‘वर्क फ्रम होम’को पासो!

वर्कफ्रम होमको सपना त्यसै तुहियो। त्यसपछिको केही दिन खाली बसेँ। काठमाडौँको महँगीले सधैँभरी केही नगरी बसिरहन मन मानेन। श्रीमान्‌लाई आर्थिक रूपमा सघाउनुपर्छ भन्ने उद्देश्यले म फेरि कामको खोजीमा लागेँ।

छोरी जन्मेपछि मैले गर्दै गरेको जागिर छोडेँ। भनिन्छ नि बच्चाबच्ची हुर्काउनु जीवनको सबैभन्दा मुख्य जागिर (दायित्व/जिम्मेवारी) हो। अब सम्पूर्ण समय र ध्यान छोरीको रेखदेखमा हुन थाल्यो। घरमा रहेपछि, छोरी कहिलेकाहीँ सुतेका बेला सामाजिक सञ्जाल चलाउन मन लाग्ने नै भयो। फेसबुकतिर आँखा दौडाउँदै थिएँ– अचानक भाषा अनुवादको लागि 'भ्याकेन्सी' नामकको कुनै पोस्ट देखेँ। यस्तो कतिपय काम घरै बसेर गर्न मिल्ने खालका हुन्छन् भन्ने जोकसैलाई थाहा छ। घर बसेर काम पनि गर्न मिल्ने र छोरीको स्याहार पनि गर्न मिल्ने भएपछि सुनमा सुगन्धझैँ लाग्यो। त्यसैले उक्त पोस्टको मेसेन्जरमा सम्पर्क गरेँ।

सम्पर्क गरेपछि फेरि मलाई टेलिग्राममा सम्पर्क गर्न भनियो। टेलिग्राममा सम्पर्क गरेपछि सम्पर्कमा आएको व्यक्तिले मलाई ५० पेजको अंग्रेजी कथालाई नेपालीमा अनुवाद गर्नुपर्ने र अनुवाद गरेबापत १ हजार ५०० डलर दिने कुरा बतायो। मैले त्यतिखेर त्यो कुरा सहजै विश्वास गरेँ। उनीहरूले केही दिनमै सक्नुपर्ने 'डेटलाइन' दिए। सो अनुवाद मैले रातभर नसुती नसुती भए पनि केही दिनमै सकेँ। काखको बच्चालाई दूध खुवाउँदै ल्यापटपमा टाइप गर्थेँ म।

कष्टसाध्य तरिकाले अनुवाद गरिसकेर आफूले गरेको अनुवादको फाइल सम्बन्धित व्यक्तिको इमलेमा पठाइदिएँ। त्यति गरेपछि उनीहरूले मेरो खाता नम्बर मागे। पारिश्रमिक १ हजार ५०० डलर पाउने सपना देखेर खाता नम्बर पठाइदिएँ। तर उनीहरूले त उल्टै मैले नै ३ हजार ५०० रुपैयाँ उनीहरूलाई तिर्नुपर्ने बताए। त्यसो गरेपछि मात्र मैले आफ्नो खातामा १ हजार ५०० डलर पाउने कुरा बताए। मैले उनीहरूलाई भनेँ, 'त्यसो गर्नुको साटो बरु ३ हजार ५०० रुपैयाँ काटेर बाँकी मेरो खातामा पठाइदिए भैगो। उनीहरूले त्यसो गर्न नमिल्ने बताएपछि भने उनीहरूले मलाई ठग्न खोजेको थाहा पाएँ। रातदिनको मेरो श्रम त्यसै खेर गयो। म एक प्रकारले ठगिएँ। 

वर्कफ्रम होमको मेरो सपना त्यसै तुहियो। त्यसपछिको केही दिन त्यसै बसेँ। काठमाडौँको महँगीले मलाई सधैँभरी केही नगरी बसिरहन मन पनि लागेन।

श्रीमानलाई आर्थिक रूपमा सघाउनुपर्छ भन्ने उद्देश्यले म फेरि कामको खोजीमा लागेँ। मसँग पत्रकारिताको अनुभव थियो। मैले 'प्रपोजल राईटिङ'को भ्याकेन्सीबारे जानकारी पाएँ। प्रपोजल राइटिङ पनि आखिर सीपमूलक लेखन नै हो। एक जना म्याडमले एउटा अफिसमा प्रपोजल राईटिङको पोस्ट खाली छ भनेर मलाई त्यस अफिसमा जान अनुरोध गर्नुभयो। काम खोजिरहेकी मलाई त्यहाँ जान केही गाह्रो भएन।

पहिलो पटक जाँदा त्यहाँको प्रमुख जिम्मेवारी बोकेकी म्याडम हुनुहुन्न रहेछ।  एक जना भर्खरका युवाले मेरो अन्तर्वार्ता लिए र म्याडम आएपछि बोलाउने बताए। त्यसको चार पाँच दिनपछि फेरि मलाई त्यही संस्थाबाट फोन आयो। म अफिस पुगेँ । म्याडमले मेरो बायोडाटा हेरेर आफ्नो चस्मा माथि सार्दै भन्नुभयो, “तपाईँको त प्रपोजल राइटिङमा कुनै अनुभव रहेनछ। फेरि तपाईँको स्कुटरको लाइसेन्स पनि रहेनछ। यहाँ त बाहिर गइरहनुपर्छ, स्कुटर चलाउन नजान्दा गाह्रो हुन्छ। फेरि आजकल अफिसतिर पनि भर्खरकी केटी खोज्छन्।” 

हातमा भएको मेरो बायोडाटातिर नजर डुलाउँदै भन्नुभयो, “कतै मिडियामा भ्याकेन्सी भयो भने खबर गरुँला।” लगातार तीन वटा कारण देखाएपछि म सोच्न बाध्य भएँ– उहाँलाई मसँग स्कुटर नभएर समस्या भएको हो कि म भर्खरको नभएर समस्या भएको हो वा मसँग कुनै अनुभव नभएर उहाँलाई समस्या भएको हो? मैले केही बुझ्न सकिन, तर उहाँको कुरा गर्ने शैली मलाई पटक्कै चित्त बुझेन। घरमा बच्चा छाडेर आएकी म हतारहतार घर फर्कें।

त्यसको केही हप्तापछि फेरि त्यही अफिसबाट एउटी युवतीले फोन गरिन्।  मेरो फोन उठ्नासाथ उनले भनिन् “म्यामले भन्नुभएको मिडियामा भ्याकेन्सी छ रे, तपाई अहिल्यै आउनुपर्‍यो।” उनको फोन आउँदा म चाबहिलमा थिएँ। मलाई पुग्नु थियो महाराजगन्ज। दोहोर्‍याएर त्यही ठाउँबाट फोन आएपछि मेरो मन त्यसै मखलेल भयो। हतारहतार पठाओ बुक गरेँ। मजस्तो लाइसेन्स नहुनेका लागि पठाओ र ईन्ड्राईभले शहरी जीवन सहज बनाएको छ। त्यहाँ मैले काम गर्ने भनिएको मिडियाकै प्रमुख व्यक्ति आउनुभएको रहेछ। यस पटक भने फेरि मेरो मन नौनीजस्तै भयो। अघिल्लो पटक म्यामलाई गलत सम्झेकोमा मलाई आत्मग्लानि भयो।

नाम चलेकै मिडियामा लगभग मेरो काम पक्कापक्की हुने भएपछि म फेरि खुसी हुँदै घर फर्किएँ। तर विडम्बना त्यस दिनयता कहिल्यै त्यो ठाउँबाट फोन आएन। फोन पर्खेर बस्ने मात्र काम भयो मेरो। मेरो अन्तर्वार्ता लिएर नियुक्ति दिने टुंगो भइसकेपछि फेरि पुरानै स्टाफलाई राखिएको पछि थाहा लाग्यो। एउटा प्रतिष्ठित संस्थाको प्रतिष्ठित व्यक्तिले कसैलाई तीन चार पटकसम्म अफिसमा बोलाएर झुटो आश्वासन किन दिएको होला? मेरो मनमा कुरा खेलिरह्यो।

त्यसको केही महिनापछि फेरि अर्कै संस्थाबाट फोन आयो। दिनको एउटा लेख लेख्नुपर्ने र त्यो अनुसारको तलब दिने बताए। छोरी सानै भएकोले मैले ‘वर्क फ्रम होम’ गर्न चाहेको संस्थाबाट फोन गर्नेलाई बताएँ। मेरो कुरामा सम्बन्धितले समर्थन गरेपछि मलाई लाग्यो–जे हुन्छ राम्रै हुन्छ। मैले राम्रो लेख्न सक्दो प्रयास गरेँ। घरबाट काम गर्नु पनि सहज त पक्कै हैन, त्यसमाथि सानो बच्चा। आफ्नो समय मिलाएर काम गर्दै गएँ। पहिलो महिनाको तलब आएपछि म झनै उत्साहित भएर काम गर्न थालेँ।

दुई महिना पूरा भएपछि भने अब उप्रान्त तलब नदिई लेखअनुसार मात्र पैसा दिने कुरा गरे सम्बन्धित कार्यालयका सम्बन्धितले। त्यसमा म पटक्कै सहमत हुन सकिनँ। फेरि, अनेकन् विषयमा नियमित लेख्ने कुरा आफैमा चुनौतीपूर्ण हो। घर र छोरी सम्हाल्दै गरेकी म जस्ती महिलाको लागि त झनै असहज विषय हो त्यो। तर केही नहुनुभन्दा केही हुनु जाति ठानेर त्यो प्रस्तावलाई स्विकारेँ। तर अर्को एक महिना काम गरिसकेपछि त्यस संस्थाले अर्को सूचना नपाएसम्म जागिर जारी नरहेको बतायो। 

संस्थाले नियमित पैसा खर्च गर्न नसकेको या धान्न नसकेको बुझिहालेँ। सबैकुरा बोलेरै भन्न पनि पर्दैन रहेछ, धेरै कुरा नभने पनि बुझिने रहेछ। बुझेर पनि के गर्न सकिन्थ्यो र? मौखिक रूपमै त्यस संस्थाले मलाई नियुक्ति गरेको थियो। हामीबीच कुनै कागजी सम्झौता भएको थिएन, त्यसो भएपछि कामबाटै सहजै बिदा त्यस संस्थालाई पनि सहज भयो। विवशता र बाध्यतामा यसैगरी हजारौँ र लाखौँ मान्छे अवैधानिक रूपमा काम गरिरहेका होलान्। विदेशमा अवैध रूपमा काम गरिरहेका नेपाली कामदार भनेर समाचार आउँछन्। शायद, सन्दर्भ र विवशता यस्तै होलान्। 

म त प्रतिनिधि पात्र मात्र हुँ। मजस्ता धेरै होलान्, जो कामको खोजीमा भौँतारिइरहन्छन्। जागरूक र शिक्षित हुँदाहुँदै पनि अनेकन् सम्झौता गरिरहन्छन्। त्यसमाथि, नातावाद र कृपावाद हाम्रोमा ज्यादा छ। सक्षम हुँदाहुँदै पनि रोजगारीको अभाव धेरैको कथा हो। 

सायद यस्तै यस्तै कारण नेपालीहरू बिदेसिइरहेका छन्। तर 'बर्मा गए कर्म सँगै' भनेझैँ विश्वका जुनसुकै भागमा पुगे पनि तिनले तत् तत् देशमा पुगेपछि गर्नुपर्ने प्रारम्भिक संघर्ष सहज छैन। जागिरका लागि जस्तासुकै पापड बेल्नुपर्ने बाध्यता आम आप्रवासीलाई छ।

यसो भन्दैगर्दा फेरि 'वर्कफ्रम होम'को विज्ञापन सामाजिक सञ्जालमा देखिरहेको छु। कामको खोजीमा व्यग्र पढालिखा युवालाई लक्षित गरेर फ्याँकिएका यस्ता पासोमा कति पर्ने होलान् झनै त्रस्त छु। यस्ता स्क्यामहरूलाई नियमन गर्ने निकाय छन् कि छैनन् होला भन्दै घोत्लिइरहेको छु। न वास्तवमै रोजगारी दिने नै विज्ञापन पो हो, आफै पनि आवेदन दिऊँ या सम्पर्क गरौँ कि भन्नेमा फेरि अलमलमा छु।