विश्वकप उपविजेता टोलीका कप्तान हेमराजः जसले खो खो खेल्न कबड्डी छाडे

हेमराजले २०६९ सालको राष्ट्रिय कबड्डी  प्रतियोगितामा सुदूरपश्चिमबाट खेलेर कास्य पदक जितेका थिए। तर २०७२ सालमा उनी खो खोको राष्ट्रिय टोलीमा पुगेपछि कबड्डी खेल त्यागिदिए।

काठमाडौँ– हेमराज पनेरु कबड्डी खेल्थे। खो खो भने नयाँ खेल थियो, आफूले पढेको विद्यालयमा खेलिन थाल्यो। उनी पनि सिक्न थाले। तर त्यो रमाइलोमा सीमित थियो। उनले कबड्डीको राष्ट्रिय प्रतियोगिता नै खेलिसकेका थिए।

२०७२ सालमा भएको १२औँ दक्षिण एशियाली खो खो प्रतियोगिताले भने हेमराजको जीवनमा नयाँ मोड ल्यायो। प्रतियोगिता खेलेर उनी आफ्नो घर फर्किए। त्यही बेला नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले उनलाई अनुबन्धको प्रस्ताव गर्‍यो। 

उनी २०७३ सालमा खो खो खेलाडीका रूपमा त्रिभुवन आर्मी क्लबमा आबद्ध भए। त्यसपछि नियमित अभ्यासको अवसर त मिल्यो नै, आर्थिक रूपमा पनि सक्षम भए। कबड्डीबाट भने उनी बिदा भए।

हेमराज कुनै बेला पढ्नका लागि तराई झरेका थिए। त्यही तराईले उनलाई खेलाडी बनायो। ३० वर्षअघि डडेलधुरामा जन्मिएका उनले कक्षा २ सम्म त्यहीँ पढे। २०५८ सालमा उनी मामाघर कैलालीको धनगढी झरे।

कक्षा ३ देखि स्नातकसम्मको अध्ययन कैलालीमै पूरा गरे। त्यहाँ पढ्दा उनी विशेषगरी कबड्डी खेल्थे। फुटबल र क्रिकेटमा पनि रुचि थियो। खो खो बारे बिस्तारै थाहा पाउँदै थिए।

उनको मनपर्ने खेल भने कबड्डी नै थियो। उनले २०६९ सालको राष्ट्रिय कबड्डी  प्रतियोगितामा सुदूरपश्चिमबाट खेलेका थिए। त्यस प्रतियोगितामा सुदूरपश्चिमले कास्य पदक जितेको थियो।

कबड्डीबाट खो खोमा  
हेमराजले खो खो खेल्न सिकेको विद्यालयमै हो। उनलाई खेल्ने शैली रमाइलो लाग्यो। अनि कबड्डीसँगै खो खो पनि सिक्न थाले। उनको खेल निखारिँदै गयो। 

त्यो बेला खो खो प्रशिक्षक मोतिराज पनेरु थिए। उनले धनगढी रंगशालामा खो खो सिकाउँथे। हेमराज त्यहीँ गएर निरन्तर प्रशिक्षण लिन थाले। 
२०७२ सालमा भारतमा खो खोको दक्षिण एशियाली प्रतियोगिता खेल्न जाने राष्ट्रिय टोलीका लागि काठमाडौँमा छनोट हुने भयो। उनलाई प्रशिक्षक मोतिराज पनेरुले काठमाडौँ पठाए।

हेमराजले खो खो सिक्न थालेको धेरै समय भएको थिएन। छोटो समयमै उनको परीक्षण हुन लागेको थियो। उनी प्रशिक्षक र परिवारको हौसला लिएर काठमाडौँ आए।

छनोट प्रकृया सकेर धनगढी फर्किए। धनगढी फर्किएको २० दिनपछि काठमाडौँबाट प्रशिक्षक लक्ष्मीनारायण वैद्यले उनी राष्ट्रिय टोलीमा छनोट भएको खबर सुनाए। यो खबरले उनीभन्दा धेरै उनका प्रशिक्षक र परिवार खुशी भएका थिए। “मलाई प्रशिक्षकले आत्मविश्वास बढाइदिनु भयो। गुरु र परिवारको हौसला र विश्वासको कारणले म छनोट भएको थिएँ,” उनी भन्छन्।

छनोटपछि प्रतियोगिताको तयारी शुरू भयो। तर प्रशिक्षण गर्ने ठाउँको अभाव थियो। अनेक चुनौतीका बाबजूद नेपालले कास्य पदक जितेको थियो। पहिलो अन्तर्राष्ट्रिय सभागितामा नै पदक जितेपछि उनी पनि हौसिए, कबड्डीभन्दा खो खोलाई बढी प्राथमिकता दिन थाले। 

उनले अहिलेसम्म पाँच वटा राष्ट्रिय प्रतियोगिता र सात वटा अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका छन्। आफू सम्मिलित टिम कुनै पनि प्रतियोगितामा पदकविहीन हुनु नपरेको उनी बताउँछन्। नेपाल–भारत सम्मिलित दुई देशको प्रतियोगितामा नेपालले स्वतः रजत पदक जितेको अवस्थालाई पनि उनले गणना गरेका छन्।

हेमराजले खेलेका सबै पाँच वटा राष्ट्रिय प्रतियोगिता त्रिभुवन आर्मी क्लबबाट हो। पहिलो पटक २०७३ सालमा सातौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको थियो।

त्यसको एक वर्षपछि २०७४ सालमा राखेप खो खो च्याम्पियनसिप भएको थियो। त्यसमा पनि आर्मीले स्वर्ण पदक नै जित्यो। २०७६ सालमा भएको आठौँ बृहत राष्ट्रिय खेलकुद र २०७८ सालमा भएको छैटौँ पुरुष खो खो प्रतियोगितामा पनि उनको टोलीले स्वर्ण पदक जित्यो। २०७९ मा भएको नवौँ बृहत राष्ट्रिय खेलकुदमा भने त्रिभुवन आर्मीले रजत पदकमा चित्त बुझाउनु परेको थियो।

हेमराजले राष्ट्रिय प्रतियोगिता नखेल्दै खोखोको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। २०७२ सालमा भारतमा भएको दक्षिण एशियाली प्रतियोगितामा नेपालले कास्य जित्यो। सन् २०१६ मा भारतमै तेस्रो एशियन खो खो च्याम्पियनसिप भयो। त्यसमा पनि नेपालले कास्य पदक जित्यो।

सन् २०१६ भारतमै नेपाल–भारत टेस्ट म्याच प्रतियोगितामा नेपालले भारतलाई पराजित गर्न सकेन। त्यसको तीन वर्षपछि सन् २०१९ मा  नेपालमा भएको १३औँ सागमा खो खो पनि सामेल थियो। त्यसमा नेपाल तेस्रो नै भयो। 

त्यसपछि चार वर्ष कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता भएन। सन् २०२३ भारतमा भएको चौँथो एशियन खो खो प्रतियोगितामा नेपालले रजत पदक हासिल गरेको थियो। सन् २०२४ नेपालमा नेपाल–भारत टेस्ट म्याच भएको थियो। त्यसमा नेपाल भारतसँग पराजित भयो।

विश्वकपमा कप्तान हेमराज, नेपाल उपविजेता
सन् २०२५ मा भारतले पहिलो पटक खो खो विश्वकप प्रतियोगिता आयोजना गरेको थियो। भर्खरै सम्पन्न यो प्रतियोगितामा नेपालसहित २० राष्ट्र सहभागी थिए। नेपालको कप्तान हेमराज नै थिए।

नेपालले पहिलो विश्वकपमा नै फाइनलमा स्थान बनाएको थियो। सेमीफाइनलमा इरानलाई हराएर फाइनल पुगेको नेपाल भारतसँग पराजित भयो।

हेमराज राष्ट्रिय टोलीको कप्तान भएको दुई वर्षभन्दा बढी भइसकेको छ। भारतमा २०७९ सालमा भएको चौँथो एशियाली खो खो च्याम्पियनसिपका लागि उनी पहिलो पटक कप्तान नियुक्त भएका थिए। उक्त प्रतियोगितामा नेपालले रजत पदक जितेको थियो।

उनीअघि खो खो राष्ट्रिय टोलीको कप्तान श्यामबहादुर बुढाथोकी थिए। बुढाथोकी अहिले हेमराज आबद्ध त्रिभुवन आर्मी क्लबको प्रशिक्षक छन्। 

हेमराजकोे कप्तानीमा नेपालले चौँथो एशियाली खो खो च्याम्पिएनसिप, नेपाल–भारत खो खो टेस्ट म्याच, प्रथम खो खो विश्वकप तीनै वटामा रजत पदक जितेकोे छ। राष्ट्रिय प्रतियोगिताहरूमा हेमराजको टिम प्रायः स्वर्ण पदक नै जित्छ। तर अन्तराष्ट्रिय प्रतियोगिताहरूमा भारत बाधक हुँदै आएको छ।

कुनै पनि खेलको विश्वकपमा नेपालले पहिलो पटक फाइनल खेल्ने कीर्तिमान खो खोमा नै बनायो। तर पहिलो विश्वकपमा रजत पदकमा चित्त बुझाउनु पर्दाको क्षण कहिल्यै नबिर्सिने उनी बताउँछन्। “प्रशिक्षकको विशेष भूमिका, अन्य खेलाडी साथीहरूको उत्कृष्ट प्रदर्शन र परिवार, साथिभाइको हौसलाले यो सम्भव भएको हो,” उनी भन्छन्, “हाम्रो लक्ष्य त विश्वकप नै जित्ने थियो।”

राष्ट्रिय टिमलाई ६ वर्षदेखि निरन्तर प्रशिक्षण दिइरहेका लक्ष्मीनारायण वैधको योगदानले पनि खो खोमा पदक जित्न सफल भएको हेमराज बताउँछन्। अहिले त्रिभुवन आर्मी क्लबमा प्रशिक्षक श्यामबहादुर बुढाथोकीको योगदानले पनि आफ्नो खेल निखारिएको उनको भनाइ छ।  “प्रशिक्षकसँग आफू पनि खेलाडी भएको अनुभव भएका कारण हाम्रो कमजोरी सुधार्न मद्दत गर्नुभएको छ,” उनी भन्छन्।