काठमाडौँ– श्रीमती रोजालिन कार्टरको मृत्यु संस्कारमा सामेल हुँदा अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर २०२३ नोभेम्बर १९ का दिन ह्विलचेयरमा थिए। निलो र सेतो रङ मिसिएको गम्छाले आफ्नो आधा ज्यान ढाकेका थिए। गम्छामा श्रीमती रोजालिनको तस्वीर थियो।
क्यान्सरले गलेका ९९ वर्षीय कार्टरले त्यहाँ कुनै शोक मन्तव्य दिएनन्। बास्तवमा, उनी बोल्न सक्ने अवस्थामै थिएनन्। बस्, श्रीमतीलाई राखिएको कफिन छेउ बसेर टोलाइरहे। समाचार संस्था रोयटर्सले भनेको छ, “त्यस दिन कार्टर अत्यन्त कमजोर र अशक्त देखिन्थे।”
कार्टरले सन् २०१५ मा भनेका थिए, “रोजालिनसँगको विवाह मेरो जिन्दगीको सबैभन्दा सुखद् पक्ष हो।”
रोजालिनको मृत्युको एक वर्षपछि कार्टर पनि संसारबाट बिदा भएका छन्। जर्जियास्थित आफ्नो पुर्ख्यौली घरमा आइतबार साँझ (डिसेम्बर २९ मा) उनको मृत्यु भएको छ। जिम्मी सेन्टर नेसलन हिस्टोरिकल पार्कस्थित ‘कार्टर होम एन्ड गार्डेन’मा उनको अन्तिम संस्कार गरिनेछ। यो त्यही ठाउँ हो, जहाँ उनकी श्रीमतीलाई विश्राम दिइएको थियो।
कार्टरका नाती जेसन कार्टरले गत वर्ष भनेका थिए, “हजुरबुवा ९९ वर्षसम्म बाँच्नुको कारण नियमित शारीरिक व्यायाम हो।” तर, उनी १०० वर्ष बाँचे।
क्यान्सरले थला नपरुन्जेलन कार्टर नियमित शारीरिक व्यायाम गर्थे। बिहान झिसमिसै उठ्थे, एकछिन दौडिन्थे। बाहिरफेर घुम्न जाँदा पनि उनलाई व्यायाम गर्नैपर्थ्यो। जब बुढ्यौली लाग्दै गयो, व्यायामको सट्टा मोटरसाइकल ‘राइड’ गर्न थाले। उनलाई टेबुल टेनिस पनि खुब मनपर्थ्यो, हरेक दिन खेल्न तम्सिन्थे।
कार्टरको परिचय अमेरिकी राष्ट्रपति हुनुमा मात्र सीमित छैन। उनी सामाजिक कामका कारण पनि चिनिन्छन्। कार्टर दम्पतीले सन् १९८४ मा ‘जिम्मी एन्ड रोजालिन कार्टर वर्क प्रोजेक्ट’ स्थापना गरेका थिए।
यस संस्थाले विभिन्न देशमा पुराना र भत्किएका घरको पुनर्निर्माण गरेको थियो। कार्टर आफै पनि घर बनाउन सक्रिय थिए। यस संस्थाले अहिलेसम्म एक लाखभन्दा बढी घर बनाइसकेको छ र दुई करोडभन्दा बढी नागरिक लाभान्वित भएका छन्।
यो संस्थाले नेपालमा समेत काम गरेको छ। ‘ह्याबिटाट फर ह्युम्यानिटी, नेपाल’ को वेबसाइटअनुसार यो संस्था नुवाकोट, ललितपुर, बाँकेलगायत जिल्लामा सक्रिय छ। संस्थाको कामका लागि कार्टर नेपाल पनि आउन चाहन्थे।
संविधानसभा निर्वाचनको अनुगमनका क्रममा २०७० मंसिर ३ गते काठमाडाैँमा कार्टर। तस्वीर: द कार्टर सेन्टर
सन् २०१५ अगस्टमा उनले अमेरिकामा पत्रकारसँग कुराकानी गर्दै पुनः नेपाल जाने इच्छा व्यक्त गरेका थिए। उनले भनेका थिए, “म घर बनाउनका लागि नेपाल जान चाहन्छु।” तर उनको यो चाहना पूरा भएन।
उनको नामसँग जोडिएको नेपालमा अर्को संस्था हो– कार्टर सेन्टर।
कार्टर सेन्टरले सन् २००४ देखि नेपालको शान्ति प्रक्रियामा काम गरेको थियो। सेन्टरले द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याउन मध्यस्तकर्ताको भूमिका खेलेको थियो। सन् २००८ मा भएको संविधानसभा निर्वाचनमा यो संस्था पनि पर्यवेक्षक थियो।
कार्टर सेन्टरले सन् २०१३ सम्म नेपालको राजनीतिक र संवैधानिक ‘मनिटरिङ’ गरेको थियो। सन् २०१५ मा नेपालको संविधान जारी भएपछि त्यसको दुई वर्षपछिको संसदीय र स्थानीय तह निर्वाचनमा पनि कार्टर सेन्टरले पर्यवेक्षकको भूमिका निभाएको थियो।
जिम्मी कार्टर सन् २००७ मा नेपाल आएका थिए। संविधानसभाको निर्वाचनमा मद्दत पुर्याउन आफू नेपाल आएको उनले बताएका थिए।
कार्टर २००७ जुन १३ मा नेपाल आउँदा भारतको दैनिक पत्रिका ‘टाइम्स अफ इन्डिया’ले भोलिपल्ट समाचार लेखेको थियो, “काठमाडौँमा कार्टरले चार दिन बिताउने छन्। उनले राजनीतिक दलहरूलाई कमजोर सुरक्षा अवस्था सुधार्न र बहिस्कृत समूहलाई पनि शान्ति प्रक्रियामा ल्याएर चुनाव गराउन आग्रह गर्ने छन्।”
कार्टरले नेपालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, माओवादी नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई तथा प्रधानसेनापति रूक्माङ्गत कट्वालसँग भेट गरेका थिए।
कार्टर सेन्टरले सन् १९८२ देखि विश्वका ८० भन्दा बढी देशमा निरन्तर काम गरिरहेको छ। विशेषगरी लोकतन्त्र, मानवअधिकार, स्वास्थ्यलगायत क्षेत्रमा उसको योगदान छ। यस संस्था अन्तर्गतको ‘गिनी वर्म इराडिकेसन प्रोग्राम’ले मानवमा सर्ने परजैवीक रोग (प्यारासाइटिक डिजिज)लाई उन्मूलनको दिशामा लगेको थियो।
कार्टर सेन्टरमार्फत सामाजिक/आर्थिक उन्नति, मानव विकास, प्रजातन्त्रको सुद्रिढीकरण र शान्ति प्रक्रियामा योगदान पुर्याएबापत अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत दिइएको थियो। उनले नोबेल मन्तव्यमा भनेका थिए, “डर, त्रास र पूर्वाग्रहको विभाजनभन्दा हाम्रो साझा मानवताको धागो बलियो छ।”

सामाजिक कार्यमा अब्बल देखिएका कार्टरको राष्ट्रपतीय कार्यकाललाई भने सकारात्मक र नकारात्मक दुवै दृष्टिकोणबाट व्याख्या हुने गरेको छ। सन् १९७९ मा कार्टर अमेरिकाको राष्ट्रपति निर्वाचित भएका थिए। उनले अमेरिकाको वैदेशिक नीतिमा मानवअधिकारका विषयलाई प्राथमिकतामा राखे। मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै उनले चिली, एल साल्भाडोर, र निकारागुआलाई आर्थिक तथा सैनिक सहयोग बन्द गरिदिए।
कार्टरको अर्को महत्त्वपूर्ण उपलब्धि भनेको, सन् १९७८ मा इजरायल र इजिप्टबीचको द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका हो। त्यति बेला इजरायल र इजिप्टबीच भएको सहमति ‘क्याम्प डेभिड एकोड्र्स’ को नामबाट चर्चित छ।
यस्ता उपलब्धिका बाबजुत उनको कार्यकाल विवादमुक्त थिएन। उनलाई विफल राष्ट्रपति मान्नेहरू पनि प्रशस्त छन्। विशेषगरी, सञ्चारमाध्यम र कंग्रेससँग सुमधुर सम्बन्ध राख्न नसकेको आरोप उनलाई लाग्ने गर्छ। यसैकारण उनले आफ्ना नीतिलाई जनतामाझ राम्रोसँग प्रचारसमेत गर्न पाएनन्।
यसका अतिरिक्त, इरानमा भएको अमेरिकी बन्दी रिहाइमा उनको भूमिकाको आलोचना गरिन्छ। आन्दोलनमा उत्रिएका ‘मुस्लिम स्टुडेन्ट फलोअर्स अफ द इमाम्स लाइन’ सम्बद्ध झन्डै तीन हजार विद्यार्थी १९७९ नोभेम्बर ४ का दिन तेहरानस्थित अमेरिकी दूतावास प्रवेश गरेका थिए। ती आन्दोलनकारीले ६६ जना अमेरिकी कूटनीतिज्ञ र कर्मचारीलाई कब्जामा लिए।
उनीहरूलाई छुटाउन सन् १९८० मा इरानमाथि आक्रमण शुरू गरियो। तर त्यो प्रयास असफल भयो, केही अमेरिकी सैनिकको मृत्युसमेत भयो। टेलिभिजन च्यानलहरूले तेहरानस्थित दूतावासअगाडि भइरहेको प्रदर्शनको भिडियो देखाउँथे। प्रदर्शनकारी ‘डेथ टु अमेरिका’, ‘डेथ टु कार्टर’ लगायत नारा लगाउँथे।
अमेरिकी टेलिभिजन हरहमेसा बन्दीहरूको सुरक्षामा चासो राख्थे। ‘इरानमा अमेरिकी नागरिक बन्दी भएको आज यति दिन भयो, उति दिन भयो’ भन्दै कार्यक्रम सञ्चालक कराउँथे।
ती कूटनीतिज्ञ ४४४ दिनसम्म आन्दोलनकारीको कब्जामा रहेपछि १९८१ जनवरी २० मा रिहा भए। यो असफलताले कार्टरको विश्वनीयतामा ठूलो असर पुर्यायो।
सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा उनको पराजयको एउटा कारण उक्त असफलता पनि रहेको अमेरिकी राजनीतिक विश्लेषकहरू अनुमान लगाउँछन्। चुनावमा रिपब्लिक उम्मेदवार रोनाल्ड रेगनले ठूलो मतान्तरसहित कार्टरलाई हराएका थिए। यता रेगनको शपथको तामझाम हुँदै गर्दा उता कब्जामा रहेका अमेरिकीहरू छुटेका थिए।