गान्धीले देखेको कुम्भमेला र सुधारका पक्ष

नदी, पानी र प्रकृतिलाई उत्सवका रूपमा मनाउनु हाम्रो सभ्यताको सुन्दर पक्ष हो। तर यही मौका छोपेर सर्वसाधारणलाई पाप र धर्मको त्रास देखाई लुट धन्दा मच्चाइन्छ। त्योचाहिँ खेद र सुधारको विषय हो।

हिन्दु धर्मावलम्बीहरू श्रद्धाका साथ सहभागी हुने कुम्भमेला (भारत) र त्यससँग सम्बन्धित समाचार अहिले चर्चामा छन्। यो मेला १२ वर्षको फरकमा भारतका विभिन्न स्थान; हरिद्वार (उत्तराखण्ड), प्रयागराज (उत्तर प्रदेश), नासिक (महाराष्ट्र) र उज्जैन (मध्य प्रदेश) मा हुनेगर्छ। पौष पूर्णिमा, मकर संक्रान्ति, मौनी अमावस्या, वसन्त पञ्चमी, माघी पूर्णिमा र महाशिवरात्रीलाई महाकुम्भका विशेष दिन भनेर मानिने रहेछ। सन् १९१५ मा महात्मा गान्धी दक्षिण अफ्रिकामा आफ्नो पहिलो सत्याग्रहको सफलतापछि भारत फर्किएपछि हरिद्वारको कुम्भमेलाको यात्रा गरेका थिए।

आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेअनुसार सो वर्ष हरिद्वारमा कुम्भमेला थियो। गान्धीले उल्लेख गरेका छन्, "मेलामा सहभागी हुन मलाई कुनै हतारो थिएन, तर त्यहाँको गुरुकुलमा रहेका महात्मा मुन्सिरामजीलाई भेट्न उत्सुक थिएँ।" सहरनपुरदेखि हरिद्वारको कुम्भमेलास्थलसम्मको वर्णनमा गान्धीले तीर्थयात्रीहरूको यात्राको पीडाबारे समेटेका छन्: 

"कलकत्ताबाट हरिद्वारको यात्रा विशेष रूपमा कष्टकर थियो। कतिपय रेलका डब्बामा बत्ती थिएनन्। सहरनपुरबाट हामीलाई सामान वा गाईबस्तु राख्ने डब्बाहरूमा खाँदिएको थियो। यी डब्बामा छाना थिएन, र माथि दिउसोको चर्को घाम र तल तातो फलामको पातोमा बस्दा हामी झन्डै भुङ्ग्रोको आलुझैँ भएका थियौँ। तर यस्तो गर्मीमा पानी प्यासले सताउँदा समेत कतिपय कट्टर हिन्दूहरू मुसलमानले दिएको पानी पिउन मान्दैनथे। 'हिन्दू' पानी नपाएसम्म उनीहरू प्यास सहेर बसिरहे। के ख्याल गर्नुपर्छ भने यिनै हिन्दुहरू, रोग लागेको अवस्थामा डाक्टरले तिनलाई रक्सी खुवाए वा 'बिफ (गाइको मासु) को चिया' भनेर डाक्टरलाई सोध्दैनन्।  आफूलाई पानी दिने मान्छे मुसलमान हो वा क्रिश्चियन भनेर सोधपुछ गर्दैनन्।"

गान्धीको ती आलोचनात्मक टिप्पणीहरूले मान्छेमा धार्मिक विभाजनप्रतिको उनको असन्तुष्टि बाहिर ल्यायो। हाम्रो समाजमा रहेको जातीय छुवाछुत र त्यसको कट्टरतालाई समेत त्यसले उजागर गर्छ। आफू उतिखेर सार्वजनिक रूपमा उति धेरै नचिनिएका कारण निर्धक्क एक्लै मेला हेर्न पाएको बताउँदै गान्धी आत्मवृत्तान्तमा भन्छन्, "घुमफिरका क्रममा मैले तीर्थयात्रीहरूको भक्तिभन्दा बढी तिनको अन्यमनस्कता, ढोँग र फोहोरपन नजिकबाट अवलोकन गर्ने मौका पाएँ। त्यहाँ ओइरिएका साधुहरूको भीड देख्दा यस्तो लाग्थ्यो, उनीहरू जीवनको सम्पूर्ण सुखभोग गर्नकै लागि जन्मिएका हुन्।"

गान्धीले आत्मवृत्तान्तमा उल्लेख गरेको यो सन्दर्भले यस्ता भीडहरूमा धर्मका नाममा हुने अपराध र 'दानवीय' वृत्ति र अन्धविश्वास झल्काउँछ: 

"पाँच खुट्टा भएको गाई मेलामा देखेर छक्क परेँ, तर अनुभवी व्यक्तिहरूसँगको कुराकानीपछि मेरो भ्रम हट्यो। बिचरा त्यो पाँच खुट्टे गाई त दुष्टहरूको लोभको सिकार पो भएकी रहेछिन्! त्यो कुनै चमत्कार नभई जिउँदो बाच्छाकै खुट्टा काटेर गाईको काँधमा टाँसिएको पो रहेछ! यस्तो दोहोरो निर्दयताको परिणामलाई अन्धविश्वासी मान्छेलाई ठग्न प्रयोग गरिएको थियो। पाँच खुट्टे गाई देखेपछि कुनै पनि हिन्दू श्रद्धालु आकर्षित नहुने कुरै थिएन, र यस्तो 'चमत्कारिक' गाईलाई दान दिँदा पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले गर्दा उनीहरू खुलेरै पैसा खर्च गर्थे।"

गान्धीजीले उल्लेख गरेझैँ महाकुम्भको मौका पारेर अनेक खालका जालसाझी, धन्दा, व्यापार, भिडभाड र भ्रमको खेतीहरू हुने गर्छन्। यस्ता भीडमा चोरी र जालसाजीको कुरै नगरौँ। कोही महाकुम्भमेलामा एक डुबुल्की मात्रै लगाउन लालायित छन् भने कोही साधु र महामण्डलेश्वरहरूको चर्तिकला हेर्न इच्छुक रहन्छन्। कैयौँलाई लाग्छ कि कुम्भमेलास्थल वास्तवमै अमृत झरेको स्थान हो र एकवारको जुनीमा त्यहाँको दर्शन गरेर मृत्युपछि स्वर्गको द्वार खोल्न सकिन्छ। 

प्रत्येक १२ वर्षमा प्रयाग, हरिद्वार, उज्जैन तथा नासिकबाट कुनै एक ठाउँमा एकत्रित भई नदीमा स्नान गरेपछि मरेपछि आफ्नो आत्माले उच्चलोक प्राप्त गर्छ भन्ने मान्यताका कारण यी स्थानहरूमा नुहाउनु (डुबुल्की मार्नु) स्नान गर्नु साक्षात् स्वर्गको दर्शन गर्नु मानिँदो रहेछ। 

कुम्भको शाब्दिक अर्थ घडा, सुराही या भाँडा हुँदो रहेछ। पानी या अमृतलाई विशेष महत्त्व दिई कुनै एक ठाउँको सामुदायिक उत्सवमा उपस्थित हुनु यस मेलाको विशेषता हो। 

कुम्भपर्वलाई लिएर दुई तीन वटा पौराणिक प्रचलित कथामध्ये देवता तथा दानवहरूद्वारा समुन्द्र मन्थनबाट प्राप्त “अमृतको घडाबाट” अमृतको थोपा खस्नुसँग यो पर्व सम्बन्धित छ। कथाअनुसार दैत्य गुरु दुर्वासाको श्रापका कारण इन्द्र तथा अन्य देवता कमजोर भए, तब दानवहरूले देवतामाथि आक्रमण गरी उनीहरूलाई हराए। तत्पश्चात् सबै देवता मिली भगवान् विष्णुसमक्ष गए र उनलाई आफ्ना सारा वेदना सुनाए। विष्णुले देवताहरूलाई दैत्यसँग मिलेर “क्षीर सागरको” मन्थन गरी अमृत निकाल्ने सल्लाह दिए। भगवान् विष्णुको सल्लाहअनुसार देवताहरूले दैत्यसँग सन्धि गरी मिलेर अमृत निकाल्न लागे।

मन्थनबाट अमृतको कुम्भ (घैला) निक्लिनेवित्तिकै देवताको इसारामा इन्द्रका पुत्र जयन्तले अमृतको कलश लिएर आकाशमा उडे। त्यसपश्चात् दैत्य गुरु शुक्राचार्यको आदेशअनुसार दैत्यहरूले अमृत आफूले पाउन जयन्तलाई पछ्याए। ठूलो संघर्षको बाबजुद बाटोमा  दैत्यहरूले जयन्तलाई पक्रिए। त्यसपछि “अमृतको घडा”को लागि देवता र दानवबीच १२ दिनसम्म निरन्तर युद्ध भयो। परस्परको तानातान/मारकाट/युद्धका दौरान पृथ्वीको चार ठाउँ प्रयाग, हरिद्वार, उज्जैन र नासिकमा घडाबाट अमृतको थोपा खसेको थियो।

उक्त समयमा चन्द्रमा, सूर्य र शनिले “घडा”लाई सुरक्षा गरेको प्राचीन कथा छ। “घडा”को विषयलाई लिएर भएको कलह शान्त गर्न भगवान्‌ले “मोहिनी” रूप धारण गरेर सबैलाई अमृत बाँडेर पिउन दिई देवता र दानवबीचको युद्ध अन्त गरेको कथा छ। अमृत प्राप्त गर्न १२ दिनसम्म निरन्तर युद्ध भएकाले, देवता-दानवको १२ दिन मान्छेको १२ वर्ष हुने ठान्दै महाकुम्भमेला पनि १२ वर्षको अन्तरालमा हुने गर्छ, जसमा चार कुम्भ पृथ्वीमा र बाँकी आठ कुम्भ 'देवलोक' (शायद आकाश/अन्तरिक्ष) मा हुने बताइन्छ। त्यहाँ पृथ्वीवासी पुग्न सम्भव भएन!

जुन वर्ष जुन राशिमा सूर्य, चन्द्रमा र वृहस्पतिको संयोग हुन्छ, त्यसै वर्ष उक्त राशिको योगमा जहाँजहाँ अमृतको थोपा खसेको थियो, त्यहाँ त्यहाँ कुम्भ पर्व हुने गर्छ। छनलाई अन्य १२ स्थानमा सो अमृत खसेको बताइन्छ, तर अहिलेसम्म यी चार ठाउँको बढी चर्चा छ। अघिल्लो सालको चैत्र महिनामा नेपालको सुनसरीको चतराधाममा पनि कुम्भमेला आयोजना गरिएको थियो। 

यो पनि: १९६२ को ‘अष्ट ग्रह’ आतंक: जब नेहरूले भने ‘अविवेकपूर्ण’

सूचना प्रविधि, यातायातको सुगमता र जनसंख्या वृद्धिसँगै महाकुम्भ झनै भिडभाडयुक्त र 'फेसनेबल' हुँदै गइरहेको छ। कोही पूर्ण विश्वास र श्रद्धाका साथ धार्मिक यात्रामा जाने गरेका छन् भने कतिपयलाई यो प्रदर्शनको अवसर हुने गरेको छ।  म बढी धार्मिक छु भनेर मार्केटिङ गर्ने मौका। कयौँ भक्तजन यस यात्रा र स्नानको प्रतापले मृत्युपछि “स्वर्गको ढोका खुल्ने” ठान्छन्, कोही यही यात्राको प्रतापले आफ्नो चर्चा र अर्थ संग्रह बलियो हुने ठानिरहेका छन्। सामाजिक सञ्जालमै भाइरल हुन र भिडियो खोज्न मात्रै पनि पुगेका होलान् कति धार्मिक अवतारमा! अनेकौँ झमेला र असहजताबीच नेपालबाट हजारौँको संख्यामा श्रद्धालुहरू कुम्भमेलामा गएको अनुमान गर्न सकिन्छ।

महाकुम्भबाट फर्किँदै गर्दा केही दिन पहिले नेपाली श्रद्धालुहरूले ज्यान गुमाए। भिडभाडमा कैयौं श्रद्धालु हराइरहेको खबर आइरहेकै छ। उसो त एक हप्ताअघि (मौनी अमावश्यको दिन) कुम्भमेलामा भएको भागदौडमा ३० जनाको ज्यान गएको भारतीय सरकारले नै स्वीकारेको छ। मौनी अमावश्यको दिन कुम्भमा नुहाउँदा विशेष फल प्राप्त हुने अपेक्षा राखी नुहाउने श्रद्धालुको शंख्या नदी किनारमा बढेका बखत भारत सरकारका विशेष व्यक्तिहरू (भीआईपी/भीभीआईपी) का लागि बाटो छुट्याएर राख्दा भीड थेगी नसक्नु भई सो भागदौड भएको बताइन्छ।

यस्ता खास अवसरमा भीआईपीहरूलाई गरिने विशेष प्रबन्ध आफैमा अनुचित हो। अन्यत्र विभेदका कहालिलाग्दा खाडल भए पनि कमसेकम तीर्थ/व्रत/स्नानमा बराबर व्यवहार गरिनुपर्ने हो। तीर्थ जाँदा किचिएर किराफट्याङ्ग्राझैं मर्नुपर्ने नियतिले भारतीय/नेपालीहरूको अव्यवस्था/असंवेदनशीलतालाई उजागर गर्छ।

मेला र पर्वहरू मान्छेको भेटघाटसँगै व्यापार व्यवसाय र रमाइलोको अवसर हो। हजारौँ र लाखौँ मान्छेहरू खास ध्येयका साथ जम्मा हुने विषय आफैमा रोचक हो। त्यसमाथि, नदी किनारा सभ्यताका केन्द्र हुन्। विभिन्न स्थानबाट आएर एक ठाउँमा जोडिने नदीको आफ्नै विशेषता हो। नदी, पानी र प्रकृतिलाई उत्सवका रूपमा मनाउनु हाम्रो सभ्यताको सुन्दर पक्ष हो। तर यही मौका छोपेर सर्वसाधारणलाई पाप र धर्मको त्रास देखाई लुट धन्दा मच्चाइन्छ। त्योचाहिँ खेद र सुधारको विषय हो।

धार्मिक भक्तहरूको भावनामा खेल्दै अनेकन् जालझेल र कपटका धन्दा हुने गर्छन्। कोही 'पानीमा नडुब्ने ढुंगा' भन्दै ढुंगा रङको जलप लगाएका प्लास्टिकका बाकस देखाएर पैसा बटुलिरहेका हुन्छन् त कोही पवित्र जल भन्दै बोतलमा जेसुकै बेचिरहेका हुन्छन्। आशीर्वाद दिएको भन्ने नाममा नग्न पुरुषहरूले महिलालाई कुच्चाले हान्नेलगायत हर्कतले अन्धविश्वासलाई नै बढवा दिन्छ। गाईको बाच्छाको खुट्टा काटेर पाँच खुट्टे गाई भन्दै श्रद्धालुहरूलाई बेवकुफ बनाएको विषयबाटै प्रस्ट हुन्छ धेरै पहिलेदेखि यस्ता घृणित हरकत यस्ता मेलाहरूमा हुने गर्छन्। 

स्वस्थ मनोरञ्जन दिनुपर्न ठाउँमा यस्ता कुकृत्यहरूले मेलाकै बदनाम गर्नेगर्छ। नेपालमा पनि यस्ता १२ वर्षे, ४ वर्षेलगायत अनेकन् मेलाहरू आयोजना भई रहन्छन्। मेलाहरूले मान्छेलाई चलायमान बनाउने तथा यातायात व्यवसायीको आम्दानी बढाउने सकारात्मक पाटो हो, तर धेरै मान्छेहरू नदी खोलामा पुग्दा तिनले खोलाहरूलाई थप प्रदूषित बनाउने उत्तिकै सत्य हो। प्लास्टिकलगायत फोहर सिधै नदीमा फ्याँक्ने कुरामा अझै नेपाली/भारतीय उति सचेत देखिँदैनन्। 

कुम्भमेला महाशिवरात्रिका दिन सकिनेछ। यस मेलालाई नजिकबाट नियाल्दै यसमा हुने कमीकमजोरीलाई पर्गेल्दै कमसेकम हाम्रा मेलाहरूलाई थप सभ्य, सफा र वातावरणमैत्री बनाउनेतर्फ सम्बन्धित सबैले सोच्नुपर्छ, लाग्नुपर्छ।