सानैदेखि देश र किम परिवारप्रति ‘बफादार’ शिक्षा पाएर हुर्किने उत्तर कोरियालीहरू परिवार भित्रैको जासुस बन्थे। आफ्नै परिवारसँग विश्वास गर्न नसकिने राष्ट्रवादी ‘ब्रेनवास’ कति खतरनाक?
‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ (आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ।) यही श्लोक घोटाएर ‘राष्ट्रवाद’ पिलाइएका हजारौँ, लाखौँ र करोडौँ मान्छे तपाईं हामी पनि पर्लाऊ। तर उत्तर कोरियाका यी भुईंमान्छेका कथा पढिरहँदा मानवता दुख्छ र राष्ट्रवादले घुँडा टेक्छ। राष्ट्रवाद एउटा काल्पनिक समुदाय हो भन्छन्, बेनेडिक्ट एन्डर्सन। तर यो काल्पनिकता यति बलियो छ कि मान्छेले मानवता बिर्सिन्छ, मान्छे हुनुको मूल्य बिर्सिँदै र यस्तो अहंमा बाँच्छ। कतिसम्म भने आत्मदाह गरेका व्यवसायी प्रेमप्रसाद आचार्यले आफ्नो सुसाइडट नोटमा लेखे, ‘म मरे पनि मेरो देश बाँचिरहोस्।’ हुनलाई यो राजा महेन्द्रले लेखेको भनिने गीत/कविताको एक अंश हो। बच्चैमा पिलाइएको राष्ट्रवादको नशा साँच्चै डरलाग्दो हुन्छ।
यी देश छाडेर भाग्नेका कथा हुन्। सुखसुविधा खोज्दै लाखौँलाख खर्च गरेर, ज्यानै जोखिममा पारेर ‘डंकी रुट’ हुँदै अमेरिका पस्नेहरूको कथा भने हैनन्। तर यिनको जिन्दगीको जोखिम २१औँ शताब्दीको अन्य कुनै देशमा बिरलै हुने गर्छ। एक मुठी खान सास दाउमा राखेर हिँड्नेका कथा हुन् यी। यी कथामा आफ्ना लागि ‘एक फोक्सो सास’ खोज्न हिँड्नेहरूले आफ्ना तीन पुस्ताको सास बन्धक राखेर हिँडेका छन्। यो कथाको एउटा नायक ‘लेबर क्याम्प’भित्र जन्मिन्छ, त्यहीँ हुर्किन्छ। ऊ कारक बन्छ आफ्नै आमा र दाइको हत्याको। यो कथाकी एउटी नायिका हेर्ने रहरले नै ‘विदेश’ हिँड्छिन् र देश फर्किन नपाउँदा सात वटा नाम लिएर बाँच्छिन्। उनी आज अमेरिकाबाट आफ्नो देशमा भइरहेको मानवता हननविरुद्ध वकालत गर्दैछिन्। दुःखको कुरा, अमेरिकामा आज चर्को राष्ट्रवादी नारा चर्काउने डोनाल्ड ट्रम्पको पुनरोदय भएको छ।
यो उत्तर कोरियाबाट भाग्न सफल भएका वीरहरूको कथा हो, जसलाई उत्तर कोरियाली सरकारले गद्दार घोषणा गर्छ। दुई जनाको कथा उनीहरूका किताबमार्फत सुनौँ:
द गर्ल विथ सेभेन नेम्स - हियोन्सी ली
हियोन्सी लिको जन्म उत्तर कोरियाको उपल्लो वर्गीय घराना (त्यस्तो वर्गलाई ‘सोङवन’ भनिन्छ) मा सन् १९८० मा भएको थियो। उनी यस अर्थ भाग्यमानी थिइन् कि उनले परिवारमा रोग, भोक र शोक केही देख्नुपरेन। उत्तर कोरियाली राज्यको ‘प्रोपोगान्डा’को प्रभाव उनमा बच्चैदेखि थियो। उनी आफ्नो देश संसारमै सुन्दर, समानतामा आधारित र न्यायपूर्ण भएको विश्वास गर्थिन्। उच्च सोङवनमा जन्मिएकी हियोन्सीका ‘सौतेला पिता’ ठूला सैनिक अफिसर थिए भने उनकी आमा ‘कालो बजारी’मा संलग्न थिइन्।
भोक कस्तो हुन्छ भन्ने उनले थाहा नपाए पनि उत्तर कोरियाका जनता भोकमरीबाट मर्ने गर्थे/गर्छन्। उनले सात वर्षको उमेरमा पहिलो पटक सडकको बीचमै मान्छे झुन्ड्याएर मारिएको देखेकी थिइन्। उनी आफ्नो अटोबायोग्राफी ‘द गर्ल विथ सेभेन नेम्स’मा लेख्छिन्, ‘मेरो बुबा आर्मी अफिसर भएकाले घरमा दैनिकजस्तो मासुभात पाक्थ्यो जबकि, उत्तर कोरियाका सामान्य मान्छेलाई आफूले कहिले मासु खाएको थिएँ भन्ने तिथिमितिसमेत याद हुन्थ्यो। जस्तो कि: मैले अन्तिम पटक मासु ‘गडफादर’को जन्मदिनमा खाएको थिएँ।’
उत्तर कोरियामा जीवन सहज थिएन। एक दिन उनको घरमा आगो लाग्यो, उनीलगायत परिवारका सदस्य जसोतसो बाहिर निस्किए। उनको बुवा भने जलिरहेको घरभित्र पसे र दुइटा फोटोको फ्रेम लिएर निस्किए, त्यो किम जोङ उन र किम जोङ इलको थियो। त्यो फ्रेम बचाउन नसकेको भए उनीहरूलाई गोली ठोकेर मारिन्थ्यो, मृत्युदण्ड नभए आजीवन कठोर श्रम सजाय हुने थियो।
पहिलेदेखि नै उनकी आमा कालोबजारीमा संलग्न थिइन्। आगलागीको केही पछि उनीहरू नयाँ घरमा सर्छन्। त्यसको केही समयमै उनको बुबा चीन छिर्न लागेका बेला समातिन्छन्। धेरै यातनापछि उनी घाइतेका रूपमा अस्पताल लगिन्छन्। तर श्रम शिविरको कठोर यातना छल्न उनका बुवाले अस्पतालमै आत्महत्या गर्छन्। उनकी आमाले घुस खुवाएर ‘आफ्ना पति हृदयाघातका कारण मरेको’ रिपोर्ट बनाउन लगाउँछिन्, किनकि उत्तर कोरियामा परिवारको कुनै एक जनाले आत्महत्या गर्दा उसको परिवारको तीन पुस्तासम्म सामाजिक दर्जा घटाइन्छ, विश्वविद्यालय जान पाइँदैन, तिनले उच्चस्तरको काम गर्न पाउँदैनन्। पहिलो पुस्ताले त श्रम शिविरमै जीवन निर्वाह गर्नुपर्छ। यसरी, आफ्नो परिवारलाई ‘गड फादर’ (राष्ट्रपति) को निगाह'बाट बचाउन उनले धेरै घुस खुवाउँछिन्।
हियोन्सी ली को, यो उनको सातौँ नाम हो। जन्मँदा दिइएको उनको नाम भने ‘किम जी हाइ’ थियो, आमाको दोस्रो विवाहपछि उनको नाम ‘पार्क मीन योङ’ भयो।
उनले बाँच्नका लागि वा स्वतन्त्रताका लागि आफ्नो देश छोडेकी थिइनन्। उनी बस्ने उत्तर कोरियाको ‘हाइसेन’ गाउँपारि चीनको चाङबाइ क्षेत्र पर्थ्यो। चाङबाइको झिलिमिली देखेर उनी त्यसतर्फ लोभिएकी थिइन्। उनका लागि त्यति बेला चाङबाइ अर्को दुनियाँ थियो। आफ्नी आमाले चीन जाने र काका भेटेर आउने अनुमति नदिएपछि एक साँझ आफ्नो सानो भाइ ‘मीन-हो’लाई सबै कुरा बताएर उनी बरफ जमिरहेको यालु खोलातर्फ लाग्छिन्, प्रेमीको सहायतामा चीन पुग्छिन्।
चीनमा उनी आफ्नो आमाको ‘ब्रोकर’ मिस्टर आनको ढोका ढक्ढक्याउँछिन् र उनै ब्रोकरले आठ घण्टा लामो सडक यात्रा गराएर ‘सेङयाङ’मा उनको काकाको घर पुर्याइदिन्छन्। सेङयाङ पुगेको पाँच दिनपछि उनकी आमाले फोन गर्दै घर नआउन भन्छिन्, किनकि उनी भागेको खबर उत्तर कोरियाली सेनाकहाँ पुगिसकेको हुन्छ। त्यसपछि शुरू हुन्छ उनको गैरकानूनी बसाइँ र छद्म परिचयको सिलसिला।
उनका काका काकीले चीनमा उनलाई ‘चाइ मि-रान’ नाम दिन्छन् र मन्दारिन (चीनको आधिकारिक र धेरै प्रचलित भाषा) पढाउन थाल्छन् ता कि उनी चिनियाँ युवतीझैं लागुन्। ६ महिना काका काकीकोमा बसिसकेपछि उनको विवाहको कुरा चल्छ। चीनमा समेत आफू पक्राउ पर्छु भन्ने त्रासले उनी विवाह मितिको दुई हप्ताअघि उनी सो घर छोडेर हिँड्छिन्। विभिन्न छद्म चिनियाँ परिचय लिँदै उनी, मसाज पार्लर र रेस्टुरेन्ट हुँदै दक्षिण कोरियाली कम्पनीमा समेत काम गर्न थाल्छिन्। जाङ सुन हाङ र चाइ इन हाइको रूपमा वेटरको रूपमा र सुनजा नामले चीनमै रहेको दक्षिण कोरियाली कम्पनीमा उनी काम गर्छिन्।
चीनमा छद्म नाम लिएर लुकेर बस्न सहज नभएपछि सन् २००७ तिर उनी विभिन्न वेबसाइटमा कसरी दक्षिण कोरियाली राजधानी ‘सोल’ पुग्ने र त्यहाँ शरणार्थीको हैसियतमा बस्ने भनेर खोज्न थाल्छिन्। त्यहाँबाट उनले ब्रोकरको नम्बर पाउँछिन्। उनीसँग सोलसम्म पुग्ने तीन उपाय हुन्छन्, १. उनीसँग चिनियाँ आइडी कार्ड भएकाले चिनियाँ पासपोर्ट बनाउने, २. नक्कली भिसा लगाएर दक्षिण कोरिया पुग्ने, ३. मंगोलिया, थाइल्यान्ड, भियतनाम या कम्बोडिया हुँदै दक्षिण कोरिया जाने।
उनी चिनियाँ पासपोर्ट बनाउँछिन् र थाइल्यान्ड जाने हवाई टिकट काट्छिन् दक्षिण कोरियालाई ट्रान्जिट बनाएर। ‘इन्चेयन एयरपोर्ट’ पुगेपछि त्यहाँको अध्यागमन कार्यालयमा उनले आफू उत्तर कोरियाली भएको र ‘शरणार्थी’ बन्न चाहेको बताउँछिन्। लामो सोधपुछपछि उनी दक्षिण कोरिया बस्न पाउँछिन्। दक्षिण कोरियामा नयाँ जीवन शुरू गरेपछि आफ्नो अन्तिम नाम राख्छिन्- हियोन्सी ली।
उनी आफू मात्र दक्षिण कोरिया पुग्दिनन्, आमालाई पनि ल्याउन चाहन्छिन्। फलस्वरूप: घर छोडेको ११ वर्ष ९ महिना ९ दिनमा उनले आफ्नो आमा भेट्छिन्। आफ्नी छोरीसँग भेट्न र उत्तर कोरिया छोड्न उनकी आमाले पहिले आफू बसेको शहर छोडेर अन्यत्र जान अनुमति लिन्छिन् र अस्पतालमा घुस खुवाएर आफू बाटोमै मरेको झूटो रिपोर्ट बनाउन लगाउँछिन्, ताकि आफू उत्तर कोरियाबाट भागेपछि आफ्नो छोरा (जो प्रेमिकासँग बिहे गर्न उत्तर कोरिया नै बस्न चाहन्छन्), उसलाई भोलिका दिन कुनै अप्ठेरो नहोस्।
आमा लिएर दिदी भेट्न यालु खोला तरेर गएका उनका भाइ मीन हो उत्तर कोरिया फर्किन सक्दैनन्, किनकि मीन होले एउटी महिला लिएर यालु खोला तरेको खबर सेनाले पाएको र उनको खोजी भइरहेको जानकारी उसकी प्रेमिकाले उसलाई दिन्छिन् र आमा लिएरै उत्तर कोरिया फर्किन जिद्दी गर्छिन्। आमालाई छाडेर एक्लै उत्तर फर्कँदा आफूलाई मृत्युदण्ड हुनसक्ने स्थिति बुझेर मीन हो उत्तर कोरिया फर्किँदैनन् र यो परिवार अन्ततः एकै साथ बस्ने निर्णय गर्दै दक्षिण कोरिया पुग्छ।
बाँच्न वा स्वतन्त्रताका लागि हियोन्सी लीले आफ्नो देशको सीमा छोडेकी थिइनन्, अर्को देश हेर्ने रहरले छोडेकी थिइन्। तर आज उनी उत्तर कोरियामा भइरहेको अत्याचार र मानव अधिकार हननविरुद्ध विश्वसामु आवाज उठाइरहेकी छिन्।
इस्केप फ्रम क्याम्प १४– सिन डोङ ह्युक
सिन डोङ ह्युकको जन्म उत्तर कोरियाली ‘श्रम शिविर नम्बर १४’ मा सन् १९८२ मा भएको थियो। उनका बुवाआमा दुवै राजनीतिक बन्दी थिए। आफ्ना बुवाआमा किन त्यस क्याम्पमा थिए भन्ने उनलाई थाहा भएन। उत्तर कोरियाली जेलभित्र विवाह गर्न सजिलो थिएन। वर्षको तीन/चार पटक यस्ता विवाहको आयोजना हुन्थ्यो। विवाह तिनैको हुन्थ्यो, जसका ‘सेवा’बाट सेना सन्तुष्ट हुन्थे। सेनाले जसलाई जोडी तोकिदियो, उनीहरूकै विवाह हुन्थ्यो। सिनका बुवाआमा पनि त्यसरी नै लोग्नेस्वास्नी भएका थिए।
वर्षमा कहिलेकाहीँ पाउने छुट्टीमा उनका बाबु क्याम्पमा श्रीमती भेट्न आउँथे। बुवा र आमाप्रति सिनलाई कुनै लगाव थिएन। उनकी आमा बिहानको खाना बनाएर काम गर्न जान्थिन्, सधैँ टन्न खान नपाउने सिनले आमाको भाग पनि चोरेर खाइदिन्थे र आमाबाट जहिल्यै कुटाइ खान्थे।
जन्मेदेखि खान पाएको खानेकुरा बन्दाको सुप र मकैको दलिया (च्याँख्ला) मात्रै थियो। उनलाई खुशी लाग्ने बाल्यकालका दिन तिनै दिन थिए, जुन दिन उनी मुसा, माछा र फट्याङ्ग्रा मारेर टन्न खान पाउँथे। एक पटक उनकी एउटी साथीले कसैको बारीबाट केही चिचिला काँक्रा चोरिन्, उनका शिक्षकले उनलाई टाउकोमा बेस्सरी हाने र त्यही राति उनको मृत्यु भयो। खानेकुरा चोर्नेलाई सिधै गोली हान्ने अधिकार सेनालाई हुन्थ्यो।
सानैदेखि देश र किम परिवारप्रति ‘बफादार’ शिक्षा पाएर हुर्किने उत्तर कोरियाली परिवार भित्रैको समेत जासुस बन्थे। आफ्नै परिवारसँग समेत विश्वास गर्न नसकिने राष्ट्रवादी ‘ब्रेनवास’ कति खतरनाक?
एक रात १३ बर्से सिनले आफ्नी आमा र दाजुले भागेर चीन जाने कुरा गरिरहेको सुन्छन्। आमा पनि दाजुसँगै जाने कुरा गर्छिन्। सिनले यो कुरा सुरक्षाकर्मीलाई भनिदिन्छन्। सैनिकलाई आफ्नो आमा र दाइको योजनाबारे भन्नुअघि उनले दुइटा शर्त राख्छन्-
१) आफूलाई अबदेखि बढी खानेकुरा दिनुपर्ने
२) आफूलाई ‘ग्रेट लिडर’ बनाउनुपर्ने
भोलिपल्ट उनका आमा र दाजु पक्राउ पर्छन्। उनीहरूकै अगाडि आमा र दाजुलाई गोली हानिन्छ भने सिन र उनको बुवालाई सोधपुछका लागि भूमिगत जेलमा राखिन्छ। भोकले सिर्जना गरेको लालच र शासनप्रति बफादार शिक्षाले एउटा कलिलो बालकलाई पारेको प्रभावका कारण ऊ आफ्नै आमा र दाजुलाई गोली हनाउन पुग्छ। जन्मेदेखि नै त्यही वातावरणमा हुर्किएको सिनलाई त्यसले खासै प्रभाव पार्दैन। उनी त्यहाँ बसुन्जेल आफ्नी आमालाई ‘आफ्नो घृणित रगत’को कारक मान्दै घृणा गरिरहन्छन्।
जेलमै उनले क्याम्प बाहिरको जिन्दगीबारे चर्चा सुन्छन्। कुखुरा र सुँगुरको मासु लगायतको नाम सुन्छन्। त्यस क्याम्पबाट निस्किन सम्भव छ भन्ने कुरासमेत सुन्छन् ।
आमा र दाजु ‘उनकै कारण मारिएको’ १० वर्षपछि सन् २००५ जनवरी २ मा सिन आफ्ना साथी पार्क योङ चुलसँगै उत्तर कोरियाबाट भाग्छन्। राजनीतिक बन्दी पार्कलाई पार्कबाहिरको संसारबारे थाहा हुन्छ भने सिनलाई पार्क भित्रबारे। उनीहरू दुवै भागेर चीन जाने र पार्कको काकाकोमा बस्ने सल्लाह गर्छन्। क्याम्प १४ लाई २४ सै घण्टा करेन्ट प्रवाह भइरहेको नांगो तारले घेरिएको हुन्छ। सिनलाई क्याम्पबारे थाहा भएकाले उनी अघिअघि हिँड्छन्। तर तारबार छेउमा पुगेपछि पार्क चिप्लिएर लड्छन् र तारमा पर्छन्, करेन्ट लागेरै उनको मृत्यु हुन्छ। आफ्नो साथीको लास नाघेर सिन क्याम्प १४ बाट भाग्छन्।
उनलाई थाहा हुन्न- चीन कता पर्छ र कसरी जाने? बाहिरको संसार नदेखेका सिनले उत्तर कोरियाकै कुनै गाउँलेको लुगा चोर्छन् र लगाउँछन्। पकाएर राखेको भात खान्छन् र भएको अलिकति चामल चोरेर बेच्छन्। यसरी उनले पहिलो पटक पैसा देख्छन्। उनलाई कसरी भाग्ने, कसरी चीन पुग्ने थाहा हुँदैन। उत्तर कोरियाली सेनाको आँखा छल्दै उनी सिमानासम्म पुग्छन्।
सिमानामा खटिएको सुरक्षाकर्मीले सिनलाई भन्छ, ‘म यहाँ भोकले मर्न लागेको छु…तिमीसँग केही खानेकुरा छैन?’ सुरक्षाकर्मीलाई चुरोट, खाना र चकलेट दिँदै सिन सोध्छन्, ‘धेरै मान्छेले चीन प्रवेश गर्छन् हो?’ सुरक्षाकर्मी ‘हो’ भन्छन्। तिनै सुरक्षाकर्मीले जंगलको बाटो हुँदै ट्युमेन खोला तर्ने सुरक्षित बाटो बताइदिन्छन् र भन्छन्, ‘म सात बजेसम्म मात्र ड्युटीमा छु, त्योभन्दा अगाडि नै फर्किनू।’
खासमा यस सीमा क्षेत्रमा भोका सैनिकले घुस लिएरै कोरियालीलाई आउजाउ गराउन सहयोग गर्ने अभ्यास रहेछ। तर फर्कन्छु भनेका उनी कहिल्यै फर्किएनन्।
जमिरहेको ‘ट्युमेन’ खोला दिउँसै तर्छन् उनी। त्यहाँसम्म पुग्दा भाग्यवश: उनीमाथि अरू कसैको आँखा पर्दैन। उनी चिनियाँ कुनै गाउँलेको ढोका ढकढक्याएर सहयोग मान्छन्। एक जना चिनियाँ किसानले उनलाई खानबस्न दिन्छन् र आफ्नो सुँगुर चराउने काममा राख्छन् प्रतिदिन ६० सेन्ट (पाँच युआन) तलब दिएर। झन्डै एक महिनापछि ती किसानले उनलाई आफ्नो साथीकोमा ‘गोठालो’ बनाएर पठाउँछन्। त्यहाँ सिन दश महिना बस्छन्, जहाँ उनी रेडियो सुन्न पाउँछन्। सिनले त्यहाँ उत्तर कोरियाबाट भागेर आएकाहरू कसरी बोर्डर छेउबाट समातिन्छन् र दक्षिण कोरियासम्म पुग्ने कसरी भन्नेबारे समेत थाहा पाउँछन्।
उनी गोठालोको काम छोडेर १० महिनाको तलब ६०० युआन लिएर त्यहाँबाट हिँड्छन्। त्यहाँबाट उनी बेइजिङ हुँदै छन्दु शहर पुग्छन्। चर्चहरू चहार्छन्, काम खोज्छन्। काम नपाएका उनलाई पादरीहरूले केही पैसा दिन्छन्।
कामको खोजीमा भौँतारिइरहेका सिन सांघाइ पुग्छन्, जहाँ उनको भेट दक्षिण कोरियाका पत्रकारसँग हुन्छ। तिनै पत्रकारले उनलाई ‘दक्षिण कोरियाली वाणिज्य दूतावास’ पुर्याउँछन्, जहाँ ६ महिना बसेपछि सिन दक्षिण कोरियाको राजधानी सोल पुग्छन्। उनलाई ‘हानावोन’ भन्ने ‘रिसेटल्मेन्ट सेन्टर’मा राखिन्छ। दक्षिण कोरियामा मनोचिकित्सासम्बन्धी परामर्श गरिरहँदा उनका डाक्टरले उनलाई ‘द डेटाबेस सेन्टर फर नर्थ कोरियन ह्युमन राइट्स’ भन्ने एनजीओसँग सम्पर्क गराइदिन्छन्। उनका काउन्सिलरले उनलाई आफ्नो अनुभव किताबको रूपमा ल्याउन प्रोत्साहन दिन्छन्।
सन् २००८ मा कोरियाली भाषामा उनको ‘मेमोइर’ प्रकाशित हुन्छ। उनी भागेर दक्षिण कोरिया पुग्न सफल पहिलो राजनीतिक बन्दी हुन्छन्। त्यसपछि उनमा धेरै मानवतावादी संस्था र व्यक्तिहरूको ध्यान पुग्छ। विभिन्न देशमा आफ्नो अनुभव सुनाउन जान थाल्छन्। लिंक (लिबर्टी इन् नर्थ कोरिया) नामको एनजीओमा काम गर्न उनी अमेरिका पुग्छन्। ‘पोस्ट ट्रमाटिक डिसअर्डर’ सँग जुधिरहेका सिन अझै ‘बन्दी’ रहेको बताउँछन् उनका साथीहरू।
उनी अझै उत्तर कोरियामा कैदी जीवन बिताइरहेकाहरू सम्झिन्छन् र आफ्नो स्वतन्त्रता र खुशीलाई ‘स्वार्थीपन’ मान्छन्। लिंकसँगको सहकार्य छोडेर सन् २०१२ मा सिन आफैँले उत्तर कोरियालीहरूको हितमा काम गर्न ‘नर्थ कोरियन फ्रिडम प्लेक्सस’ खोले। आज पनि अमेरिकामा बसेर, विश्वलाई उत्तर कोरियामा भइरहेको ज्यादतीविरुद्ध जानकारी गराउँदै मानवताको वकालत गरिरहेका छन् सिन।
***
भोकमरी र राजनीतिक दमनबाट बच्न तथा स्वतन्त्रता प्राप्तिका लागि आफ्नो जन्मभूमि छोडेर भाग्ने हियोन्सी ली वा सिन डोङ ह्युक मात्र होइनन्। येओन्मी पार्क, युनसिन किम, किम योङ, जाङ जिङ सुनजस्ता व्यक्तिहरूले आफूले उत्तर कोरियामा भोगेको यातना र जीवनशैली सम्झिँदै किताब लेख्ने, बोल्ने र विश्वलाई उनीहरूको मातृभूमिमा त्यहाँका नागरिकमाथि केके भइरहेको छ भनेर जानकारी दिइरहेका छन्।
‘मिनिस्ट्री अफ युनिफिकेसन’ दक्षिण कोरियाको डेटाअनुसार सन् १९९८ देखि सन् २०२४ सम्म उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा शरणार्थी बन्न आइपुग्नेको संख्या ३४ हजार ३१४ रहेको छ, जसमध्ये २४ हजार ७४६ जना महिला छन्। भोकमरी, अशिक्षा, भोकमरी र नियन्त्रणको जीवन मात्र उनीहरूले भागेका छैनन्। यस अवधिमा उत्तर कोरियाबाट भाग्नेको सूचीमा उत्तर कोरियाली सैनिकको संख्या ८९४ छ भने त्यहीँ ‘उच्च शिक्षा’ हासिल गरेकाको संख्या दुई हजार ३८३ रहेको छ।
बलियो सैन्य शक्ति, बफादारी, भ्रामक शिक्षा, सूचना सञ्चारजस्ता क्षेत्रमा मजबुत सरकारी नियन्त्रण र विश्वबाट जनता/जनजीवनलाई अलग गरेर सन् १९४८ देखि निरन्तर किम परिवारले उत्तर कोरियाको शासनमा कब्जा जमाइरहेको छ। उत्तर कोरियाका साहसी र स्वतन्त्रताप्रेमी मान्छेहरू देशको सीमा नाघेर भागिरहनु र बाहिर बसेर निरन्तर खबरदारी गरिरहनु उत्तर कोरियाली तानाशाहीमाथिको हमला हो। सिमानामा तैनाथ भोका सैनिकले खानाका लागि नै सीमापार गर्न चाहनेलाई बाटो देखाइदिनु, उच्च शिक्षा हासिल गरेका सैनिक र सरकारी अधिकारीहरू नै देश छोडेर भाग्नु आदि कारणले उत्तर कोरियाली राज्य कमजोर हुँदै गएको भान गराउँछ।
उत्तर कोरियामा कालोबजारी र घुसखोरी राज्यको नियन्त्रण बाहिरझैँ छ। त्यसमा उत्तर कोरियालीले तिनै काममा संलग्न भएर आन्तरिक विद्रोह गरिरहेका छन् भने अवैध तरिकाले चीन हुँदै दक्षिण कोरिया पस्न विवश भएकाहरूको संख्या निरन्तर बढ्दो छ, जसले अत्याचारी किम सत्ताको तस्वीर विश्वसामु देखाइरहेका छन्।
उत्तर कोरियाली जनताले आफ्नो मातृभूमिमै स्वतन्त्रताको सास फेर्न कहिले पाउलान्?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
