आवश्यक हुन्थ्यो। आजको परिस्थितिमा उखानहरूलाई गम्भीरतासित जाँच गरे बलियो जरा भएको अनि कुनै पनि जाँचको प्रहारमा नहल्ली खडा रहन सक्ने उखान दुर्लभ भेटिन्छ।

‘घर बसी नेपाल देख्ने...’ भनिन्थ्यो अघिअघि। टेलिभिजन र इन्टरनेट थिएन। आज घर बसी संसार देखिन्छ तर उखानको अन्तिम संस्कार भएकै छैन।

हाम्रो समाजमा ज्ञानको स्थान तुक्का र उखानले लिएका छन्। प्रश्न र उत्सुकताहरू समाजविरोधी मात्र होइन, राष्ट्रविरोधी विषय भएको ठानिन्छ। कुनै नयाँ कुरा या विचार भेटे छापा मार्न पुगिहाल्छन् तुक्का- उखानका सिपाहीहरू।

मैले ती दाइलाई देशको अवस्था बताएर ‘‘हामी ठीकै छौँ अनि राष्ट्रको मूल धारामै छौँ। त्यसैले सुर्ता गर्ने कुनै कारण छैन’’ भनेँ। तिनले छक्क परेर मलाई हेरे, तर मेरो कुनै कुरा पनि गलत हो भनेर तर्क दिन सकेनन्।

भर्खरै अशोक विश्वविद्यालयका प्राध्यापक डा. अलि खानमाथि 'अपरेसन सिन्दूर' माथि तिनले गरेको फेसबुक पोस्टलाई आधार मानी हरियाणा महिला मानव अधिकार अध्यक्षले मुद्दा हालिन्। महिला अधिकार अध्यक्षलाई सञ्चार माध्यमले प्रो. खानले लेखेको पोस्टमा राष्ट्र विरोधी त्यस्तो के बयान छ भनी सोध्दा बताउन सकिनन् तर उल्टो पत्रकारलाई नै ‘‘तिमीले यसमा राष्ट्रविरोधी क्यै देखेनौ...?’’  भन्ने प्रश्न गरेको गर्‍यै गरिन्। प्रश्नको उत्तर प्रश्नै हुनुपर्ने यो युग हो।

यस्तो घटना देशको प्रत्येक कुनामा वर्तमान समयमा भइरहेछ। बौद्धिक व्यक्तिहरूलाई सरकारको क्रियाकलापमाथि प्रश्न गर्ने अधिकार नभएपछि प्रजातन्त्रको आधार नै शंकाजनक बन्छ। आज भारतले ‘अपरेसन सिन्दूर’बारे संसारलाई बताउन थुप्रै टोली बनाएर विभिन्न देशमा पठाइरहेछ। संसारलाई त्यो बताउन के जरुरी हुन्छ र? तर आजको समय क्षेत्रीयदेखि राष्ट्रिय स्तरसम्मै सत्तामा बसेकाहरूको निर्णयलाई प्रश्न गर्नेहरूको एकै प्रकारको नियति भएको देखिएको छ। १९८६ सालमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आन्दोलनको समय घिसिङको मूल मुद्दा माटो थियो। माटोको अर्थ सोध्ने प्रतिपक्षकाहरूलाई सामाजिक बहिष्कार गरियो। माटोको अर्थै नबुझी आपसमा मारामार गर्दा १२०० मानिसको हत्या भयो।

साँचो बौद्धिकताले राष्ट्रियता या राष्ट्रभक्ति, जातियता उद्योगले तयार पारेको चेतना अनि वर्गीय चेतनालाई प्रश्न गर्छ। जाति, धर्म, भाषा, राष्ट्रियताजस्ता कुरा अरूको यथार्थ बुझ्नमा बाधाहरू हुन्, किनकि यी अवधारणाहरू अन्य राष्ट्र या त समाजबारे आफ्नै पूर्वाग्रहले तयार पारेको धारणाको सिमाना कोरेर त्यहाँदेखि परतिरको यथार्थ बुझ्नमा बाधक सिद्ध हुन्छन्। बौद्धिक निष्कर्ष जाति, भाषा, धर्म अनि सिद्धान्तहरूदेखि निरपेक्ष हुन्छ। बौद्धिक व्यक्तिले पुज्ने कुनै विचार वा भगवान् हुँदैन। यथार्थ उसको मान्यता हुन्छ, यथार्थ नै भगवान् पनि।

बौद्धिक व्यक्ति कसै गरेर पनि मूल धाराको हुन सक्दैन, कारण उ त किनारमा बसेर हरदम पर्यवेक्षणमा संलग्न रहन्छ। पर्यवेक्षण सत्य र तथ्यको। पर्यवेक्षण आफ्नै शंकाको पनि। तर साँचो अर्थका बौद्धिकहरू कुनै पनि युगमा स्वाधीन थिएनन्, र छैनन् आज पनि। बौद्धिक व्यक्तिहरूको सिकार गर्न सरकार सधैँ व्यवस्थाको बन्दुक लिएर तैनाथ रहन्छ। शक्तिहरूदेखि  यी पूर्ण रूपले स्वाधीनता सम्भव नभए पनि यस्ता सिमानाहरू छन्, जहाँ व्यवस्थाको प्रभाव र दबाब न्यूनतम हुन्छ। त्यस्तै किनाराहरू बौद्धिक क्रियाकलापको केन्द्र बनिन सक्छन्। बौद्धिकहरू  मूलधारमा पस्न खोज्नासाथ त्यही मुहूर्तमा बौद्धिकताको मृत्यु हुन्छ।  

व्यवस्था हाइड्राजस्तो छ। त्यसका हातहरू (टेन्टेकल्स) दिनरात समाजको प्रत्येक कुना छाम्न तत्पर रहन्छ। यस्तो परिस्थितिमा बौद्धिक क्रियाकलाप या बौद्धिक आवाजहरू कति असहाय हुन्छन् भन्ने कुरा हामीले पनि भोगेको यथार्थ हो।

नाईजेरियन उपन्यासकार चिमामिन्डा अडिचीले एउटा पोडकास्टमा ‘एउटै मात्र कथाको खतरा...’बारे खुबै सरलतासित चर्चा गरेकी छिन्। (द डेन्जर अफ् अ सिंगल स्टोरी।)

युरोपियन उपनिवेशवादी लेखकहरूले गोर्खालाई संसारभरी बहादुर भनेर प्रसिद्धि दिलाए। संसारभर कब्जा गर्ने उनीहरूको उद्देश्य थियो अनि गोर्खालाई बलिको बोका बनाउनु थियो। अरू त अरू फिल्ड मार्सल ‘मानिक स’ समेतले भने- ‘‘यदि कसैले मलाई डर लाग्दैन भन्छ भने कि चाहिँ उसले झुट बोल्दै छ कि चाहिँ उ गोर्खा हो...!’’  गोर्खाहरू खुसीले लगभग बेहोस भए। मानिक स लाई भगवानकै दर्जा दिए। तिनको कथनलाई वेदवाणी/देववाणी ठाने। लडाइँमा यस्तो बहादुरी देखाए कि सायद मरणोपरान्त पदक थाप्नेहरूको सुचीमा हामी नै बहुमत भयौँ। वीरताको त्यही एउटा प्रचारले सम्पूर्ण गोर्खाको अरू छवि विकास हुन दिएन। एउटै कथाभित्र हाम्रो परिभाषा कैद भयो। गोर्खा डाक्टर, वैज्ञानिक, कम्प्युटर इन्जिनियर, प्रोफेसर, संगीतकार, गायक, कवि, लेखक, खेलाडी.....अरू पनि के के हो के के....सबै बहादुरीको प्रचारको सिकार भए।

राजनीतिमा एकातिर योग्यतालाई दबाउने काम हुन्छ भने आवश्यकता र परिस्थितिअनुसार त्यसैलाई हतियारको रूपमा प्रयोग पनि गरिन्छ। एकपल्ट पीभी नरसिंह रावको सरकार (भारतमा) हुँदा अटल बिहारी बाजपाई प्रतिपक्षका नेता थिए, तर संयुक्त राष्ट्रमा भारतको पक्ष राख्न तिनलाई काँग्रेस सरकारले जेनेभा पठाएको थियो। लगभग त्यस्तै परिस्थिति पहलगाम घटनापछि अपरेसन सिन्दूरको कारण आज देशमा छ अनि भाजपा सरकारले काँग्रेस सांसद शशी थरुरलाई विभिन्न राष्ट्रको भ्रमण गरी घटनाको यथार्थ प्रचार गर्ने टोलीको नाइके बनाएर पठाएको छ। तिनै थरुरविरुद्ध एक समय मोदीले ‘७० करोड खर्च गरेर गर्लफ्रेन्ड राख्ने’ व्यक्तिको रूपमा खिसी गर्दै खिल्ली उडाएका थिए।

भारतका प्रधानमन्त्रीहरूमध्ये सबैभन्दा धेर विदेश यात्रा गर्ने प्रधानमन्त्रीको सुचीमा प्रधानमन्त्री मोदीको नाम १ नम्बरमा होला। संसारको पाँचै वटा महादेशमा भ्रमण गर्ने अनि त्यहाँका राष्ट्र प्रमुखहरूलाई ‘माइ फ्रेन्ड’ भनी सम्बोधन गर्ने मोदीलाई अपरेसन सिन्दूरको समर्थन कतैबाट पनि आएन। आज हामीले जे गर्‍यौँ ठीक गर्‍यौँ भनेर प्रचार गर्न टोलीहरू विभिन्न देशतिर गइरहेछन्। आँखाअघि इजरायल छ, जसलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्ले युद्ध अपराधी घोषित गरेको छ तर इजरायलले कसैलाई टेरेको छैन। उल्टै संयुक्त राष्ट्रसंघका महासचिवलाई आफ्नो देश इजरायल भ्रमणको अनुमति दिन अस्वीकार गरे त्यहाँ प्रधानमन्त्री नेतान्याहुले। गाजामा मर्नेहरूको संख्या लाख नाघिसक्यो तर नेतान्याहुले टेरपुच्छर लगाएको छैनन्। हामीलाई नै चाहिँ किन प्रचारको दरकार....?

पहलगाम घटना पछिका घटना सबै शंकाको घेराभित्र छन्। प्रश्नहरूको लस्कर छ। उत्तर दिनु पर्नेहरू मौन साधना गरेर बसेका छन्। सामाजिक सञ्जालमा सिपाहीदेखि राजनेताहरू यो घटना पनि यही वर्षको बिहार चुनाव साथै आगामी २०२६ मा हुने बंगालको चुनावलाई ध्यानमा राखेर स्वयं भाजपा सरकारले गराएको हो भन्दैछन्।  २०१६ को उरीको आक्रमणदेखि २०१९ को पुलवामासम्मै चुनावको मुखमा गराइएको विवरण प्रकाशमा ल्याइरहेछन्। सधैँ सुरक्षाको तीन वटा घेरो तैनाथ रहने पहलगाममा त्यस दिन किन एउटै घेरो पनि थिएन भन्ने प्रश्नको उत्तर दिनुपर्ने प्रधानमन्त्री, गृहमन्त्री अनि रक्षामन्त्रीहरू बिहारको चुनावीसभाबाट पाकिस्तानलाई चुनौती दिनमा व्यस्त छन्।

देशलाई संकटको संघारमा पुर्‍याउनेहरू नै ‘यो संकटको घडीमा कुनै प्रकारको प्रश्न सरकारलाई सोध्नु हुँदैन...’ भन्दै सचेत जन अनि प्रश्न उठाउनेहरूलाई धम्क्याउँदै छन्, जेल हाल्दैछन्। भाजपा सरकार सत्तामा आएदेखि जति पनि आतंकवादी घटना भए, त्यसमा आतंकवादीहरू एउटै पनि पक्राउ परेनन्। यो संयोग हो कि प्रयोग? भारतीय संविधानको धारा १९ (१) क, अभिव्यक्तिको स्वाधीनताको कुरा गर्छ, जुन व्यक्तिको मौलिक अधिकार पनि हो, तर नेहा राठौरझैँ एक साधारण युट्युबरलाई पहलगामसम्बन्धी तिनले बनाएको एउटा भिडियो पाकिस्तानमा धेरै लोकप्रिय भएको दोष लगाई तिनीविरुद्ध थानामा एफआइआर (प्राथमिकी) दर्ता गरियो। धन्न! भारतका न्यायालयहरूमा सबै न्यायाधीशहरू गोगोइ र मजुमदारझैँ नभएको कारण न्यायाधीशले उक्त भिडियोमा आपत्तिजनक क्यै नभएको घोषणा गर्दै प्राथमिकी नै खारेज गरिदिए।

अर्कातिर प्रधानमन्त्री मोदी कहिल्यै प्रेसका अघि पर्दैनन्। प्रतिपक्ष सदनको पहलगामसम्बन्धी विशेष सत्र बोलाउन चाहन्छ, तर मोदी चुनाव प्रचारमै मस्त छन्। अपरेसन सिन्दूरको कथा पनि त बाक्लो तुवाँलोले ढाकिएको देखिन्छ। पाकिस्तानमा आतंकवादीहरूको अड्डामा भारतद्वारा हमला गर्नुअघि भारत सरकारले पाकिस्तानलाई जानकारी गराएको कुरा विदेशमन्त्री जयशंकर गर्छन्। होइन, यो कस्तो आक्रमण थियो? खबर दिएर पनि आक्रमण गरिन्छ र? त्यस्तो आक्रमण कहिल्यै सफल हुन्छ र...? कि पाकिस्तानका आतंकवादीहरू सूचना पाएर आफ्नै अड्डामा भारतको बमको स्वागतमा बसेका थिए? (भारत सरकारले त पाकिस्तानी सरकारलाई नै आतंकवादी गतिविधि सञ्चालन गरेको आरोप जो लगाउँछ।) उता पाकिस्तानी समाचार पत्रहरूमा पाकिस्तानका प्रधानमन्त्री शाहवाज पनि देशवासीलाई युद्ध जितेकोमा बधाई दिइरहेछन्। अर्थात्, पहलगामको कारण भारत-पाकिस्तानमाझ भएको लडाइँमा भारतमा भारतले जितेको देखिन्छ अनि पाकिस्तानमा पाकिस्तानले। यसबाट के पनि शंका उत्पन्न हुन्छ भने पहलगाम काण्ड कतै भारत अनि पाकिस्तान दुवै देशको राजनीतिको निम्ति आवश्यक भएको कारण संयुक्त प्रयासमा प्रायोजित घटना त होइन?

अर्कोतिर अमेरिकी राष्ट्रपति ट्रम्पले युद्धविरामबारे भारत र पाकिस्तानका राष्ट्र प्रमुखहरूले प्रेससमक्ष कुरा सार्वजनिक गर्नुअघि नै एक पत्रकार सम्मेलनमा खुलासा गरे अनि भने,

‘‘मैले दुवै देशका प्रमुखहरूलाई भनेँ-लडाईं गर्ने कि व्यापार? लडाइँ गर्छौ भने म तिमीहरूसित व्यापार बन्द गर्छु....अनि दुवै जना युद्ध रोक्न राजी भए।’’

त्यति मात्र भनेर ट्रम्प चुप लागेनन्। आफैलाई स्याबासी दिएझैँ तिनले थपे, ‘‘व्यापारलाई मैले जसरी प्रयोग गरेँ, अन्य कसैले गरेको छैन।’’

ट्रम्पको यस्तो खुलासाले अर्को बहस राष्ट्रिय मञ्चमा छेडियो, ‘‘उसो भए राष्ट्रको सम्मानलाई मोदीले व्यापारको निम्ति बन्धक राखेको हो? के यो देशको अपमान होइन? भारत ट्रम्पको नियन्त्रणमा छ कि मोदीको? १४० करोड जनसंख्या भएको हाम्रो देश संसारकै निम्ति ठुलो बजार हो अनि कुनै पनि देशले हामीसित दुस्मनी देखाउने साहस गर्न सक्दैन। अमेरिकाको एउटै एप्पल फोन भारतले बहिष्कार गरे अमेरिकाको अर्थ व्यवस्थामा ठुलै धक्का पार्न सक्छ भने बार्गेन गर्ने क्षमता त हामीसित छ....तब मोदीले किन आत्मसमर्पण गरे त...?  कि अमेरिकी न्यायालयमा अदानीविरुद्धको मामला साम्य गर्न मोदीले देशको स्वाभिमान नै बेचिदिए त....के देशको हितभन्दा तिनको निम्ति अदानीको हित सर्वोपरि छ? नरेन्द्र मोदी अब सरेन्डर मोदी भएका हुन्?

विगतमा भएको दिल्लीको चुनावमा भाजपाले थुप्रै आश्वासन दिएको थियो। महिलाहरूले २ हजार ५०० रुपियाँ पाउने वाला थिए। त्यही एउटा घोषणाको कारण आम आदमी पार्टीले गरेको सबै राम्रा काम दिल्लीवासीले भुले। भर्खरै सरोजिनी नगरबाट बाटो छेउका दोकानहरू हटाइयो। सञ्चार माध्यमसामु पीडितहरूले गुनासो पोखे-

‘‘यो सबै हामीलाई केजरीवाललाई हराएको पाप लागेको हो। अहिले घरीघरी लोड सेडिङ हुन्छ, स्कुलमा फीस बडेको छ, मुल्ला क्लिनिकहरू बन्द छन्, हामीले केजरीवाललाई धोका दिएको पाप लागेको हो....!’’

मलाई अचम्म लाग्यो। दिल्ली र दार्जिलिङ दुवै तिरका मानिस एकै प्रकारका रहेछन्.....आसे! अनि आश्वासन पनि एउटै पूरा भएको भए पनि पत्याउनु...न त २ करोड नोकरी भयो न त १५ लाख रुपियाँ खातामा आयो। न त कालो धन विदेशबाट फर्क्यो न त धारा ३७० हटाएको कारण आतंकवादको अन्त भयो। वास्तवमा धारा ३७० हटेपछि आतंकवादी हमला बढेको हिसाब देशका वरिष्ठ वकिल कपिल सिब्बलले भूतपूर्व भाजपा मन्त्री यशवन्त सिन्हासित लिएको भर्खरैको अन्तरवार्तामा बताउँदै थिए। न त पेट्रोल, डीजल र ग्यासको दाम घट्यो न त बजारमा महँगी। यसबीच भारतले जापानलाई जितेर संसारमा चौथो अर्थतन्त्र भएको कुरा पनि रिजर्भ ब्याङ्कका प्रमुखले घोषणा गरे। यी घोषणाहरूको यथार्थ के हो? भारत चौथो अर्थतन्त्र हो भने किन ८० करोड जनतालाई गरिबीको रेखा मुन्तिर देखाएर सित्तैमा रासन दिने काम भइरहेछ त...? विदेश मन्त्रालय अनि वित्त मन्त्रालय सम्हालेका नेता यशवन्त सिन्हाले कपिल सिब्बललाई अन्तरवार्तामा भने-

‘‘मुझे ये नयाँ नहीँ पुराने हिन्दुस्तान चाहिए...! मोदीको झुट बोलना बन्द करना चाहिए।’’

यता दार्जिलिङमा साथीहरू गोर्खाल्यान्डको आसामा अझै पनि ‘‘मोदी है तो मुमकीन है..’’ कै पछि छन्।

अनि प्राय जनसभाहरूमा सुनिन्छ, मोदीले २०१४ मा सुकुनामा दिएको भाषणको त्यो अंश, ‘‘गोर्खाओँका सपना मेरा सपना...!!’’