Thursday, January 23, 2025

-->

डेंगी संक्रमणसँगै ह्वात्तै बढ्यो हरियो नरिवल आयात, बिरामीलाई फाइदा कति?

भारतबाट भित्रिने हरियो नरिवल आयातको ग्राफ नेपालमा डेंगी संक्रमण बढेसँगै निरन्तर बढिरहेको छ। नरिवल पानीका गुण धेरै भए पनि डेंगीका बिरामीलाई विशेष फाइदा भने नहुने स्वास्थ्यकर्मीहरू बताउँछन्।

डेंगी संक्रमणसँगै ह्वात्तै बढ्यो हरियो नरिवल आयात बिरामीलाई फाइदा कति

काठमाडौँ– पछिल्लो समय नेपाली बजारमा खपत हुने हरियो नरिवलको आयात लगातार बढिरहेको छ। बितेका चार वर्षको तथ्यांक हेर्ने हो भने यो क्रम ह्वात्तै उकालो लागेको देखिन्छ। 

भन्सार विभागबाट प्राप्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ करोड ९८ लाख २६ हजार मूल्य बराबरको ४ हजार ९२९ टन (भन्सार विभागले हरियो र जट्टावाला छुट्याएर तथ्यांक नराख्ने भएकाले दुवै समेटिएको) नरिवल भित्रिएको थियो। अर्को वर्ष, २०७८/७९ मा ७ हजार ६७५ टन नरिवल भित्रियो। भन्सार विभागका अनुसार त्यस वर्ष मूल्यमा ३६ करोड ९५ लाख ६० हजार बराबरको नरिवल आयात गरिएको थियो। 

२०७९/८० मा ४१ करोड १७ लाख ९६ हजार मूल्य बराबरको १२ हजार ६४५ टन नरिवल आयात भएको देखिन्छ। २०८०/८१ मा आयात झनै बढेर ४९ करोड ८ लाख ८९ हजार ७०० मूल्य बराबरको १४ हजार ८८२ टन नरिवल आयात भयो। २०८०/८१ मा मासिक औसतमा १ हजार २४० टन नरिवल भित्रिएको देखिन्छ। 

यो वर्ष (चालु आर्थिक वर्षमा) त आयात थप उकालो लागेको छ। आर्थिक वर्षका शुरूका तीन महिनामै ५ हजार ४०४ टन नरिवल आयात भएको छ। यस हिसाबले हेर्दा मासिक रूपमा नै १ हजार ८०१ टन नरिवल भित्रिएको देखिन्छ। यो आँकडाअनुसार चालु आर्थिक वर्षमा अझ धेरै हरियो नरिवल आयात हुने आकलन छ। 

नेपालमा नरिवलको आयात मुख्यतः दक्षिण भारतबाट हुने गर्छ। भन्सार विभागको तथ्यांकले पनि नरिवलको आयातमध्ये ९५ प्रतिशत भारतबाटै भइरहेको देखाउँछ? 

किन बढ्यो?
हरियो नरिवलको आयात यसरी बढ्नुको अर्थ यसको खपत बढ्नु हो। पछिल्लो समय नेपाली बजारमा हरियो नरिवलको माग बढेसँगै आयात पनि बढेको नेपाल फलफूल थोक व्यवसायी संघका उपाध्यक्ष मेघनाथ चौलागाईं बताउँछन्। चौलागाईंका अनुसार पछिल्लो चार वर्षयता पानी पिउनयोग्य हरियो नरिवलको माग बढेको छ। काठमाडौँको कुलेश्वर क्षेत्रमा मात्र पछिल्लो तीन महिनायता दैनिकजसो नै ठूलो मात्रामा नरिवल भित्रिइरहेको बताए। 

कुलेश्वर क्षेत्र फलफूलका थोक व्यवसायी रहेको क्षेत्र हो। आयात हुने हरियो नरिवल मुख्यतः त्यहीँबाट काठमाडौँका अन्य क्षेत्रमा आपूर्ति हुन्छ। उनले त्यहाँ नै दैनिक १ लाख १० हजार पिससम्म हरियो नरिवल आउने गरेको बताए। व्यवसायीहरूका अनुसार साउन, भदौ र असोज महिनामा हरियो नरिवलको खपत सबभन्दा धेरै हुने गरेको छ। यही समयमा काठमाडौँलगायत देशका विभिन्न भागमा डेंगीको संक्रमण फैलिएकाले पनि हरियो नरिवल खपत बढेको हुनसक्ने चौलागाईं बताउँछन्। अरू बेला दैनिक ५० हजार आसपास मात्र नरिवल भित्रिने गरेको उल्लेख गर्दै उनले भने, “पछिल्लो समय स्वास्थ्य समस्या आउँदा या कमजोर हुँदा नरिवल पानी पिउने चलन बढ्दै गएको छ। डेंगी हुँदा नरिवल पानी पिउने भएकाले नै यसको माग बढेको देखिन्छ। माग बढेपछि आयात बढ्ने भइहाल्यो।” 

भारतबाट नरिवल आयात गरेर थोकमा बिक्री गर्दै आएका कुलेश्वरस्थित मुक्तिनाथ फ्रुट सेन्टरका सञ्चालक उमेश कोइरालाले पनि हरियो नरिवलको खपत बढेको बताए। दैनिक १५ हजार पिससम्म हरियो नरिवल बिक्री गर्दै आएका उनले गत असारयता, दशैँ अघिसम्म दैनिक झण्डै ३० हजार पिससम्म हरियो नरिवल बिक्री गरेको सुनाए। “साउनदेखि असोजसम्म हुने नरिवलको खपत अरू समय भन्दा ८० प्रतिशत बढी हो। त्यसपछि कात्तिक मध्यतिरसम्म ठिकै हुन्छ। त्यसपछि जाडोमा भने खपत कम हुँदै जान्छ,” उनले भने। 

कोइरालाले दक्षिण भारतका विभिन्न ठाउँबाट एक पटकमा २५ हजार पिस नरिवल भित्र्याउँछन्। हप्तामा दुई पटकसम्म नरिवल ल्याउँछन्। उनी जस्तै कुलेश्वरमा ठुलो संख्यामा नरिवल आयात गर्ने अरू ८ जना व्यवसायी छन्। उनीहरूले आफूलाई पायक पर्ने समय मिलाएर दैनिक वा साप्ताहिक रूपमा आयात गर्ने गरेको बताए। व्यवसायीहरू त्यहीँबाट काठमाडौँ उपत्यकासहित नजिकका जिल्लामा नरिवल जाने गरेको बताउँछन्। 

अनामनगरमा ठाकुर फ्रुट्स सेन्टर चलाइरहेका अश्विन ठाकुरले अहिले डेंगीका बिरामीलाई खुवाउने भनेर हरियो नरिवल घर लिएर जानेहरू धेरै रहेको बताए। उनले भने, “यसरी लानेहरूले एकैपल्ट धेरै पिस लान्छन्। त्यसैले छिटोछिटो बिक्री हुन्छ।” नरिवल पानी पिउँदा रोगसँग लड्नसक्ने क्षमता बढ्ने भन्दै ग्राहकले खोजीखोजी लाने गरेको उनी बताउँछन्।

कुलेश्वरको थोक बजारमा नरिवल किन्न आएका शम्भु अधिकारी डेंगीका बिरामीकै लागि नरिवल लैजाने तरखरमा थिए। उनकी श्रीमतीलाई चार दिनदेखि डेंगी संक्रमण भएको रहेछ। त्यसयता श्रीमतीलाई दैनिक रूपमा नरिवल पानी खुवाउँदै आएका उनले अस्पतालमा चिकित्सकले नै नरिवल पानी पिउन सुझाएको बताए। यसको फाइदाबारे थाहा नभए पनि बिरामीलाई खुवाउँदा चाँडै ठिक हुने बुझेका उनले भने, “डाक्टरले पनि नरिवल पानी खानु, छिटै निको हुन्छ भन्नुभएको थियो। सामाजिक सञ्जालतिर पनि त्यस्तै देखेँ। अरू फलफूल खान नमान्ने भएकाले नरिवल पानी खुवाउँदै आएको छु।”  

के डेंगीका बिरामीलाई नरिवल पानीले फाइदा गर्छ? 
नरिवल पानी स्वस्थ र सफा पेय पदार्थ मानिन्छ। नरिवल उत्पादनदेखि बजारीकरणसम्म सामान्यतः कुनै प्रकारको रसायन प्रयोग नहुने भएकाले यो शतप्रतिशत स्वस्थ र संक्रमणमुक्त हुने स्वास्थ्यकर्मीहरू बताउँछन्। त्यही कारण हुनसक्छ, केही वर्ष अघिसम्म नेपालीमाझ कमै प्रचलनमा रहेको नरिवलको पानी अहिले निकै प्रचलनमा पुगिसकेको छ। नरिवलको पानीमा ९४ प्रतिशत पानी हुनुका साथै क्यालोरीको मात्रा न्यून हुन्छ। ‘इन्टरनेसनल जर्नल अफ फर्मास्युटिकल साइन्सेस एन्ड रिसर्च’मा प्रकाशित एक लेखमा उल्लेख भएअनुसार नरिवल पानीलाई ‘नेचुरल आइसोटोनिक’ पेय पदार्थ मानिएको छ जुन मानव शरीरको रक्त प्लाज्मासँग मिल्दोजुल्दो हुन्छ। यसले मानव शरीरको मुटु, कलेजो जस्ता अंगको संरक्षण गर्ने भन्दै लेखमा उल्लेख छ, “टेन्डर कोकोनट वाटरमा पाइने ठूला र साना पोषक तत्त्वहरूले लिपिड घटाउन, मुटु र कलेजोलाई संरक्षण गर्न मद्दत गर्छन्।”

यसले शरीरमा पोटासियमको मात्रालाई सन्तुलनमा राख्ने भएकाले दैनिक रूपमै नरिवल पानी पिउँदा पनि लाभ नै मिल्ने पोषणविद् विनीता पन्त बताउँछिन्। नरिवल पानीका फाइदा धेरै भए पनि अहिले चर्चा भइरहे जस्तो व्यापक फाइदा भने नरहेको, खानेकुरा मिलाएर खाएमा त्यसका फाइदा धेरै हुने, तर डेंगीको संक्रमण भएका बिरामीका लागि छुट्टै फाइदाजनक भने नभएको उनको भनाइ छ। 

“१ गिलास नरिवलको पानी पिउँदा लगभग २०० मिलिग्राम हुन्छ, त्यसमा करिब ५०० मिलिग्राम पोटासियम पाइन्छ। तर गेडागुडी, सागसब्जी मिसाएर खाएमा त्यसको दोब्बर मात्रा पोटासियम पाइन्छ। मानिसलाई दैनिक ३५ सय मिलिग्रामसम्म पोटासियम आवश्यक पर्दछ,” उनले थपिन्, “अहिले डेंगी निको हुन्छ भनेर धेरै मूल्य तिरेर नरिवल पानी पिउने गरेको देखिन्छ। तर यो एकखाले भ्रम हो। यसका फाइदा धेरै छन्। बिरामीले सजिलै सेवन गर्न सक्ने हुँदा यसको प्रयोग बढेको हो, तर डेंगीका बिरामीकै लागि भनेर विशेष फाइदा भने छैन।” 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले थपे, “डेंगी हुँदा मात्र होइन, रोगसँग लड्न सक्ने क्षमता बढाउन हामी झोलिलो र फलफूलजन्य खानेकुरामा ध्यान दिन बिरामीलाई सुझाउँछौँ।”  


सम्बन्धित सामग्री