काठमाडौँ– दुई वटा हिमताल फुट्दा गत साउन ३२ गते सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा बाढी आयो। उक्त बाढी बस्ती पसेपछि थामेका ५५ मध्ये २५ घर क्षतिग्रस्त भए। विद्युतगृह, विद्यालय भवन, स्वास्थ्य चौकी भवनलगायत संरचनामा पनि क्षति पुग्यो।
पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाका अनुसार प्रारम्भिक अध्ययनले बाढीबाट १ अर्ब रुपैयाँभन्दा बढीको भौतिक संरचना नष्ट भएको देखाएको छ। “मसिनो गरी हामीले अध्ययन शुरू गरेका छौँ। मोटामोटी अध्ययनले १ अर्बभन्दा बढीको क्षति भएको देखिन्छ,” अध्यक्ष शेर्पा भन्छन्।
थामेमा बाढी आउनुको मुख्य कारण जलवायु परिवर्तनसँग सम्बन्धित भएको विज्ञहरूले बताएका छन्। हिमाली क्षेत्रको जलवायु र त्यहाँको तापक्रमबारे अध्ययन गरिरहेका अनुसन्धानकर्ता तथा वैज्ञानिकहरूले भूउपग्रहबाट लिइएका तस्वीर विश्लेषणका आधारमा हिमपहिरोले दबाब दिएर माथिल्लो ताल विस्फोट भएको र अर्को तालमा आएको देखिएको जनाएका छन्।
नेपालको हिमाली क्षेत्रबारे अनुसन्धान गरिरहेका र युनिभर्सिटी अफ अलास्कामा विद्यावारिधि गरिरहेका अमृत थापा भूउपग्रहको तस्वीरलाई विश्लेषण गर्दा माथिल्लो तालमा हिमपहिरो आएको देखिने बताउँछन्। माथिल्लो ताल फुट्दा पानी तल्लो तालमा झरेर बाहिर बग्न थालेको तर बेलुनजस्तो नफुटेको उनको भनाइ छ।
काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत हिमनदीविज्ञ डा.मोहनबहादुर चन्द फुटेको तल्लो ताल सन् १९९० तिर बनेको बताउँछन्। “तल्लो ताल सन् १९९० मै बनिसकेको देखिन्छ। त्यसको साइज बढेको देखिँदैन,” चन्द भन्छन्, “माथिल्लो ताल भने सानो पोखरी हुँदै सन् २०१० मा मात्र देखिएको हो। त्यसकारण पनि थामेको विपत्तिलाई जलवायुसँग गाँस्न सकिन्छ।”
स्थानीय सरकारको प्रयास
थामेले भोगेको विपत्तिमा स्थानीय सरकार र स्थानीय समुदायले राहत तथा पुनस्र्थापनाका लागि गरेको प्रतिकार्य उदाहरणीय छ। गाउँपालिकाका अध्यक्ष शेर्पाका अनुसार बाढी आएदेखि नै गाउँपालिकाले प्रभावित क्षेत्रमा काम गरिरहेको छ।
गाउँपालिकाले शुरूमा प्रतिपरिवार ५० हजार रुपैयाँ राहत उपलब्ध गराएको थियो। जबकि संघीय सरकारका तर्फबाट प्रतिपरिवार १५ हजार रुपैयाँ मात्र राहत दिएको थियो।
गाउँपालिकाको विशेष साधारणसभाले प्रभावित स्थानीयका लागि ७ करोड १० लाख रुपैयाँ छुट्याएको छ। उक्त रकममध्ये २ करोड ६० लाख रुपैयाँ पीडितहरूको आवास पुनर्निर्माणमा सहयोग गर्ने योजना छ। त्यस्तै थामेको क्षतिग्रस्त साना जलविद्युत आयोजनाका लागि ६० लाख, पुल तथा बाढीले बगाएको सडक मर्मत र निर्माणका लागि ४ करोड तथा गाउँपालिकाभित्रका हिमताल अध्ययनका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
गाउँपालिकाका सल्लाहकार लाक्पा शेर्पा संघीय सरकारको मुख ताकेर बस्दा राहत र पुनर्निर्माणमा ढिलाइ हुने कारण स्थानीय सरकारका नाताले गाउँपालिकाले नेतृत्व लिएर काम गरिरहेको बताउँछन्। “हामीले यहाँको अवस्थाबारे प्रधानमन्त्री तहमा पनि जानकारी गराएका छौँ तर माथिको प्रक्रियाले यहाँको काम एक वर्षमा पनि नसकिने जस्तो देख्यौँ,” उनी भन्छन्, “सोलुखुम्बुको मुख्य आम्दानीको स्रोत नै पर्यटन हो। त्यसकारण पनि पुनर्निर्माणलाई छिटो र द्रुत गतिमा अघि बढाउनुपर्छ। त्यही भएर हाम्रो बलबुताले भ्याएसम्म काम गरेका छौँ।”
सल्लाहकार शेर्पाका अनुसार विश्वका विभिन्न ठाउँमा बसोबास गरिरहेका सोलुखुम्बु जिल्लाका स्थानीयहरूले पनि थामेको पुनर्निर्माणमा सहयोग संकलन गरिरहेका छन्। व्यक्तिगत तवरबाट संकलित रकम ८ देखि १० करोड रुपैयाँसम्म हुने अनुमान गरिएको उनी बताउँछन्। “हामीले संसारका विभिन्न ठाउँमा आ–आफ्नो तहबाट सहयोगका लागि अपिल गरेका छौँ, अहिले पनि सहयोग उठ्ने क्रम जारी छ,” उनी भन्छन्।
सगरमाथा आरोहणमा कीर्तिमान कायम गरेका कामिरिता शेर्पा, आप्पा शेर्पा लगायतले ‘गो फन्ड मि’मार्फत सहयोग संकलन गरिरहेका छन्। यसरी संकलित रकम गाउँपालिकामार्फत एकद्वार प्रणालीबाट खर्च गर्ने लक्ष्य भएको उनले बताए।
१८ दिनमा बल्यो बिजुली
बाढीका कारण पूर्णरूपमा क्षतिपुगेको थामेखोला साना जलविद्युत आयोजनाबाट १८ दिनपछि बिजुली बलेको छ। अस्ट्रेलियाको सहयोगमा निर्माण गरिएको उक्त आयोजना सन् १९९९ देखि सञ्चालनमा छ।
अस्ट्रेलियाको १८ करोड रुपैयाँ सहयोगमा शुरूमा ६५० किलोवाट विद्युत उत्पादन भएको थियो। पछि भारतीय दूतावासले दिएको ७ करोड ५० लाख सहयोगमा ३०० किलोवाट थप गरी ९३० किलोवाट पुर्याइएको थियो।
गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार खुम्बु बिजुली कम्पनी र गाउँपालिकाको प्रयासमा अस्थायी रूपमा बिजुली बालिएको हो। अहिले २७ किलोवाट विद्युत मात्र आपूर्ती भएको छ। उक्त बिजुली गाउँपालिकाका नाम्चे खुम्जुङ सहित १८ वटा गाउँमा पुगेको छ। भारत सरकारले यो आयोजना मर्मतका लागि १ करोड रुपैयाँ दिने भएको छ।
गाउँपालिकाले विद्यालय सञ्चालनको पहल पनि गरेको छ। विद्यालयका लागि आवश्यक पालहरू फाप्लुसम्म गाडीमा लगिएको थियो। त्यहाँबाट खच्चरलाई बोकाएर विद्यालय भएको ठाउँसम्म गाउँपालिकाले नै लगेको हो।
बाढीले थामे आधारभुत विद्यालयको सम्पूर्ण संरचना तहसनहस बनाएको छ। अहिले त्यहाँका ५० विद्यार्थीलाई आवासीय सुविधा प्रदान गरेर खुम्जुङ माध्यमिक विद्यालयमा अध्ययनको व्यवस्था मिलाइएको छ।