युवा पंक्तिको रोजाइमा घनश्याम भुसाल देखिए पनि एमालेबाट गरेको विद्रोहलाई वैधता दिनुपर्ने आवाज ठूलो भएकाले अहिलेकै स्थितिमा नेतृत्वमा माधव नेपाल आउने निश्चित जस्तै छ।
काठमाडौँ– करिब ३४ महिनाअघि नेकपा (एमाले)बाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) को महाधिवेशन काठमाडौँमा जारी छ। नयाँ पार्टीको पहिलो महाधिवेशन भए पनि एकीकृत समाजवादीले नेकपाका संस्थापक पुष्पलालदेखिकै लिगेसी भन्दै यसलाई दशौँ महाधिवेशन भनेको छ। आइतबार शुरू महाधिवेशनमा बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया अघि बढ्दै छ।
एमालेबाट ‘विद्रोह गरेर’ माधवकुमार नेपालको नेतृत्वमा २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको तर गत निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादी त्यसयता संघ र प्रदेशका सरकारमा सहभागी हुँदै आएको छ। यही अवस्थामा महाधिवेशन शुरू गरेको पार्टीमा नयाँ नेतृत्व चयनका लागि रस्साकस्सी छ। खासगरी वर्तमान अध्यक्ष माधवकुमार नेपाललाई महासचिव घनश्याम भुसालले चुनौती दिने घोषणा गरेपछि नेतृत्व चयनको दौड रोचक बनेको छ।
देशभरबाट महाधिवेशनमा आएका प्रतिनिधिमध्ये धेरैजसोको ‘मूड’ नेपाललाई अध्यक्ष बनाउने देखिए पनि युवा पंक्तिले भने नेतृत्व हस्तान्तरण गर्नुपर्ने, त्यसमा भुुसाललाई अध्यक्ष बनाउनुपर्ने धारणा राखेका छन्। अहिलेसम्म नयाँ नेतृत्व चयन सहमतिबाट हुने या चुनावी प्रक्रियामा जाने भन्ने निर्क्योल भइसकेको छैन। नेता जगन्नाथ खतिवडा भन्छन्, “सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने पहल अघि बढेको छ। विद्रोहपछिको पहिलो महाधिवेशनले सर्वसम्मत रूपमै नेतृत्व टुंग्याउँछ।”
‘विद्रोह’को नारा : माधवलाई भर, भुसाललाई डर
एकीकृत समाजवादीको महाधिवेशनमा आएका एक हजार ८४९ प्रतिनिधिमध्ये चुनावमै जाने स्थितिमा ६० प्रतिशत हाराहारी नेपालको पक्षमा हुने, बाँकी अर्को पक्षमा खुल्ने शीर्ष तहका एक नेता बताउँछन्। अर्को पक्षमा भुसाल मात्र नभएर नेता झलनाथ खनाल पनि छन्। अंकगणित यस्तो प्रष्ट भएकैले धेरैजसो प्रतिनिधिले चुनाव नभई सर्वसम्मत रूपमा नेतृत्व चयनमा जोड दिइरहेका छन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका एकीकृत समाजवादीका नेता प्रकाश रावल सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँछन्। “माधव नेपालकै नेतृत्वमा विद्रोह गरेर नयाँ पार्टी निर्माण भएको हो। त्यो पार्टीको पहिलो महाधिवेशनबाट उहाँकै नेतृत्व चयन हुनुपर्छ। निर्वाचनमा जाने स्थिति अहिलेकै अवस्थामा बनाउन हुँदैन,” उनी भन्छन्, “उहाँले चाहना नराखेको भए कुरा अर्कै हुन्थ्यो, चाहना राखिसकेपछि उहाँलाई हुन्न भन्न मिल्दैन। उहाँको नेतृत्वमा पार्टी थप सशक्त हुन्छ। वाम एकतालगायत काम पनि सहज हुन्छ।”
सर्वसम्मत नेतृत्व चयनबारे पनि त्यहाँ दुई समूह देखिन्छन्। एउटा समूहले नेपाल र अर्को समूहले खनाल भनिरहेको छ। खनालले सर्वसम्मत हुँदा आफू र चुनावमा जानुपर्ने भए भुसाललाई अघि सार्ने बताउँदै आएका छन्। तर प्रतिनिधिमाझ भने खनालको चर्चा खासै छैन, नेपाल र भुसालकै छ।
नेता बलराम बास्कोटा महाधिवेशनले विचार र नेतृत्वको निरन्तरतालाई अघि बढाउने भएकाले नेपालकै नेतृत्वमा पार्टी अगाडि बढ्ने बताउँछन्। “जसले विद्रोहको झन्डा उचाल्यो, उसकै नेतृत्वमा पार्टी अघि बढ्ने हो। सहमतिबाटै त्यसो गर्न छलफल शुरू भएको छ,” उनले भने।
नेतृत्वमा चुनौती दिएका भुसाललाई युवा पुस्ताका प्रतिनिधिले साथ दिए पनि त्यो निर्णायक बन्ने सम्भावना कमै देखिन्छ। किनभने प्रतिनिधिको ठूलो संख्या एमालेबाट विद्रोह गर्दा नेतृत्व नेपालले गरेको, पार्टी निर्माण नेपालले नै गरेकाले पार्टीलाई अगाडि बढाउन उनको विकल्प नभएको बताइरहेको छ।
बर्दियाबाट आएका प्रतिनिधि तिलक हमाल भन्छन्, “माधव नेपालको नेतृत्वमा विद्रोह भयो, त्यसपछि पार्टी देशभर फैलियो। विद्रोहपछिको पहिलो महाधिवेशनबाट उहाँकै नेतृत्वमा अघि बढ्नुपर्छ।” भुसालले महासचिव भएरै भूमिका खेल्न सक्ने र अहिल्यै पुस्तान्तरणको कुरा गर्ने बेला नभएको हमाल बताउँछन्। भुसालले शुरूमा विद्रोह गर्दा साथ नदिएकाले अहिले नेतृत्व चाहियो भन्न नमिल्ने उनी बताउँछन्।
एकीकृत समाजवादीका कञ्चनपुर जिल्ला सचिव रहेका महाधिवेशन प्रतिनिधि हरक सिंह विद्रोह ठीक थियो भन्ने प्रमाणित गर्न पनि माधव नेपालकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्ने बताउँछन्। कैयौँ प्रतिनिधि एमालेबाट विद्रोह गर्दा भुसाल पछि हटेकाले अहिले नेतृत्वमा दाबी गर्न उचित नभएकोसमेत बताइरहेका छन्।
अनेरास्ववियूकी नेतृ आरती लामा भने यही महाधिवेशनबाट पार्टीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँछिन्। “यो पुष्पलालकै लिगेसीलाई निरन्तरता दिने महाधिवेशन हो, आठौँ र नवौँ महाधिवेशनमा भुसालकै विचार पारित भएको हो नि। दशौँमा आइपुग्दा पनि उहाँको विचारलाई प्राथमिकतामा राख्नुपर्छ, उहाँले नेतृत्व गरेमा विद्रोहको औचित्य पुष्टि हुन्छ,” लामा भन्छिन्, “उहाँ विद्रोह गर्दा हुनुहुन्थेन भन्ने आरोप गलत हो, किनभने प्रतिगमनविरूद्धको आन्दोलनमा त उहाँ होमिनु भएकै थियो। लिगेसी पुष्पलालदेखिकै भएपछि को अघि आयो को पछि भन्ने हुँदैन।”
बाजुराका प्रतिनिधि अनिल शाही अहिलेको नेतृत्वले विद्रोह गरेर पार्टी निर्माण गरे पनि पार्टीलाई गति दिन नसकेको दाबी गर्छन्। उनी भन्छन्, “पुराना नेताहरूको योगदान छ, तर पार्टी हाँक्न सक्नुभएन। अब युवा पुस्ताका नेता भुसालको नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ। युवाहरूको आकर्षण बढ्दो रहेकाले युवाको नेतृत्वमा पार्टीलाई लैजानुपर्छ।”
सिन्धुपाल्चोककी महाधिवेशन प्रतिनिधि भगवती नेपाल अहिले नेतृत्व परिवर्तन गर्ने चाहना प्रतिनिधिमा नभएको र भुसाललगायतका नेताहरूले पदाधिकारीमा बसेर एकताबद्ध पार्टी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउँछिन्। उता, रौतहटका प्रतिनिधि रामनरेश राय यादव संघर्षको घडीमा नेपालले जोखिम मोलेर पार्टी बनाएकाले अहिले उनको विकल्प खोज्न नमिल्ने बताए।
अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने कि चुनावी प्रक्रियामा जाने भन्ने तय हुन नसकेकाले नेताहरू त्यही टुंगो लगाउन जुटिरहेका छन्। एक नेताले सर्वसम्मतकै प्रयास भइरहेको र त्यसका लागि भुसाललाई ‘सेटल’ गर्ने विकल्पमा छलफल चलिरहेको बताए। “पहिलो विकल्प अहिलेजस्तै नेपाल अध्यक्ष र भुसाल महासचिव हुने हो, दोस्रो विकल्प चाहिँ नेपाल अध्यक्ष र भुसाल वरिष्ठ उपाध्यक्ष बन्ने हो। तर भुसालजीले वरिष्ठ उपाध्यक्ष कार्यकारी अधिकारसहितको हनुपर्छ भन्नुभएको छ,” ती नेताले भने।
नेपाल पक्षका नेताहरू भुसालले आफ्नो पदीय व्यवस्थापन खोजेको र त्यो मिले नेतृत्वको दाबी छाड्ने बताउँदै आएका छन्। भुसालनिकट एक नेताले भने सर्वसम्मत नेतृत्व चयन हुँदा पनि त्यसमा आफ्नो दाबी हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
