‘नक्कली शरणार्थी गिरोहको थप प्रमाण लिएर अदालत जाँदै छौँ’ (भिडियो)

डुबेको रकम फिर्ता आउने टुंगो नभएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता तथा अमेरिका जान भनी रकम बुझाएकाहरूले थप प्रमाणसहित अदालत जाने तयार गरेको बताएका छन्।

काठमाडौँ— नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अहिले अदालतमा विचाराधीन छ। यो प्रकरण रच्ने गिरोहका थप सञ्चालक र मतियारविरुद्ध प्रहरीले अनुसन्धान जारी नै राखेको छ। तर आफ्नो डुबेको रकम फिर्ता आउने टुंगो नदेखेपछि यो प्रकरणका जाहेरीकर्ता तथा रकम बुझाएकाहरूले आवाज उठाउन थालेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पुर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, गृहसचिव रहिसकेका नेपाल सरकारका सचिवसहितका व्यक्ति कानूनी तथा प्रशासनिक कारबाहीको दायरामा आइसक्दा र यीमध्ये सात जना पुर्पक्षका लागि थुनामा रहे पनि डुबेको करोडौँ रुपैयाँका बारेमा कतैबाट पनि क्षतिपूर्तिको आवाज नउठेको उनीहरूको गुनासो छ। शरणार्थी बनेर अमेरिका जाने लोभमा रकम बुझाएका उनीहरू एकत्रित हुन थालेका हुन्। 

“अहिले निजी क्षेत्रसम्बद्ध सहकारीको पैसा डुबेकोमा पनि सरकारले ग्यारेन्टी बसिदिएर क्षतिपूर्तिको कुरा गर्न थालेको छ,” शरणार्थी प्रकरणमा पहिलोपटक २०७९ जेठ १८ मा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिने रामकुमार रेग्मीले उकालोसँग भने, “हाम्रो त सिधै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयसहितको राज्य–संयन्त्र मिलेमतोमा उठाइएको रकम हो, यसको क्षतिपूर्ति दिलाउने बारेमा न्यायिक ग्यारेन्टी हुनुपर्छ भनेर हामी एकत्रित हुन थालेका छौँ।” 

रेग्मीका अनुसार देशभरबाट दुई सयभन्दा बढी नक्कली शरणार्थी बनी अमेरिका जान रकम बुझाएकाहरू सम्पर्कमा आएपछि अहिले एकत्रित रूपमा आवाज उठाउन शुरू गरिएको हो। रेग्मी स्वयंले दाङका सन्देश शर्मा (हाल पुर्पक्ष थुना)का नाममा तीन करोड ८५ लाख रुपैयाँ बुझाएको भन्दै यसका सबै बैंकिङ र अन्य कारोबारको समेत प्रमाण लिएर अर्को चरणमा अदालत जाने तयारी गरेका छन्।

यस्तै, अर्का जाहेरवाला पोखराका प्रेमराज पन्थीले आफ्नो डुबेको तीन करोड ६६ लाख रुपैयाँको हिसाबका बारेमा तत्कालीन गृहसचिव एवं हाल अख्तियार प्रमुख प्रेमकुमार राई, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई (हाल थुना), गृहमन्त्री थापाका छोरा प्रतीक थापा (हाल थुना) समेतलाई जानकारी भएको बताए। उनले आफ्नो रकम उठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवेदन दिएको, अख्तियारमा निवेदन दिएपछि प्रमुख राईले आफूलाई भेटेर उक्त निवेदनमा पोलिएको आफ्नो नाम हटाउन दबाब दिएको, त्यसपछि केशव दुलाल र सानु भण्डारीले तत्काल आफ्नो केही रकम पनि फिर्ता गरेको दाबी गरे। 

पन्थीले अरू सहयोगीमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई पनि रकम बुझाएको दाबी गरेका छन्। उनले आफूलाई पीडित दाबी गर्दै आफूसहितका व्यक्तिहरू हाल धरौटीमा रिहा भएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणका बारेमा आफूसँग रहेको थप प्रमाण र गिरोह संलग्नताको रेकर्ड लिएर अदालतमा जान लागेको समेत बताए।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा झन्डै एक वर्ष पुर्पक्षका लागि थुनामा बसेर आएका काठमाडौँ, टोखाका रामशरण केसी आफूले पनि २०७८ मंसिर ३ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गिरोहका बारेमा दिएको लिखित निवेदनमाथि सुनुवाइ नभएको बताउँछन्। आफू पनि दुलाल र भण्डारीमार्फत तीन करोड ४० लाख रुपैयाँ ठगीमा पर्ने पीडित रहेको दाबी उनले गरे। केसीले नक्कली शरणार्थी बनेर अमेरिका जाने प्रक्रियामा मन्त्रिपरिषद्बाट आवश्यक कागजात पारित गराउने आश्वासन पाएपछि आफूले दुई करोड रुपैयाँको चेक गिरोहका मध्यस्थकर्ता बेचन झालाई दिएको बताए। 

“मलाई सानु भण्डारी (हाल थुनामा)ले दबाबपूर्वक दुई करोड रुपैयाँको ग्यारेन्टी चेक दिन लगाएका थिए, त्यही आधारमा मलाई थप थुनामा राखियो,” थुनामा रहँदै हृदयाघात भएर ओपन हार्ट सर्जरी गरेको बताउने केसीले भने, “यो नेपाल सरकार र राज्य संयन्त्रले उब्जाएको गिरोह हो, गृह मन्त्रालयबाट आएका निर्देशन र कागज हेरेपछि हामीले अमेरिका जानका लागि पैसा बुझाएका हौँ। अब भनिदिनोस्, गिरोह सञ्चालक हामी हौँ कि यो राज्य?”

भि‍डियो संवाद: