हिमाली जिल्ला जुम्लामा अस्वाभाविक रूपमा वृद्धि हुँदै गएको तापक्रम र लामो समयसम्मको खडेरीले अन्न तथा फलफूल उत्पादन निरन्तर घटिरहेको छ। किसानलाई वर्षभरिको खानेकुरा जुगाड गर्न समस्या पर्न थालेको छ।
जुम्ला– तिला गाउँपालिका–१ राराका धनबहादुर राउतको खेतमा जेठको दोस्रो हप्ता कोदो हरियो हुन्थ्यो। तर अहिले बारी बाँझो छ।
“यो समय कोदोको झारपात गोडमेल गर्ने र बाक्लो भएको ठाउँमा भएको बिरुवा पातलो बनाउने अनि पातलो भएको ठाउँमा लगाउने समय हो,” बाँझो खेत देखाउँदै धनबहादुर भन्छन्, “तर अहिलेसम्म कोदो रोप्न पनि पाएनौँ।” यस वर्ष पानी र हिमपात नपर्दा खेतबारी सुक्खा भएपछि अन्नबाली लगाउन नपाएको उनी बताउँछन्।
धनबहादुरले पाखो बारीमा कोदो, सिमी, मकै र कागुनो लगाउँथे। आफ्नो बारीमा उब्जने अन्नले नौ जनाको परिवारलाई करिब आठ महिनासम्म धान्थ्यो। बाँकी महिना चामल किनेर परिवारले चलाउँथ्यो।
यस वर्ष पानी नपरेपछि खेती लगाउन नपाएको कारण अब वर्षभरि नै अन्न किन्नुपर्ने बाध्यता भएको धनबहादुर बताउँछन्। उनले करिब आठ क्विन्टल चामल किन्ने तयारी गरेका छन्। सिँचाइ सुविधा उपलब्ध नभएका र हिउँ तथा आकासे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यतामा रहेका जुम्लाका किसानको अवस्था धनबहादुरको भन्दा फरक छैन। खडेरीले गर्दा कतै किसानले बाली नै लगाउन पाएनन् भने लगाएको बाली पनि राम्रोसँग फस्टाएको छैन।

हिमा गाउँपालिका–७ का रतनराज शाहीका अनुसार हिउँदमा हिउँ परेपछि त्यसको चिस्यान लामो समय रहन्थ्यो र अन्नबाली फस्टाउँथ्यो। यस वर्ष जुम्लामा हिउँ नपरेको उनी बताउँछन्। हिउँ र पानी नपरेपछि आलु, गहुँ, जौ, कोदोलगायत बाली प्रभावित भएका छन्।
मिना शाहीले एउटा खेतको गरामै चार क्विन्टल गहुँ फलाउँथिन्। सिंजा नदीको छेउमै रहेको खेतमा यति बेला गहुँ र जौका बाला लहलह हुन्थे। तर यसवर्ष खेतको गहुँ सुकेर रातो भएको छ। “पहिला कुलो थियो। आकासबाट पानी नआए पनि कुलोको पानीले राम्रै हुन्थ्यो। दुई वर्षअघिको बाढीले कुलो बगाएर पानी आउन बन्द भयो,” उनी भन्छिन्, “आकासबाट पानी नआएपछि लगाएको गहुँ सबै सुकिगयो।”
यस वर्ष त लगाएको बीउ पनि नफर्कने मिना बताउँछिन्। बारीमा फल्ने गहुँ, जौ, आलुलगायत बाली नै आम्दानीको स्रोत थियो। त्यसबाट नुन, तेललगायत घरायसी आवश्यकता पूरा गर्थे।
बेलासुरा शाही (६२) ले वर्षको ६ क्विन्टल जति आलु बिक्री गर्थिन्। त्यही पैसाले घर खर्च चल्थ्यो। जुम्लाको आलु किन्न व्यापारी घरघर पुग्थे। ६० केजी बीउ रोपेकी बेलासुरालाई यस वर्ष बीउ नै नफर्कने चिन्ता छ।

जुम्ला जिल्ला मार्सी धान, जौ, कागुनो, सिमी, कोदोलगायत बालीका लागि प्रसिद्ध छ। जुम्लामा फलेका यी बाली काठमाडौँका डिपार्टमेन्टल स्टोरमा ‘जुम्ला ब्राण्ड’मा बिक्रीका लागि राखिन्छन्। कर्णालीका स्थानीय उत्पादनलाई काठमाडौँका विभिन्न स्थानमा बिक्री गर्दै आएका यादव देवकोटा रासायनिक मल तथा बिनाविषादी उत्पादन हुने र स्वादमै फरक पर्ने भएकाले उपभोक्ताले कर्णालीसहित स्थानीय उत्पादनलाई मूल्य तिर्न नहिच्किचाउने बताउँछन्। “पहाड र हिमालमा पानी नपरेपछि त्यसको असर हाम्रो आपूर्तिमा स्वभावैले कम हुन्छ,” उनी भन्छन्।
उताको बाली काठमाडौँसम्म ल्याउने जुम्लाका भूमेश काफ्ले पछिल्ला वर्ष उत्पादनमा आएको कमीले मागअनुसार संकलन गर्न नसकेको बताउँछन्। जुम्लाका स्थानीय समेत रहेका दन्त चिकित्सक काफ्ले भन्छन्, “मौसमी घटनाले उत्पादनमा गरेको असर हामीले प्रत्यक्ष अनुभव गरेका छौँ। हामीले गत वर्ष पनि त्यस्तो भोग्यौँ। यस वर्ष त्यस्तै भयो। अर्को वर्ष त झन् समस्या हुनेवाला छ।”
जुम्लाबाट काठमाडौँ पठाउने बाली संकलनका लागि त्यहाँका स्थानीय नै खटिने काफ्ले बताउँछन्। आफूहरूले किसानलाई बाली लगाउनुअघि नै भुक्तानी गर्ने गरेको उनको भनाइ छ। तर सोचेजस्तो उत्पादन नभएपछि किसानले चामल, सिमीलगायत बाली पुर्याउन नसकेको उनी बताउँछन्। “यस्तै अवस्था रहे जुम्लाको उत्पादन काठमाडौँ लैजान भन्दा पनि अनिकाल मेट्न उताबाट अन्न ल्इाउनु पर्ने अवस्था आउन सक्छ।”
जुम्लामा जेठको पहिलो हप्ताबाटै मार्सी धान लगाउन शुरू गरिन्छ। तर यस वर्ष चाहिँ नदी तथा ठूला खोलाबाट पानी लाग्ने बाहेक खोल्सी र खहरेबाट पानी ल्याएर हुने रोपाइँ हुन सकेको छैन। बरु धानको ब्याड खेतमै डढेको छ।
स्याउमा फल नै लागेन
जुम्ला मार्सी धानमा मात्र नभएर स्याउका लागि पनि प्रख्यात छ। २०६३ सालमा कर्णाली राजमार्ग सञ्चालनमा आएपछि जुम्लाको स्याउ काठमाडौँलगायत शहरी क्षेत्रमा पाइन थालेको छ। राजमार्ग खुल्नुअघि यातायात असुविधा र महँगो भाडाका कारण जुम्लाको स्याउले बजार नपाएको तिलाका बुद्धिमान राउत बताउँछन्।
“स्याउ यत्तिकै कुहिएर सकिन्थे। कतिपय ठाउँमा स्याउ खाए क्षयरोग लाग्छ भन्ने मान्यता थियो। गाउँमा एक पटक एक जना बच्चा टीबी लागेर मर्यो, स्याउ खाएर भन्ने हल्ला गाउँभर चल्यो,” बुद्धिमान भन्छन्। तर कर्णाली राजमार्ग सञ्चालनमा आएपछि पुराना मान्यतामा परिवर्तन आए। जुम्लामा अहिले ‘एक घर एक स्याउ बगैँचा’ अभियान चलेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले जुम्लामा चार हजार हेक्टर क्षेत्रफलमा स्याउ लगाइन्छ। २०७१/७२ मा दुई हजार ९०० हेक्टरमा मात्र स्याउखेती थियो। कर्णाली राजमार्ग खुलेपछि जुम्लाको स्याउ सुर्खेत, नेपालगञ्ज र काठमाडौँमा समेत ब्राण्डिङ भएको तिलाका बुद्धिमान बताउँछन्। किसान स्याउखेतीतर्फ आकर्षित भएका कारण अहिले १४ हजारजति स्याउका बगैँचा रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा बताउँछन्।
जहाजमार्फत एक केजी स्याउ सुर्खेत वा नेपालगञ्ज ल्याउन ५५ रुपैयाँ भाडा लाग्छ भने ट्रक र ट्याक्टरबाट ढुवानी गर्दा प्रतिकेजी ८ देखि १० रुपैयाँ लाग्ने यहाँका किसान बताउँछन्। जुम्ला अहिले स्याउका लागि पकेट क्षेत्र हो। कर्णाली प्रदेश, संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत निकायले स्याउ प्रवर्धन कार्यक्रम सञ्चालन गरेका छन्। जुम्लाले २०७९ सालमा स्याउ बिक्रीबाट झण्डै ५० करोड भित्र्याएको कृषि विकास कार्यालय प्रमुख देवकोटा बताउँछन्।
सडकको सहज पहुँच र मानिसको आगमन बढेर स्याउले बजार पाउन थालेसँगै जलवायुमा आएको परिवर्तनले उत्पादनमा भने कमी आउन थालेको स्थानीय बताउँछन्। रतनराज शाहीसँग आठ वर्षअघि १० वटा स्याउका बोट थिए। स्याउ राम्रो बिक्न थालेपछि पाँच वर्षअघि ८० बिरुवा लगाए। गत वर्षको खडेरीले २० वटा बिरुवा सुके।
“२० बोट हुँदा २१ पेटी बेचेँ। ३० वटा बोट फल्दा १२ पेटी भयो। ४० वटा बोट फल्दा १६ पेटी,” उनी भन्छन्, “जति धेरै बोट भयो उत्पादन झन् घट्दै गयो। अहिले ५० भन्दा धेरै बोट छन्, एक पेटि पनि हुन्न।” यस वर्ष पानी र हिउँ नपरेपछि स्याउ सबै झरेर सकिएको रतन बताउँछन्।
हिमाकै प्रयोगबहादुर शाहीको बगैँचामा स्याउका २०० वटा रूख छन्। २०० वटा रूखमा अहिले स्याउको एक दाना पनि फलेन। फूल फुलेर दाना लागेपछि सबै स्याउ झरेर सकिएको उनी बताउँछन्। “स्याउ बेचेर खाइन्थ्यो, त्यही घाटा लाग्यो। धानको बीउ राख्यो, त्यही पनि सुक्यो। ६० केजी आलु लगायो, त्यसमै घाटा गयो,” उनी भन्छन्, “जे लगायो उसमै घाटा।”
विगतमा १० केजी आलुको बीउ लगाउँदा कम्तीमा पनि एक क्विन्टल आलु फलाउने गरेको रतन बताउँछन्।
तापक्रममा फेरबदल!
शीतोष्ण हावापानी भएको क्षेत्रमा लगाइने प्रमुख फलफूल बालीमध्ये स्याउ पनि हो। नेपालमा समुद्र सतहबाट १५ सयदेखि तीन हजार मिटरसम्म उचाइ भएको स्थानमा स्याउ खेती गरिन्छ। स्याउका लागि लामो समयसम्म चिसोको आवश्यकता पर्छ।
स्याउमा कोपिला फक्रिन, फूल फुल्न तथा फल लाग्न मात्र नभइ लागेको फल सप्रन पनि निश्चित समयसम्म चिस्यानको आवश्यकता पर्छ। बढी चिसो आवश्यक पर्ने स्याउका जातहरू नेपालको उच्च पहाडी भू–भाग समुद्र सतहबाट दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा लगाइन्छ। यी जातका स्याउलाई फूल फुल्न र कोपिला लाग्न ७ डिग्री सेल्सियसभन्दा कम तापक्रम भएको एक हजार घण्टाभन्दा बढी अवधिसम्म चिस्यानको आवश्यकता पर्छ। तर पछिल्लो समय जुम्लामा तापक्रम अस्वभाविक रूपमा वृद्धि भएको देखिन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जुम्लामा पछिल्लो २० वर्षमा १.७२ डिग्री सेल्सियसले तापक्रम वृद्धि भएको छ। त्यसैगरी, न्यूनतम तापक्रम पनि अस्वभाविक रूपमा वृद्धि भएको विभागको रेकर्ड छ। पछिल्लो २० वर्षमा न्यूनतम तापक्रम १.८ डिग्री सेल्सियसले वृद्धि भएको छ।
सन् १९८२–२०२३ सम्म जुम्ला स्टेशनको तथ्यांक अनुसार हिउँद (डिसेम्बर–फेब्रुअरी) सम्मको ट्रेण्ड अनुसार डिसेम्बरमा ०.०३३, जनवरीमा ०.०२३ र फेब्रुअरीमा ०.०४९ डिग्री सेल्सियस तापक्रम बढ्दो छ। समग्र हिउँदमा तापक्रम वृद्धिदर ०.०३५ डिग्री सेल्सियस छ। अर्थात् पछिल्लो २० वर्षमा जुम्लामा राखिएका स्टेशनमध्ये जुम्ला स्टेशनले हिउँदमा त्यस वरपर ०.७ डिग्री सेल्सियस तापक्रम बढेको देखाउँछ।
स्थानीयहरू जुम्लामा १० वर्षसम्म राम्रोसँग हिउँ नपरेको अनुभव सुनाउँछन्। हिमाका स्थानीय मीनबहादुर शाही भन्छन्, “हिउँ परेर दुई चार दिन घरबाट बाहिर निस्कन सकिँदैनथ्यो। अहिले त परिहाल्यो भने पनि एक दिनमै हराउँछ। ३/४ फिट हिउँ नपरेको त १० वर्ष भइसक्यो होला।”
जल तथा मौसम विज्ञान विभागसँग कति मात्रामा हिउँ पर्यो भन्ने रेर्कड राख्ने व्यवस्था छैन। जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कंडेल आकासबाट हिउँ परे पनि वातावरण तातो हुँदा जमिनको सतहमा आउँदा पग्लिएर पानी बनिसक्ने बताउँछिन्। “भूसतहसँग जोडिएको वातावरण न्यानो छ भने माथिबाट हिउँ नै परे पनि पानीका रूपमा परिणत हुन्छ,” कंडेल भन्छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
