बढ्दो बजारीकरण र उपभोक्तावादले पृथ्वीको पर्यावरण बिग्रिरहँदा हामी भने आफ्नो पर्वलाई बजारका हातमा सुम्पिरहेका छौँ। देखासिकीको पासोमा फसिरहेका छौँ।
अनेक धर्म संस्कृति र समुदायको देश हो नेपाल। सबै धर्म संस्कृतिको सम्मान गर्दै र सबैलाई उत्तिकै महत्त्व दिने हेतुले नेपालको संविधान २०७२ को प्रस्तावनामै देशलाई धर्मनिरपेक्ष उल्लेख गरियो। हरेक समुदायका मौलिक चाडबाड र चलन हुन्छन्। हाम्रा धेरैजसो चाडबाडले आफन्तबीच कम्तीमा एक अर्कामा हरेक साल भेट गराउने र आपसमा सम्बन्ध प्रगाढ गराइ सम्बन्ध अझ मजबुत बनाउन भूमिका खेल्ने गर्छन्।
चाडबाडका राम्रा पक्ष हुँदाहुँदै पनि तिनका कतिपय खराब पक्ष पनि हुन्छन्। तीज आउन दर्जन दिन बाँकी रहँदा यस पर्वबारे पनि विभिन्न कोणबाट समीक्षा हुन थालेका छन्। चाडसँग जोडिएका परम्परागत स्त्रीद्वेषी कथादेखि योसँग जोडिएको बजारको दबदबाबारे टिप्पणी हुन थालेका छन्। पर्वलाई सबैको बनाउने हो भने त्यसलाई सरल बनाइनुपर्छ। भेटघाट र ममता बाँड्ने कुरालाई बढी प्राथमिक बनाउनुपर्छ, तर एक महिनापहिलै तीजका नाममा शहरबजारमा भोजलगायत कार्यक्रम चलेबाट यसलाई देखासिकी र बजारले कब्जा गरिसकेको बुझिन्छ।
खासगरी नेपाली हिन्दू महिलाले मनाउने विशेष चाडमध्ये तीज प्राथमिकतामा पर्ने चाड हो। दिदीबहिनी र साथीसंगीबीच सम्बन्ध प्रगाढ बनाउने चाडका रूपमा तीजलाई लिइन्छ। तीजका आफ्नै धार्मिक, सामाजिक, सांस्कृतिक तथा पारस्परिक अभ्यास र महत्त्व छन्। बिहे गरेर घर गएका दिदीबहिनी आफ्ना आमाबुवाको घरमा जम्मा हुने, दरको रूपमा मीठो मसिनो खाँदै सुखदुःखका कुरा साटासाट गर्ने तथा आफ्ना आफ्ना कथाव्यथालाई गीत बनाइ नाचगान गर्ने चलन छ। भगवान् शिव तथा सप्तऋषिको व्रत बस्ने आदि तीजका धार्मिक विशेषता र मान्यता हुन्।
तीजको धार्मिक अभ्यास त तिथिअनुसार मनाइन्छ, तर तीज आउनुभन्दा महिना पहिलेबाटै हुने भोजभतेर र त्यसका नाममा हुने फुर्माइस अहिलेको बहसको विषय हो। अनेक कार्यालय, संघसंस्था र टोलटोलमा समूह बनाएर प्रत्येक सहभागीबाट रकम संकलन गर्दै, मिलेसम्म एउटै पहिरन लगाएर एक महिना अघिदेखि (खासगरी आम रूपमा शहरबजारमा) नाचगान र खानपिनका कार्यक्रम सञ्चालन गरिन्छन्।
चर्का आवाजमा गीत, खर्चिलै ठाउँमा मदिरासहितको भोजसमेत कतैकतै चलेका छन्। यस्ता कार्यक्रम हुनै नहुने भन्ने होइन। देशभर खासगरी सन्ध्याकालमा लाखौँ पुरुषले भट्टी र रेस्टुरेन्ट पसेर मदिरा पिउलान्। त्यस्तोमा महिलाले चाहिँ कहिलेकाहीँ खास अवसरलाई भोजभतेर र नाचगानमा बदलेर रमाइलो गर्नु नाजायज होइन तर विपन्नका लागि यस्ता भोज बोझ ठहर्छन्। चाडपर्वका नाममा देखासिकीले विपन्न समुदायलाई ऋण गरेरै भए पनि देखाउनुपर्ने मनोवैज्ञानिक दबाब पर्न जान्छ।
तीजका नाममा सामाजिक संस्कारमा समेत केही परिवर्तन देखिएका छन्। कतिपय परिवारमा विवाहको पहिलो वर्ष छोरीको घरमा दर पठाउनुपर्ने चलन बढेको धेरै भइसक्यो। छोरीका सासू तथा अन्य परिवारका सदस्यलाई उपहार, गरगहना तथा मिठा परिकार बनाएर लैजाने चलनले माइती पक्ष र छोरी स्वयंलाई आर्थिक र मानसिक भार पर्न थालेको बुझिन्छ।
त्यस्तै, तीज गीतमा अहिले ‘भाइरल’ पसेको छ। महिलाका दुःख र संघर्ष व्यक्त हुने गीतमा अहिले भड्किलो नृत्य हाबी छ। तीजको खास अर्थ र मर्मलाई त्यसले छायामा पारेको छ। यस्ता व्यवहारले तीजको मौलिक संस्कृतिलाई झनै ओझेलमा पार्छ, पार्दै लगिरहेको छ।
यद्यपि, लोकाचारको डर या अहंकार तथा तुजुकका कारण मान्छे यस्ता फजुल पासोमा आफू फसिरहेको चालै पाउँदैनन्। तर अनावश्यक कुसंस्कारले समाजलाई कष्टकर बनाउँदै लगेको छ। आफ्नै देशमा खासै कुनै उल्लेख्य उत्पादन नभएको अवस्थामा सात समुद्रपारिबाट आएका सामान विपन्न मुलुकका नागरिकले किनेर विदेशीलाई धनी बनाउने काम कतैबाट पनि जायज देखिन्न। मुखमा माड छैन, कुन्नि केमा घिउ भनेझैँ देखिन्छ हाम्रो यो ढर्रा।
तर पनि समाज परिवर्तनशील हुन्छ। समाजका रहनसहन र रीति संस्कृति बिस्तारै हेरफेर हुँदै जानु स्वाभाविक हो। उसो त परिवर्तन हरवस्तु र विषयको स्वभाव हो। तीज पनि नबदलिने भन्ने कुरा आउँदैन। त्यसो हुँदा पछिल्ला दशक तीज स्त्रीद्वेष आधारित पर्व हो भन्दै तिखा प्रश्न उठाउँदै यसलाई मनाउन छाड्नेहरू पनि छन्। कोही भने तर्क छाडेर पुरानै ‘नोस्टाल्जिया’साथ ‘मौलिक शैली’मा तीज मनाउने पनि छन्। कोही भने पर्वलाई आफू अनुकूल ढाल्ने त कोही पर्वका केही खराब पक्ष छाड्दै सुसंस्कृत पर्वका रूपमा यसलाई मनाउन खोज्ने पनि छन्।
‘सयौँ थुँगे नेपाली समाज’मा बहुल विचार र अभ्यास स्वाभाविक हो। यद्यपि, समाजका प्राथमिकता हुन्छन्। लाखौँ नेपालीलाई अहिले पनि हातमुख जोर्ने विषय चुनौतीपूर्ण छ। उचित उपचार नपाएर मर्ने पनि कति होलान्। बढ्दो बजारीकरण र उपभोक्तावादले पृथ्वीको पर्यावरणसमेत बिग्रिरहँदा हामी भने आफ्नो पर्वलाई बजारका हातमा सुम्पिरहेका छौँ। देखासिकीको पासोमा फसिरहेका छौँ। पर्वको भावनात्मक र सामाजिक पक्ष छायामा पर्दा यसबारे बहस कम भइरहेको छ।
तर सचेत जनबाट हाम्रा पर्वमा रहेका र पछि पसेका खराबीबारे बहस, छलफल र रूपान्तरण जरुरी छ। दुःखको कुरा के छ भने अन्य विभेद र अन्धविश्वासविरुद्ध बोल्नेहरू समेत तीजको बहसमा भने तर्कने गरेका छन्। सादा जीवन, समानता, सहअस्तित्वको वकालत गर्ने तर तीजजस्ता चाडलाई भड्किलो, महँगो बनाउँदै लाने कुरा सुहाउँदैन। तीजका धार्मिक आस्था व्यक्तिगत विषय होलान्, तर लैंगिक समानता, सहअस्तित्व र सामाजिक न्याय हाम्रा विगतका लामा संघर्षका परिणाम हुन्। यस युगका प्राप्ति हुन्, जो हाम्रो साझा चासोका विषय हुन्।
आम रूपमा मान्छेको स्वभाव नक्कल गर्ने हुन्छ। 'पल्लाघरे, तल्लाघरे, माथ्लाघरेले यसो गरे, हामीले पनि त्यसै गर्नुपर्छ' भन्ने मनोविज्ञान हुन्छ। उस्तै नगरे पछि परिने हो या हेपिइने हो भन्ने त्रास हुन्छ। त्यसकारण, तीजको एकमहिने भोजभतेर त्यस्तै मनोविज्ञानको बिस्तार हो। तर कतिपय अवस्थामा नचाहँदानचाहँदै पनि सहभागी हुनुपर्ने बाध्यता आइपर्छ। यस्ता व्यवहारले समाजलाई परिष्कृत हुन बाधा पुर्याउँछ
मान्छे बाहिर हाँसिखेल गरे पनि, सामाजिक सञ्जाल सुन्दर तस्वीरले भरिए पनि दिनप्रतिदिन एक्लो महसुस गरिरहेछ। विभिन्न सामाजिक, मानसिक र आर्थिक समस्यासँग एक्लै जुध्नु पर्नाले र जीवन थप जटिल हुँदै जाँदा पनि मान्छे एक्लिएको होला। यस्तो अवस्थामा पर्वलाई सुखदुःख अभिव्यक्ति गर्ने, आफन्तबीच हाँसोरोदन साटेर मन हल्का गर्ने उपायका रूपमा लिनुपर्छ। अप्ठ्यारो पर्दा आर्थिक रूपमा समेत सहयोग गर्नुपर्छ। एक प्रचलित श्लोक छ, 'परोपकार पुण्याय, पापाय परपिडनम्।' (परोपकार पुण्य हो भने परपीडा पाप हो।)
पितृसत्ताले युगौँदेखि महिला मात्र नभएर पुरुष स्वयंलाई पनि पिसिरहँदा त्यस पीडक सत्तालाई थप उकास्ने गरी तीज पर्वको दुरुपयोग गरिनुहुन्न। महिलाकै पर्वमा महिलाकै हुर्मत लिइनुहुन्न। कमसेकम पढालिखा सचेत महिला वर्ग यसमा सतर्क हुनुपर्छ। हामीले पर्वका विकृति रोक्दै आफ्ना परम्परालाई मानवीय बनाउँदै अघि बढ्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
