तस्वीर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ– बेलायतको संसद्मा सांसदहरू चिच्याउँछन्, एक अर्कालाई गाली गर्छन्, चर्को–चर्को स्वरमा ‘हियर, हियर’ (सुन्नुस्, सुन्नुस्) भन्छन्। कहिलेकाहीँ उनीहरू समूह–समूह बनाएर गफ गरिरहेका देखिन्छन्। हल्लाखल्ला पनि यति हुन्छ कि अरूले बोलेको पनि सुन्न मुस्किल पर्छ। यो सबै छुट हुँदा पनि उनीहरूलाई सभाहलभित्र कसैको समर्थनमा ताली बजाउन चाहिँ छुट छैन।
बेलायतको संसदीय शिष्टाचार निर्देशिका ‘अर्स्किन मे’ ले सभामा ‘ताली बजाएर वक्तालाई बाधा पुर्याउन’ बन्देज लगाएको छ। तर एउटा वाक्य बोलेपछि ‘हियर, हियर’ भन्दा भाषणमा असर नपर्ने त्यसमा लेखिएको छ।
सन् १९९७ मा बेलायती संसदको तल्लो सदन ‘हाउस अफ कमन्स’को अभ्यास र कार्यविधिलाई अद्यावधिक र आधुनिक बनाउन ‘आधुनिकीकरण समिति’ गठन गरेर अध्ययन थालियो। भाषणको अन्त्यमा स्व:स्फूर्त ताली बजाउनु गलत नभएको समितिले दिएको प्रतिवेदनमा उल्लेख छ। तर यो नियमित अभ्यासमा परिणत भयो भने भाषणको गुणस्तर सामग्रीको गहिराइमा भन्दा तालीको लम्बाइका आधारमा मूल्यांकन हुन थाल्ने निष्कर्ष त्यो समितिले निकाल्यो।
बेलायती परम्पराको सिको गर्दै अस्ट्रेलियाको संसद्मा पनि ताली निषेधित छ। यता नेपालमा भने संसदीय परम्परा बेलायतबाट सिके पनि संसद्मा सुनिने तालीका सन्दर्ममा खास नियम छैन। ताली बजाउन पाइने, नपाउने वा कतिबेला पाइने भन्ने सन्दर्भमा नियमावली मौन छ। यो सांसदहरूको स्वविवेकमा भर पर्छ। सभामा कसैको भाषणलाई समर्थन गर्नुपर्यो भने उनीहरू ताली बजाउँछन् वा अगाडिको टेबलमा हातले ठोकेर ‘ढ्याप ढ्याप’ पार्छन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाका हरेकजसो बैठकमा सांसदहरूले ताली बजाएको सुनिन्छ। तर ताली कति जोडसँग बज्छ भन्ने कुरा प्रायः कुन नेताले बोलेको छ भन्नेमा भर परेको देखिन्छ। केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, रवि लामिछानेलगायत चार प्रमुख दलका नेता, सांसद्ले भाषण गर्दा ‘फ्लोर’बाट आउने गडगडाहट अलि चर्को सुनिन्छ। उनीहरूसँग सांसद संख्या पनि धेरै छन्।
कहिलेकाहीँ सभामा ताली पनि यति लामो समयसम्म बज्छ कि रोस्ट्रममा उभिएकाहरूले आफ्नो भाषण अगाडि बढाउन पनि पर्खिनुपर्छ। अहिले दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकार भएकाले दुवै दलका मुख्य नेताहरूको भाषणमा आउने ताली अरूकोभन्दा चर्को सुनिन्छ।
संसद् सचिवालयका एक कर्मचारीको अनुभवमा अघिल्लो संसद्मा र अहिले पनि कांग्रेस संसदीय दलका नेता देउवाभन्दा सांसद गगन थापाको भाषणमा बढी ताली आइरहेको छ। देउवाले खासै नबोल्ने तर थापाले समय सान्दर्भिक भाषण कडा रूपमा प्रस्तुत गर्ने भएकाले बढी ताली आएको हुनसक्ने ती कर्मचारी बताउँछन्। “गगनजी जस्तै अरू युवा सांसदले पनि आक्रामक भएर भाषण गर्दा तालीको गडगडाहटले सभाहल थर्किन्छ,” उनले भने।
तिनै कर्मचारीका अनुसार हाल प्रधानमन्त्री रहेका नेकपा एमाले संसदीय दलका नेता ओलीले धारिला र चोटिला भाषण गर्ने भएकाले उनले बोल्दा सांसदहरूले बारम्बार टेबल ठटाइरहेका हुन्छन्। ओलीले ताली नबजाएको भन्दै आफ्ना कार्यकर्ताहरूसँग असन्तुष्टि पोखेको भिडियो एक पटक सामाजिक सञ्जालमा देखिएको थियो।
२०७९ साउन ४ गते बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका प्रमुख वक्ता रहेका ओलीले सम्बोधन गर्दा ताली कम बज्यो। ‘एमाले पार्टी एकढिक्का भएर अघि बढ्नुपर्छ’ भनेर उनी रोकिए। ताली नगण्य सुनिएपछि उनले भने, “ताली त बजाउनुभो, तर थोरैले मात्र बजाउनुभो।” त्यसपछि उनले पुनः त्यही वाक्य दोहोर्याए र रोकिए। पहिलेकोभन्दा अलि बढी ताली आए पनि सन्तुष्ट नभएका ओलीले फेरि भने, “अझै बजाइरहनुभएको छैन।” त्यसपछि चाहिँ कार्यकर्ताले चर्कोसँग ताली बजाएका थिए।
संसद्मा सांसदहरूले बाध्यताले पनि ताली ठोक्नुपर्ने अवस्था छ। जस्तो कि नीति तथा कार्यक्रम वा बजेट पारित हुँदा सत्तापक्षका सांसदले प्रायः ताली ठोक्छन्, विपक्षी सांसदहरू मौन बसेको देखिन्छ।
जे विषयमा पनि ताली बजाएर समर्थन गरिदिँदा त्यसले पार्ने असरबारे सांसद गगन थापाले केही दिनअघि संसद्मै बोले। गत जेठ २३ गतेको प्रतिनिधिसभामा बजेटबारे उनले भनेका थिए, “यहाँँ जे लेखिदिए पनि हुन्छ र सदनमा आएर जे बताइदिए पनि हुन्छ भन्ने ठानिएको छ। किनभने यहाँ सत्तापक्षीयले ताली ठोकिहाल्छ। ...जे लेखेर ल्याए पनि हुन्छ, यसले पास गरिहाल्छ, बहुमत छँदैछ भन्ने छ। यो खालको संसदीय अभ्यास गरिरहेका छौँ, यसले गर्दा पनि हाम्रो बजेट दिन प्रतिदिन हावादारी हुँदै गइरहेको छ।”
दुवै सदनमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले एकअर्काका नेता वा सांसद् बोल्दा हत्तपत्त ताली पिट्दैनन्। तर विपक्षी सांसदहरू सत्ताबाहिरको अन्य दलका सांसदहरू बोल्दा पनि उनीहरूलाई समर्थन गर्दै ताली पिटिरहेको बाक्लै देख्न पाइन्छ।
सत्तापक्षका सांसदहरूले पनि एकअर्कालाई प्रायः समर्थन गर्छन्। जस्तै, गत असार २७ गते तत्कालीन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले विश्वासको मत माग्दा गरेको भाषणले माओवादीको मात्र नभई रास्वपाका सांसदको पनि ताली पाएको थियो। त्यस्तै, रास्वपा संसदीय दलका नेता रवि लामिछानेले भाषण गर्दा माओवादीका सांसदले समर्थन जनाएका थिए।
संसद्मा सबै सांसद बोल्दा ताली आउँछ भन्ने हुँदैन। कतिपय सांसद बोल्दा ताली नै नआउने पनि हुन्छ। त्यसका उदाहरण हुन्, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल। उनी त्यस पार्टीबाट प्रतिनिधिसभामा पुगेका एक्ला जनप्रतिनिधि हुन् जो संसद्मा नियमित आफ्नो धारणा राख्ने सांसदमा गनिन्छन्। उनी बोल्दा ताली बजाइदिने दोस्रो व्यक्ति अपवादबाहेक कोही हुँदैन।
कतिपय अवस्थामा आफ्ना स्वार्थका विषय मिल्दा पनि ताली आउँछन्। पछिल्लो समय सहकारीको विषयले संसद् ततायो। सहकारी अपचलनको मुद्दामा जोडिएका सांसद रवि लामिछानेको आलोचना हुँदा जसले बोले पनि कांग्रेस, राप्रपालगायत दलका सांसदहरूले एकमत भएर ताली बजाएको देखियो।
कहिलेकाहीँ ताली पड्काउन मात्र संसद पुगेको भन्दै सांसदहरूको आलोचना पनि हुने गरेको छ। ठूला नेताले जे–जे भन्यो त्यसमा समर्थन गर्ने भएकाले उनीहरूलाई यस्तो आरोप लाग्ने गरेको हो।
अघिल्लो प्रतिनिधिसभामा सांसद रामकुमारी चौधरीले आफूहरूलाई सर्वसाधारणले ताली पड्काउने सांसद मात्र हुन् भनेर चिनेको भन्दै गुनासो गरेकी थिइन्। २०७९ साउन २४ को बैठकमा उनले भनेकी थिइन्– “प्रत्यक्ष निर्वाचित सांसदलाई कोष छुट्टयाउने, तर समानुपातिकलाई नछुयाउँदा जनमानसमा यिनीहरू ताली पड्काउने मात्र हुन् भन्ने परेको छ।”
रास्वपा सांसद सन्तोष परियार संसद्मा विशेषगरी तीन वटा कारणले ताली बजिरहेको बताउँछन्। एक, दलका नेताले गरेको तर्कलाई पार्टीको समर्थनका हिसाबमा बजाइन्छ। दुई, आफ्नै पार्टीका सांसदले कसैको कुरालाई ‘काउन्टर’ गर्दा बजाइन्छ। तीन, आफ्नै दलको नभए पनि अरू दलका सांसदले उठाएका विषयमा समेत चित्त बुझ्दा बजाइन्छ।
परियार भन्छन्, “यी तीन वटा कारण सांकेतिक भए। तर अरू पनि कारण हुनसक्छन्। तालीमार्फत आफ्नो समर्थन रहेको कुरालाई बुलन्द बनाउने हो।”
ताली बजाउनुमा समस्या पनि देख्छन् परियार। विशेषगरी सत्तापक्षमा हुँदा यदाकता मन नलागे पनि ताली बजाउनुपर्ने अवस्थाप्रति उनको भनाइ लक्षित थियो। सांसद परियारले थपे, “कहिलेकाहीँ कुनै कुरा पटक्कै चित्त बुझेको हुँदैन, तर पनि ताली बजाउनुपर्छ। सम्भवतः यो हाम्रो संसदीय व्यवस्थाको सीमितताको उपज होला।”
केही समयअघि पूर्वसभामुख दमननाथ ढुंगानाले सांसदहरूलाई कतिबेला ताली ठोक्ने भन्नेबारे सम्झाएका थिए। गत असार १६ गते ६६औँ संसद् दिवसको अवसरमा संसद् भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनेका थिए, “ताली ठोक्नु भनेको विषयलाई स्वीकार गरेर आफूभित्रको आवेग प्रकट गर्नु हो। त्यो काम आफ्नो भावनासहित गर्नुपर्छ र गलत ठाउँमा सांसदको भावना हुनु हुँदैन। भावनालाई सँधै नियन्त्रण गर्न नसकिए पनि त्यसलाई तर्कले ‘ब्यालेन्स’ गर्नुपर्छ।”