पशुपतिको कोटिहोममा के भनिन् ‘देवी प्रतिभा’ले?

प्रतिभाको वाचन सुन्दा लाग्थ्यो–ठूलो संघर्षले ल्याएका सबै समताका कानून खारेज गर्दै मध्य युगीन धार्मिक कानून स्थापित गर्नुपर्छ, फेरि ‘सतियुग’ फर्काउनुपर्छ। र त्यो मध्य युगीन ‘नर्क’ नै हाम्रो ‘धर्म’ हो। 

लामो समययता कलम चलाउन अल्छी गरेकी मलाई यस महिनाको पहिलो दिनदेखि पशुपति क्षेत्रमा चलिरहेको कोटिहोममा एक सेलिब्रिटी पुराण वाचकले दिएको अभिव्यक्तिले जुरुक्क बनायो। साउन ३२ गतेसम्म चल्ने ‘पशुपति कोटिहोम तथा १०८  श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’मा कथा वाचनका लागि नेपाल आएकी ‘अन्तर्राष्ट्रिय कथा वाचक’ देवी प्रतिभा (प्रतिभा पराजुली)को प्रवचन सुनेलगत्तै त्यसमा सुविचारित प्रतिक्रिया जनाउनु अत्यावश्यक ठानेँ। महिलाविरुद्धका द्वेषपूर्ण अभिव्यक्तिविरुद्ध प्रतिक्रिया नजनाईकन मौन बस्नु लैंगिक समताका लागि विगतमा लडेका धेरै र अहिले लडिरहेकाहरू प्रतिकै अपमान हो। 

यो प्रतिक्रिया जनाउँदा शायद कतिले मलाई ‘धर्मविरोधी’ या ‘डलरे’ ठहर्‍याउलान्, कतिले ‘भारतको नम्बर तीनमा परेकी नेपाली कथा वाचक देवी प्रतिभा’को डाह, आरिस गरेको पनि भन्लान्। के प्रस्ट पारौँ भने सानै उमेरमा देश बाहिरसमेत पुगेर यश कमाउन सफल नेपाली युवाप्रति मेरो सम्मान छ। मेरो मूल चासो प्रतिभाले दिएको स्त्रीद्वेषी अभिव्यक्तिप्रति मात्र हो। 

काभ्रेको मण्डन देउपुरको कुनै गाउँमा जन्मेर अहिले भारतमा रहेर धार्मिक कथा वाचनमा लागेकी २३ वर्षीया प्रतिभा  तीन दिदीबहिनी र एक भाइबीचकी माहिली छोरी हुन्। बताइएअनुसार उनले संस्कृत व्याकरणमा आचार्य गरेकी छन्। पहिले नै सामाजिक सञ्जालमा छाएकी उनी पशुपति आएर कथा वाचन गर्ने कुराले धेरैको ध्यान तानेको थियो। मिडियाले धमाधम ‘नेपालकी चेली’ र ‘नेपालको गौरव’ भन्दै प्रचार गरिरहँदा उनले थप धेरैको ध्यान खिचिन्। 

पशुपतिमा भएको कथा वाचनको दृश्य कुनै युट्युब च्यानलमा हेर्न शुरू गर्नेबित्तिकै बीचमा म रोकिएँ। उनको अभिव्यक्ति दोहोर्‍याएर सुनेँ। एक घण्टा लामो प्रवचनमा उनले धेरै समय ‘महिला पतिव्रता हुनुपर्छ’ भन्दै त्यसको शास्त्रीय व्याख्या गरिन्। उनले भनिन्, “सनातन धर्ममा, संस्कृत भाषामा डिभोर्स भन्ने शब्द नै छैन। त्यसैले महिलाले विवाह गरेपछि पुरुष आफूभन्दा २० वर्ष नै बुढो भए पनि, एउटै गुण नभए पनि र एक पैसा नकमाउने भए पनि उसलाई छाड्न हुँदैन। विवाहपश्चात् पतिको आदेशलाई लिएर हर कार्य गर्नुपर्छ र महिला पतिव्रता हुनुपर्छ। पतिको आयुका लागि महिलाले तिजको व्रतमा पानी पनि नखाई बस्नुपर्छ।” यो नै पतिव्रताको लक्षण हो भन्दै उनले कथा सुनिरहेका महिलातिर प्रश्न तेर्स्याइन्, “तपाईंहरू पतिले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न?”

हुँदाहुँदै उनले ‘पतिव्रता धर्म’ पालना गरिरहँदा आफ्नै काखको दुधेबालख आगोमा पर्‍यो भने पनि त्यसलाई बेवास्ता गर्नुपर्छ भनिन्: “काखमा निदाएको पतिलाई बिउँझाउनु पाप हो। आगोमा परेको बच्चा जलोस् तर पतिप्रतिको धर्म छाड्नुहुँदैन।” पतिलाई खान नदिईकन आफूले खान हुँदैन र पति विदेशमा भए तस्वीर राखेर त्यसमा खाना चढाएर र पूजा गरेर मात्र खानुपर्छसमेत भन्न भ्याइन्।

‘धेरै ज्ञान’ बटुलेर भारतभर नाम कमाउन सफल उनले पशुपतिजस्तो धार्मिक क्षेत्रमा आएर हजारौँ नेपालीबीच यति विभेदपूर्ण र आपत्तिजनक अभिव्यक्ति कसरी दिइन् होला भन्ने मनमा लाग्यो। अनि थप उनका युट्युब भिडियो र ‘सर्ट्स’ हेरेँ। उनी त पहिलेदेखि नै पुराण वाचनका क्रममा यस्ता स्त्रीद्वेषी अभिव्यक्ति निरन्तर दिँदै त्यसकै प्रचार गरिरहेकी रैछन। लाखौँमाझ आफ्ना कुरा पुर्‍याएर समाजमा सकारात्मक योगदान दिन सक्ने जोसिलो युवा वाचक, त्यसमा पनि महिलाले नै महिलाद्वेषी अभिव्यक्ति दिँदा समाजमा महिलामाथि विभेद र अत्याचारलाई झनै बल पुग्छ। अतः प्रतिभाले दिएजस्ता अभिव्यक्तिको शालीन प्रतिकार गरिनुपर्छ।

‘भुईंमा बसेर खाना खाँदा कहिल्यै बिरामी भइन्न, साँझको बेला महिला रुनु हुँदैन, सूर्यास्तको समय गर्भधारण गर्दा खराब प्रवृत्तिको सन्तान जन्मन्छ भन्नेदेखि घरमा माउसुली आउँदा के हुन्छ?’ भन्नेजस्ता उडन्ते विषयमा मनगढन्ते ‘धार्मिक निचोड’ पस्किरहेकी उनले त्यस्ता भिडियो र सर्टमा भनेकी छन्, “पतिका प्रत्येक आदेश मान्नुपर्छ। यस्तै नारी मात्र पूजनीय हुन्छन्। पतिव्रता नारीभित्र यति धेरै शक्ति हुन्छ कि उसका अगाडि त साक्षात् भगवान् पनि झुक्न बाध्य हुन्छन्। जो लोग्नेको खुट्टा माड्छन्, उनै मात्र यस धर्तीमा पतिव्रता कहलाउँछन्। पुरुषले महिलाको गोडा माड्ने कुरा त हुनै सक्दैन। यस्तो त कुनै ग्रन्थमा लेखिएकै छैन। कुनै पनि महिलाले विवाहपूर्व पितालाई नै सबै कुरा मान्छन् भने बिहेपछि पतिलाई नै सबैथोक मानेर उनको आदेश मान्छन्। सच्चा नारी त्यही हुन्छन्, जो सदैव लोग्नेको आदेश मान्छन्।”

अचम्मलाग्दो कुरा के छ भने प्रतिभा बसेकै व्यासमा, सोही मञ्चमा नेपालकै अर्की प्रसिद्ध कथा वाचक राधिका दासी यति नै खेर कथा वाचन गरिरहेकी छन्। र, राधिकाले आफ्ना इटहरीमा पाँच वर्षपहिले आयोजित एक कथा वाचनमा आफ्नो विवाह झुक्क्याएर जटिल मानसिक समस्या भएका व्यक्तिसँग गरिएका कारण आफूले साह्रै कष्टपूर्ण जीवन बिताएको बताएकी थिइन्। उनका अनुसार चुरोटको ठुटाले उनको हातै डढाइन्थ्यो। कष्ट सहन गाह्रो भएर स्लिपिङ ट्याब्लेट खाएर आत्महत्या गर्नेबारे सोचेको समेत उतिखेर राधिकाले बताएकी थिइन्। सो वैवाहिक कष्टलाई दासीले सात वर्षमा टुंग्याइन्, सम्बन्धविच्छेद गरिन्। हिंसामा परेका महिलाले दबिएर बस्न नहुने उनी बताउँछिन् भने यता प्रतिभा लैंगिकहिंसाको महिमा गाइरहेकी छन्।

लोग्नेबाट पाएको यातनाबारे बताउँदा राधिका भक्कानिएकी थिइन्। असह्य भएर राधिकाले त्यस व्यक्तिसँग सम्बन्धविच्छेद गरेको कुरा उतिखेर बताएकी थिइन्। तर यतिखेर एउटै मञ्चमा कथा भनिरहेकी अर्की कथा वाचक भन्दै छिन्, “सम्बन्धविच्छेद गलत हो। पाप हो।” त्यस्तो मान्ने हो भने त कोटिहोममा प्रतिभासँगै कथा वाचन गर्ने राधिका दासीले त पाप पो गरिरहेकी रैछिन्।

सदियौँदेखिका उत्पीडन बिर्सेर कमसेकम नयाँ पुस्ताले उत्पीडनमुक्त घरपरिवार र समाजको विषय उठाउँदै लैंगिक समानताको पक्षमा बोलिरहेका छौँ। अनि हाम्रोजस्तो धार्मिक समाजमा धर्म संस्कृतिको नाममा भएको विभेद हटाउन धर्मगुरुहरू नै यसको अभियन्ता बनाउनुपर्छ भन्दै वकालत गरिरहेका छौँ। नेपाली महिला र समतावादी पुरुषहरूले २००७ यता गरेका अनेकन् प्रयत्नका कारण लैंगिक समानतासम्बन्धी ऐन कानूनसमेत बनेका छन्। तर देश दुनियाँ डुलेकी प्रतिभाको समाजलाई मनुमहाराजकालतिर लैजाने यो कस्तो प्रतिभा हो? साँच्चै उनको स्त्रीद्वेषी अभिव्यक्तिलाई हाम्रा कानूनले चिन्लान् कि नचिन्लान्? 

स्त्रीद्वेषी शास्त्र र व्यवहारको पक्षपोषण गर्ने प्रतिभाको भनाइको सार थियो, “महिलाकै कारण सम्बन्धविच्छेद हुन पुग्छ र सम्बन्ध जोगाउने जिम्मा महिलाको मात्र हो।” पतिका जस्तासुकै अत्याचार सहनुपर्छ भन्ने सन्देश उनको ‘कथा’ सुन्नेले पाउँथ्यो। मन्द मुस्कानसहित मीठो र धीमा गतिको स्वरमा उनको ‘मोहनी वाचन’ सुन्दा लाग्थ्यो– हामीले ठूलो संघर्षले ल्याएका सबै समताका कानून खारेज गर्दै मध्ययुगीन धार्मिक कानून स्थापित गर्नुपर्छ, ‘सतियुग’ फेरि फर्काउनुपर्छ। र त्यो मध्ययुगीन ‘नर्क’ नै सद्धर्म हो। 

हजारौँ वर्षअघि लेखिएका कथाकुथुंग्री र नीतिकथामा कतिपय राम्रा कुरा भए पनि यस युगको चेतना तिनमा हत्तपत्त भेटाइन्न। त्यसो हुँदा तिनमा निरन्तर सुधार गर्दै युग अनुसारको बनाउने काम पढालिखा र जागरूक व्यक्तिहरूको काम हो। हिन्दु धर्ममा भएका रहेका कतिपय खराबीलाई विगतमा बुद्ध, कबिर, नानक र दयानन्द सरस्वतीलगायत अनेकन‍्ले सुधार्न खोजे। कतिले विद्रोह गरे। चर्चित वाचकका रूपमा प्रतिभाजस्ता नववाचकहरूले पनि त्यसो गर्न सम्भव हुन्थ्यो। बाटो बिराउन खोजेकालाई कथा वाचनको माध्यमबाट सही बाटोमा ल्याउन सकिन्थ्यो। 

विडम्बना, महिलालाई सतियुगतिर फर्काउने गरी उनले साह्रै उदेकलाग्दो अभिव्यक्ति दिइन् र त्यसको खण्डन स्वयं राधिका दासीले पनि अहिलेसम्म गरेको सुनिएको छैन। शायद ‘व्यापार घाटा’को त्रासमा कुनै पनि वाचक महानुभावहरू त्यो खतरा झेल्न तयार छैनन्। पहिले नै अन्धविश्वासले जकडिएको हाम्रोजस्तो समाजमा झनै स्त्रीद्वेषी सन्देश फैल्याउँदा समाज अझ कति पछाडि धकेलिएला?  

अत्यन्तै सकारात्मक ऊर्जासहित कथा वाचन हेर्न शुरू गरेकी म प्रवचन सकिँदासम्म हैरान भएँ। आफ्ना वरपर साउथ इन्डियन फिल्मका नायकझैँ डरलाग्दा सुरक्षागार्ड लिएर नेपाल आएकी प्रतिभाले पतिव्रताको नाममा डरलाग्दो  लैंगिक विभेदका पक्षमा प्रवचन दिनु पछाडिका कारण के होला भन्ने लागिरह्यो। अनि मलाई अफगानिस्तानका तालिबानी धार्मिक शासकले महिलालाई विद्यालयमा निषेध गरेको सम्झना भयो। अहिले अफगानिस्तान महिलाका लागि ‘नर्क’ हो। अफगानी महिलाको भूमिका त्यहाँ केबल पुरुषको ‘सुख’का लागि मात्र सीमित छ।