धर्मको नाममा मानवता बरबाद भएको इजरायल-प्यालेस्टाइन द्वन्द्व

खासमा यो लडाइँ जमिनभन्दा पनि बढी धार्मिक वर्चस्वको लडाइँ हो। विदेशी शक्तिहरूले यस लडाइँमा हमेसा घिउ हाल्ने काम गरेका छन्।

प्यालेस्टाइन र इजरायलको सधैँको द्वन्द्व तथा संघर्ष र हाल भएको हमास र इजरायलबीचको युद्ध मूल रूपमा धर्म र संस्कृतिसँग जोडिएको छ। इजरायल र हमासबीच भएको युद्ध प्रतिशोधात्मक युद्ध मानिन्छ। सन् २०२३ अक्टोबर ७ मा हमासका सशस्त्र हतियारधारी जस्ताले करिब १२०० जना जति इजरायली नागरिकको हत्या गर्‍यो र २५० भन्दा बढी व्यक्तिलाई वन्दी बनाई गाजा लग्यो। त्यस यताको इजरायल र हमासको युद्धमा करिब ५० हजार प्यालेस्टाइनीले अहिलेसम्म ज्यान गुमाउनु परेको छ, जसमध्ये करिब २० हजार त बालबालिका मात्र छन्।

अरब जगतले प्रतिष्ठाको विषय बनाएको सो युद्धलाई इजरायलले प्रतिशोधात्मक बनायो। मध्यपूर्वमा आफ्नो अवस्था थप मजबुत बनाउन अमेरिकाले सदैव इजरायललाई सहयोग गरेको छ, जसको आडमा इजरायलले आफूलाई मध्यपूर्वको प्रभावशाली राज्य बनाएको छ। विश्वको एक मात्र महाशक्ति राष्ट्र अमेरिकाले अब गाजा क्षेत्रलाई पूर्ण रूपमा खाली बनाई त्यसको स्वामित्व आफू लिने र त्यसलाई पर्यटकीय नगरीको रूपमा विकाश गर्ने बताएको छ, मध्यपूर्वमा रहेका अरब देशहरूले सो प्रस्ताव स्विकार्न सकेको छैनन्। 

धर्मसँग जोडिएको युद्ध कसरी प्रतिशोधमा रूपान्तर भयो भन्ने बुझ्न इजरायलको इतिहास हेरौँ। इजरायल तथा कैयौँ अरब देशहरूबीच सिलसिलेवार रूपमा युद्ध भएको पाइन्छ। युद्धको जड धेरै नै पहिला रोपिएको थियो। इजरायली, मूलतः यहुदी र प्यालेस्टिनी-मुस्लिमबीच प्यालेस्टाइनको जमिन लिनेबारे नै युद्ध भएको देखिन्छ। खासमा यो लडाइँ जमिनभन्दा पनि बढी धार्मिक वर्चस्वको लडाइँ हो। विदेशी शक्तिहरूले यस लडाइँमा हमेसा घिउ हाल्ने काम गरेका छन्। मुस्लिम देशहरूको भनाई अनुसार जुन देशलाई आज इजरायल भनिन्छ, त्यो वास्तवमा प्यालेस्टाइनको जमिन हो। यहाँ आएका यहुदीले उक्त जमिन कब्जा गरी लिएका हुन्। फेरि यहुदीको भनाई भने ठिक विपरीत छ। उनीहरूका अनुसार उक्त भूमि परापूर्व कालदेखि आफ्नै रहेको र पछि विभिन्न कारणवश मुसलमानहरूले कब्जा गरी लिएका हुन्।  

निरन्तर अभ्यासमा रहेको जीवित धर्मको कुरा गर्ने हो भने हिन्दू धर्म पहिलो र यहुदी धर्म दोस्रो पुरानो हो। करिब ४००० सालयता यहुदी धर्म मानिँदै आएको हो। आज इजरायल र प्यालेस्टाइन रहेको ठाउँमा यहुदी धर्मको सुरुवात रहेको मानिन्छ। यहुदी धर्म पनि त्यही मूल धर्मबाट निस्केको हो, जहाँबाट इस्लाम र इसाई धर्म निस्किए। अव्राहम सम्प्रदायबाट नै उक्त धर्मको प्रादुर्भाव भएको पाइन्छ। हिब्रु बाइबलका अनुसार यहुदी तथा इसाई धर्म अव्राहमका पुत्र आइज्याक र इस्लाम धर्म अव्राहमका अर्का पुत्र ईस्माईलबाट भएको मानिन्छ। अव्राहमका नाति तथा आइज्याकका छोरा ज्याकवलाई हिब्रु देवताले इजरायलको नाम दिएकाले उनका सन्तान दर सन्तानलाई इजरायली मान्न थालियो। यहुदी सभ्यता र उक्त क्षेत्रको ऐतिहासिक उत्पत्तिको आधारमा वर्तमान इजरायलको उत्पत्ति १–२ सय वर्ष पुरानो नभई हजारौँ वर्ष अघिबाट भएको मान्न सकिन्छ। 

यहुदीको आबादी बिस्तारै बढ्दै जान थालेपछि यसको फैलावट विश्वभरि भएको पाइन्छ। यसको फैलावटमा यति बढोत्तरी भयो कि त्यसको असर मिश्र (हालको इजिप्ट) लाई पर्न गयो। जब निल नदीको आसपासको इलाकामा मिश्र देशको सभ्यताको विकाश हुँदै गएको थियो, उसै बेला मिश्रको राजा फराहालाई यहुदीहरूको फैलावटले चिन्तित बनाएको थियो। मिश्र सभ्यताका जनता र यहुदीको विचारधारा विल्कुल फरक थियो। मिश्रका बासिन्दाहरू एकभन्दा धेरै ईश्वरमा विश्वास गर्थे, तर यहुदीहरू ईश्वर एउटै मात्र र अमर हुने मान्थे।

बाइबलको ओल्ड टेस्टामेन्टका अनुसार आफ्नो साम्राज्यमा कुनै आँच आउन नदिन मिश्रका राजा फराहाले यहुदीहरूलाई बन्दी बनाए। करिब १२ औँ इशापूर्वमा पैगम्वर मुसाले सयौँ सालदेखि बन्दी भएका यहुदीहरूलाई मुक्त गराए। पैगम्वर मुसाको उक्त कार्यपश्चात् यहुदी सम्प्रदायमा उनको सम्मान हुन थालेको थियो। इशापूर्व ११०० सालतिर राजा डेभिडले इजरायलीमाथि शासन गरेको पाइन्छ। पछि उनका छोरा राजा सोलोमनले यहुदीहरूको लागि पहिले पवित्र मन्दिर बनाए। यो मन्दिर जेरुसेलममा बनाइएको थियो। यो उही ठाउँ थियो, जसलाई यहुदी-इसाई र मुसलमानहरू आफ्नो पवित्र ठाउँ मान्छन्। अहिले रहेका इजरायल र प्यालेस्टाइन दुवै देश जेरूसेलमलाई आफ्नो राजधानी बताउन चाहन्छन्। राजा सोलोमनले सबै जनतालाई एकजुट गराई 'युनाईटेड किङडम अफ इजरायल' बनाए। पछि आपसी मनमुटावबीच यहुदीहरू दुई हिस्सामा विभाजन भए। एकीकृत इजरायलको माथिल्लो हिस्सा 'किङडम अफ इजरायल' भयो भने तल्लो हिस्सा 'किंगडम अफ जुडा' रह्यो। 

करिब इशापूर्वमा ८०० तिर इराक इरान र सिरियामा असीरया साम्राज्यले यहुदीहरूमाथि हमला गरी किंगडम अफ ईजरायललाई ध्वस्त पार्‍यो। समय बदलियो, तर यहुदीबिरूद्ध हमला कहिले पनि रोकिएन। त्यसैलाई पच्छ्याउँदै  बेबिलोनको शासकले फेरी यहुदीहरूलाई आक्रमण गरी जेरुसेलम जितेको पाइन्छ। यस क्रममा जेरुसेलममा भएको मन्दिरहरू पनि ध्वस्त पारियो। हजारौँ इजरायलीलाई जबरजस्ती देश निकाला गरियो। पर्सिया र तुर्कले यहुदीहरूलाई राहत दिए, जबकि ग्रीक र रोमनले ठुलो क्षति पुर्‍याए।

यी सबै मिथकका कथा हुन्, जसलाई ऐतिहासिक रूपमा प्रमाणित गर्न सहज छैन। 

इस्वी संवत् ७० तिर भएको रोमको आक्रमण त अझ इजरायलको लागि बर्बर थियो। 'पवित्र जेरुसेलम'का पर्खालहरू नष्ट गरियो। हजारौँ इजरायलीहरू सो आक्रमणमा मारिए। जेरुसेलमलाई पूर्णतया कब्जा गरियो र यहुदीहरूलाई उक्त ठाउँमा जान इजाजत दिइएन। हजारौँ परिवारलाई दास बनाई रोम पठाइयो। कमजोर अवस्थामा सबैले फाइदा उठाउने भएकाले अब यहुदीहरूले पनि त्यसविरुद्ध विद्रोह सुरु गर्न थाले। त्यसपश्चात् इजरायलमा रब्बिनिक यहुदीवाद सुरु भएको पाइन्छ।

विद्रोहपश्चात् हजारौँ यहुदीहरू रोम छोडी युरोपको अन्य भागमा जान थाले। बिस्तारै यहुदीहरूको संख्या युरोपको पूर्वी र पश्चिमी भाग दुवैतर्फ बढ्न थाल्यो। रोम छोडिसकेपछि यहुदीहरू केही समय शान्तसँग युरोपका विभिन्न भागमा बसोबास गरेको पाइन्छ। यसै समयमा यहुदीको जनसंख्या तेज रूपले बढेको पनि पाइन्छ र सबै युरोपभरि फैलिएको देखिन्छ। अनेक कठिनाईबीच पनि ११ औँ शताब्दीसम्मलाई यहुदीहरूको स्वर्णकाल मानिन्छ। 

युरोपमा धर्मयुद्धको सुरु भएको थियो ११ औँ शताब्दीमा। इस्लाम धर्मको विस्तार र वर्चस्व बढिरहेको छ र आफ्ना धार्मिक स्थलमा इस्लामले कब्जा जमाइरहेको छ भन्ने लागेको थियो इसाई धर्मालम्वीहरूलाई। यता, इस्लाम धर्म अँगालेको राज्यहरू इस्लाम धर्मको पतन र यहुदीहरूको बढोत्तरीले डराइरहेका थिए। यसैको परिणामस्वरूप १०६६ मा स्पेनमा मुसलमान समुदायको एक भिडले हमला गरी हजारौँ यहुदी परिवारको निर्मम हत्या गरेको थियो। सन् १०९६ पश्चात् त युरोपमा यहुदीमाथि उत्पीडन सुरु हुन पुग्छ।

यस क्रममा यहुदीहरूलाई कि इसाई धर्म अँगाल्ने या मर्ने भन्दै दुई वटा विकल्प दिइयो। तत्पश्चात् युरोपमा यहुदीहरूको नरसंहार सुरु हुन्छ। अवस्था दिनानुदिन विकराल बन्दै जान्छ। फ्रान्स, स्पेनलगायत धेरै ठाउँबाट यहुदीलाई भगाउन सुरु गरिन्छ। सन् १४९२ मा त करिब २ लाख यहुदीहरूलाई स्पेनको सीमाबाट निष्कासन गरिन्छ। यस निष्कासनपश्चात् प्रायजसो यहुदीहरू पोर्चुगल निर्वासित हुन्छन् र १९ औँ शताब्दीमा उनीहरूलाई पोर्चुगलबाट पनि निर्वासन गराइन्छ। तत्पश्चात् यहुदीहरूले आफ्नो धर्ममा केही सुधार गरी आफूलाई केही मजबुत गर्ने कोसिस गरे। युरोपका केही ठाउँमा यहुदीहरू राजनीतिक तथा आर्थिक रूपमा मजबुत हुँदै थिए, तर जर्मनीका क्रूर तानाशाह एडोल्फ हिट्लरलाई सो कुरा मन परिरहेको थिएन। 

इतिहास मध्यकालबाट आधुनिक कालसम्म आइसकेको थियो, तर इजरायलीलाई सुनियोजित तरिकाबाट धार्मिक, राजनीतिक र जातीय रूपमा हमला भइरहेको थियो। यसै क्रममा हिट्लरले जर्मनीका जनतालाई यहुदीबिरुद्द भड्काए र उनीहरूलाई देशबाट बाहिर निकाल्न अपिल गरे। जर्मनी र पूर्वी युरोपमा हिट्लरको आह्वानपश्चात् यहुदीमाथि व्यापक अत्याचार हुन पुग्यो। उनीहरूलाई छानिछानी र हत्या गर्न लागियो। १९३३–१९४५ को समयमा जर्मनीमा हिट्लरले ६० लाख यहुदीको नरसंहार गरे। यति धेरै शंख्यामा भएको नरसंहारपश्चात् यहुदीहरू युरोप छोड्न बाध्य भई सालौंसाल पछाडि फेरि इजरायल आउनुपर्‍यो। 

प्यालेस्टाइनको इतिहास हेरौं, मध्यकालदेखि लिएर आधुनिक कालसम्म इजरायलको धर्तीमा धेरै फेरबदल भइरहेको थियो। दशौँ शताब्दी इशापूर्वका राजा डेभिडको शासनबाट नै प्यालेस्टिनिको नाता पश्चिम एसियाको धर्तीदेखि नै रहिआएको थियो। राजा डेभिडको साम्राज्यमा कयौँ प्यालेस्टिनी सामेल थिए, जसले मूल रूपमा आफूलाई गाजाका बासिन्दा भन्न रुचाउँथे। सातौँ शताब्दीको सुरुवातदेखि हालको जेरुसेलमको इस्लामिकरण हुन लागेको थियो। त्यस बखत, अरब शासकहरूको जेरुसेलममा दबदबा हुने गर्थ्यो। यसैकारण, बिस्तारै सो क्षेत्रमा इस्लाम धर्म मजबुत हुँदै गएको पाइन्छ। तर, जब मध्यकालमा इजरायलमा धर्मयुद्ध सुरु हुन पुग्यो, तब इजरायलको जमिनमा पनि काफी हलचल देखिन थाल्यो। 'पवित्र भूमि जेरुसेलम'को लागि मुस्लिम र इसाईबिच लडाइँ सुरु हुन लाग्यो। पछि सन् १५१७–१९१७ को बीचमा अटोमन साम्राज्यले उक्त विवादास्पद इजरायल र यसको आसपासको क्षेत्रमा शासन गरेको पाइन्छ। 

इस्लाम धर्म मान्ने अटोमन साम्राज्य त्यस बेला शक्तिशाली साम्राज्य मानिन्थ्यो। पश्चिमी एसियाको अधिकांश हिस्सा, उत्तरी अफ्रिका र पूर्वी युरोपसम्ममा त्यसले आफ्नो साम्राज्य खडा गरेको थियो। इजरायलीहरूको अनुपस्थितिमा भूमध्य सागरदेखि जोर्डन नदीको बीचसम्मको हिस्सामा मुसलमानहरूको अबादी बढेको थियो। त्यसैले इजरायल इजरायल रहेको थिएन, अव उ प्यालेस्टाइन भइसकेको थियो। 

२० औँ शताब्दीको सुरुवाती दशकमा पहिलो विश्वयुद्ध भयो। वैश्विक भूराजनीतिको व्यापक बदलाव भयो। सन् १९१७ मा इङल्याण्डले प्लालेस्टाईनमा सैन्य कब्जा गर्‍यो। यस घोषणा सँगसँगै उस बेलाका बेलायती विदेश सचिव आर्थर जेम्स वाल्फरले एक 'लेटर अफ इन्टेन्ट' पेस गरे। यसलाई वाल्फोर घोषणापत्र भनिन्छ। बेलायतले चलाखीसाथ सो दस्ताबेज लेखेको थियो, जसमा 'हामी यहुदीको साथ पूरा सहानुभूति प्रकट गर्छौं र प्लालेस्टाईनमा उनीहरूका लागी एक राष्ट्र घोषणा गर्छौं।' 

वास्तवमा १९१७ मा प्रथम विश्व युद्ध उत्कर्षमा थियो। मध्यपूर्वमा आफ्नो प्रभाव जमाउन र जित सुनिश्चित गर्न बेलायतलाई मित्र देशको साथ चाहिएको थियो। यसको लागि मित्र देशमा रहेका यहुदीको समर्थन पाउन उसले वालफोर घोषणा पत्र सबैसामू राखेको थियो। १९१८ सम्ममा मध्यपूर्वमा फैलिएको अटोमन साम्राज्यको अन्त्य भइसकेको थियो।

प्रथम विश्वयुद्धपछि बेलायतले प्यालेस्टाईनलाई आफ्नो साथ लियो, जसमा सामेल थियो बर्तमानको इजरायल, प्यालेस्टाईन र जोर्डन। यस घोषणापत्रले यहुदीहरूलाई धेरै राहत दियो। विश्वभरि छरिएर रहेका यहुदीहरूलाई यो नै पहिलो मौका थियो कि आधिकारिक रूपमा बेलायतले कब्जा गरेको प्यालेस्टाईनमा इजरायलीहरूको हक रहेको कुरा दावा गरेको थियो र सो जमिन उनीहरूको असली हो भनी वर्णनसमेत गरिएको थियो।

दोस्रो विश्वयुद्धसम्म प्यालेस्टाईनलाई बेलायतले नै कब्जा गरिराखेको थियो। सो समय विश्वभर छरिएका यहुदीको 'आफ्नो जग्गामा फिर्ती' अत्यन्त तीव्र रूपमा भएको थियो। बालफोर घोषणापत्र र प्यालेस्टाईनमा बेलायती सरकार आउनाले यहुदीहरूलाई तागत र साहस मिलेको थियो। आफ्नो समुदायलाई अझ बढी मजबुत बनाउन र फेरि इजरायल पाउन १९ औँ शताब्दीको सुरुवातमा नै यहुदीवादको आन्दोलन सुरु भइसकेको थियो। यसैबीच एक दुई दशकमा हजारौँ यहुदी हालको इजरायलमा फिर्ता भइसकेका थिए। यहुदीको आबादी प्रत्येक वर्ष बढ्दै गइरहेको थियो। उनीहरूको संख्या बढेसँगै यहुदी र मुस्लिमबीच प्यालेस्टाईनमा झगडा अझै बढ्दै गयो। 

समयसँगै प्यालेस्टाईनमा यहुदीहरू थप मजबुत हुन लागेका थिए। राजनीतिक र धार्मिक स्थलहरूमा पनि यहुदीहरूले आफ्नो पकड बनाउँदै लगे। तत्पश्चात् साम्प्रदायिक दंगाहरू पनि हुन लागे, जसमा दुवै पक्षका कयौँको मृत्यु भयो। इजरायलको धर्तीमा बेलायती सत्ताको छाँयामा यहुदीहरू थप मजबुत हुँदै गए। 

युरोपमा दोस्रो विश्वयुद्धको समयको आसपास लाखौँ यहुदीहरू मारिए। हिटलरले लाखौँ यहुदीलाई भट्टीमा पोले, जसका कारण यहुदीहरू युरोप छाडी प्यालेस्टाईनमा शरण लिन आए। प्यालेस्टाईनमा बढ्दो यहुदी जनशंख्यासँगै उनीहरू इजरायल राष्ट्र गठनका लागि उग्र भइसकेका थिए। 

दोस्रो विश्वयुद्धको समाप्तिपश्चात् अमेरिका सबैभन्दा मजबुत राष्ट्र भएर उभियो। सन् १९४५ सेप्टेम्बरमा युद्ध समाप्त भएको एकै महिनाभित्र संयुक्त राष्ट्रसंघ (युनाईटेड नेसन्स) को गठन भयो। यसको गठनसँगै अमेरिकाको प्रत्यक्ष हस्तक्षेप यस संस्थामा हुन पुग्यो। सन् १९४७ मा संयुक्त राष्ट्र महासभाको बैठक बोलाइयो,  जसमा 'क्रियसन अफ जिउज स्टेट' (यहुदी राज्यको सिर्जनाको प्रस्ताव) राखिन्छ र पारित गरिन्छ। वास्तवमा यही 'सर्वोच्च फैसला'सँगै २००० सालपछि यहुदीहरूले आफ्नो देश फेरी प्राप्त गरे। प्रस्ताव १८१ मा प्यालेस्टाईनमा बेलायती शासन व्यवस्था अन्त्य गर्दै प्यालेस्टाईनलाई एक स्वतन्त्र अरब राज्य र अर्को यहुदीको लागी स्वतन्त्र यहुदी राज्य व्याख्या गरियो।   

यो पूरै योजनाको बनाउन मुख्य रूपमा अमेरिका लागेको थियो। दोस्रो विश्वयुद्धको दौरानमा यहुदीहरूको जुन ढंगले कत्लेआम गरिएको थियो, त्यसको जवाफ दिन अमेरिका लागेको थियो। यसो गर्न सक्दा यहुदीहरूको नयाँ राज्य इजरायलको सदा समर्थन मिल्छ र सदा आफ्नो उपस्थिति त्यहाँ रहनेछ भन्ने विश्वास अमेरिकाको थियो। स्वतन्त्र राज्य घोषणा गरेको १ साल नबित्दै १४ मे १९४८मा इजरायलले आफूलाई स्वतन्त्र राष्ट्र घोषणा गर्‍यो। त्यसै दिन तेल अभिवमा यहुदी एजेन्सीका अध्यक्ष विन गुरियनले नयाँ यहुदी राष्ट्र इजरायल बनेको बताए। गुरियनलाई नै इजरायलको पहिला 'प्रिमियर' (प्रधानमन्त्री) बनाइयो। अरब जगत भने उक्त निर्णयबाट असन्तुष्ट थिए, किनकि संयुक्त राष्ट्रको योजनाको सुरुवातबाटै अरब जगतले यस क्षेत्रमा यहुदी राज्यको विरोध गरेको थियो।

इजरायलले स्वतन्त्र राष्ट्रको घोषणा गरेसँगै प्यालेस्टाईनको म्यान्डेट समाप्त गरी आफ्नो सैनिकलाई बेलायतले फिर्ता बोलायो। तर त्यतिखेर अरब र इजरायल लडिरहेका थिए, जुन १९४८ यता आजसम्म रोकिएको छैन। विभिन्न चरणमा अरब जगतसँग युद्ध लडिरहेको छ इजरायल। तर जतिचोटी युद्ध लडे पनि इजरायलकै जित भएको छ। अरबहरूबीच रहेको एउटा सानो राज्य अहिले यति शक्तिशाली छ कि पूरै अरब जगतलाई हायलकायल बनाउन सकेको छ। तर उसलाई पश्चिमा, खासगरी अमेरिकीहरूको निरन्तर साथ छ।

तर प्यालेटिनीहरूको बेग्लै विडम्बना छ। अरब जगतबाट प्रयोग भएका उनीहरू कम आत्मनिर्भर छन्। रोग, भोक, अशिक्षा र गरिबी व्यापक छ। नयाँ राष्ट्र बनिसकेपछि इजरायल र प्यालेस्टिनबीच विभिन्न चरणमा संघर्ष र युद्धहरू भए। यसैको फाइदा उठाएर इजरायलले आफ्नो सीमा बिस्तार गर्दे लगभग एक तिहाइ प्यालेस्टाईनको कब्जा गरिसकेको छ। प्यालेस्टाईको गाजा क्षेत्रमा आतंककारी समूह हमासले अहिले नियन्त्रणमा लिएको छ। हतासको चाहना इजरायलीहरूलाई सफाया गरी पूरै इजरायली क्षेत्रलाई पनि पूर्ण रूपमा प्यालेस्टिनी बनाउनुका साथै सुरक्षित मुस्लिम इलाका बनाउनु हो। 

यस क्षेत्रका मुसलमानले पटक पटक इजरायलबाट लज्जास्पद हार बेहोर्नु परेको छ। मुस्लिमहरू इजरायलविरुद्ध प्रतिशोधको राजनीति गर्न चाहन्छन्। समस्त मुस्लिम अरब जगत इजरायलको अस्तित्व स्वीकार गर्दैन, किनकि उनीहरू यहुदी हुन्। यहुदीहरूलाई धपाउने क्रममा प्यालेस्टिनीहरू बलिका बोकाझैँ भएका छन्, जसलाई अरब जगतले 'हावा' दिइरहेको छ। इरानले विभिन्न प्रोक्सी समूहहरू निर्माण गरी उनीहरूलाई खर्चसमेत दिई इजरायलविरुद्ध लड्न उक्साइरहेको छ। हमाशले प्रत्यक्ष रूपमा इरानबाट सहयोग पाएको छ। इजरायल रहेसम्म त्यहाँ अमेरिकाको मजबुत उपस्थिति रहने ठान्दै इरान इजरायलको नामोनिसाना मेट्न हमाश र हिजबुल्लाजस्ता आतंकारी सगठनलाई लगानी गरिरहेको छ। 

२०२३ मा गरेको हताशको आक्रमणको प्रतिकारमा अहिले गाजा पूर्ण रूपमा खण्डहर भएको छ। धर्मयुद्धले मानवता पराजित भएको छ। यस युगमा पनि धर्मका नाममा अझै युद्ध जारी रहनु दुखद हो। यो त एउटा दुखद उदाहरण मात्रै भयो, संसारका अनेकन् ठाउँमा धर्मका नाममा अत्याचार अझै जारी छन्। धर्मभन्दा मानवता ठुलो हो भन्ने बुझेर विश्वभातृत्व आजको आवश्यकता हो। वसुधैव कुटुम्वकम् (विश्वनिवासी सबै हाम्रा आफन्त हुन्) भन्ने श्लोकलाई अनुसरण गरेर सबैबीच मानवताको सम्बन्ध राख्न सकेमात्र विश्व सबैका लागि सुरक्षित बन्न सक्छ। यदाकदा धार्मिक मामलाहरू सतहमा आउने गरेको  सन्दर्भमा नेपालीहरूले पनि इजरायल र प्यालेस्टिनीको द्वन्द्वबाट त्यही पाठ सिक्न सक्छौँ।

(गजुरेल काठमाडौँको एक्टिभ ऐकेडेमी कलेजमा राजनीतिशास्त्र अध्यापन गर्छन्।)