फेरि दार्जीलिङे चौरस्तातिर

कसैले एक्कासि बसपार्कमा छाडे पनि आत्तिनुपर्ने र हराइहाल्ने मेरो अवस्था थिएन दार्जीलिङमा। त्यहाँ बस्ने मानिसहरूको आहार, व्यवहार, बोलीचाली, फेसन सबैको आंशिक आकलन पनि पाइसकेको थिएँ।

केटीः दार्जीलिङ शहर जानु छ रहर, ए दाजु लैजाउन
        सय छ कोटी बिन्ती छ मेरो, मान्छौ कि मान्दौन

केटाः झिली र मिली दार्जीलिङ शहर, ए बैनी लैजाउँला
        नमान फिक्री यो दिलमाथि, भरोसा राखन।

हामी सानो छँदा विद्यालयका शिक्षकहरूको तलब जुटाउन खेलिने देउसीको एक युगल नृत्यको गीत हो यो। यी र यस्ता गीतहरूमा दाइ–दिदीहरूले नाचेको अनि गाएको देख्दा यो दार्जीलिङ भन्ने कस्तो ठाउँ हुँदो होला, कस्तो शहर होला लागिरहन्थ्यो। कहिलेकाहीँ बुवा, काकाहरू फुपू भेट्न जानुहुँदाका कुराहरू सुन्दा वा गाउँका दाइहरू लाहुरे हुन घुमपहाड वा लेबोङतिर पुग्दाका कुरा सुन्दा तुरुन्तै पुगी हालौँ भन्ने औडाहा हुन्थ्यो मनमा।

किशोर अवस्थातिर पुग्दा भने दार्जीलिङको तस्वीर लगभग तयार भइसकेथ्यो मन मस्तिष्कमा। प्रकाश कोविद, सुवास, अच्छा राई ‘रसिक’, इन्द्रबहादुर राईहरूका उपन्यास र तिनका पात्रहरू हिँड्ने, रमाउने चौरस्ता, बसपार्क, बोटनिकल गार्डेन, माउन्टेनियरिङ इन्स्टिच्युट, गभर्मेन्ट कलेज, सेन्टजोसेफ कलेज, क्यापिटल र रिंक सिनेमा कहाँ–कहाँ छन् भन्ने लगभग थाहा भइसकेथ्यो, दार्जीलिङ पहिलोचोटि पुग्नुअघि नै। त्यसैले कसैले एक्कासि बसपार्कमा छाडे पनि आत्तिनुपर्ने र हराइहाल्ने मेरो अवस्था थिएन दार्जीलिङमा। त्यहाँ बस्ने मानिसहरूको आहार, व्यवहार, बोलीचाली, फेसन सबैको आंशिक आंकलन पनि पाइसकेको थिएँ। सभ्य शहर, मनोरम हिमश्रृंखला, हरिया चियाबगान र जंगलहरूबीचको ‘पहाडकी रानी’ हेर्दा जो कोही मोहित नहुने कुरै भएन।

उसो त हाम्रो झिंगटीघरे साहिँली फुपूलाई प्रसाद सोताङले हाम्रो गाउँ छिनामखुमा शिक्षक हुँदा भगाएर लैजानुभएपछि पारिवारिक रूपमा नै आउजाउ शुरू भएको हो दार्जीलिङेहरूसँग। पछि कान्छी फुपू चन्द्रकला राईले म्याट्रिकसम्म उहीँ पढनुहुँदा काका पृथ्वीक्रम र बुवा भगत मनग्य आउने जाने गर्नुहुँदाका किस्साहरू कति सुनिए कति। सन् १९८० को दशकको गोर्खाल्याण्ड आन्दोलनमा तयार गरिएका गीति क्यासेट र सुवास घिसिङका भाषणहरू सुन्दा जीउमा तरंग नआएको होइन। सोही ताका भारतीय कम्युनिस्ट पार्टीका क्याडर हाम्रा फुपूका छोरा सुदेश र सुरेन दाइहरू भूमिगत भएर हाम्रो घर मोरङ बोराबाँध बस्नुभएको थियो। उहाँहरूले गरेको वर्णनले छपक्कै भिजेको थियो दार्जीलिङ हाम्रो मनमष्तिकमा।

यस्तो सोचमा आसिन भव्य, सुन्दर शहर जाने मौका सन् १९८९ अक्टोबर (२०४६ कात्तिक)मा जुर्‍यो। म धनकुटाको पाख्रिबास कृषि केन्द्रमा काम गर्दाका साथीहरू पुरुषोत्तम खतिवडा, बुद्धि कुँवर, सुन्दर श्रेष्ठ र म तीन दिन गान्तोक बसाइपछि फर्कंदा टिस्टा बजारबाट दाहिनेपट्टी उकालैउकालो चियाबगान बीचका स–साना मुस्किलले बस चल्ने बाटाहरूमा चल्ने बस चढेर बसपार्क पुगेको याद छ।

भर्खरै तिहार सकिएको थियो। बर्षेझरी थामिएको तर भुईंकुहिरो लागेकोले शहर त्यति रमाइलो भने थिएन। विद्यालयहरू पनि पूरै बन्द अनि पर्यटकहरू पनि त्यति नआइसकेको समय, हिमालहरू पूरै खुलिनसकेको अवस्थामा ‘पुगिस्?’ ‘पुगेँ!’ को अर्थमा मेरो पहिलो यात्रा टुंगिएको थियो। त्यो यात्रा त्यति नजमे पनि बजार तलको बोटानिकल गार्डेन, परको चिडियाखाना र माउन्टेनियरिङ इन्स्टिच्युट त घुमेकै हो। 

हामी बसेको होटलबाट ओरालैओरालो सिँढी ओर्लेर ल्लोयड बोटनिकल गार्डेन पुग्यौँ। बजारदेखि तल पश्चिम–दक्षिण मोहोडाको पाखामा अवस्थित यो गार्डेनमा सुनाखरी (अर्किड) र गुराँसको बगैँचाले मन लोभ्याएको थियो। दार्जीलिङका सेरोफेरोबाट संकलन गरिएका विभिन्न समयमा फूल्ने ती सुनाखरी र गुराँसका संग्रहहरू हेर्दा असाध्यै मनमोहक देखिन्थ्यो। अफ सिजनमा पनि केही प्रजातिका अर्किड फूलेका थिए, केही फुलिसकेर विश्राममा थिए। 

दार्जीलिङको अर्को आकर्षण थियो हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युट। तेञ्जिङ नोर्गे र एडमन्ड हिलारीले सन् १९५३ (२००९ साल) मा सगरमाथाको आरोहण गरेपछि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको निर्देशनमा खोलिएको सो संस्था हेर्दा अलिकति उत्सुकता अनि अलिकति क्षोभरूपी सोचमा डुबेँ। उत्साह यो अर्थमा कि पर्वतारोहणका हस्तीहरूलाई श्रद्धा तथा आगामी सन्ततिलाई त्यतातिर आकर्षण गर्न र तिनलाई पर्वतारोहणका लागि चाहिने शिक्षा, सीप सिकाउन यो संस्था स्थापित थियो। यसमा संग्रहित सामग्री अनि त्यहाँ दिइने प्रशिक्षणबारे जानकारी लिँदा ‘ए हो नि, यो पनि अपरिहार्य छ त। चाहिन्छ नि’ लागिरह्यो।

अलिकति ग्लानीरहित वितृष्णा किन भो भने, नेपालको सोलुखुम्बुमा जन्मेका भनिएका तेञ्जिङ शेर्पा सगरमाथा आरोहणपछि भारतमा पर्ने दार्जीलिङमा बसे। त्यहीँको पर्वतारोहण संस्थामा आबद्ध भए, त्यहीँ समाधिस्थ भए। अनि त्यहीँ शालिक बनेर रहे। त्यति मात्र होइन सिलिगुडीको बसपार्क पनि उनकै नाममा रह्यो। हामीले यता नेपालमा ‘हाम्रो तेञ्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा...’ भन्ने गीत गाइरह्यौंँ उबेलादेखि र अझ पनि गाउँदैछौँ। सिमानाले हाम्रा आफ्ना दाजुभाइ फरक भूगोलमा परेको त सह्य नै थियो तर हिमाल चढ्ने अस्मिता पनि उतैको भएकाले मलाई त्यस्तो भएको हो कि! 

त्यसको तीन वर्षपछि १९९२ अप्रिल (२०४९ वैशाख)मा हाम्रो विवाहपछि श्रीमती विमलासँग म कालिम्पोङ, गान्तोक हुँदै दोस्रोचोटि दार्जीलिङ पुगेको थिएँ। वसन्ती फूलहरूले बोटानिकल गार्डेन, घर र होटलहरू उसै राम्रो सजिएका थिए। तर जति कालिम्पोङ र गान्तोकमा मन रमायो, यता त्यति रमाए जस्तो लागेन। शायद त्यसो हुनुमा यहाँको भिडभाड, फोहोरमैला र अव्यवस्थित सवारी साधन तथा सडकहरू पो हो कि! वा बसबाट उत्रने बित्तिकै होटल खोजिदिने दलालहरूको हैरानीले हो! उतातिरका अर्किड र ग्लाडियलोस फूलका बल्ब र फक्रेका फूलहरूले हो, मोह भने उतैले तान्यो।

त्यसबेला मोहभंग हुनुको अर्को पनि कारण हुनसक्छ। हामी नवविवाहित जोडी थियौँ। हामीलाई ठाउँभन्दा पनि एक–अर्काको समीप प्यारो थियो होला। त्यसैले हाम्रो ध्यान अरूतिर गएन कि! 

अर्कोचोटि दार्जीलिङ गएको २०१० जनवरी (२०६६ पुस) मा हो। छोरा अभिषेकले कक्षा ९ को परीक्षा सकाएपछि मीनपचासको बिदामा ‘दार्जीलिङ गएको छैन, एकचोटि जाउँ न’ भनेपछि उसलाई नयाँ ‘एक्स्पोजर’ पनि हुन्छ भनेर भतिज सानुभाइ तामाङसमेतलाई लिएर सानो मारुती गाडीमा त्यता लाग्यौँ, सानु र मैले पालैपालो गाडी चलाउँदै।

काठमाडौँबाट हिंडेको पहिलो दिन चितवनको सौराहमा बस्यौँ। छोराहरूलाई हात्ती चढाएर वन सफारीमा लगेँ। बँदेल, मृग, गैंडा, अर्ना जस्ता वन्यजन्तुहरू हेरेर खुब रमाए। दोस्रो दिन खाना खाएर हिँडेपछि बोराबाँध पुगेर बस्यौं। तेस्रो दिन दार्जीलिङ नै पुग्यौँ। इलामतिरको बाटो भएर जाँदा फिक्कलमा साहित्यकार, संगीतकार हाम्रा दाजु गणेश रसिकको घर सोधखोज गर्दै पुग्यौँ। त्यहाँ चियानास्ता गरेपछि पशुपतिनगरमा दाजुले फोन गरिदिनु भएकाले शेर–ए–पञ्जाब होटलको कम्पाउण्डमा गाडी छाडेर नेपाल–भारत सीमाको फाटक काट्यौँ र दार्जीलिङ जाने लोकल बसमा चढ्यौँ।

केही क्षणपछि गाडी हिँड्यो, डाँडाको पानी ढलैढलो, तिनथुम्के, सुकिया पोखरी, घुम हुँदै लगभग डेढ घण्टामा दार्जीलिङ बसस्टपमा बस रोकियो। नजिकैको होटलमा कोठा बन्दोबस्त गर्‍यौँ र झोला राखेर घुम्न निस्कियौँ।

बसपार्कको पूर्वोत्तरमा तरकारीबजार तथा गोशखानामा गोरुको मासु नेपालमा राँगा र खसी जस्तै गरी बेचेको देख्दा अभिषेकले अचम्म मान्यो। मैले त्यहाँको मासु काट्ने व्यवस्थित स्थान उनीहरूलाई घुमाइघुमाइ देखाएँ। त्यसपछि हामी माथि चौरस्तामा गएर घोडा चढेर हिँडने बाटो पैदलै टहलियौँ। अनि चौरस्ताको पानीढलोमा भरर्खरै खुलेको आधुनिक क्याफेमा मोःमो, कफी खाएर बजार एक फन्को मार्‍यौँ।

भोलिपल्ट सूर्योदय हेर्न टाइगरहिल जाने योजना थियो तर खराब मौसमका कारण गएनौँ। बिहान बोटानिकल गार्डेन अनि दिउँसो चिडियाघर र माउन्टेनियरिङ इन्स्टिच्युट गयौँ। चिडियाघरमा अभिषेकले लोपोन्मुख वन्यजन्तु हिमचितुवा र रेड पाण्डालाई खुब रुतिपूर्वक हेर्‍यो। माउन्टेनियरिङ इन्स्टिच्युटमा पढाइ र तालिम दिइने विषयहरूबारे निकै सोधखोज गर्‍यो। दिनभरको हिँडाइबाट थकित थियौँ। त्यहीँको पार्कमा आराम गर्दै केही खाने विचारले बस्यौं। घाम डुब्दै जाँदा पार्क रंगीन हुंँदै गयो। खाँटी नेपाली गीत संगीतले मलाई नेपालमा भन्दा न्यानो बनायो। 
उडी जाउँ भने म पन्छी होइन
बस्नलाई ए लै मन छैन...।

अनि फेरि अर्को–
घुरुमा घुरु नि परेवा घुर्‍यो, हाँस पापी घुरेन
नौ डाँडापारि नि माइती जाउँ भन्दा साइतै जुरेन...। 

ठूलो मैदानको पूर्वपट्टीको स्टेजमा चड्के नेपाली लोकगीतहरू बज्न थाले। साथमा हरिया, पहेँला, गुलाबी धेरै रङ समिश्रण भएका बत्तीका किरणहरू झिलिक र मिलिक गर्न थाले। स्टेज उत्तेजित हुँदै गयो। बिस्तारै गीतहरूमा नेपाली भेषभुषा लगाएका किशोरकिशोरीहरूले विभिन्न झ्याउरे, ख्याली, संगिनी, सेलो नृत्यहरू देखाउन थाले। बेलुकी सांस्कृतिक कार्यक्रम हेर्दै खाना खान आउने मान्छेहरूले स्टेज अगाडिको आँगन र वरिपरिका फलैँचा भरिए। हामी पनि तिनै हुलमा मिसिँदै नुडल्स र मोःमो खाएर होटल फर्क्यौं।

भोलिपल्ट पुनः पशुपतिनगर फाटक जाने बस चढेर नेपाल फर्कियौँ। दशगजा नाघेर नेपाल आएपछि आफ्नै गाडी लिएर लाग्यौँ ओरालैओरालो रसिक दाजुको चियाबगान बीचको कटेजतिर। त्यहाँ खाजापानी खाएपछि हामी चियाबगान घुम्न निस्कियौँ। हिउँदको दिन, हातले हरिया चियाका पातहरू सुम्सुम्याउँदै हामी बगानको तल्लो छेउबाट माथिल्लो छेउ अनि पल्लो छेउबाट वल्लो छेउ गर्दा पारि इलामपरको क्षितिजनिर घाम घुर्माइलो हुँदै थियो। घर फर्कंदा झमक्क साँझ पर्‍यो। 

घरमा एक अधबैंसे दिदी र उनका किशोरी दुई छोरी पनि पाहुना थिए। बेलुकी बिर्तामोडतिरबाट अरू तीन जना कलाकार साथीहरू थपिए। भीडभाडको खानापिनपछि गायनको महफिल जम्यो। हामी सबैले सामूहिक र एकल गीतहरू गायौँ। रसिक दाइले आफ्नै ६–७ वटा गीत गाउनुभो। केही सम्झनीका गीतहरू यस्ता थिए।
धेरै सम्झे धेरै हुन्छ, थोरै सम्झे थोरै हुन्छ
नसम्झेमा केही पनि छैन, तिमीलाई दिएको मेरो माया...।

अर्को,
मेरो अतीतलाई कहाँ भेटुँ
मेची वारि कि पारि भेटुँ...।

दुवै गीत मर्मस्पर्शी थिए। पहिलो त उहाँको ‘सिग्नेचर सङ’ सुनिराखेकै हो। अर्कोे चाहिँ अझ विशेष लाग्यो मलाई। यतै आएर बनाएको गीत। यतैको कथा समेटिएको, यतैको व्यथा लुकेको। यसरी दशगजामा उभिएर गीत गाएको पनि धेरै भइसक्यो। माइखोलामा पानी धेरै बगिसक्यो। भोजपुरे मान्छे, इलाम र दार्जीलिङको बीच दशगजामा उभिएर कसरी त्यस्तो गीत लेख्नुभो, निकै कौतुहलको विषय भो मलाई। सानु र अभिषेक पनि गीत सुन्दै रमाए। शायद फरक स्वर–स्वादको गीत–संगीत भएर होला। 

गएको २०० वर्षमा दार्जीलिङले धेरै उतारचढाव भोग्यो। सन् १८३५ मा तत्कालीन ब्रिटिश इष्ट इन्डिया कम्पनीका हड्सन, डाल्टन र हुकरले चिया र सिन्कोना रोपेर शुरू गरेको आवादीमा बसेको बजारको जीवनचक्र उतारचढावमा बित्यो। एक जमानाको दक्षिण एशियाकै शैक्षिक ‘हब’, नेपाली कला, साहित्य र संगीतको उद्भव थलो र हालको ओरालिएको दार्जीलिङको चक्र बडो अनौठो गरी गुज्रिएको छ।

कति सर्जकहरू नेपालतिर पसे, उतै बसे। उनलाई इतिहासमा मात्र पढ्न पाइने भएको छ। बंगालीहरूको सांस्कृतिक मिचाइविरुद्ध उठेको मुक्तिको आवाज कतै तल लेबोङको जंगलतिर हरायो। सुत्दै बौरिँदै गर्ने गोर्खाल्याण्डको आन्दोलन अहिले कहाँ पुग्यो, लेखाजोखा छैन। यस्तै सोच्दै मैले त्यो दार्जीलिङ र यो दार्जीलिङ छाडेर आएँ।