न्यूक्यासल विश्वविद्यालयका वैज्ञानिकले समुद्री तातो पानीमा बाँच्न शरीर नै खुम्च्याउन सिकेको माछाबारे गरेको अनुसन्धानको निचोडले देखाउँछ– जलवायु परिवर्तनका असरसँग जुध्न जीवजन्तुले नै स्वउपाय खोज्दै छन्।
काठमाडौँ– सिनेमा जगत्मा एउटा चर्चित नाम छ, ‘फाइन्डिङ निमो’।
सन् २००३ मा रिलिज भएको यो सिनेमा त्यतिबेला सबैभन्दा धेरै कमाउने सूचीमा परेको थियो। ‘फाइन्डिङ निमो’ खासमा एनिमेटेड सिनेमा हो। पहिलो पटक थिएटरमा प्रदर्शन हुँदा यसले करिब ९०० मिलियन अमेरिकी डलर कमाइ गरेको थियो। सिनेमाले थुप्रै अवार्ड पनि जित्यो। सन् २००८ मा ‘अमेरिकन फिल्म इन्स्टिच्युट’ले यसलाई अमेरिकाका उत्कृष्ट फिल्मको सूचीमै राख्यो।
द इन्डिपेन्डेन्टले सन् २०१६ मा ‘फाइन्डिङ निमो’का निर्देशक एन्ड्रयू स्ट्यान्टनलाई सबै उमेरका मानिसले यो सिनेमा मन पराउनुको कारण के हो भनेर सोधेको थियो। त्यसमा स्ट्यान्टनको जवाफ थियो, “मलाई लाग्छ, मैले कहिले पनि यसको कारण थाहा पाउने छैन।... अहिले एउटा यस्तो पुस्ता छ जसलाई फाइन्डिङ निमो आफ्नो चलचित्र हो भन्ने लाग्छ। यो उनीहरूको बाल्यकालको मिठो सम्झना बनेको छ।”
नेपालमा पनि फाइन्डिङ निमोका दर्शक प्रशस्त भेटिन्छन्। खासमा यो ‘निमो’ नामको एक माछाको कथामा आधारित सिनेमा हो। सिनेमाको कथाअनुसार निमो एक दिन विशाल समुद्रमा हराउँछ। आफ्नो सन्तान बेपत्ता भएपछि बुबा मर्लिन चिन्तित हुन्छ र उसलाई खोज्न समुद्रमा यताउता भौँतारिन्छ। बाटोमा उसले ‘डोरी’ नाम गरेको एक माछा भेट्छ। उनीहरू साथी बन्छन् र निमोलाई खोज्न निस्कन्छन्। त्यो अपार समुद्रमा उनीहरूले असाध्यै कष्टकर यात्रा गर्छन्। आफ्नो प्रिय बेपत्ता सन्तानलाई भेट्ने आसमा मर्लिन समुद्रको कुनाकुना पुग्छ।

सिंगो सिनेमा घुमेको पात्र अर्थात् निमोको रूप–रङ जस्तो छ, ठ्याक्कै त्यस्तै माछा समुद्रमा पाइन्छ। त्यो माछा हो– क्लाउनफिस। ‘क्लाउनफिस’लाई अरू माछासँग तुलना गर्दा त्यति राम्रो पौडीबाज मानिँदैन। यो माछा सामान्यतः एनिमोन (समुद्रमा पाइने एक विशेषखाले फूल) मा लुकेर बस्छ। सुन्तला रङको यो फुल सिनेमामा पनि देख्न सकिन्छ। भाले क्लाउनफिस आफ्ना बच्चाप्रति बढी नै संवेदनशील हुन्छन्। बच्चाको रेखदेख गर्ने, पोथीका निम्ति गुँड बनाउने र त्यसलाई सफासुग्घर राख्ने, अण्डाको सुरक्षा गर्ने जिम्मेवारी भालेकै हुन्छ।
अहिलेसम्म करिब ३० प्रकारका क्लाउनफिस पत्ता लागेका छन् जसमध्ये ‘एम्फिप्रियन ओसेलारिस’ सबैभन्दा प्रसिद्ध छ। सिनेमामा देखाइएको निमो पनि यही प्रजातिको हो। यी माछा अरूभन्दा साना हुन्छन्। यिनीहरूको शरीरको लम्बाई करिब दुईदेखि पाँच इन्चसम्म हुन्छ। सेतो धर्का भएको चम्किलो सुन्तला रङको शरीर भएकाले सजिलै चिनिन्छन्।
यही क्लाउनफिसमाथि भर्खरै एउटा विस्तृत अनुसन्धान भएको छ। अनुसन्धानले यो माछाले जलवायु परिवर्तनका कारण तातो हुन थालेको समुद्री पानीमा बाँच्नका लागि केही अचम्मलाग्दो काम गर्ने गरेको पत्ता लगाएको छ। अनुसन्धानबाट प्राप्त नतिजाअनुसार सामुद्रिक गर्मीमा अनुकूल हुन क्लाउनफिसले आफ्नो शरीरलाई नै खुम्च्याएर सानो बनाउँछ। जस्तो, २०२३ मा समुद्रको तापक्रम बढ्दा क्लाउनफिसको शरीर नाटकीय रूपमा घटेको भेटियो।

गर्मीयाममा यो माछा नाटकीय रूपमा साना र छोटा भएका फेला परे। वैज्ञानिकहरूको निष्कर्ष छ– त्यसो नगरेको भए जलवायु परिवर्तनका कारण समुद्री पानीको तापक्रम बढ्दा उनीहरूको ज्यान जान सक्थ्यो।
बेलायतस्थित न्यूक्यासल विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले क्लाउनफिसमाथि गरेको अनुसन्धानबाट तयार रिपोर्टमा उल्लेख छ, “एनिमोनफिस धेरै तातो पानीमा खुम्चिन्छ। खुम्चिने माछाहरू पछि पुनः बढ्ने (फैलिने) गर्छन्।”
वैज्ञानिकहरूले पपुवा न्यू गिनीको संरक्षण केन्द्रमा १३४ वटा क्लाउनफिसमाथि यो अनुसन्धान गरेका थिए। क्लाउनफिस पक्रिएर अध्ययन गर्न न्युक्यासल विश्वविद्यालयका वैज्ञानिकलाई सजिलो यसकारण पनि थियो कि यो माछा अरू जस्तो रफ्तारमा भाग्न जान्दैन। उनीहरूले सन् २०२३ मा समुद्री गर्मीको लहरको समयमा पाँच महिनासम्म माछाको अवलोकन गरेको विश्वविद्यालयले उल्लेख गरेको छ।
अनुसन्धानका क्रममा प्रत्येक महिना प्रत्येक माछाको लम्बाइ मापन गरिएको थियो। साथै प्रत्येक ४–६ दिनमा पानीको तापक्रम पनि लिइएको थियो। फेब्रुअरी र अगस्टको बीचमा, नियमित अध्ययनकै क्रममा मासिक जाँच गर्दा चारमध्ये लगभग तीन वयस्क क्लाउनफिस कम्तीमा एक पटक घटेर साना भएका थिए। त्यसरी खुम्चिएका माछामा गर्मीको लहरबाट बच्ने सम्भावना उच्च भेटियो।

अनुसन्धान टोलीका एक सदस्य मेलिसा भस्र्टीगले सीएनएनसँग भनेकी छिन्, “आफूहरूमाथि आइपरेको वातावरणीय संकट चिर्न उनीहरूले बलियो क्षमता प्रदर्शन गरेको देखियो।”
‘साइन्स एड्भान्सेस’मा प्रकाशित यो अनुसन्धानको रिपोर्टअनुसार अध्ययन गरिएका १३४ क्लाउनफिसमध्ये १०० वटा छोटो भएका थिए। त्यसले उनीहरूमा गर्मीको असरबाट बच्ने सम्भावना ७८ प्रतिशतसम्मले बढाएको थियो।
अनुसन्धानमा सहयोग गरेकी समुद्री इकोलोजिस्ट थेरेसा रुएगरले वासिङ्टन पोस्टसँगको कुराकानीमा शरीरको खुम्चाइले क्लाउनफिसलाई किन र कसरी मद्दत गर्छ भन्नेचाहिँ स्पष्ट नभएको बताएकी छिन्। उनको भनाइ छ, “यो अलिक अचम्म लाग्ने कुरा छ। सामान्यतया हामी ठूलो हुनु राम्रो हो भन्छौँ। तर एउटा कारण, साना माछालाई आफ्नो शरीरमा पर्याप्त अक्सिजन राख्न सजिलो हुन्छ होला।”
अनुसन्धान टोलीले क्लाउनफिसको खुम्चाइलाई प्रजननसँग पनि जोडेर अध्ययन गरेको थियो। जसअनुसार प्रजनन साझेदार (भाले र पोथी) सँगसँगै खुम्चिने क्लाउनफिस लामो समय बाँच्ने सम्भावना रहेको पाइयो। यसको कारण हो– भाले र पोथीबीचको शक्ति सन्तुलन। क्लाउनफिसमा भालेभन्दा पोथी ठूलो र बढी प्रभावशाली हुन्छ। सीएनएनले लेखेको छ, “यदि पोथी खुम्चिन थाल्यो भने भाले पनि खुम्चिन थाल्छ। यसले झगडाबाट बच्न मद्दत गर्छ, किनकि भाले सधैँ पोथीसँगको द्वन्द्वमा हार्छ।”
क्लाउनफिस विशेष तरिकाले आफ्नो वृद्धि नियन्त्रण गर्न सिपालु माछा मानिन्छ। जब ठूलो र प्रभावशाली रहेको पोथी मर्छ, त्यहाँको सबैभन्दा ठूलो भाले पोथीमा परिणत हुन्छ। त्यसपछि सबैभन्दा ठूलो भाले उसको नयाँ साथी बन्छ।

क्लाउनफिसमा हुने भाले र पोथीको यस्तो सम्बन्ध नयाँ सूचना होइन। तर गर्मीमा उसले आफ्नो ज्यानलाई घटाएको विषयचाहिँ नयाँ हो। न्यूक्यासल विश्वविद्यालयले आफ्नो वेबसाइटमा लेखेको छ, “वैज्ञानिकहरूले कोरल रिफ माछा गर्मीको तनावका कारण खुम्चिएको पहिलो पटक देखेका हुन्। खुम्चिनुको अर्थ केवल पातलो हुनु मात्र होइन, यसको लम्बाइसमेत छोटो हुनु हो।”
समुद्रमा क्लाउनफिस मात्र छोटो र सानो भएको होइन। लामो समयदेखि गरिएका अन्य अध्ययनले पनि विश्वभरका धेरै समुद्री माछा औसतमा साना हुँदै गइरहेको देखाउँछन्। आर्कटिक सर्कलनजिकको साल्मन माछा र एट्लान्टिकको स्केट माछा पनि सानो हुँदै गइरहेको छ। सन् २०२३ मा गरिएको एक अध्ययनले सन् १९६० देखि २०२० सम्ममा तीन चौथाइ समुद्री माछाको शरीरको आकार घटेको बताएको थियो। ‘साइन्स’मा प्रकाशित रिपोर्टमा भनिएको छ, “हामीले विशेषगरी माछाको आकार समयसँगै घट्दै गएको देख्यौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
