पशुपतिमा विद्युतीय शवदाह निःशुल्क गर्ने तयारी, वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा

दाउराबाट जलाउँदा वातावरणमा पर्ने असर न्यूनीकरणका साथै विद्युतीय शवदाहगृहबाट शव जलाउने कार्यलाई प्रोत्साहन गर्न निःशुल्क सेवा दिने तयारी गरिएको कोषले जनाएको छ।

पशुपति मन्दिर क्षेत्र । तस्वीर : पशुपति क्षेत्र विकास कोष।

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा विद्युतीय शवदाह निःशुल्क गर्ने योजनाअनुरूप नयाँ मेसिन जडान गरेर परीक्षणको तयारी थालेको छ। कोषले विद्युतीय शवदाह निःशुल्क गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको निर्णय कार्यान्वयन गर्ने गरी प्राविधिक कामलाई अन्तिम चरणमा पुर्‍याएको हो।

आगामी आर्थिक वर्ष २०८१/८२ देखि विद्युतीय शवदाह निःशुल्क गर्ने गरी मेसिन जडान, परीक्षण लगायतका प्राविधिक कामहरू भइरहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए। पशुपति क्षेत्रमा दाहसंस्कार गर्ने अधिकांशले दाउराको प्रयोग गर्ने, त्यसका लागि आवश्यक दाउराको पूर्ति गर्दा वन फँडानी हुने, वायु प्रदूषणका साथै नदीमा समेत असर पर्ने गरेको छ। त्यसैलाई मध्यनजर गर्दै विद्युतीय शवदाहबाट शव जलाउन प्रोत्साहन गर्न निःशुल्क गर्न लागिएको प्रवक्ता अधिकारीको भनाइ छ। “एक त निःशुल्क गर्नु हाम्रो धर्म पनि हो, अर्को भनेको समय पनि धेरै नलाग्ने र वातावरणमा पनि असर नपर्ने भएकाले यसलाई जोड दिएका हौँ,” अधिकारीले भने।

हाल पशुपति आर्यघाटमा विद्युतीय शवदाहमा प्रतिशव ४ हजार रुपैयाँ, दाउराबाट शव जलाउँदा १५ हजार रुपैयाँ लाग्ने गरेको छ। 

गत वर्षको वैशाखमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विद्युतीय शवदाह गृह निःशुल्क हुने घोषणा गरेका थिए। त्यसबखत मन्त्रालय र कोष सञ्चालक परिषद् बीचको बैठकले मेसिन थप्ने र मेसिनमा शवदाह गर्दा शुल्क नलाग्ने बनाउने निर्णय गरेको थियो। 

तर गत वर्ष नै निर्णय गरे पनि कार्यान्वयन भने भएको थिएन। यस पटक योजना बनिसके पनि परिषद्ले निर्णय बाँकी नै रहेको कोषाध्यक्ष नारायणप्रसाद सुवेदी बताउँछन्। परिषद्मा छलफल भइसकेपछि मात्रै कार्यान्वयनमा जाने वा नजाने टुंगो हुने उनको भनाइ छ। “मन्त्रालय र कोषबीच कुरा भने उठेको हो। त्यसका लागि आन्तरिक तयारी पनि गरिँदै छ। तर कार्यान्वयन हुन्छ नै भनेर परिषद्ले निर्णय गरिसकेको छैन। छलफल हुनै बाँकी छ,” उनले भने

थप मेसिन जडान गरिँदै
अहिले कोषसँग एउटा मात्रै विद्युतीय मेसिन सञ्चालनमा छ। अन्य दुई वटा बिग्रिएकाले मर्मत गर्ने प्रक्रिया थालिएको छ। बिग्रिएका दुई वटाको सट्टामा थप दुई वटा नयाँ मेसिन थपिएको छ। प्रवक्ता अधिकारीका अनुसार शवदाह निःशुल्क गर्ने योजनाअन्तर्गत नै यी मेसिन ल्याइएको हो। थपिएका नयाँ मेसिन जडान तथा परीक्षणका क्रममा र अन्य दुई मेसिन खरिद प्रक्रियामा छन्। ती मेसिनहरू आगामी साउनभित्रमा भारतबाट ल्याइसक्ने कोषको योजना  छ। 

कोषका अनुसार एउटा मेसिनबाट प्रत्येक दिन सरदर १० देखि १५ वटा शव जलाउन सकिन्छ। निःशुल्क गरेसँगै चाप बढ्ने आकलन गरेर कोषले मेसिन बढाउन लागेको हो। थप भएका चार वटा र प्रयोग भइरहेको एउटा वटा गरी जम्मा पाँच वटा विद्युतीय मेसिन सञ्चालनमा रहने छन्। आवश्यकता हेरेर अन्य मेसिन पनि थप गरिने कोषले जनाएको छ। मेसिन राख्न शवदाहगृहमा पुग्दो स्थान रहेको ढुक्क हुन अधिकारी आग्रह गर्छन्।

अक्षय कोषको स्थापना गर्ने
दाहसंस्कारका लागि छुट्टै अक्षय कोषको स्थापना गर्ने योजना रहेको पशुपति विकास कोषको भनाइ छ, जसमा दाहसंस्कारमा लाग्ने खर्च जुटाउन सहयोग दिन चहनेहरूले इच्छाअनुरूप रकम जम्मा गर्न सक्नेछन्। संकलित रकम शवदाहका क्रममा विद्युत् खपत, सरसफाइ, कर्मचारी लगायतमा प्रयोग गरिने पशुपति विकास कोषका प्रवक्ता ‍अधिकारी बताउँछन्।

“हुनेहरूले नहुनेलाई सहयोगका रूपमा स्वेच्छाले जम्मा गर्न सक्छन्। त्यसका लागि दाहसंस्कारकै लागि भनेर फन्डिङ गर्न सक्ने गरी कोष निर्माण गर्ने योजना छ,” उनले भने। विगतदेखि नै आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई कोषले निःशुल्क शव जलाइदिने गरेको छ। आर्थिक समस्या हुनेलाई पशुपति सेवा उपभोक्ता सहकारी संस्थामार्फत सहयोग गर्ने गरिएको अधिकारी बताउँछन्।

कार्यान्वयनमा कतिको सहज?
दाउरा प्रयोग गर्दा वातावरणमा पर्ने असर न्यूनीकरणका लागि विद्युतीय शवदाह मेसिनबाट शव जलाउने योजनालाई कोषले जोड दिएको छ। यद्यपि यो योजना कार्यान्वयनमा चुनौती रहेको कोषकै ठम्याइ छ। हिन्दू धर्मावलम्बीमा दाउराबाट दाहसंस्कार गर्ने चलन  छ। तर पनि विद्युत‍्बाट दैनिक १५ वटा शव जलिरहेकै हुन्छन्। कम शुल्कसँगै शव छिटो जलेर सकिने भएकाले अचेल विद्युतीय शवदाहगृहमै आफन्तको शव जलाउन चाहने बढ्न थालेको कोषले जनाएको छ। दाउरामा शव जलाउँदा तीनदेखि चार घण्टा लाग्छ भने विद्युतीय मेसिनमा ४५ मिनेटमा शव जलिसक्छ।

तर पशुपतिमा आउने अधिकांश शव दाउराको प्रयोग गरेरै जलाउने चलन भएकाले दाउराको प्रयोगबाट शव जलाउने क्रम भने तत्कालै कमी आउने देखिँदैन। यद्यपि, विद्युत‍्बाट शवदाह गर्ने कामको प्रोत्साहन गर्न मात्र नभई सेवाको रूपमा योजना अघि सारेको कोषको भनाइ छ।

“प्रविधिको विकास भयो भन्दैमा धार्मिक विश्वासलाई तोड्नु या आँच आउन दिनुहुँदैन भन्ने हाम्रो मान्यता हो। दाउराको प्रयोग गर्नेलाई कुनै रोकटोक छैन। तर पर्यावरणलाई पनि जोगाउनुपर्ने दायित्व भएकाले विद्युतीय शव दाहगृहमा दाहसंस्कार गरे वातावरण पनि राम्रो हुनेमा हामी विश्वस्त छौँ,” प्रवक्ता अधिकारीले भने।