कुकुर र बिराला पाल्ने सोख भएका तर केही दिन घरबाहिर जानुपर्दा समस्यामा पर्ने जनावरधनीहरूका लागि काठमाडौँमा ‘पेट होस्टल’ धमाधम खुल्न थालेका छन्। यस्ता होस्टलले कसरी दिन्छन् सेवा?
काठमाडौँ– पानीपोखरीकी सुष्मा श्रीमान्सँगै बस्न चार वर्षअघि हङकङ जाने तयारीमा थिइन्। तर भिजा मिलिरहेको थिएन। त्यही बेला परिवारसँग छुट्टिएर पेप्सीकोलामा एक्लै बस्न थालिन्।
एक्लोपन हटाउन श्रीमान्ले कुकुर पाल्ने सल्लाह दिए। २७ दिनको छाउरो ल्याएर नाम राखिन् जोजो। उनले आफ्नो एक्लोपन त भगाइन् तर जोजोलाई साथीको अभाव भएको ठानेर बेला नामको अर्को कुकुर पनि ल्याइन्। सन् २०२२ मा हङकङको भिजा आयो। त्यसपछि जोजो र बेलालाई कहाँ राख्ने भन्ने फसाद पर्यो।
सुष्माले पैसा दिने शर्तमा दुवै कुकुर मुग्लिनमा रहेकी दिदीको घर पठाइन्। तर दिदीले आठ दिन नबित्दै कुकुर राख्न नसक्ने खबर गरिन्। श्रीमान्को घरमा पनि कुकुर मन पराउँदैन थिए। टाढाका आफन्तले राख्न मञ्जुर गरेपछि केही समय हङकङबाट खर्च पठाइन्। तर उनीहरूले पनि छोटो समयमा नै राख्न नसक्ने खबर गरे।

उनलाई फसाद भयो। कहाँ र कसरी कुकुर राख्न सकिन्छ भनेर इन्टरनेटमा खोज्न थालिन्। ‘द डक्टर्स केनल एक्ससरिस’ नाम गरेको ‘डग होस्टल’ भर्खर खुलेको थाहा पाएपछि सम्पर्क गरिन्। दुई वर्षदेखि उनले आफ्ना दुवै कुकुर त्यहीँ राखेकी छन्।
“मेरा लागि यो डग होस्टल र महेश्वर भाइ (द डक्टर्स केनल एक्ससरिसका संस्थापक) भगवान जस्तै हुनुुहुन्छ। त्यस्तो अवस्थामा मैले ढुक्क भएर राख्ने ठाउँ पाएँ। त्योभन्दा धेरै मलाई के चाहियो र!” सुष्मा भन्छिन्, “अहिले मैले आफ्ना कुकुरले के खाए, के गरे भनेर चिन्ता गरिरहन परेन, राम्रो केयर मिलेको छ।”
उनी दैनिक जसो भिडियो कलमा जोजो र बेलालाई हेर्छिन्। आउँदो दशैँमा यी दुई कुकुरकै लागि नेपाल आउँदैछिन्। उनले तिनीहरूलाई हङकङ नै लैजाने प्रक्रियासमेत थालेकी छन्।

पछिल्लो समय काठमाडौँ उपत्यकामा घरपालुवा कुकुर र बिरालोलाई सीमित समयसम्म हेरचाह गरिदिने ‘पेट होस्टल’ वा ‘पेट बोर्डिङ’ खुल्न थालेका छन्। काठमाडौँमा बिरालोको तुलनामा कुकुरको सोख धेरैलाई हुने र पाल्ने गरेका छन्। तर आफ्नो होस्टलमा बिरालो राख्ने व्यवस्था नभएको डक्टर्स केनलका संस्थापक महेश्वर पलाञ्चोके बताउँछन्।
घरपालुवा जनावरलाई पर्याप्त समय दिन नसक्दा वा घरमा छोडेर कतै जानु पर्दा रेखदेख गरिदिने यस्ता होस्टल अपरिहार्य नै हुन थालेको पलाञ्चोकेको भनाइ छ। “काम विशेषले कोही बाहिर जाँदैछ भने आफ्नो कुकुरले के खायो वा खाएन भनेर चिन्ता गरिरहनु परेन। जस्तो घरको वातावरण थियो त्यस्तै वातावरणमा रहने भयो,” उनले भने।
उनको होस्टलमा अहिले पाँच वटा कुकुर छन्। जुनसुकै जातको कुकुर राख्न दैनिक १२ सय रुपैयाँ शुल्क लिने गरेका छन्। उक्त होस्टलमा ७० देखी ८० वटा कुकुर राख्न सक्ने क्षमता छ।
होस्टलमा जस्तोसुकै जनावर राखिँदैन। राख्नुअघि चोटपटकलगायत स्वास्थ्य जाँच गरिन्छ। तन्दुरुस्त र छिट्टै घुलमिल हुन सक्नेलाई मात्र राखिने पलाञ्चोके बताउँछन्। “कुनै कुकुर एकदमै एग्रेसिभ छ भने राख्न समस्या हुन्छ। अस्वस्थ्य र कुनै भ्याक्सिन नलगाएको कुकुर पनि राखिँदैन,” उनले भने।

होस्टलहरूले सामान्यतः घरपालुवा जनावरको खानपान र तौलअनुसार शुल्क लिन्छन्। एउटा कुकुरको दैनिक ५०० देखि ३ हजार रुपैयाँसम्म लिने होस्टल छन्। लामो समय राख्नेहरूका लागि भने महिना वा ६ महिनाको प्याकेज पनि दिइन्छ।
कुकुरलाई होस्टलमा राखेपछि जस्तो खानपान पहिला दिइएको हो त्यहीअनुसार व्यवस्था गरिने टुसालस्थित राजधानी केनल क्लबका सञ्चालक चन्द्रबहादुर श्रेष्ठ बताउँछन्। उनका अनुसार कुनै कुकुर मासु मात्र खाने हुन्छन्, कुनै बजारमा पाइने तयारी ‘डग फुड’ मात्र खान्छन्। कुनैै उसिनेको अण्डा र कुनै फलफूल तथा सागसब्जी मात्रै रुचाउने हुन्छन्।
“सबै कुकुरको खानपान एउटै हुँदैन, उसको मालिकले जस्तो खुवाउने गरेको छ हामी त्यस्तै खाना खुवाउछौँ। कतिपय भने अलिक विशेष खाने हुँदा मालिक आफैँले ल्याएर पनि दिन्छन्,” राजधानी केनल क्लबका श्रेष्ठ भन्छन्। यसबाहेक लामो समय राखिने जनावरलाई सरससफाई र बेलाबेला स्वास्थ्य जाँच पनि गर्नुपर्छ।
दशैँ–तिहारको बेला यस्ता होस्टल भरिभराउ हुन्छन्। काठमाडौँबाट कतिपय चाड मनाउन थातथलो जाने हुँदा होस्टलमा कुकुर छाड्ने गरेको श्रेष्ठ बताउँछन्। “चाडबाडबाहेक गर्मी मौसममा विभिन्न ठाउँ घुम्न जानेहरूले पनि घरपालुवा जनावर होस्टलमा छाड्ने गर्छन्। यसरी घुम्न जाँदा उनीहरू ढुक्क हुनसक्छन्,” उनी भन्छन्।
ललितपुरको सानेपास्थित के नाइन डग ट्रेनिङ एन्ड केयरका संस्थापक प्रवीण वज्राचार्य काठमाडौँमा पेट होस्टलको माग बढिरहेको बताउँछन्। व्यस्तताका कारण आफ्ना जनावरलाई पर्याप्त समय दिन नसक्दा पेट होस्टल विकल्प बनेको उनको भनाइ छ। घरबाहिर जाँदा होस्टलमा राखिने कुकुरको मानसिक स्वास्थ्य राम्रो हुने उनी बताउँछन्। “ग्राहकले सुविधाहरू खोज्छन्। हाई क्वालिटी भइदिए हुन्थ्यो भन्छन्। तर कतिपय आफ्ना जनावर होस्टलमै छाडेर सम्पर्कविहीन हुने पनि छन्।”

केही समयको लागि भन्दै होस्टलमा राख्ने तर पैसा नतिरी सम्पर्कविहीन हुने धनीका कारण समस्या पर्ने गरेको वज्राचार्य बताउँछन्। “आर्थिक, कानूनी दुवैमा समस्या हुन्छ। यस्तोमा कि त आफैँले राख्ने वा विश्वासिलो पात्र भए सम्झौता गरेर रेखदेख गर्न दिने गर्छौं,” उनी भन्छन्।
करिब २५ वर्षअघि नै नेपालमा पेट होस्टलको अवधारण शुरू भएको वज्राचार्यको अनुमान छ। तर यस्तो होस्टल खोल्न स्पष्ट कानून नभएको उनी बताउँछन्। होस्टलको गुणस्तरका लागि मापदण्ड निर्धारण गर्न कानून आवश्यक भएको उनको भनाइ छ।
“होस्टलबारे स्पष्ट नभई कुकुर छाड्दा भोलि विभिन्न समस्या आउन सक्छ। त्यसैले होस्टल कति व्यवस्थित छ, कति राम्ररी स्याहारसुसार गरिन्छ भन्ने हेरेर मात्र आफ्ना जनावर राख्नुपर्छ,” उनले भने।
अहिले काठमाडौँमा २० वटा हाराहारीमा पेट होस्टल छन्। अधिकांशले कुकुर मात्र राख्छन्। केही होस्टलले भने बिरालो पनि राखिदिने गरेका छन्। तर सबै होस्टलकै रूपमा मात्र छैनन्। धेरै चाहिँ होस्टलसँगै जनावर किनबेचको व्यवसाय पनि चलाउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
