आफ्नो मृत्युबारे आजै तयारी गर्ने कि!

गुन्द्रुकको झोल, सेलरोटी या ढिँडो चाख्दै, आफ्नै जन्मस्थानका बतास र बाल्यकालका सम्झनासँगै, नातिनातिनासँग रमाउँदै जीवनका अन्तिम दिन बिताउन सम्भव छ। 

हरिरामले ७५ वर्षको उमेर पुग्दासम्म  कहिल्यै आफ्नो अन्तिम दिनहरूबारे सोचेनन्। गाउँमा जन्मेका उनी, जीवनमा जस्तासुकै समय आए, त्यसलाई त्यही रूपमा बहन गर्ने उनको स्वभाव थियो। 'जे आउँछ, त्यही सहुँला' भन्ने उनी, अस्पतालको ओछ्यानमा अचेत परेपछि भने आफ्ना सन्तानलाई गम्भीर द्विविधामा छाडेर गए। उनलाई अचानक गम्भीर रोग लागेपछि भेन्टिलेटरमा राख्ने कि शान्तिपूर्वक बिदा दिनेबारे परिवारभित्र मतभेद भयो, तर अन्तिम निर्णय कसैले लिन सकेन। अन्ततः अस्पतालले उनलाई मेसिनहरूको भरमा जीवित राख्यो। दिनदिनै छोराछोरी आएर उनको छेउमा उभिए, तर कुनै निष्कर्षमा पुग्न सकेनन्। एक बिहान मेसिनले अलर्ट दियो– उनको मुटु बन्द भयो। अन्तिम क्षणहरू उनले अरूकै हातमा बिताए। प्रियजनको हात समातेर जीवन बिताउने अवसर उनलाई जुटेन।

६५ वर्षीया सरस्वतीले भने आफ्ना अन्तिम दिनहरूबारे पहिले नै सोचिसकेकी थिइन्। जब डाक्टरले उनको मिर्गौला फेल भएको खबर दिए, उनले जीवनको अन्तिम अध्याय योजनाबद्ध बनाउन थालिन्। "म अस्पतालको ओछ्यानमा यन्त्रहरूमा बाँधिएर मर्न चाहन्नँ। आफ्ना नातिनातिनासँग हाँसेर, आफ्नै घरको बगैँचाको फूलबारीको सुवास लिँदै, नातिनातिनाहरू हेर्दै र भजन सुन्दै बिदा लिन चाहन्छु।" उनले परिवारलाई खुलेर आफ्नो इच्छा सुनाइन्। शुरूमा परिवारले यस्तो कुरा नगरौँ भनेर उनको कुरा टार्न खोजे, तर उनले आफ्नो चाहना सुनिश्चित गर्न 'पाँच इच्छा’ (फाइब विशेष) भरेर छोराछोरीलाई दिइन्। त्यहाँ जीवनका अन्तिम क्षणमा केके गर्ने भन्ने महत्त्वपूर्ण कुरा थियो।

अन्तिम समय आयो। उनी आफ्नै ओछ्यानमा पल्टिरहेकी थिइन्। छोरीले कपाल सुमसुम्याउँदै थिइन्, नातिनीले गितारको मीठो धुनमा भजन गाइरहेकी थिई। कोठाभरि अस्पतालको औषधिको चिसो गन्ध होइन, चमेलीको सुवास फैलिएको थियो। सरस्वतीले बिस्तारै आँखाभरि माया पोखेझैँ परिवारलाई हेरिन्। छोराको हात समाउँदै बिस्तारै भनिन्, "म ढुक्क छु, अब जाने बेला भयो।" परिवारका सबैका आँखा रसाए, तर बिदा गर्नेहरूको मन हलुका थियो, किनभने उनले आफूले चाहेजसरी बिदा लिन पाइन्।

हाम्रो समाजमा मृत्युबारे खुलेर कुरा गरिँदैन। गम्भीर रोग लागेका कतिपय बिरामीलाई त के भइरहेछ भन्ने समेत थाहा हुँदैन। डाक्टरसँग परिवारले मात्र छलफल गर्छ, "बिरामीले  थाहा पाए पिर लिन्छन्" भन्ने सोच राखेर। बिरामीले के चाहन्छ भन्नेबारे थाहा नहुँदा परिवारलाई निर्णय गर्न कठिन हुन्छ- उपचार गर्ने कि नगर्ने? गरे के गर्ने? उपचार गर्दागर्दै ठिक नभए कहिलेदेखि बाटो फेर्ने? यस्ता यावत् प्रश्न मनमा उठ्नु स्वाभाविक हो| चिकित्सकहरूलाई पनि कहिलेकाहीँ बिरामीको अन्त्य नजिकिएको कुरा भन्न गाह्रो लाग्छ।

यसै कारण, अन्तिम समयसम्म अनावश्यक उपचारको दौडधुप चलिरहन्छ, जसले बिरामीको जीवन सहज बनाउनुको सट्टा झन् कष्टकर बनाइदिन्छ। जसरी जन्म निश्चित छ, त्यसैगरी मृत्यु पनि अवश्यम्भावी छ। तर अन्तिम दिनहरू अस्पतालका पर्खालभित्र, यन्त्रहरूमा बाँधिएर बिताउने कि आफ्ना प्रियजनको हात समाउँदै, आफ्नै घरको कोठा-आँगनमा प्रियजनको रेखदेख र आसपास बिताउने यो निर्णय हाम्रै हुनुपर्छ।

यदि हामीले पहिल्यै आफ्नो इच्छा व्यक्त गर्‍यौँ भने परिवारले अपराधबोध महसुस गर्नुपर्दैन। यो निर्णय कुनै पनि वयस्क मानिसले जति बेला पनि गर्न सक्छ। न बुढ्यौली कुर्नुपर्छ, न गम्भीर रोग पर्खिनुपर्छ। किनकि, कसैले बोलाएर मृत्यु आउने होइन। त्यसो हुँदा, कानूनी रूपमै मृत्यु इच्छा जनाउन सके झनै राम्रो। पश्चिमी देशहरूमा एड्भान्स डाइरेक्टिभ्स (अग्रिम निर्देशन) र लिभिङ विल (इच्छापत्र) जस्ता योजनाहरू लोकप्रिय छन्। विभिन्न  रिपोर्टका अनुसार अनुसार अमेरिकाको करिब ४० प्रतिशत जनसंख्याले एड्भान्स डाइरेक्टिभ्स पूरा गर्छन्, जसमा ३० प्रतिशतले इच्छापत्र तयार गरेको देखिन्छ। यस्तै दर दीर्घकालीन रोगीहरू (३८.२ प्रतिशत) र स्वस्थ वयस्कहरू (३२.७ प्रतिशत) मा पनि देखिन्छ।

त्यस्तै, जीवनको अन्तिम चरणमा बिरामीको उपचारभन्दा पनि बाँकी समय सहज बनाउनेमा हस्पिस केयर (एक विशेष प्रकारको स्वास्थ्य सेवा हो, जुन सामान्यतया गम्भीर र उपचार सम्भव नहुने रोगबाट ग्रसित व्यक्तिहरूलाई प्रदान गरिन्छ। यो सेवाको मुख्य उद्देश्य रोगको उपचारभन्दा बिरामीको जीवनको गुणस्तर सुधार गर्नु, शारीरिक, भावनात्मक, र आध्यात्मिक सहायता प्रदान गर्नु हो) ले महत्त्वपूर्ण भूमिका खेल्छ। यसले बिरामीलाई मात्र होइन, परिवारलाई पनि भावनात्मक सहारा प्रदान गर्छ। अमेरिकालगायत देशमा लोकप्रिय यो सेवाअन्तर्गत, अमेरिकामा सन् २०२२ मा करिब १६ लाख बिरामीले हस्पिस हेरचाह प्राप्त गरे। सन् १९८३ मा मेडिकेयर हस्पिस लाभ शुरू भएयता, यसको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ, र हरेक वर्ष वृद्धिको दर निरन्तर जारी छ।

प्राय: सबै मानिस अस्पतालको चिसो कोठाभन्दा आफ्नै घरको न्यानोपनमा, प्रियजनहरूको साथ अन्तिम बिदा लिन चाहन्छन्। यस्तो तयारीले परिवारलाई छिटै बित्ने आफन्तसँग निकट रहने र भोलिका लागि सम्झनाको अवसर दिन्छ। त्यसो हुँदाहुँदै पनि हामी भने अझै पनि "जे आउँछ, त्यही सहुँला" भन्दै मृत्युबारे कुरा गर्न हिच्किचाउँछौँ। जसले गर्दा अन्तिम समयमा निर्णय लिनुपर्ने जिम्मेवारी परिवारमाथि आउँछ। "अब के गर्ने?" भन्ने प्रश्नले उनीहरूलाई रातभर निदाउन दिँदैन| कति पटक परिवारका सदस्य आँखाभरि आँसु लिएर एक अर्कालाई हेरिरहन्छन्– तर बोल्न सक्दैनन्।

बचपनका स्वादहरू, आफ्नै ठाउँका सुवासहरू, प्रियजनको हाँसोसँगै जीवनबाट बिदा लिन सकिन्छ भनेर हामी किन सोच्न सक्दैनौँ? गुन्द्रुकको झोल, सेलरोटी, ढिँडो चाख्दै, फेवातालको बतास, काठमाडौँका गल्ली, बाल्यकालका सम्झनासँगै, नातिनातिनासँग रमाउँदै, तुलसीको बास्नामा श्वास फेर्दै अन्तिम दिनहरू बिताउन सम्भव छ। 

यदि तपाईंले पहिल्यै आफ्नो इच्छा स्पष्ट गर्नुभयो भने, उनीहरूलाई तपाईंको मृत्यु अवस्थालाई लिएर कमसेकम अपराधबोध हुँदैन। तपाईंको शब्दहरू नै उनीहरूको मार्गदर्शन बन्छ। "बुबाले भनेकै यही हो। आमाले चाहनुभएको यही थियो।"

मृत्यु स्वाभाविक छ, तर कसरी अन्तिम बिदा लिने भन्ने निर्णय हाम्रै हातमा हुनुपर्छ।  हामीले जीवनभर अरूका लागि योजना बनायौँ– सन्तान, करियर र घर। तर, के हामीले आफ्नै अन्तिम दिनको योजना बनाएका छौँ? यदि छैन भने अब सोच्ने बेला आएको छ। एड्भान्स डाइरेक्टिभ्स र लिभिङ विलजस्ता कागजात तयार गरेर हामी त्यसमा आफ्ना अन्तिम इच्छाहरू खुला रूपमा लेख्न सक्छौं; कस्तो उपचार चाहिन्छ वा चाहिँदैन?, भेन्टिलेटरमा राख्ने कि नराख्ने? मुटु बन्द भए सीपीआर गर्ने कि नगर्ने?, कोही अरू तपाईंको तर्फबाट निर्णय गर्न सक्छ कि सक्दैन?

यी प्रश्नहरूको उत्तर यदि पहिल्यै दिइयो भने अन्तिम समयमा परिवार र प्रियजन अन्योलमा रहनु पर्दैन। यसबाहेक, ‘पाँच इच्छा’ (फाइब विशेष) भन्ने दस्ताबेजमार्फत शारीरिक उपचार मात्र होइन, अन्य  चाहना पनि उल्लेख गर्न सकिन्छ।तपाईंको तर्फबाट निर्णय लिने व्यक्ति छोराछोरी, बुहारी वा नातिनीमध्ये को हो?, तपाईंलाई कस्तो उपचार आवश्यक छ वा छैन? क्यान्सरजस्तो रोगमा किमो लिने वा नलिने? अन्तिम समयमा कस्तो वातावरणमा रहन चाहनुहुन्छ? गाउँ जान मन छ या तपाईंका प्रियजनहरूले तपाईंको कुनै कुरा जानुन् भन्ने चाहनुहुन्छ? केही विशेष कुरा भन्न बाँकी छ?

यदि हामीले यीलगायत आफ्ना इच्छा खुला रूपमा अभिव्यक्त गर्‍यौँ भने हाम्रो बिदाइ सहज र सम्मानजनक हुन्छ। यो निर्णय आज नगरे, भोली अरूले गर्नेछन्। त्यसबेला उनीहरूलाई तपाईंको अन्तिम इच्छा के थियो भनेर कसरी थाहा हुन सक्ला र?

(लेखक चिकित्सक हुन्।)