यो साल फलानो काम सम्पन्न गरिछाड्छु या फलानो खराब आदत छाड्नेछु भन्ने वाचा या प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा पनि कतिपयले नयाँ साललाई लिन्छन्।
संसारमा नयाँ वर्ष कतै तिथि, कतै मिति त कतै तारिखबाट शुरू हुन्छ। तिथिबाट नयाँ वर्ष मनाउने ल्होसार, मितिबाट चल्ने नयाँ वर्ष विक्रम संवत् र तारिखबाट चल्ने इस्वी संवत् सबै समय गणनाका तरिका हुन्। विक्रम संवत्मा अपनाउनेका हकमा चन्द्र र सूर्य मासीयबाट चाडपर्व शुरू हुन्छ। १२ महिना, ३६५ दिन यो लागू हुन्छ। नेपालमा सूर्य मासीय पञ्चांगबाट मितिले चल्ने पर्वलाई नै नयाँ वर्षको रूपमा मानिन्छ। यसमा वैशाख १ गते संवत् फेरिन्छ।
आम प्रचलनमा नेपालमा विक्रम संवत् रहेको छ। सरकारी र अन्य कार्यालयमा यही क्यालेन्डरको प्रयोग हुने गर्छ। बहुसांस्कृतिक यस देशमा अन्य क्यालेन्डर पनि छन्, जो तिथिबाट चल्छन्। तिथिबाट समय गणना गर्दा महिना र दिनको गणना फरक पर्दै जाने हुनाले व्यवहारमा त्यसले असहज हुन जान्छ। बैंक र सरकारी निकायको दैनिकी तिथिबाट चलाउँदा व्यवहारमा असजिलो भएको हुनाले विक्रम संवत् सुविधाजनक छ। आजकाल जन्म र मृत्यु पनि गते महिनाबाटै गणना गरिन्छ।
मितिबाट दिन गन्ती गर्दा तलमाथि हुँदैन। ठीकठीक हुने गरी दिन पर्न आउँछ। दैनिक कामकाज चलाउन सजिलो भएका कारण यो संवत् हाम्रा पुर्खाले प्रचलनमा ल्याएको हुन सक्छन्। धेरैले यो संवत्लाई शिलालेख र अन्य प्रामाणिक कागजातमा उल्लेख गर्छन्। वैशाख १ गते धेरैजसो नेपालीले आफू जहाँसुकै भए पनि मुख्य संवत्को नयाँ र प्रमुख दिनका रूपमा मनाउँछन्। तिथिभन्दा गतेको व्यवस्था धेरै उचित हो। यसमा त्रुटि हुने सम्भावना हुँदैन र महिना पनि फेरिँदैन। एक-एक महिना गरी १२ महिनाभित्र काम गर्न सहज हुन्छ।
किंवदन्तीअनुसार यो मितिबाट संवत् चलाउने व्यक्ति राजा विक्रमदेव थिए। राजाका नाममा चलाइएका हुनाले यसको नाम विक्रम संवत् रहन गएको मानिन्छ। विक्रमादित्यको जन्म नेपाल राजधानी अथवा उपत्यका (स्वयम्भू दहः) काठमाडौँको पशुपति क्षेत्र गोले गाउँमा भएको मानिन्छ। उनकी श्रीमती साँखु गाउँको आचाजु परिवारका थिइन् र उनको नाम तारा रहेको बताइन्छ। किंवदन्तीअनुसार राजारानी दुवै तान्त्रिक विद्या र गणित हिसाबमा निपुण थिए। विक्रमदेवले शिक्षामा आदित्य पद ग्रहण गरेका थिए। आदित्यलाई आजको हिसाबमा स्नातकोत्तरसरह मान्न सकिन्छ। गणित हिसाबमा निपुण भएको हुनाले उनलाई आदित्य पद दिएको बताइन्छ।
उनको शिक्षाको योग्यता उनको मूल नाम 'विक्रम'मा जोडिँदा उनको नाम विक्रमादित्य हुन गएको हो। विक्रमादित्य र तारा दुवै जना दैनिक तेल तताई शरीरमा मालिस गरी नुहाइवरी साँखुको डाँडामा विराजमान बज्रयोगिनी माँको पूजा आराधना गर्थे रे। राजाले मालिसका लागि तेल तताउने भनिएको भाँडो अहिले पनि बज्रयोगिनी मन्दिरमाथि कोठामा भेट्न सकिन्छ। हिजोआज पनि त्यस भाँडाको पूजा गरिन्छ। यस किसिमको पूजा गर्ने व्यक्ति बज्राचार्य हुन्। राजा विक्रमदेवको ढुङ्गाको हस्तकलाबाट तयार गरिएको शिर साँखुको बज्रयोगिनी मन्दिरमा राखी पूजा गरिन्छ।
उसो त पुरातत्त्व विभाग अन्तर्गतको प्राचीन नेपाल जर्नलमा प्रकाशित विभिन्न वंशावलीअनुसार योद्धा विक्रम सेन युवा अवस्थामा साँखुमा आई यस क्षेत्रका राजाका रूपमा शासन गरे। उसो त कतिपयले उज्जैन (भारत) का प्राचीन राजा विक्रमादित्यले आफ्ना समुदायका मानिसलाई अघिल्लो शासनबाट मुक्त गर्दै आफ्नो नामबाट यो संवत् स्थापना गरेको तर्क पनि पेस गर्ने गरेका छन्। इतिहासकार दिनेशराज पन्तका अनुसार इतिहासमा धेरै विक्रमादित्य थिए र कुन विक्रमादित्यले यो संवत् शुरू गरे भनेर ठहर गर्न कठिन हुन जान्छ।
दाबीहरू अनेक भए पनि विक्रम नाम जोडिएको यो संवत्ले आफ्नो २०८०औँ वर्ष तय गर्दै २०८१ औँमा प्रवेश गरेको छ। यो संवत्को प्रयोग खास गरी धार्मिक र अन्य प्रयोजनका हिसाबमा भारतीय हिन्दूले पनि प्रयोग गर्छन्। बांग्लादेश, इन्डोनेसिया, श्रीलंका, थाइल्यान्ड, मलेसिया र भुटानका केही क्षेत्रमा पनि यो क्यालेन्डरको प्रयोग हुने गर्छ।
विक्रम संवत्लाई कुनै न कुनै रूपमा मान्नेले नयाँ वर्षलाई आशा र उल्लासको रूपमा यस पटक पनि स्वागत गरेकै छन्। यो साल फलानो काम सम्पन्न गरिछाड्छु या फलानो खराब आदत छाड्नेछु भन्ने वाचा या प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा पनि कतिपयले यसलाई लिन्छन्। ग्रोगेरियन क्यालेन्डरभन्दा ५७ वर्षअघि रहेको यो संवत्लाई कतिपयले हिन्दू नयाँ वर्षका रूपमा चित्रण गर्छन्। यही याममा भारतका कतिपय क्षेत्र र नेपालमा कतिपय हिउँदे बाली भित्र्याइन्छ। तराई र पहाडमा गहुँ पाकेर काट्ने बेला हो यो। कतिपय बाली रोप्ने र लगाउने पनि बेला पनि पर्छ यो समय।
नयाँ वर्षको पहिलो दिन काठमाडौँ भक्तपुरमा वैशाख १ गते बिस्का: (बिस्केट) जात्रा मनाउँछन्। यो जात्रामा चैत मसान्तमा उठाइएको लिङ्गो वैशाख १ गतेको संक्रान्तिमा ढाल्ने गरिन्छ। शिवपुरी डाँडामा मेला र टोखाको सपन तीर्थ मेला पनि यही दिन सुरु हुन्छ। यही दिन खाइसल्हु भन्दै ललितपुरवासी चामलको पिठोमा केराउलगायतका क्वाँटी मिसाएर खाने गर्छन्। वैशाख १ गते सुदूरपश्चिममा सिस्नु लगाएर विसुपर्व मनाइन्छ। तराईमा वैशाख एक गतेलाई सिरुवा भनिन्छ भने पूर्वी तराईमा जुटशितल भनेर एक–अर्कामा पानी छ्यापेरसमेत मनाइन्छ। सिरुवाको अवसरमा तराई मेला पनि लाग्ने गर्छ। भोजपुरी क्षेत्रमा यसै दिन सात वटा अन्नहरू मिसाएर सातु खाइन्छ, जसलाई सतुआन भनिन्छ।
लहानमा वैशाख एक गतेका दिन सलहेसको फूल हेर्ने मेला लाग्छ। केही पहिले अनेकन् पत्रपत्रिका र मिडियाले वैशाख १ गतेका दिन मात्र सो फूल फुल्छ भन्दै प्रचार गरेकोमा अहिले आएर वैज्ञानिक रूपमा सो तथ्य भने गलत रहेको पुष्टि भइसकेको छ। जुम्ला क्षेत्रमा वैशाख १ गते ताँगे संक्रान्ति मान्ने चलन छ। महिलाले आफ्नो पतिको दीर्घायुका लागि व्रत बस्छन्। तराईमा मैथलीको नयाँ वर्ष यसै दिन प्रारम्भ हुन्छ। कर्णाली प्रदेशमा खस जातिले वैशाख १ गते संक्रान्ति पर्व मनाउँछन्। वैशाख १ गतेकै दिन ललितपुरको कुटवाल दहमा मेला लाग्ने गर्दछ।
विक्रम संवत्अनुसार महिनाको १ गतेलाई संक्रान्ति भनिन्छ। त्यसो हुँदा वर्षमा १२ वटा संक्रान्ति आउँछन्। कतिपय महिनाको १ गते अन्य पर्व पनि पर्छ: साउन १ गते-लुतो फाल्ने दिन, असोज १ गते विश्वकर्मा पूजा, माघ १ गते घ्युचाकु खाने दिन। प्रत्येक संक्रान्तिमा रातो मत्स्येन्द्रनाथमा विशेष पूजापाठ गरिन्छ र पूजापश्चात् भोज खाने चलन छ। यसलाई संक्रान्ति भोज पनि भनिन्छ। संक्रान्तिको दिन सप्तरीमा पर्ने छिन्नमस्ता देवीको मन्दिरमा पूजा गर्ने गरिन्छ। भदौको १ गते संक्रान्तिमा कीर्तिपुरको बाघभैरब जात्रा हुन्छ।
समय गणना मान्छेको सभ्यता विकाशमा महत्त्वपूर्ण विषय हो। समय गणनाको लागि प्रयोग भएको विक्रम संवत् हाम्रो पुरानो अभ्यास हो। विक्रमको संवत् २०८० सकिएर आज २०८१ मा हामी प्रवेश गरेका छौँ। विक्रम संवत् अपनाउने सबै नेपाली तथा गैरनेपालीमा नयाँ सालको शुभकामना।
(शाक्य नेपाल हस्तकला महासंघका पूर्वअध्यक्ष हुन्। लेखमा व्यक्त विचार लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
