दोहोरो विभेदमा उत्पीडित समुदायका ‘क्विर’

दलित क्विरको लागि त यो समाज अझै चुनौतीपूर्ण छ। क्विर हुनु सामाजिक रूपमा विभेदमा पर्नु त हो नै, सँगै दलित क्विर हुनु जातीय र लैंगिक दुवै विभेदमा पर्नु हो।

एआईको सहयोगमा तयार पारिएको तस्वीर

अघिल्लो वर्षको जेठ २३ गते पोखराको फेवाताल नजिकै हातमा 'प्राइड फ्ल्याग' (यौनिक अल्पसंख्यकहरूले प्रयोग गर्ने इन्द्रेणी रंगको झन्डा) बोकेर एक अधबैँसे महिला केही युवाबीच नारा लगाउँदै थिइन्।

इस्वी संवत्‌को जुन महिना अर्थात् 'प्राइड मन्थ'को उत्सव थियो त्यो। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आत्मसम्मान र अधिकारबारे आयोजित उक्त उत्सवमा कयौँ युवाको उपस्थिति थियो, नाराबाजी गर्नेको पहिलो पंक्तिमा थिइन्, सुकुन्धरा सुनार। सुकुन्धरा क्विर (पारलिंगी) समुदायकी होइनन्, तर उनका छोरा अविन भने क्विर समुदायका हुन्। आफ्नो छोराजस्तै अन्य क्विर छोराछोरीको हौसलाका लागि गौरवपूर्ण झन्डा बोकेर उत्सव मनाउन आएको उनले बताएकी थिइन्। सुकुन्धराले माइकमा क्विर परिवारलाई आफ्ना सुझावसमेत व्यक्त गरिन्।

क्विर समुदायको बाक्लो उपस्थितिबीच उनी एक मात्र अभिभावक थिइन्। आमालाई सँगै प्राइड परेडमा सामेल गराउन अविनले धेरै चुनौती सामना गर्नुपरेको थियो। १६ वर्षको उमेरमा आफू अन्यभन्दा फरक भएको महसुस भएपछि आमासँग उनले आफ्नो भावना व्यक्त गरे। २३ वर्षीय अविन अहिले अमेरिकामा हेल्थ केयरमा स्नातक अध्ययनरत छन्। अविन समलिंगी पुरुष हुन्।

दु:खसुख गरी हुर्काएको सन्तानले आफ्नो फरक भावना राख्दा एकल आमा पहिले त डराइन्। छोरोको अलग पहिचान स्वीकार गर्दा आफन्त र समाजबाट एक्लिनुपर्ला कि, अरूले के भन्लान् र के जवाफ दिने भन्ने उनलाई पिर थियो। तर जब अविनले सम्झाए, आमाले छोरालाई उनको पहिचानसहित स्वीकारिन्। उनीमात्र नभई पूरै परिवार अविनको साथमा छ। परिवारका सबैले अविनलाई सम्मान र गौरवसाथ व्यवहार गर्छन्।

तर, नेपाली समाजमा क्विर समुदायका व्यक्तिलाई सहजै स्विकार्ने परिपाटी अझै कम देखिन्छ। सामाजिक सञ्जालमा क्विर समुदायप्रति सद्भाव राखेजस्तो गरे पनि आफ्नो परिवारकै कोही व्यक्ति क्विर भए भने विभिन्न दबाब दिने र मनोसामाजिक रूपमा त्यसबाट बाहिर निकाल्ने प्रयत्न हुने विभिन्न उदाहरण हामी देख्न सक्छौँ।

दलित क्विरको लागि त यो समाज अझै चुनौतीपूर्ण छ। क्विर हुनु सामाजिक रूपमा विभेदमा पर्नु त हो नै, सँगै दलित क्विर हुनु जातीय र लैंगिक दुवै विभेदमा पर्नु हो। दलित क्विर समाजमा खुल्न नसक्नुको प्रमुख कारण जात व्यवस्था रहेको दलित क्विरहरूको अनुभवले बताउँछ।

धनकुटाका सरोज (उमेर २२, नाम परिवर्तन)को जन्म गाउँमा भयो। दलित समुदायमा छोरीको रूपमा जन्मिएका उनी पारलैंगिक पुरुष हुन्। अध्ययनमा निकै तीक्ष्ण उनमा सानै उमेरदेखि केटाकै हाउभाउ थियो। किशोर अवस्थामा पुगेपछि उनी केटीसँग आकर्षित हुन थाले, त्यसपछि भने उनलाई आफूप्रति नै प्रश्न जाग्यो। क्विर समुदायबारे जानकारी नभएका उनी आफैंँभित्र संघर्ष गर्न थाले, अन्तर्द्वन्द्वमा फसे।

उनी १३ वर्षका हुँदा इन्टरनेटको सहयोगमा 'एलजीबीटीक्यूआईए' (लैंगिक रूपमा फरक समुदाय) शब्दबारे पहिलो पटक थाह पाए। "म को हुँ? समाजले तोकिदिएको छोरीको पहिचानभन्दा म किन फरक छु भन्ने प्रश्नले चिमोटिरह्यो," उनी भन्छन्, "एलजीबीटीक्यूआईए' (एलजीबीटीक्यूआईए प्लस) अन्तर्गतको पारलैंगिक पुरुषसँग व्यवहार मेल खायो, मनसपटल झन् बिथोलियो। आफ्नै नयाँ पहिचान स्विकार्न करिब डेढ वर्ष लाग्यो।"

परिवार शिक्षित नै भए पनि सरोजको पारलैंगिक पुरुषको यौनिकता स्विकार्न भने सकेनन्।

जात व्यस्थाका कारण समाजबाट अलग भएर बस्नुपर्दा मानसिक रूपमा पर्ने आघातका कारण पनि समाजमा खुल्न नसकेको झापाका साजन सिवा (उमेर २१, नाम परिवर्तन) बताउँछन्। उनी पेन्टिङ गर्छन्, यही क्षेत्रमा काम गर्ने रहर भएता पनि घरको दैनिकी चलाउन उनी साहुमहाजनको खेतबारीमा खेतीपातीको काम गर्छन्।

"दलित समुदायको प्रमुख समस्या गरिबी हो, त्यसमाथि पहिले नै जातकै समाजमा अपहेलित जीवन बाँच्न बाध्य हुनुपर्छ," उनी भन्छन्, "त्यसमाथि, क्विर भन्ने थाहा भएपछि व्यक्तिलाई मात्र नभई परिवारलाई समेत बहिष्कार र तिरस्कार गर्ने, कामबाट निकालिदिने गर्छन्, यस्तो अवस्थामा कसरी आफ्नो यौनिक पहिचान खुलाउनु?"

साजनलाई आफू समलिंगी पुरुष भएको कुरा थाहा भएको चार वर्ष भइसक्यो, तर सामाजिक रूपमा परिवार नै बहिष्कृत हुनुपर्छ की भन्ने भयले खुल्न नसकेको बताए। परिवारमा आम्दानीको स्थायी स्रोत नभएको, घरमा कमाएर परिवारको जिम्मेवारीसमेत आफैले बहन गर्नुपरेकाले चाहेजस्तो जीवन बाच्न नसकेको उनको भनाइ छ।

जातकै कारण यौनिक तथा लैंगिक अल्पसंख्यक समूहका साथीबाटै समेत एक्लो पारिने र तिरस्कृत हुनु परेको अनुभव ट्रान्स महिला (पुरुषका रूपमा जन्मेको तर व्यक्तिले आफूलाई महिला माने/ठान्ने) आयांंका परियार (नाम परिवर्तन, उमेर २०) ले सुनाइन्। मोरङकी उनी हाल भैरहवा बस्छिन्। उनी नर्तकी (डान्सर) हुन्। विवाह, समारोह, स्टेजलगायत विभिन्न कार्यक्रममा उनी र उनको समूह नृत्य प्रस्तुत गर्छन् र त्यसबाट बस्ने खाने खर्च जुटाउँछन्। सानै उमेरदेखि केटीको जस्तो हाउभाउ भएकाले धेरैले उनलाई जिस्क्याउँथे। तर किशोर अवस्थामा पुग्दा उनी केटीप्रति नभई केटाप्रति आकर्षित हुन थालिन्।

शुरूमा आफूमा भएको परिवर्तनबारे अनभिज्ञ रहे पनि इन्टरनेट र साथीहरूको सहयोगमा क्विर समूहबारे जानकार भएको उनले बताइन्। "कक्षा १२ को पढाइपछि आफ्नो पहिचान स्वीकार गरी सम्मानसाथ बाँच्नुपर्छ भन्ने लाग्यो र  ट्रान्स महिलाको रूपमा म खुलेँ," उनले भनिन्। आयांकाले ट्रान्स महिलाका रूपमा हिँड्न थालेको तीन महिना मात्र भएको छ। चरम गरिबी, अभाव र विभेदमा बाल्यकाल बिताएकी आयांकाले १२ कक्षापछि आफ्नो औपचारिक अध्ययन अगाडी बढाउन सकेकी छैनन्।

दलित यौनिक तथा अल्पसंख्यकको सहभागितामाथि प्रश्न
वकिल तथा अभियन्ता रुक्सना कपाली दलित समुदायको हक अधिकारको या यौनिक तथा लैंगिक अल्पसंख्यकको सवालमा नीति निर्माण गर्दा अन्तर्सम्बद्धताको विषय छुटाउनै नहुने बताउँछिन्। "दलितको सवालमा काम गर्ने संघसंस्था अथवा यौनिक तथा अल्पसंख्यकको सवालमा काम गर्ने संघसंस्थाले दलित क्विरले भोग्नु परेको तहगत संघर्षको विषयमा वृहत् छलफल गरी नीति निर्माण हुनुपर्छ," उनले भनिन्।

संघसंस्थाले आयोजना गर्ने राष्ट्रिय स्तरका भेला र सम्मेलनहरूबाट दलित क्विरको अधिकारको विषय अनुमोदन गरी नीति निर्माणको पहल आवश्यक रहेको उनको भनाइ छ। उनका अनुसार विशेष यौनिक तथा लैंगिक अल्पसंख्यकको सवालमा काम गर्ने संस्थाले हेर्ने हरेक मुद्दाको वकालत र विश्लेषणमा अन्तर्सम्बद्धताको पक्ष अनिवार्य गर्नुका साथै दलित क्विरका आवश्यकता र समस्या पहिल्याएर समाधानतर्फ अग्रसर हुनुपर्ने बताइन्।

भारत र बांग्लादेशको तुलनामा नेपालमा अझै क्विर विविधताको विषयमा बहस नभएको 'सामरी उत्थान सेवा' संस्थामा काम गर्ने एक दलित क्विरले बताए। क्विरका लागि काम गर्ने संस्था दलितमैत्री नहुँदा र दलित क्विरको मुद्दामा काम गर्ने संस्था नहुँदा दलित क्विरले भोग्नुपरेको विभेद र समस्याको सम्बोधन नहुने उनी बताउँछन्।

"सोही क्रममा आफू र आफैँजस्ता दोहोरो विभेदमा परेका दलित क्विरका मुद्दामा काम गर्नुपर्छ भनेर सामरी संस्थाअन्तर्गत दलित क्विर अभियानको शुरूआत गरेका हौँ," उनले भने। अहिले बिस्तारै दलित क्विरको विषयमा बहस, छलफल र प्रश्न उठ्न सुरु भएको उनी सुनाउँछन्।

"खासगरी यौनिकता र जातव्यवस्थासम्बन्धी आन्दोलनमा दलित यौनिक तथा लैंगिक अल्पसंख्यकको अवस्था र सहभागितामाथिको प्रश्न गर्यौं। केही हदसम्म सफल पनि भयौ," उनी भन्छन्, "जसलाई सरोकारवाला पक्षले सकारात्मक रूपमा लिए, मुद्दाउपर अपनत्व भएको महसुस गर्‍यो।"

समग्र क्विरको मुद्दालाई नै राजनीतिक मुद्दा नबनाइँदा दलित क्विरको अवस्था निकै नाजुक रहेको उनको भनाइ छ। कुनै पनि राजनीतिक पार्टीको घोषणापत्रमा क्विरको विषयमा केही उल्लेख छैन। क्विर समुदायको मुद्दा राजनीतिकरण नभएसम्म परिवर्तन सम्भव नभएको उनी बताउँछन्। सामरी संस्थाबाट दलित यौनिक तथा लैंगिक अल्पसंख्यकको लागि शिक्षा र सीपमूलक तालिम उपलब्ध गराइ आत्मनिर्भरतर्फ लैजाने अभियान चलिरहेको उनले बताए।

अवसरबाट वञ्चित यौनिक तथा लैंगिक अल्पसंख्यक
व्यक्तिको यौनिकता र जातीय परिचय जोडेर कमसल धारणा निर्माण गर्ने गरिएको अविन बताउँछन्। सामाजिक संरचनाले निर्धारण गरेको लैंगिकतामा क्विर समुदायलाई हाँसो र  मजाकको पात्रको रूपमा लिने गरिएको उनी बताउँछन्। भारतीय तथा नेपाली सिनेमा र गीतहरूमा यौनिक तथा अल्पसंख्यकलाई 'हाँस्य पात्र र चटके'को रूपमा प्रस्तुत गरिने गरिएकाले पनि आम जनमानसमा यस समुदायलाई हेर्ने दृष्टिकोण गलत रहेको उनको भनाइ छ।

"सानै उमेरदेखि हामीले हेर्ने चलचित्र, टेलिफिल्म, गीतलगायत सामग्रीमा क्विरलाई जिस्क्याउने, चिमोट्ने, कुट्ने र मान्छे नै होइनझैं व्यवहार गर्ने गरिएकाले त्यसैगरी समाजले सिक्यो। त्यसले क्विरलाई इज्जत नगर्ने र हेप्ने मनोविज्ञान निर्माण गरेको हो," उनले बताए। हाँसोको पात्रको रूपमा चित्रण गर्ने गरिएकाले क्षमतामाथि नै प्रश्न उठाइने गरेको उनले बताए।

विद्यालयमा गएर पढाउन आफूमा क्षमता र योग्यता भए पनि यौनिकता जोडेर अवसरबाट वञ्चित गरिएको अनुभव सरोज (नाम परिवर्तन उमेर २२) ले सुनाए।

"स्कुल पढ्दा कक्षामा शिक्षक गयल हुँदा मभन्दा साना कक्षाका भाइबहिनीलाई पढाउन जान्थें, पछि कक्षा दश उत्तीर्ण गरेपछि शिक्षकको लागि आवेदन दिएँ। तर विद्यालयका केही शिक्षकहरूले 'सर भन्ने की म्याडम भन्दै मजाक उडाए। काम पाइनँ," उनले गुनासो पोखे।

यो पनि: लुकिछिपी बाँच्ने जोहो गरिरहेका अल्पसंख्यक दलित, तिनैमाथि हिंसा र अत्याचारको कहर

आयांकाका अनुसार स्टेज नृत्यका कार्यक्रमहरू मौसमअनुसार हुने भएकाले अन्य समय के खाने र कसरी दैनिक जीवन निर्वाह गर्ने समस्या रहेको बताउँछिन्। "कतै ट्रान्स महिला भएकै कारण र कतै जातकै कारण अवसर पाइँदैन," उनले भनिन्। कहिलेकाहीँ रमाइलो र मनोरञ्जनका रूपमा नाच्ने आयांकाले जीवन जिउने बाध्यताका कारणमात्र नृत्य रोजेको बताइन्।

"हामीले काम गर्न खोज्यौ भने धेरै विकल्प छैनन्, भविष्य केमा बनाउने भन्ने टुंगो नै छैन, त्यसैले नृत्यलाई नै निरन्तरता दिन्छु," उनले भनिन्।

देशमा आम्दानीको स्रोत मजबुत नभएका कारण आयांका कमाईका लागि भन्दै युएइको दुबइ गएकी थिइन्। केही समय अरबमा मेहेनत गरेर घरको गर्जो टारेपछि आफ्ना भावना आमा र बालाई सुनाउने उनको योजना थियो। तर शारिरीक अस्वस्थताका कारण उनी त्यहाँ गएको केही समयमै नेपाल फर्कन बाध्य भइन्।

"नेपाल फर्केपछि दुबई जान ऋण दिएका साहुले घर घेर्न थाले, त्यत्रो ऋण काढेर गएको छोरो काम गर्न सकेन, फर्कियो भनेर बाआमालाई तनाव भयो," उनी भन्छिन्, "पछि अन्तिम बिकल्पको रूपमा स्टेज डान्सको यो दुनियामा लागेकी हुँ।" स्टेज डान्सरको रूपमा काम गर्दा विभिन्न किसिमका हिंसा भोग्न बाध्य रहेको उनले सुनाइन्।

उनी भन्छिन्, "नाच्ने कामलाई पेशा बनाइसकेपछि कोही हामीलाई देखेर हाँस्छन्, कोही शारीरिक हिंसा गर्छन्, कतिले त रमाइलोको लागि कुट्छन् पनि, तर ती सबै कुरा बेवास्ता गरेर काममा नै ध्यान दिनुको मसँग विकल्प रहेन, रोजीरोटीको सवाल छ।"

समाजको डर नै स्वीकार्यताको बाधक
अविनले आफ्नो नयाँ पहिचानको विषयमा आमासँग खुल्नुअघि यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा युट्युबबाट विभिन्न भिडियोहरू देखाई उक्त विषयमा जानकारी दिए। भिडियो हेर्ने क्रममा आमाको प्रतिक्रिया, आमाले भनेका कुरा खुब ध्यानसँग सुन्ने गर्थे।

एक दिन पारिवारिक उत्सवमा भान्छामा काम गरिरहेको बेला उनलाई बिहेबारे जिस्काउने क्रममा अविनले मलाई केटी मान्छे मन पर्दैन भन्ने जवाफ दिए। उनको जवाफमा अविनकी आमा एकछिन् झसँग भइन्। तर उनले आफ्नो भावना गम्भीर रूपमा आमालाई सुनाए। पछि 'कोसँग के गरेर बस्छस्?' भन्ने आमाको चिन्तालाई हल गर्दै अविनले आफू विदेश गएर उच्च शिक्षा पढ्ने बताए। आमाले पनि 'सानैदेखि नै केटीको स्वभाव थियो, तर आफ्नो भविष्य र जिम्मेवारी नभुल्नु' भनेपछि अविनलाई केही राहत महसुस भयो। परिवारका अन्य सदस्य जति नै शिक्षित भएपनि अविनको नयाँ पहिचान स्विकार्न सकेनन्।

आयांकाले आफू पुरुष नभएर ट्रान्स महिला भनी आफ्नो पहिचान परिवारसमक्ष बताइन्, उनको परिवारले आयांकाको नयाँ पहिचान सहजै स्विकार्न सकेनन्। "छोरा हौ, छोरा नै हुनुपर्छ, बुहारी ल्याएर नातिनातिनी पाउनुपर्छ भन्नुहुन्छ परिवारका मान्छे," उनले भनिन्।

अहिले उनी परिवारमा आमा बाबासंग मात्र सम्पर्कमा छिन्, यद्यपि, आफू ट्रान्स महिला नै भएर बसेको बारे परिवारलाई जानकारी नरहेको उनले बताइन्। "आफ्नो पहिचानमा बाच्न पाउँदा जो कोही रमाउँछ, तर परिवार र समाजबाट एक्लिनु पर्दाको पीडा निकै दर्दनाक छ," उनको भनाइ छ।

प्रेमको बाधक जात
झापाबाट साजन (नाम परिवर्तन, २१)  कामको खोजीमा काठमाडौँ आए। साथीले 'यतै काम गरौँला, सँगै बसौँला' भनेपछि काठमाडौँ हानिएका थिए। सँगै बस्ने साथी तामाङ समुदायका थिए, उनीहरू एक आपसमा प्रेममा थिए।

"केही समय सँगै बस्दा सबै ठिकै थियो, तर सोहीक्रममा सामान्य विवादका क्रममा पार्टनरलाई पार्टनरकी आमाले 'तँ दमैसँग बसेर दमैजस्तै भएछस् भन्नुभयो," उनले भने। पाटर्नरले पनि सामान्य झगडा हुँदासमेत जातलाई नै अघि ल्याएर गाली गर्न थालेपछि उनले सम्बन्ध नै तोडिदिए।

"यसै पनि उत्पीडित दलित समुदाय समाजबाट एक्लिएर बस्न बाध्य हुन्छन्, त्यसमा पनि दलित परिवारको क्विरले अन्य समुदायकाले भन्दा विभेद र उत्पीडन समाजबाट खेप्नुपर्ने रहेछ," साजनले भने।

मौनताभित्रको मानसिक स्वास्थ्य
समाजले तोकिदिएको लैंगिकताभन्दा भिन्नै महसुस गर्नु, कोमल युवा अवस्थामा हुने भावना अन्यमा भन्दा फरक हुनु, आफूले आफैँलाई पहिचान गर्न नसक्नु, परिवार, साथीभाई र समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकको विषयमा बहस नहुनुले मानसिक रूपमा विक्षिप्त बनाउने बताउँछन् सरोज।

आफ्ना भावना व्यक्त गर्न नसक्दा, यौनिकतामाथि प्रश्न गर्दा, अपहेलनायुक्त शब्द प्रयोग गरी जिस्क्याउँदा, जातका कारण तिरस्कार गर्दा दलित क्विरहरूको मानसिकता धेरै जटिल हुने उनले बताए।

अन्य समुदायका क्विरसमेत पहिचानको लडाइँ लडिरहँदा दलित समुदायका क्विरले जात, पहिचान, सामाजिक/सांस्कृतिक बहिष्करण र तिरस्कारको सामना गर्नुपर्ने उनी बताउँछन्। "आजको दिनसम्म आउन धेरै कठिनाइको सामना गर्नुपर्‍यो भन्दा मान्छेहरू जीवन यस्तै हो एक-दुई पटक लडिन्छ, उठेर हिँड्नुपर्छ भन्छन्," उनी भन्छन्,"तर यहाँसम्म आइपुग्दा एक दुईपटक मात्र लडेर यहाँ आइपुगेको होइन। धेरै पटक आफूले आफैलाई सिध्याउनसमेत कोसिस गरेको मेरो अनुभव छ।"

सानै उमेरबाट जात व्यवस्थाले लादेको विभेदको लडाइँ लड्नुपर्ने र किशोर भएपछि व्यक्तिगत पहिचानको लडाइँसँगै थपिने अन्य मुद्दाले दलित क्विरको मानसिक स्वास्थ्यमा ठूलो आघात पुग्ने अविनको अनुभव छ।

केटीभन्दा केटा साथीप्रति आकर्षित हुँदा आफूलाई के भएको हो भन्ने जानकारी नहुँदा आफूले अप्ठ्यारो मानसिक अवस्थाबाट गुज्रिनु परेको उनले सुनाए। "आफूमा सामान्यभन्दा सामान्य परिवर्तन हुँदा र फरकपन आउँदा कसलाई भनु र के गरुँ भन्ने छटपटी  हुन्थ्यो, पछि इन्टरनेटबाट केही कुरा बुझेँ," उनले बताए।

सामाजिक सञ्जालमार्फत आफूजस्तै साथीहरू भेटेर कुरा गरेपछि केही राहत महसुस भएको साजनले सुनाए। परिवारलाई आफ्नो पहिचानको विषयमा भन्ने अवस्थामा उनी छैनन्।

परिवारको कमजोर आर्थिक र शैक्षिक अवस्था तथा यौनिकताबारे बुझ्ने व्यक्तिको अभावले उनी आफ्नो पहिचान लुकाउन बाध्य रहेको बताए। उनले भने, "मानसिक रूपमा विक्षिप्त भई आफ्नो भावना साट्न नपाउँदा व्यक्तिले कस्तो महसुस गर्ला? भन्नुस् त!"