बेलाबेला शिक्षकले ‘तिमी अपवाद हौ’ भन्ने महसुस गराउनेबाहेक खासै असहज महसुस गरिनँ। तर क्याम्पसबाहिर भने पुरुष नर्स हुनुको स्पष्टीकरण मैले निरन्तर दिइरहनुपर्यो।
पूर्वीपहाड पाँचथरको एक सुदूरगाउँमा हुर्किएँ, त्यहाँ सपना त्यति फराकिला थिएनन्। हुन त, आफ्नो आँखाको भूगोलभित्रै हो सपना देख्ने। मेरो आँखाअघि ससाना पहाडी थुम्का थिए। मलाई लाग्थ्यो क्षितिज त्यहीँ छ। सपना भनेको के? स्कुलमा पढाउने 'माड्साप', स्वास्थ्य चौकीमा आलाले छाती सुन्ने 'अहेव सर', बल्लतल्ल गाउँमा पुग्दै गरेको ट्याक्सीका ड्राइभर। सायद बन्नका लागि यति नै विकल्प म देख्थेँ होला। हुन त घरमा बाआमा थिए, उहाँहरूको कृषिकर्म थियो। त्यो मेरो सपना कहिल्यै भएन। हामी जनजातिमा पढ्नेभन्दा धेरै लाहुरे हुने सपना धेरै हुन्छ। ती पुस्तौँपुस्ताका सपना। कुनै समयका बाध्यता परम्परा हुँदै सपना भइसकेका थिए। समयसँगै गाउँमा टिभी भित्रियो। टिभी भित्रिनु मेरो लागि अलिकति सपना फराकिलो हुनु पनि थियो। शिक्षक, अहेव, ट्याक्सी ड्राइभरभन्दा अलि पर पनि सपना फुल्न सक्छन् भन्ने महसुस टेलिभिजनमार्फत भएको थियो। छाती नापेर फौजी हुन मलाई कत्ति पनि लगाव थिएन। बाबु पुस्ताकै खाडीको दुःख मैले देखिसकेको थिएँ, त्यहाँ पनि जानू थिएन। कहिलेकाहीँ आमाको पछि लागेर फेदेन बजार पुगेँ। संसार मेरो कल्पनाभन्दा अलि बृहत् छ कि जस्तो लाग्यो।
एक दिन अचानक सरले कक्षामा प्रसंगवश विद्यार्थी के बन्ने भन्दै प्रश्न सोध्नुभयो। धेरैको उत्तर सर/मिस बन्ने, आर्मी र पुलिस बन्ने, विदेश जाने यस्तैयस्तै थियो। मेरो पालोमा मैले भनेँ, 'म त नर्स बन्छु।' सबैका उत्तर जिज्ञासापूर्वक सुनिरहेका सर र साथीहरू मेरो उत्तरमा गलल हाँसेँ। सरले भन्नुभयो 'धत् लाटा! नर्स त केटी मात्रै पो हुन्छन्। तँलाई थाहा छैन?' कक्षामा दोस्रो लट हाँसोको फोहोरा छुट्यो। मलाई लाग्थ्यो नर्स र डाक्टर भनेको एउटै हो। दुवैले बिरामीको उपचार गर्छन्। केही दिनसम्म मेरो नर्स बन्ने सपना साथीहरू र शिक्षकहरूका लागि मजाकको विषय बन्यो। त्यति पनि नजान्नुको लघुताभासले अलिकति खुम्चिएँ। सायद अहिलेको उमेर र चेतना भएको भए उनीहरूलाई सम्झाउन सक्थेँ होला– सपना कसरी बन्छन्? मैले पाँचथरको सुदूरगाउँमा देख्ने सपना र मेरै उमेरको एक शहरमा हुर्किरहेको युवकले देख्ने सपना कति फरक छन्? ती किन फरक हुन्छन्? त्यसबेला म यी सबै चेतनाबाट पनि वञ्चित थिएँ। सायद त्यसैले थाहा नहुनुमा लज्जित महसुस गरेँ होला, अलिकति। तर आज सम्झँदा मलाई त्यो सपनाप्रति कुनै पछुतो छैन, बरु नर्स नै हुने बलियो प्रतिबद्धता लिएकोमा गर्व छ।
पाँचथरबाट एसईई सकेर काठमाडौँ आएँ। सपना, वर्तमान या भविष्य भन्नू संयोग मात्रै हुनजस्तो लाग्छ। भवितव्यले मानिस बन्दा हुन्, अहिले जे छन्। काठमाडौँ आएर 'ब्रिज कोर्स' थालेँ। नेपाल नर्सिङ परिषद्ले २०७४-७५ बाट पुरुषले पनि नर्स पढ्न पाउने निर्णय गरेको खबर काठमाडौँ आएपछि थाहा पाएँ। यो प्रावधान थाहा पाउँदा शुरूमा त मैले स्कुलका शिक्षक र साथीहरू सम्झिएँ। पुरुष नर्स हुन सक्छन् भन्ने खबर मेरो स्कुलमा पुग्यो कि पुगेन होला? कोही पुरुष विद्यार्थीले कहीँ कतै कक्षाकोठामा आफ्नो नर्स हुने सपना सुनाइरहेका छन् कि छैनन् होला? कोही पुरुषको नर्स हुने सपनालाई कक्षाकोठा उसैगरी गिज्याइरहेका होलान्?
जे होस्, म त्यही कक्षाकोठाको सपनातिर फर्किएँ। नर्स हुने निर्णय गरेर स्टाफ नर्सको छात्रवृत्तिको एउटा परीक्षा दिई सो पाएँ पनि। ॐ हेल्थ क्याम्पस चाबहिलमा भर्ना भएँ। त्यस बेलासम्म एक सुनौलो सपना नै थियो नर्स बन्ने। त्यसो त म नर्स हुन किन आएँ भन्नेबारे मसँग त्यति स्पष्ट कारण थिएन। केही अधमरो सूचना, केही विदेशको सपना र केही अस्पष्टता बीचमै नर्स हुन आएको थिएँ।
यो पनि: आमाको जिउको आगो, अस्पतालको डढेलो!
पढ्न थालेपछि पुरुष नर्स हुनुका सारा दुःखसँग साक्षात्कार गरेँ। ३९ जना केटीबीच एक्लो केटा थिएँ। २०४६ को राजनीतिक परिवर्तनपछि पुरुषले समेत नर्सिङ पढ्थे रे, बीचमा त्यो रोकिएर महिला मात्र पढ्ने विषय बनाइएछ। त्यस बेला पढेका पुरुष नर्स आज पनि केही अस्पताल र क्याम्पसमा हुनुहुन्छ। विदेश पढेर आएका कतिपय पुरुष नर्स पनि नेपालमा कार्यरत हुनुहुन्छ।
नेपाली समाज लैंगिक रूपमा अति धेरै विभक्त छ। गाउँघरतिर विद्यालयमा समेत आफूभन्दा फरक लैंकिकताका साथीहरू बनाउन अझै संकोच मान्नुपर्ने अवस्था छ। केटा र केटीको मित्रतालाई पनि सहज नमानिसकेको र लैंगिकताको पर्खाल लगाएको समाजबाट हुर्किएर एकै पटक ३९ जना केटी पढ्ने कक्षाकोठाको एक्लो पुरुष विद्यार्थी हुनु आफैमा चुनौतीपूर्ण भयो। शुरूमा त धेरै असहज थियो। साथी कसरी बनाउने? महिलासँगको मित्रता कस्तो हुन्छ? मलाई थाहा थिएन, असहजताबीच धेरैजसो म एक्लै हुन्थेँ। तर मान्छे जाति साथीबिना रहला र कहीँ? कुनै न कुनैको सामाजिक अपनत्व मानिसले खोज्छ नै। मैले पनि बिस्तारै साथी बनाएँ त्यसपछि।
म नर्स हुन लहडमा आएको थिएँ वा अस्पष्टतामै, माथि नै संकेत गरेँ। भर्खरै स्कुल सकेर आएको विद्यार्थी धेरैजसो लहडमै आउँदो हो। फरक परिवेशले मेरो दृष्टिकोण बदल्यो। केटी साथीहरूसँगको त्यति असल मित्रता मैले सायद पहिलो पटक महसुस गरेँ। सारा नियम जसले मानिसको मानिससँगको सम्बन्ध समेतलाई लैंगिकताको पर्खाल लगाएर छेक्यो, त्यो कति साँघुरो थियो भन्ने कुरा मेरा महिला मित्रहरूसँगको संगतमा महसुस भयो।
बेलाबेला शिक्षकले ‘तिमी अपवाद हौ’ भन्ने महसुस गराउनेबाहेक खासै असहज महसुस गरिनँ। तर क्याम्पसबाहिर भने पुरुष नर्स हुनुको स्पष्टीकरण मैले निरन्तर दिइरहनुपर्यो। यस पेसामा कहिल्यै पुरुष कल्पना नै नगरिने समाजमा त्यस्ता प्रश्न र आश्चर्य भाव अस्वाभाविक होइन। तर व्यक्तिगत अनुभवमा ती एकदमै हैरानीपूर्ण थिए। कसैलाई कसैको पेसा वा सपनाको कारण किन चाहिन्छ? कसैको सपनाको नापतौल गर्दै कोही नाक खुम्च्याउनु वा फुकाउन किन उद्धत रहन्छ? यसको सामाजिक कारण के हुनसक्छ? स्थापित मान्यता/अभ्यास छाडेर अलग बाटो मोडेर हिँड्नेले अलिकति हैरानी त पक्कै सहनु नै पर्छ, तर त्यो हैरानी यतिसम्म क्रूर पनि नहोस् कि कसैले सहनै नसकेर बाटो फेर्न परोस्।
म मान्छेहरूका प्रतिक्रियाले केही खुम्चँदै, केही बलियो हुँदै र अलिअलि बेवास्ता गर्दै नर्स नै बनिरहेँ। पढाइ सकियो। काम खोज्ने बेला भयो। केही अस्पताल चहारेँ। पुरुष नर्स भन्नेबित्तिकै उनीहरूको भावभंगी परिवर्तन हुन्थ्यो। कतिले त मुखै फोरेर भन्थे–पुरुष नर्स हामी राख्दैनौँ। किन? प्रश्न मेरो मनमा त थियो, तर धेरै ठाउँमा सोध्न सकिनँ। यो अस्वीकृतिले मलाई अलिकति हतोत्साहित बनायो र जिज्ञासु पनि। मैले विश्वमा नर्सिङ इतिहास अलि गहिरिएर खोज्ने कोशिश गरेँ। के संसारभर पुरुष नर्सका कथा यस्तै छन्, जस्तो मेरो छ?
उत्तर मिल्दोजुल्दो थियो, तर ठ्याक्कै उस्तै थिएन। नर्सिङ पेसा संसारमा महिलाको परम्परागत ज्ञान र भूमिकाकै विस्तारका रूपमा आएको थियो। विभिन्न चरणमा यसले आफूलाई विकास गर्यो। यो आज विज्ञान आधारित स्वास्थ्य सेवा प्रणालीको महत्त्वपूर्ण कला हो। नर्सिङको विकास क्रमकै बीचमा संसारमा ठूला परिवर्तन भए। त्यसैको जगमा चेतना निर्माण र आन्दोलन भए। विश्वव्यापी रूपमा पितृसत्ताका भाष्य अलिअलि भत्किँदै जाँदा नर्सिङ पेसाले पनि आफूलाई महिलाभन्दा अलि पर विस्तार गर्दै गयो। आज पनि विश्वमा नर्सिङ पेसामा पुरुष र महिलाको लैंगिक अनुपात हेर्दा भिन्न देखिन्छ। अझै पनि पितृसत्तात्मक सोचको धङधङी त देखिन्छ, तर बिस्तारै घट्दै गएको छ। विश्वव्यापी रूपमै पुरुष नर्सका रूपमा काम गरिरहेका छन्।
प्रायःजसो संसारको परिवर्तनलाई राजनीतिक आन्दोलनको परिणामका रूपमा हेरिन्छ। शायद त्यसैले होला, 'परिवर्तन सधैँ राजनीतिक हुन्छ' भनिन्छ। बृहत् अर्थमा त्यो हो पनि। किनकि राजनीतिक चेतनाले नै आन्दोलन बन्छ, त्यसैले परिवर्तनको जग बसाल्छ र संसार अगाडि जान्छ। तर संसारका परिवर्तन राजनीतिक आन्दोलनका परिणाम मात्र होइनन्। संस्कृति र परम्पराको विनिर्माणका लागि भएका मसिना प्रयत्न पनि हुन्। ती हाम्रो वरपर भइरहेका छन्। तिनले स्थापित मान्यतालाई आफ्नो प्रयत्नबाट चुनौती दिई नै रहेका छन्। ती असाध्यै सामान्य नागरिकले व्यक्तिगत रूपमा आफ्नो निजी जीवनमा गरेका प्रयत्न पनि हुन्छन् वा सामूहिक पनि हुन सक्छन्।
हाम्रा मान्यतालाई फराकिलो बनाउने कोशिश पनि हुन् ती हरेक प्रयत्न। यसो भनौँ–नयाँ संस्कृति निर्माण गर्ने प्रयत्न हुन्। कसैको भिन्न उद्देश्य नै किन नहोस्, त्यसले संस्कृतिको विनिर्माण गरिरहेकै छ। म हाम्रो समाजमा रहेको लैंगिक पूर्वाग्रह भत्काउँछु नै भनेर नर्स भएको होइन। नर्स हुनाका मेरा छुट्टै कारण थिए। तर नर्स हुँदै गर्दा मैले यो पनि बुझेँ कि कुनै पेसा कुनै लिंगविषेशको मात्र कसरी हुन सक्छ? समाजले पुरुष नर्सप्रति नाक खुम्च्याउनुको कारण पनि मैले पहिल्याएँ।
महिलाको विनम्रता, करुणा र प्रेमलाई कहिल्यै कदर गर्न नसकेको, तिनको श्रमलाई श्रमको रूपमा स्वीकार गर्न नसकेको, पुरुषले यो गर्ने, महिलाले यो गर्ने भन्ने साँघुरा मान्यता बनाएको, प्रेम, करुणा र विनम्रता/समभावका अनुभूतिबाट सधैँ पुरुषलाई वञ्चित राखेको, महिलाको विनम्रताको फाइदा उठाउँदै भावनात्मक छलकपटमार्फत तिनको श्रमशोषण भइरहेकाले पनि अब त म जसरी भए पनि नर्स नै बन्ने अठोट गरेर बसेको छु।
मेरा प्राथमिकता र बुझाइ बदलिएका छन्। यो लैंगिक पूर्वाग्रह भत्काउँदै पुरुषसमेत प्रेम र समभाव र विनम्रताले भरिएका नर्स हुन सक्छन् भन्ने स्थापित गर्ने यो ‘मसिनो क्रान्ति’को हिस्सा भएकोमा गर्व महसुस गर्छु।
(तामाङ महाराजगन्ज नर्सिङ क्याम्पसमा स्नातक नर्सिङ अध्ययनरत छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
